News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले मंसिर २७ गते भक्तपुरको तीनकुने सल्लाघारीमा ११ औं महाधिवेशन डाकेको छ।
- राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा छैन।
- पर्वतको एमालेमा पदम गिरी समूहले तिमिल्सिना र विकास लम्साललाई महाधिवेशन प्रतिनिधि हुनबाट रोक्न सफल भएको छ।
२५ मंसिर, पोखरा । जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको नेकपा एमालेले पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो बनेको छ। एमालेले यही सन्दर्भमा मंसिर २७ गतेदेखि भक्तपुरको तीनकुने सल्लाघारीमा ११ औं महाधिवेशन डाकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली फेरि दोहोरिएर पार्टीमा आफ्नो आवश्यकता पुष्टि गर्न खोजिरहेका छन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आडमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओलीलाई रोकेर नेतृत्वमा पुग्ने होडमा छन्।
एमालेका नेता कार्यकर्ताहरू अहिले यही दुई कित्तामा विभाजित हुँदै महाधिवेशनको तयारीमा जुटिरहेका बेला राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना भने कतै देखिएका छैनन्। तिमिल्सिनाको गृह जिल्ला पर्वत र गण्डकी प्रदेशबाट उनको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा पनि छैन।
एमालेबाट बनेका पूर्वप्रधानमन्त्रीदेखि पूर्वराष्ट्रपति हुँदै तल्लो तहका नेता कार्यकर्तालाई पनि महाधिवेशनको रापतापले छुँदा तिमिल्सिना चाहिँ के गरिरहेका छन् त ? पार्टी राजनीतिको आकांक्षासहित तिमिल्सिनाको जवाफ छ, ‘महाधिवेशन प्रतिनिधि हुन पाइनँ, जाडोमा आगो तापेर बस्दै छु।’
राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना किन महाधिवेशन प्रतिनिधि छानिएनन् त ? यो बुझ्नका लागि गृहजिल्ला पर्वतको एमाले राजनीति बुझ्नुपर्छ। तिमिल्सिना पनि महाधिवेशन प्रतिनिधि हुन चाहन्थे। उनी केन्द्रीय कार्यसमिति र विभागहरूमा पनि नभएको हुनाले कि निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै छानिएर आउनुपर्थ्यो कि मनोनित हुनुपर्थ्यो।
एमाले पर्वतले महाधिवेशन प्रतिनिधि हुन मनोनयन दर्ता गर्नुपर्ने सूचना आह्वान गर्दै भन्यो- नगर्नेलाई प्रतिनिधि बनाइन्न । राष्ट्रिय सभा अध्यक्ष भइसकेका तिमिल्सिना मनोनयन दर्ता गरेर मतदानमार्फत आउन चाहेनन् भने एमालेको संसदीय राजनीतिमा छलाङ मारेका पदम गिरीहरू पनि तिमिल्सिनालाई रोक्न चाहन्थे।
दोस्रो संविधान सभा सदस्य हुँदै प्रदेशमा झरेर मन्त्री बनेका विकास लम्साललाई पाखा पार्दै २०७४ सालमा गिरी प्रतिनिधिसभामा प्रवेश गरे। एमाले पोलिटब्युरो सदस्य तिमिल्सिनालाई ओलीले राष्ट्रिय सभाको अध्यक्ष बनाइदिए। यही मौकामा पर्वत एमालेको राजनीतिमा गिरीको उदय भयो र गठबन्धनको शक्तिलाई चुनौती दिंदै दोस्रो पटक पनि चुनाव जितेर प्रतिनिधि सभामा शक्ति बढाए। गिरी ओलीको विश्वासपात्र हुँदै मन्त्रीसमेत बने र एमाले संसदीय दलको प्रमुख सचेतकसमेत हात पारे। गण्डकी प्रदेशमै गिरीको राजनीतिक छलाङको प्रभाव पर्नु स्वाभाविक नै भयो।
गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेलको आडमा स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको लडाइँको प्रभाव पनि पर्वतमा थियो। तिमिल्सिना पृथ्वीसुब्बा नजिक थिए भने गिरी खगराजसँग । यही कारण पर्वतमा तिमिल्सिना र गिरीको प्रतिष्ठाको लडाइँ सुरु भयो ।
२०७४ सालमा राष्ट्रिय सभाको सदस्य हुँदै राष्ट्रिय सभाको अध्यक्षमा ६ वर्षे कार्यकाल सकाएर २० फागुन २०८० मा बिदा भएका तिमिल्सिना सक्रिय राजनीतिमा फर्किने उद्घोषसहित पर्वतमा सार्वजनिक कार्यक्रमहरूमा देखिएका पनि थिए तर पार्टीको भूमिका र जिम्मेवारीमा नहुनु र राजनीति गर्न भूमिका नै चाहिने राजनीतिक संस्कृतिका कारण उनका लागि सहज बनेन।
अहिले एमालेको महाधिवेशन प्रतिनिधिमा गिरी समूहले तिमिल्सिना र पूर्वमन्त्री लम्साल दुवैलाई पाखा पार्न सफल भएर आफ्नो वर्चस्व देखाएको गण्डकीका नेताहरू बताउँछन्। पर्वतमा एमालेको संगठन निर्माणमा विशेष भूमिका खेलेका तिमिल्सिना र लम्साल दुवै महाधिवेशन प्रतिनिधि आउन रोकिएका छन् र त्यसको प्रत्यक्ष फाइदा गिरीले उठाउने देखिएको छ।
गिरीले ओलीको विश्वासपात्र तिमिल्सिनालाई पनि उछिनेर निकट सम्बन्ध बनाएका छन्। ४ वर्ष सँगै जेलजीवन बिताएका तिमिल्सिना पनि ओलीको विश्वासपात्र थिए। २०३६ सालदेखि विद्यार्थी राजनीति थालेका पर्वत मोदी गाउँपालिकाका तिमिल्सिना २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति थिए।
२०४० सालमा तत्कालीन मालेको सदस्यता लिएका तिमिल्सिना तत्कालीन सरकारविरुद्ध विद्रोहको उदघोष गर्दै ०४२ सालमा रामराजाप्रसाद सिंहले नेतृत्व गरेको बम काण्डपछि ४ वर्ष जेलमा परेका थिए। ०४६ सम्म पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा रहँदा तिमिल्सिनाको भेट ओलीसँग भएको हो।
तत्कालीन एमालेको मुस्ताङ, बागलुङ सचिव हुँदै धौलागिरि पार्टी इन्चार्जसमेत बनेका तिमिल्सिना ०५४ मा भएको एमालेको छैठौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
०५९ सालमा जनकपुरमा भएको पार्टीको सातौँ महाधिवेशनबाट केन्द्रीय सल्लाहकार र ०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका तिमिल्सिनाले पर्वत जिल्ला संयोजकको रूपमा काम गरेका थिए। नवौं महाधिवेशनमा पोलिटब्युरो सदस्य चुनिएका तिमिल्सिना गण्डकी प्रदेशको सहसंयोजकसमेत रहे। दशौं महाधिवेशनमा उनी राष्ट्रिय सभाकै अध्यक्ष रहेकाले सहभागी हुन पाएनन्।
११ औँ महाधिवेशनमा प्रतिनिधि हुने आकांक्षा भएर पनि नपाएका तिमिल्सिनासँग झिनो आशा भने अझै छ । केन्द्रबाटै प्रतिनिधिमा मनोनित हुन सक्ने भएकाले त्यो झिनो आशा उनमा अझै बाँकी रहे पनि यकिन भने छैन ।
राष्ट्रिय सभा अध्यक्षको कार्यकाल सकिएपछि तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भेटेर फेरि सक्रिय राजनीतिमा फर्किने आकांक्षा व्यक्त गरेका थिए । ओलीले उचित मौकामा पार्टीको भूमिका दिने आश्वासन दिएका थिए । तर, पनि उनले जिम्मेवारी प्राप्त गर्न सकेनन् ।
गृहजिल्ला पर्वतमा एमाले राजनीति अस्वस्थ हुँदा तिमिल्सिना पछि परेको नेताहरू बताउँछन् । तिमिल्सिनाले पर्वतमा आफ्नो वर्चश्व कायमै राख्ने अभिप्रायसहित समूह निर्माण गर्ने र पार्टीमा आफ्ना मानिसहरूलाई जिम्मेवारीमा ल्याउने कसरत गरेकै थिए । तर, युवा नेता गिरीको बढ्दो प्रभावका कारण पर्वतमा दुई समूहबीच टकुराबकै स्थिति सिर्जनासमेत हुने गरेको थियो ।
युवा संघको अभिवेशनमा पर्वतमा तिमिल्सिना र गिरी समूहबीचकै प्रतिष्ठाको लडाइँका कारण हानाहानमै परिणतसमेत हुन पुगेको थियो । गिरी बढ्दो प्रभाव र उनीप्रति ओलीको विश्वाससमेत कायम भएपछि गिरी ११ औँ महाधिवेशनमा सचिवको दाबी गरिरहेका छन् ।
उनीनिकट नेताहरूका अनुसार अहिले नै केन्द्रीय सदस्य रहेका गिरीलाई धेरै जना आकांक्षी रहेकाले पनि ओलीले सचिव नै बनाइहाल्ने स्थिति देख्दैनन् । तर, प्रमुख सचेतक बनाएका ओलीले युवासमेत भएका कारण नदेलान् भन्न पनि नसकिने तर्क अर्काथरीको छ । सचिव बनेनन् भने पनि केन्द्रीय सदस्य वा पोलिटब्युरो सदस्य बन्ने विश्वास गिरीले व्यक्त गर्ने गरेका छन् ।
कुुनै बेला ओलीको विश्वास पात्र मानिने तिमिल्सिना भने प्रतिनिधि नै हुन नपाउने परिस्थितिले उनको प्रभाव कम हुँदै गएको नेताहरू बताउँछन् । तर, तिमिल्सिनाको अझै झिनो आशा भने छ । उनी भन्छन्, ‘केन्द्रबाटै प्रतिनिधि मनोनित हुने सम्भावना पनि छ। २७ गतेतिर मात्रै थाहा लाग्ला। त्यतिबेला मनोनित गर्दा मेरो नाम पनि आउन सक्ला।’
प्रतिक्रिया 4