+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares
सूर्य थापासँग वार्ता :

‘एमालेमा अब युवा, वयस्क र प्रौढ तीन पुस्ताको नेतृत्व निर्माण हुन्छ’

४० वर्ष मुनिको एउटा पुस्ता, ६० वर्ष मुनिको अर्को पुस्ता र ६० वर्ष माथिको अर्को पुस्ता, युवा, वयस्क र प्रौढ गरी तीन पुस्ताको संयोजनसहितको नेतृत्व निर्माण गर्छौं।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते ९:४९

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तन र हस्तान्तरणको चर्को माग उठेपछि एमालेले निर्धारित समय भन्दा एक वर्ष अघि नै पार्टीको ११ औं महाधिवेशन गर्दैछ । शनिबारबाट सुरू हुने महाधिवेशनबाट नेतृत्वमा आउन चाहने नेताहरूले प्रतिनिधिहरूमाझ आफ्नो अभियान चलाइरहेका छन् ।

अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धा गर्दैछन् । तर त्यो बाहेकका पदमा धेरै नेताहरू आकांक्षी छन् ।

सचिव पदमा उम्मेदवारी दिने तयारीमा एमाले पोलिटब्युरो सदस्य सूर्य थापासँग अनलाइनखबरले गरेको कुराकानी :

एमालेको एघारौं महाधिवेशन आउँदै छ, दुई दिन पछाडि उद्घाटन हुँदै छ। यो महाधिवेशनको तयारी कस्तो छ? अरू महाधिवेशनभन्दा के फरक छ यसमा ?

मैले पाँचौंदेखिका महाधिवेशनहरू हेरेको छु, देखेको छु, सहभागी भएको छु, प्रतिनिधि भएको छु। त्यस हिसाबले यो अलिभिन्न र विशिष्ट परिस्थितिमाहुन गइरहेको महाधिवेशन छ।

नियमित समय तालिकाका हिसाबले हेर्नुहुन्छ भने पनि एक वर्ष पछि गर्ने/गर्न मिल्ने महाधिवेशन अहिले गर्न गइरहेका छौँ। र, यो हाम्रो विधानको व्यवस्थाका हिसाबले पनि ‘अर्ली महाधिवेशन’ हो।

खासगरी, भदौ २३ र २४ का घटना र तिनले सिर्जना गरेका परिस्थितिहरूको सन्दर्भमा उठेका प्रश्नहरूको सम्बोधन गर्नेर त्यसअनुरूप पार्टीलाई अपडेट गरेर अगाडि बढ्ने हिसाबले यो महाधिवेशन हुन लागेको हो ।

हामी यसमा नीति, विधि र अरू कुनै एजेन्डामा छलफल गरिरहेका छैनौँ । यो सिधै नेतृत्व चयनसँग सम्बन्धित छ। हामीले विधि/विधान महाधिवेशन सम्पन्न गरिसकेको परिप्रेक्ष्यमा यो नेतृत्व चयनका लागि मात्रै महाधिवेशन हो।

भदौ २३ र २४ को घटना पछाडिको अवस्थामा उठेका प्रश्नहरूको सम्बोधन गर्न महाधिवेशन हुँदैछ भन्नुभयो, तर फेरि नीति र विधिको छलफल नै हुँदैन भन्ने कुरा त विरोधाभास भयो नि ?

हामीले नीतिमा त विधान महाधिवेशनमा छलफल गरेका छौं । त्यसपछि विधान महाधिवेशन जतिकै समय लगाएर सचिवालय र केन्द्रीय कमिटी पनि  छलफल गरेर पार्टीको दृष्टिकोण निर्माण गरेका छौं, निर्णय गरेका छौं। र, त्योसँग सम्बन्धित विषयहरू त महाधिवेशनमा आइ नै हाल्छन्। त्यसमा कसैका फरक मत/असहमति छैनन्।

त्यसबेला एउटा निर्वाचनसँग सम्बन्धित विषयमा मात्रै युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले आफ्नो धारणा राख्नुभएको छ, जसलाई फरक मत भन्नुभएको छ। अरू त सर्वसम्मत निष्कर्षमा पार्टी पुगिसकेको छ।

२३ र २४ गतेका घटना र त्यसले सिर्जना गरेका परिस्थितिको विश्लेषणका सन्दर्भमा पनि त्यसैलाई हामीले विभिन्न रूपमा महाधिवेशनमा अघि बढाउँछौं। तर, अहिले हामी यो छुट्टै दस्तावेज आधारित नीतिगत छलफलका निम्ति, विधानको प्रबन्धका निम्ति यो महाधिवेशनमा कुनै कार्यभार बाँकी छैन।

नीति र उठेका विषय टुंगिइसक्यो अनि नेतृत्वमा पुरानै अध्यक्ष दोहोरिने भनेपछि यो महाधिवेशनको आवश्यकता चाहिँ किन परेको त ?

महाधिवेशनको सन्दर्भमा त केन्द्रीय समिति, सचिवालय, पत्रपत्रिका, सञ्चारमाध्य, तपाईंहरूकै माध्यमहरूमा पनि विभिन्न साथीहरूले ‘नेतृत्व छोड्नुपर्छ’, ‘नेतृत्व नयाँ चाहियो’, ‘पुनर्गठन चाहियो’, ‘जिम्मेवारी लिनुपर्छ’ भन्ने ढङ्गका बहसहरू, तरङ्गहरू सिर्जना गर्दै आउनुभएको छ।

तर, हाम्रो नेकपा (एमाले) को नेतृत्वमा हामी कसलाई निर्वाचित गर्छौँ भन्ने कुरा म एकजना व्यक्ति वा अरू कोही व्यक्ति विशेषले भनेर भन्दा पनिविधानको व्यवस्था अनुसारका प्रतिनिधिहरू आएर उनीहरूले निरूपण गर्ने विषय हो। उनीहरूले चयन गर्ने, छान्ने, निर्वाचित गर्ने विषय हो। यो बाहिर मिडियाबाजीको वा सोसल मिडिया, मल्टिमिडियाको छनोटको विषय पनि होइन। यो प्रतिनिधिहरूको छनोटको विषय हो। उनीहरूको विश्वास कसलाई हुन्छ, त्यस आधारमा नेतृत्व चयन हुन्छ भनेको हो।

हामीले यो महाधिवेशनमा त्यो फोरम सिर्जना गरेका छौं, त्यो अवसर सिर्जना गरेका छौं र त्यो छनोटको अधिकार प्रयोगको अभ्यास हामी गर्न गइरहेका छौं । यसलाई हामीले चाहिं महाधिवेशनको वैधानिक व्यवस्था गरेका छौं। यो व्यक्तिको मनमा लागेको कुरा होइन नि, हाम्रो विधानको व्यवस्थाको अभ्यास गर्न गइराखेको हो।

अहिले वरिष्ठ उपाध्यक्षले महासचिवलाई एउटा दस्तावेज हस्तान्तरण गर्नुभएको छ।  त्यो दस्तावेजमा पार्टीभित्रको अहिलेको कार्यसञ्चालन शैली, विधि, पद्धति, पार्टीभित्र साँघुरिँदै गएको लोकतन्त्रको विषयमा कुरा उठाउनुभएको छ। उहाँले अगाडि सार्नुभएको दस्तावेजमाथि कुनै छलफल नै हुँदैन यो महाधिवेशनमा ?

उहाँसहित भएर तयार गरेको विधान, उहाँसहित भएर पारित गरेको विधानले दस्तावेज आधारित छलफलको निम्ति कुनै स्पेस बाँकी राखेको छैन। यो दस्तावेज प्रस्तुत गर्ने कमरेडहरूले विधानको कुन व्यवस्था अन्तर्गत त्यो माग गर्नुभयो/प्रस्तुत गर्नुभयो, उहाँले आफैंलाई प्रश्न गर्नुभए हुन्छ, हामीलाई त्यसको स्पष्ट पार्नुभए हुन्छ।

दोस्रो कुरा, कम्युनिस्ट आन्दोलनका समग्र घटना/परिघटना, विगत, वर्तमान, भविष्यको विश्लेषणसहितको राजनीतिक प्रस्ताव, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रस्तावसमेतका विषयमा त हामीले तीन दिनसम्म घनिभूत छलफल गरेर, समूह-समूह विभाजन गरेर, सुझाव लिएर, त्यसमा स्पष्ट पारेर अनिसर्वसम्मतिले पारित गरेको विषय छ।

अहिलेका घटनाका सन्दर्भमा पनि ३६९ जना केन्द्रीय कमिटीका सदस्यहरूमध्ये ३२८ जनाले बोलेर, उपस्थित आफ्नो धारणा राखेर, केन्द्रीय कमिटीको बैठकले एउटा दृष्टिकोण सर्वसम्मतले तय गरेर अगाडि बढिसकेको स्थिति हो।

२३ गते २४ गतेका घटनालाई, त्यसले सिर्जना गरेको परिस्थितिलाई सन्दर्भमा पनि एमालेभित्र निर्णयका तहमा नै असोज २९, ३० र ३१ गते बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्ट गरिसकेको छ, निर्णय गरिसकेको छ।

कुन मुख देखाएर भोट माग्न जाने होला भनेर मेरो पार्टी भित्रकै चुनाव लड्दालड्दा थाकेर हैरान परेका, हत्तु परेका नेताहरूले त्यसो भनेको मैले सुनेको छु ।

त्यो दस्तावेज होइन, त्यो उहाँहरूले मत माग्नका निम्ति तयार पार्नुभएको प्रतिबद्धतापत्र मात्र हो। कमरेड ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्नका निम्ति ‘म यो विषयहरू उठाएर प्रतिनिधिहरूलाई प्रभावित गर्ने कोसिस गर्छु’ भनेर तयार गर्नुभएको प्रतिबद्धतापत्र हो। त्यो प्रतिबद्धतापत्रमा छलफल गर्ने विधानको व्यवस्था उहाँसहितले नै तयार गर्नुभएको छैन। त्यो विधानमा ठाउँ छैन।

यहाँ अध्यक्षले, महासचिवले, पार्टी केन्द्रीय कार्यालयले अथवा अरूले त्यो छलफल गर्न दिने कि नदिने विषय होइन। त्यो छलफल गर्ने अभ्यास र त्यो प्रबन्ध, वैधानिक प्रबन्ध र स्पेस नै उहाँहरूले सिर्जना गर्नुभएको छैन। त्यो छलफलको ठाउँ बाँकी छैन। उद्घाटन सत्र हुन्छ, त्यसपछि सिधै इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान नगर्ने हो भने यो देशभरिका झन्डै २४०० महाधिवेशन प्रतिनिधिले जुन प्रयोजनको व्यवस्थापन हो, त्यो प्रयोजनभन्दा बाहिर समय खर्च गर्ने स्थिति सायद हुन्छ जस्तो मलाई लाग्दैन।

दुई-दुई कार्यकाल अध्यक्ष भइसक्नुभएको र जेन्जी आन्दोलन पछाडि सत्ताबाट पनि बहिर्गमनमा परिसक्नुभएको र बाहिरबाट पनि सबै पार्टीहरूमा नेतृत्व परिवर्तनको यत्रो बहस र कुराकानी चलिरहेको बेलामा केपी ओली नै तेस्रो पटक अध्यक्ष बन्न खोज्दै हुनुहुन्छ। तपाईंहरू सहितका धेरै नेता चाहिं उहाँलाई नै अध्यक्ष बनाउनुपर्छ भनेर लागिराख्नुभएको छ। अनि उहाँ नै अध्यक्ष हुनुभयो भने चुनावमा भोट माग्न कसरी जाने होला यसपालि एमाले ?

कतिपय पार्टीभित्रका नेताहरूले भनेका कुराहरू तपाईंले प्रश्नको रूपमा मलाई राख्नुभयो, तपाईंलाई धन्यवाद छ। कुन मुख देखाएर भोट माग्न जाने होला भनेर मेरो पार्टी भित्रकै चुनाव लड्दालड्दा थाकेर हैरान परेका, हत्तु परेका नेताहरूले त्यसो भनेको मैले सुनेको छु ।

मैले पनि मान-सम्मान गर्ने थुप्रै नेताहरूले त्यस्तो भनेको सुन्छु। उहाँहरूले आराम गर्नुहोस्। उहाँहरूले मुख देखाउनु पर्दैन। सके भोट माग्दिन कार्यकर्तालाई जानुहोस्, नत्र भोट दिनुहोस्। म चाहिं त्यो आग्रह गर्न चाहन्छु।

भदौ २२ गते विधान महाधिवेशनबाट सबैले तेस्रो कार्यकाल सर्वसम्मतिले केपी ओलीका निम्ति नै ढोका खोलेको हो। हामीले विधानको जुन बन्देज थियो, त्यसलाई हटाएर दुई कार्यकाल र ७० वर्षको उमेर हद हटाउने निर्णय केपी ओलीले आदेश जारी गरेर हटाउनुभएको होइन, सिङ्गो विधान महाधिवेशनले सर्वसम्मतिले पारित गरेको विषयहो। र, त्यो वैधानिक व्यवस्था हामीले गरेका छौँ।

हाम्रो पार्टीभित्रको आजको मनोदशा के हो भन्नुहुन्छ भने, २२ गतेको मिति सम्म म अब अध्यक्ष हुँभनेर भन्ने गरी कमरेड ईश्वर पोख्रेल पनि प्रस्तुत हुनुभएको थिएन, पार्टीभित्र कोही पनि हुनुहुन्थेन, त्यस ढङ्गले प्रस्तुत गर्नुभएको थिएन।

आजको स्थितिमा केपी शर्मा ओलीको नेतृत्वमा एमाले जसरी अगाडि बढेको हो। राजनीति सिङ्गो सोझो बाटोमा त अगाडि बढ्दैन। बाङ्गो/टिङ्गो, घुमाउरो, उकालो/ओरालो सबै हुन्छ। यसका बाबजुद आजको स्वीकार्यताका हिसाबले, आजको पार्टीभित्रको विश्वास र भरोसाका हिसाबले, नेतृत्व क्षमताका हिसाबले, त्यो दमका हिसाबलेकमरेड केपी शर्मा ओलीसँग टक्कर दिन सक्ने गरी अर्को कसैले तयारी गरेको मैले पाएको छैन।

यस्तो स्थितिमा प्रतिस्पर्धाका निम्ति त कमरेडहरूले उम्मेदवारी हाल्ने कुरा होला, तर अहिले त प्रतिनिधिहरू छानिँदाखेरि नै एक ढङ्गको स्पष्टताका साथ आउनुभएको छ । मैले निकै सानो सङ्ख्याले मात्रै केपी शर्मा ओलीले छोड्नुपर्छ भन्ने कुरा राखेको पाएको छु । त्यही सानो सङ्ख्याको हिस्सा र कित्तामा उभिएर कमरेड ईश्वर पोख्रेल र केही नेता कमरेडहरूले विभिन्न ढङ्गका कुराहरू गरिरहेको/प्रतिस्पर्धा गर्छौं भनिरहेको कुरा हो। उहाँहरूले प्रतिस्पर्धा गर्न पाउनुहुन्छ, त्यो प्रतिस्पर्धाको अधिकार छ। तर, वस्तुगत अवस्था र महाधिवेशनमा चुनिएर आएका प्रतिनिधिहरूको मनोदशाले त्यो भन्दैन।

मान्छेहरू आफ्ना-आफ्ना योग्यताहरूलाई जेन्जीको सिरानी हालेर प्रस्तुत गर्ने कोसिस गरेको पाउँछु। जेन्जी मुभमेन्ट जुन भनिएको थियो, त्यो जेन्जी मुभमेन्टको विरासतलाई, त्यसको आकाङ्क्षालाई, त्यसका मागलाई एमालेले बोकेर हिँड्नुपर्ने जरुरी छैन। एमालेले आफ्ना माग, आफ्नो हित, आफ्नो एजेन्डा, आफ्नो नीति, आफ्नो कार्यक्रम र आफ्नो नेतृत्व तय गरेर जाने हो।

त्यसले सिर्जना गरेका आगजनी र डडेलोको प्रतिवाद गरेर, त्यो देशलाई खरानी बनाउने खालका जुन उपद्रो र उत्पातहरू गरिएको छ, त्यसको भण्डाफोर गरेर, तिनलाई कानुनी कारबाहीमा कठघरामा उभ्याउने गरी एमाले तयार हुनुपर्छ। म चाहिं यो मान्यता राख्ने मान्छे हुँ। किनभने कुनै पनि देशमा कुनै पनि राजनीतिक उद्देश्यसहितका प्रदर्शनहरू, आन्दोलनहरू, परिवर्तनहरूलाई क्रान्ति भनिन्छ। एकदमै रहस्यमय ढङ्गले, आपराधिक ढङ्गले आगजनी गर्ने, रक्तपात मच्चाउने खालका विषयहरू, घटनाहरू ती क्रान्ति होइनन्।ती प्रतिक्रान्ति हुन्। ती जनविरोधी, प्रतिक्रान्तिकारी, प्रतिगमनकारी क्रियाकलापहरू हुन्। त्यसको पक्षमा एमाले उभिनुहुन्न, त्यसको विरोध गरेर अगाडि बढ्नुपर्छ ।

अरू कसैका लागि दृष्टान्त बन्ने, अरू कसैले भन्दा बढी युवालाई नेतृत्वमा स्थापित गर्ने/ल्याउने र अरू कसैले भन्दा बढी योग्य, अनुभवी र पार्टी निर्माण र पार्टी सञ्चालनमा पोख्त व्यक्तिहरूको नेतृत्व पङ्क्ति तयार गरेर हामी अगाडि बढ्छौं।

अध्यक्षलाई तपाईंहरूले फेरि पनि तेस्रो कार्यकालका लागि अगाडि बढाउने भन्दै हुनुहुन्छ। अनि पदाधिकारीहरू सबै फेरि तिनै पदका आकाङ्क्षीको रूपमा बाहिर प्रकट भइरहेको देखिन्छ। केन्द्रीय समितिको एउटा ठूलो पङ्क्ति वर्षौंदेखि त्यो केन्द्रीय समितिमै बसिरहेको छ। नेतृत्वमा कुनै परिवर्तन नहुने, अध्यक्ष पनि नफेरिने, महासचिव लगायतका अरू-अरू पदाधिकारीहरूको पनि नफेरिने हुँदा पछिल्लो  पुस्ता एमालेमा कसरी प्रवेश हुने ? एमालेमा त ठूलो जाम देखिन्छ नि ?

यो भाष्य निर्माण गर्न खोजिएको छ। सीपी मैनालीले पार्टी स्थापना गर्दाखेरि २४ वर्षको उमेरमा महासचिव हुनुहुन्थ्यो। मोहनविक्रम सिंहले ३१ सालको महाधिवेशन गरेर महासचिव हुँदा ३९ वर्षको हुनुहुन्थ्यो। मदन भण्डारी पार्टीको महासचिव चुनिंदाखेरि उहाँ ३९ वर्ष, ३८/३९ वर्षको हुनुहुन्थ्यो भन्ने दृष्टान्त पनि हाम्रै मुभमेन्टमा छन्।

म छैठौं महाधिवेशनदेखि विभिन्न रूपमा महाधिवेशनको काममा सरिक छु। सातौं, आठौं, नवौं, दशौं, अहिले एघारौं- पाँच वटा महाधिवेशनमा भाग लिएको त मै छु। मभन्दा अगाडि नेकपा (माले) स्थापना हुँदा ३५ सालदेखि भाग लिएका नेताहरूको सङ्ख्या पनि छ। चौथो महाधिवेशन, पाँचौं महाधिवेशनमा प्रतिनिधि भएका नेताहरूको पनि सङ्ख्या छ। एमालेमा त्यसो भएर विराट इतिहास र अनुभव भएका नेताहरूको पनि सङ्ख्या छ। ती केही होइनन् जस्तो गरिको पनि आज छलफल गर्नुपर्ने, नेतृत्व निर्माण गर्नुपर्ने स्थिति म देख्दिनँ।

नयाँ पुस्ता पनि त्यसका निम्ति तम्तयार हुँदै आएको छ। एक समय महासचिव मदन भण्डारी हुँदा शङ्कर पोखरेल विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो। आज महासचिव दोस्रो कार्यकाल हुने ठाउँमा हुनुहुन्छ। सहज प्रक्रियाबाटै नेतृत्व निर्माणको काम अगाडि बढिरहेको छ।

तर यो महाधिवेशनमा ठूलो फेरबदल हुन्न । एउटा पुस्ता, एउटा जेनेरेसन नै खासगरी ७० वर्ष माथिको, ६० वर्ष माथिको, ७० वर्ष मुनिको पुस्ता चाहिँ नेतृत्वमा बल्ल तयारीको स्थितिमा देखिन्छ।

त्यसो भएर नयाँ जेनेरेसनलाई, ४० वर्ष मुनिको पुस्तालाई नेतृत्वमा कसरी ल्याउने, केन्द्रीय कमिटीमा कसरी ल्याउने भनेर विधान प्रबन्धहरूमा चाहिँ केही नयाँ प्रबन्ध गर्नुपर्छ कि भन्ने ढङ्गका पनि छलफल चलेका छन्। तर यो सबै स्थितिमा हामीले के ध्यान दिनुपर्छ भने, पुरानो पुस्तालाई, पुरानो पार्टी बनाएर आएको, यो सबै परिवर्तनको नेतृत्व गरेर आएको पुस्तालाई सबैलाई केही होइन भनेर डिस्कार्ड गर्ने, हटाउने, फाल्ने र नयाँ आएर यो एमालेलाई युवा सङ्घजस्तो, अखिलजस्तो बनाउने ढङ्गले जुन बाह्य बहसहरू चलिराख्या छन् । हाम्रो युवा सङ्घ पनि छ, अखिल पनि छ, भोलिन्टियर्स फोर्स पनि बनेको छ, अनेमसङ्घ पनि छ। सबै सेक्टरल नेतृत्व निर्माणका हाम्रा सिस्टर अर्गनाइजेसनहरू, भ्रातृ सङ्गठनहरू छन्। त्यहाँबाट नेतृत्व ग्रुमिङहुन्छ।

र, पार्टीको नेतृत्व चाहिँ ४० वर्ष मुनिको एउटा पुस्ता, ६० वर्ष मुनिको अर्को पुस्ता र ६० वर्ष माथिको अर्को पुस्ता, युवा, वयस्क र प्रौढ गरी यो तीन पुस्ताको संयोजनसहितको हामीले नेतृत्व निर्माण गर्छौं। अरू कसैका लागि दृष्टान्त बन्ने, अरू कसैले भन्दा बढी युवालाई नेतृत्वमा स्थापित गर्ने/ल्याउने र अरू कसैले भन्दा बढी योग्य, अनुभवी र पार्टी निर्माण र पार्टी सञ्चालनमा पोख्त व्यक्तिहरूको नेतृत्व पङ्क्ति तयार गरेर हामी अगाडि बढ्छौं।

यो बाह्य रूपमा युवा-युवाभन्दै चिच्याइरहेको पङ्क्तिले आफैं नेतृत्व गर्नु पर्यो भने कस्तो स्थिति सिर्जना गर्छ भन्ने त तपाईंले सरकारमै देख्नुभएको छ। त्यहाँ कुनै एक जेन्जीबल्ल-बल्ल ओखतीका रूपमा सरकारमा सामेल भएको छ।

मान्छेहरू के बोल्छन् र के गर्छन् भन्ने एमालेले बोल्ने र गर्ने कुरालाई चाहिँ बडो सन्तुलित रूपमा, त्यो सम्बन्धका आधारमा निष्कर्षमा पुर्याउँछ।

हामी युवाहरूको भविष्य यो पार्टीको नेतृत्व गर्ने तहमा सुनिश्चित गर्ने पनि अगाडि बढ्छौं। पाको पुस्ताको सम्मान पनि गर्छौं। अहिलेको नेतृत्वदायी पुस्तालाई पनि अझ बलियो ढङ्गले पार्टी सञ्चालनका निम्ति काबिल र अभ्यस्त बनाउँदै अगाडि बढ्छौं । हामीकहाँ त्यो समस्या पर्छ भन्ने मलाई लाग्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?