नेकपा एमालेमा नेतृत्व हस्तान्तरण कि यथास्थितिलाई अनुमोदन गर्ने भन्ने बहस चर्केको छ । दुई कित्तामा विभाजित भएर नेताहरूले आफ्ना कुरा सार्वजनिक गरिरहेका छन् ।
केपी शर्मा ओलीलाई तेस्रोपटक पनि अध्यक्ष बनाउनुपर्छ भन्नेहरूले मुलुकको संकटलाई देखाएर यथास्थितिको अडान लिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नयाँ अध्यक्ष बनाउनुपर्छ भन्नेहरूले पनि देशकै संकटलाई देखाएका छन् । तर उनीहरूले ओलीकै नेतृत्वमा संकट समाधान संभव नहुने बताइरहेका छन् ।
पोलिटब्यूरो सदस्य ठाकुर गैरे नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । उनी भन्छन्, ‘सिनियर पुस्ताको लिडरसिपले एक ठाउँमा उभिएर पार्टीको एकतालाई बचाउन सहमतिका साथ नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियामा जानुपर्छ ।’
प्रस्तुत छ, ठाकुर गैरेसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश:
एमालेभित्र जस्तो शक्ति अभ्यास हुँदै आएकोे थियो । त्यसमा परिवर्तन देखिएको छ । यो स्वभाविक हो ?
भदौ २२ र २३ गते नेपालमा जुन घटना भयो, त्यसपछि नेकपा एमालेको आन्तरिक जीवनमा नेतृत्व हस्तान्तरणको बहस मुखरित भएर आयो । यथास्थितिमा चल्ने प्रक्रियाबाट मुक्त भएर पार्टी अग्रगामी बाटोमा जानुपर्ने आवश्यकता देखियो । पुनर्गठनको प्रश्न केवल केन्द्रीय कमिटी वा अध्यक्षको मात्र नभएर वडा र टोल स्तरसम्म मुखरित भएर आयो ।
यद्यपि यो विषय विधान महाधिवेशनमा पनि थियो । विधान महाधिवेशनमा एक प्रकारले जबरजस्ती तरिकाबाट ७० वर्ष उमेर हद हटाउने र दुई कार्यकालको अवधि नराख्ने कुरा भयो ।
तर भदौ २२/२३ जुन घटना भयो, त्यसले यो बहसलाई मुखरित ढंगले अगाडि ल्यायो । अहिले पार्टीभित्र नेतृत्वलाई यथास्थितिमा राख्ने वा नेतृत्व बदल्ने, र पार्टीको समग्र जीवनको पुनर्गठनको विषयमा दुई ध्रुवको सिर्जना हुन पुगेको छ ।
उमेर हदको व्यवस्था हटाएर प्रतिस्पर्धामा आउनु गलत थियो ?
अवश्य पनि । विगतमा हामीले गरेको विधानको व्यवस्था, जेनजी आन्दोलन र त्यसपछि विकसित राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर निर्णय लिइनुपर्थ्यो ।
आज म आएर हेर्दा एमालेले हतारमा यो महाधिवेशन गर्नु नै गलत भयो भन्छु । तर यो परिस्थितिमा जो ७० वर्ष उमेर पुगिसक्नुभएको छ र ५०–५५ वर्ष यो आन्दोलनमा योगदान गरिसक्नुभएको छ, उहाँहरूले अत्यन्त सम्मानजनक ढंगबाट बिदा हुने र एउटा सम्मानित संरचना निर्माण गरेर त्यहाँ बसेर पार्टी निर्माणमा योगदान गर्ने बाटोमा लाग्नुपर्ने थियो ।
प्रतिस्पर्धा गर्न आउनुपर्ने विषय थिएन । उहाँहरूको सामूहिक समझदारीमा नेतृत्व टुंग्याउने महाधिवेशनको रूपमा यसलाई लैजान सक्नुपर्थ्यो ।

केपी शर्मा ओली, ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायत जो ७० वर्ष कट्नुभएको छ, उहाँहरूले सामूहिक रूपले बिदा हुनुपर्थ्यो ?
हो, जसले यो आन्दोलनमा लगातार ५५ वर्षको वरिपरि योगदान गर्नुभयो र उमेरले ७० काट्नुभएको छ, उहाँहरूले सामूहिक रूपले बिदा भएर यो पार्टीमा नयाँ ऊर्जा दिनेगरी योगदान गर्नु पर्थ्यो । यो ठूलो अवसर नेताहरूले गुमाउनुभयो भन्ने म ठान्छु । तर अझैपनि परिवर्तनको सन्देश दिन सकिन्छ, त्यो हिम्मत गनुपर्छ ।
नेतृत्व परिवर्तन भयो भन्ने सन्देश दिनु मुलुकको लागि हितकर हुँदैन । त्यसले विदेशीहरूले जितेको सन्देश जान्छ पनि भनिँदैछ नि ?
यो संकट केवल नेकपा एमालेका अध्यक्षको संकट भनेर बुझियो भने त्यो अपूर्ण हुन्छ । अध्यक्षमाथि कुनै आरोप आउँछ भने त्यो आरोप सिंगो एमालेको परिवारमाथि आएको आरोप हो भन्ने बुझ्नुपर्दछ ।
२३ र २४ भदौमा जस्तो घुसपैठ भयो । त्यसमा हामीले बुझ्नुपर्ने के छ भने त्यो परिस्थिति निर्माणको कारण आन्तरिक हो कि बाह्य हो ? बाह्य हस्तक्षेप छ, घुसपैठ छ । अनेक स्वार्थ समूहले नेपाललाई ‘डिप स्टेट’ बनाउने उद्देश्यका साथ गतिविधिहरू भएका छन् । तर त्यो परिस्थिति निर्माण हुने कुराको लागि आन्तरिक कारण चाहिँ महत्वपूर्ण छ भन्ने कुरालाई हामीले रियलाइज गर्नु पर्दछ । त्यसो भयो भने बल्ल हामी ठीक ठाउँमा जान सक्छौं ।
तपाईं केपी कमरेड र एमालेलाई छुट्याएर नहेर्ने कुरा गर्दै गर्दा जेनजी आन्दोलनमा त एमालेको विरुद्धमा नारा लागेको सुनिएन, त्यहाँ त केपी ओलीकै विरुद्धमा नारा लागेको थियो नि ?
त्यो कुरा छुट्टिनुपर्छ भन्ने कुरा स्वाभाविकै हो । तर फेरि, अध्यक्षको ठाउँबाट सोच्दा र हामीले अध्यक्ष भनेर हेर्दाखेरि पार्टीको अध्यक्ष आफैँमा संस्था पनि हो । त्यसकारणले अध्यक्षमाथि लागेका आरोपहरूलाई छुट्याएर हेर्नुपर्छ ।
अनाश्यक रुपमा लागेका आरोपहरूलाई खण्डन र प्रतिवाद गर्नुपर्दछ । यदि उठेका प्रश्नहरू जायज छन् भने त्यसलाई रियलाइज गर्नुपर्छ । र त्यसलाई सम्पूर्ण पार्टीले ओनरसिप लिने हिसाबले जानुपर्ने हो ।
तर हामीकहाँ भयो के भन्दाखेरि पछिल्लो समय एमालेको संस्थागत जीवन कमजोर भयो । पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुन सकेन । पार्टी विधिसम्मत, विधानसम्मत चल्नुपर्थ्यो, त्यो चल्न सकेन । सामूहिकताको अभ्यास कमजोर हुँदै गयो । जसले गर्दाखेरि जस पनि एकजना नेतालाई दिने र अपजस पनि एकजना नेतालाई दिने परिस्थितिको निर्माण भयो । त्यस्तो नहुनुपर्ने हो ।
तपाईँले सुनाउनुभएको निष्कर्षमा नेतृत्व सहमत देखिन्न । अध्यक्षले त्यो आन्दोलन अराजक, आतंकवादी रहेको भन्दै हुनुहुन्छ नि ?
भदौ २३ र २४ गतेलाई दुई भागमा छुट्याएर हेर्नैपर्छ । २३ गते युवा पुस्ताले भ्रष्टाचारको अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्छ, बन्द भएका सामाजिक सञ्जाल खुल्नुपर्छ भनेर शान्तिपूर्ण प्रदर्शन गरे । त्यो अवधि करिब साढे तीन बजेसम्म रह्यो, र त्यस क्रममा भएको सरकारी दमन र त्यहाँ भएको विभत्स हत्या एउटा फरक विषय भयो । त्यसपछि त ‘घुसपैठ भयो’ भनेर उनीहरू स्वयं पछि हटे ।
२४ गतेको निष्कर्षमा त तपाईँहरू एकैठाउँ उभिनु भएको छ । तर विद्यार्थीहरूको हत्याको घटनामा लफडा पर्ने देखियो ?
त्यसमा म के भन्छु भन्दाखेरि २३ गतेको घटनामा छुट्टै इन्भेस्टिगेसन होस् । त्यसमा दोषी को हो ? सरकारको कमजोरी के हो ? त्यसभित्र पनि घुसपैठ थियो कि थिएन ? त्यसको निष्पक्ष इन्भेस्टिगेसन हुन जरुरी छ ।
अध्यक्षले सार्वजनिक फोरमहरूमा भन्दै हुनुहुन्छ कि मलाई अध्यक्ष हुनु अगाडि नै पक्राउ गरोस्, थुनोस्’ भन्ने हेतुले पार्टीभित्र गोली चलेको जिम्मेवारीको विषय उठाइएको छ । सत्य कुरा यही हो ?
यसलाई म के भन्छु भन्दाखेरि २३ र २४ को घटनालाई विषयवस्तु बनाएर पार्टीको आन्तरिक जीवनमा कलह पैदा गर्ने, जिताउने र हराउने विषयवस्तु बनाउने रुपले त्यो घटनालाई जोडेर जानुपर्छ भन्ने मलाई लाग्दैन ।
म त के भन्छु भने, सम्भव हुन्छ भने अहिले पनि सिनियर पुस्ताको लिडरशिपले एक ठाउँमा उभिएर पार्टीको एकतालाई बचाउन सहमतिका साथ नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियामा जानुपर्छ ।

अध्यक्षले छोडेर अर्को व्यक्तिको नाममा सर्वसहमति गर्नुपर्छ ?
आज देशव्यापी कार्यकर्ता पङ्क्तिको, आम नेपाली जनताको चाहना के छ भने एकताबद्ध एमाले । आजको राष्ट्रिय आवश्यकता पनि एकताबद्ध एमाले हो ।
आज धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू एमाले यो महाधिवेशनबाट विभाजित होस् भन्ने चाहना राखिराख्या छन् । देश संवैधानिक संकटमा छ, लोकतन्त्र स्वयं संकटमा छ । यस्तो बेलामा एमालेको नेतृत्वले पार्टीको आन्तरिक जीवनलाई एकताबद्ध गर्ने, सुदृढ बनाउने र गतिशील बनाउने कुरामा जिम्मेवारपूर्ण भूमिका आवश्यकता हो । त्यो भूमिका उहाँहरूले निर्वाह गर्नुभयो भने उहाँहरू अर्को स्यालुटयोग्य पात्र बन्नुहुनेछ ।
तर नेतृत्व परिवर्तनको कुरा उठाउनेहरूलाई भीम रावल बनाइने चेतावनी पनि दिइँदै छ नि ?
त्यस्तो कुरा सोच्ने नेताहरूले त भीम रावल लगायत हिजो विभिन्न कारणले छोडिएका सबै कमरेडलाई एमालेको झण्डामुनि गोलबन्द गर्ने परिस्थिति निर्माणमा लाग्नुपर्ने होइन र ! त्यो दायित्व उहाँहरूको होइन र !
बाहिर रहेकाहरूलाई ल्याउन भनेर एकातिर घरफर्क अभियान चलाउने, अनि अर्का तर्फ यहाँ भएको मान्छे बाहिरै हुन्थ्यो भन्ने चाहना राख्ने काम गर्नु हुँदैन ।
नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले यसको मूल प्रवाह हो । यसमा सबैलाई हार्दिकतापूर्ण वातावरण निर्माण गरेर गोलबन्द हुने परिस्थितिको निर्माण गर्ने हो । आजको राष्ट्रिय राजनीतिमा आएका चुनौतीहरूलाई समाधान गर्न नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूसँग बृहत्तर सहकार्य गर्ने अवधारणा सहित एमालेले लिड गर्नुपर्छ ।
यो पृष्ठभूमि हेर्दा चितवन भाग–२ भन्दा धेरै टाढा जाँदैन होला भनेर टिप्पणी पनि भइरहेको छ नि ?
हामी स्वस्थ प्रतिस्पर्धा गरौँ भन्ने चाहन्छौं । पार्टीमा लामो समयदेखि योगदान गरेको हरेक कार्यकर्ताले यो महाधिवेशनमा निर्भयतापूर्वक आफ्नो मनोनयन दर्ता गर्ने, प्रतिस्पर्धामा भाग लिने र जे रिजल्ट हुन्छ, त्यो कुरालाई स्वीकार गरेर अगाडि बढ्ने परिस्थितिको निर्माण पार्टीको नेतृत्व चयनको प्रक्रियामा सुनिश्चित हुनुपर्छ ।
फेरि भिम रावल झैँ नेताहरूले पार्टी छोड्ने वातावरण बन्छ कि भन्ने चिन्ता त छ नि ?
भीम रावल उत्पादन… जताततै चर्चामा छ । पहिले टंक कार्की बनाइन्छ भन्थे । म के भन्छु भने सबै कम्युनिस्ट पार्टीलाई माया गर्ने, जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने सबै व्यक्तिहरू एमालेको झण्डामुनि गोलबन्द हुने परिस्थितिको निर्माण भयो भन्ने सन्देश यो महाधिवेशनले दिनुपर्छ । प्रतिस्पर्धा गर्दैमा पार्टीमा विभाजन हुन्छ भन्ने विचार सबैले त्याग्नु पर्दछ ।
तर जबज पनि भन्ने, र कुनै व्यक्तिको नाममा एकताबद्ध पनि हौं भन्ने विरोधाभास त देखिन्छ नी ?
हामीसँग नेतृत्व त समयअनुसार बदलिँदै जान्छ, तर विचारले हामीलाई जहिले पनि लिड गर्छ । त्यसले गर्दाखेरि आज हामीले जनताको बहुदलीय जनवादी विचारको सिद्धान्तको वरिपरि गोलबन्द बनौँ।
र त्यो सिद्धान्तको वरिपरि गोलबन्द भएकाहरू मध्येबाट योग्यतम व्यक्तिलाई प्रतिस्पर्धाको माध्यमबाट नेतृत्वको चयन गरौँ । यो बाटोमा हिँड्नु पर्यो र यसलाई सबैले आत्मसात् गर्नु पर्यो ।
एमालेको लिडरशिप कस्तो हुनुपर्छ ? कस्तो मानिसलाई प्रतिनिधिहरूले भोट हाल्ने ?
बहसहरू एकदम व्यक्ति केन्द्रित बहस भइरहेको देख्छु । आज हामीले भनिरहेका छौँ, ‘जनताको बहुदलीय जनवादको प्रकाशमा समाजवादको आधार तयार गरौँ’ । यो आधार तयार गर्नका लागि रोजगारी सिर्जना गर्नु पर्यो, उद्यमशीलताको विकास हुनुपर्यो, उद्योग खुल्नुपर्यो, उत्पादन बृद्धि गर्नु पर्यो, अनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने ठाउँमा पुर्याउनु पर्यो । यो उद्देश्य हासिल गर्न पो हामीले नेतृत्व खोजेको हो नि !
र, सँगसँगै नेपालको राष्ट्रियताको झण्डालाई बुलन्दीका साथ बोक्ने, लोकतन्त्रप्रति प्रतिबद्ध भएको नेतृत्व एमालेको नेतृत्व बन्नु पर्ने हो । जुन जुन नेतृत्व विधिसम्मत चल्छ, सामूहिक ढंगले चल्छ र जसको भागीदार पनि सामूहिक रूपले बन्न तयार हुन्छ । यस्तो संस्कार जबजले खोजेको हो ।
पार्टीभित्र जुन प्रकारको अराजकता, अवसरवाद, बिचौलियाहरूको हाबी हुने प्रवृत्ति छ, त्यसको अन्त्य हुनुपर्यो । पार्टीभित्र न्यूनतम न्याय मर्दैन भन्ने कुराको ग्यारेन्टी त आम कार्यकर्ताले पाउनु पर्यो नि । त्यो परिस्थिति निर्माण हुन्छ भन्ने कुराको सन्देश सहित हामीले पोलिसी महाधिवेशन गर्नुपर्यो, र त्यसैलाई बोक्ने गरी नेतृत्व चयन गर्नुपर्यो ।

आजको देशको मुख्य समस्या के हो ? भ्रष्टाचार, कमिसन, बिचौलियातन्त्र । त्यसका विरुद्ध लड्ने नेतृत्व चाहियो नि हामीलाई ।
तपाईं विद्यार्थी आन्दोलनमा एउटा आइकन नेता हुनुहुन्थ्यो । लामो समयदेखि एमाले केन्द्रीय कमिटीमा हुनुहुन्छ, तपाईँले कस्तो नेतृत्व आउनुपर्छ भन्ने लाग्छ ?
कस्तो आउनुपर्छ भन्दा अहिले जो प्रतिस्पर्धामा आफूलाई तयार गर्नु भा’छ, उहाँहरूको बीचबाटै आउने कुरा भैहाल्ने भयो । जसले बहुमत प्राप्त गर्छ उहाँ आउने कुरा हुने नै भयो। त्यसमा म फ्रेस लिडरशिप आयोस् भन्ने चाहन्छु ।
दोस्रो कुरा, आजको विज्ञान र प्रविधिको दुनियाँमा कसैलाई भत्काउनलाई गोलाबारुद पनि नचाहिँदो रहेछ नि । आइटीबाटै सबै कुरा हुँदो रहेछ । हातहातको मोबाइलबाट सबै कुरा हुँदो रहेछ । भनेपछि हाम्रो लिडरशिपले त्यो उचाइबाट सोच्ने र भोलि एमालेको नेतृत्व माथिल्लो तहमा जाम भएर बस्दैन है भन्ने सन्देश दिनुपर्छ ।
अहिले ‘क्लाइमेट चेन्ज’को बहस छ । हिमाली क्षेत्रतिर भएका ठूलाठूला हिमतालहरू समय–समयमा खोलेर पानी नबगाउने हो भने त्यसले देशमा ठूलो डिजास्टर ल्याउँदो रहेछ । भनेपछि हामीले पनि हाम्रो माथिल्लो तहमा जुन प्रकारको नेतृत्व जाम भएर बसेको छ, त्यो जामलाई चाहिँ खोल्नु आवश्यक छ ।
त्यो जाम खोल्ने गरी तपाईंको उम्मेदवारी हुन्छ ?
अनेरास्ववियूको अध्यक्ष भएर पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनदेखि लगातार म केन्द्रीय कमिटीमा छु । म केन्द्रीय कमिटीमा आएकै १७–१८ वर्ष भयो । त्यसैले अब अलमलिएर बस्नु हुँदैन, अगाडि बढ्नु पर्छ भनेर प्रोत्साहन गरिराख्नु भएको छ । मैले त्यो प्रोत्साहनलाई स्वाभाविक पनि लिएको छु । अब पदाधिकारीमा मैले उम्मेदवारी गर्दाखेरि प्रतिनिधिहरूबाट न्याय हुन्छ, र मलाई देश र जनताको सेवा गर्ने जिम्मेवारी प्राप्त हुन्छ भन्नेमा म विश्वस्त छु ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4