News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको एघारौं महाधिवेशन नजिकिएसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले नेतृत्वको लागि केन्द्रीय सदस्यहरूको सूची तयार पार्दैछन्।
- एमाले युवा नेता रचना खड्काले सचिव पदको उम्मेदवारी दिने सम्भावना व्यक्त गर्दै महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्रको थलो भनेकी छन्।
- खड्काले नेतृत्व हस्तान्तरण र सामूहिक नेतृत्व प्रणाली आवश्यक भएको बताउँदै पार्टीलाई समयअनुसार पुनर्गठित गर्नुपर्नेमा जोड दिएकी छन्।
एघारौं महाधिवेशनको मिति नजिकिएसँगै नेकपा एमालेभित्र नेतृत्वको बहस थप सघन बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले नेतृत्व हत्याउनेगरी गतिविधि गरिरहेका छन् । दुवै तर्फ पदाधिकारीको टीम सहित केन्द्रीय सदस्यहरू सूची तयार तयार पार्दैछन् ।
तर आकांक्षी नेताहरु धेरै भएकाले टीम निर्माण सजिलो बनिरहेको छैन । अहिलेका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो देखि केन्द्रीय समितिमै रहेका नेताहरुले पनि पदाधिकारीमा दाबी गरेका छन् ।
त्यस्तै दाबी गर्ने मध्ये एक युवा नेता हुन् रचना खड्का । विद्यार्थी राजनीति हुँदै नवौं राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य रहेकी खड्का यसपटक सचिव पदकी आकांक्षी छन् ।
उनै खड्कासँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः
महाधिवेशनको माहोल ठिकै बनिरहेको हो कि, लाग्नुपर्ने जति नलागेको हो ?
महाधिवेशन आउन चार–पाँच दिन बाँकी हुँदा यतिको त लाग्नै पर्यो नि । महाधिवेशनको व्यवस्थापन, उद्घाटन सत्र, जनपरिचालन, र अन्य तयारीको हिसाबले जति लाग्नुपर्ने हो, त्यति नै लागेको छ ।
यो पटक हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनको बीचमा धेरै अन्तर राखेका थिएनौं, त्यसैले यही गतिमै माहोल लाग्नुपर्ने थियो । जहाँसम्म नेतृत्वको सन्दर्भको कुरा छ, एमालेको एउटा सुन्दरता के हो भने हामी पार्टी सदस्यहरूको सार्वभौमसत्ता स्थापित गर्ने कुरामा सजग छौँ।
जसरी देशको सार्वभौमसत्ता जनताको हातमा हुन्छ, त्यसैगरी पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यको हातमा हुन्छ र त्यसको प्रयोग गर्ने थलो यही महाधिवेशन हो । नेतृत्वका विषयमा हुने छलफल विमर्शले पार्टीलाई कमजोर होइन, बलियो नै बनाउँछ ।
एमाले नेतृत्वले जस्तो अभियोग खेपिरहेको छ, सरकारले जस्तो निर्णय गरेको छ । त्यस्तो बेला तपाईँहरूबाट हमला गर्ने काम भयो भनिँदैछ नि ?
एमालेले मुलुकको नेतृत्व गरिरहेको सन्दर्भमा मुलुकमा जुन खालको घटना भयो, जेसुकै कारणले भएपनि त्यसका सन्दर्भमा एमाले र नेतृत्वमाथि प्रश्न उठ्ने कुरा त स्वभाविक हो नि । त्यसलाई अस्वाभाविक ठान्नु हुँदैन।
मलाई लाग्छ, एमालेको नेतृत्वमाथि अस्वभाविक हिसाबले हमला भयो भने त एमालेभित्र यो वा त्यो व्यक्ति, यो वा त्यो समूह होइन, सबै व्यक्ति, सबै समूह अस्वाभाविक हमलाविरुद्ध विरुद्ध बोलिहाल्छ, बोल्छौं।
तर पछिल्लो घटनाका सन्दर्भमा एमालेले नेतृत्व गरेको हुनाले सरकारले लिनुपर्ने जिम्मेवारीका सन्दर्भमा र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा भएका बहसहरू स्वाभाविक बहस हुन्।
यो सरकारको मूल दायित्व निर्वाचन गराउने हो । त्यो दायित्वबाट सरकार पछाडि नहटोस् । यदि यो सरकार ‘यही हो मौका, कसैलाई तह लगाउनुपर्छ’ भनेर प्रस्तुत भयो भने एमालेको सिंगो पङ्क्ति लागिहाल्छ । तर त्यो बेलाको जिम्मेवारीको सन्दर्भमा एमाले जिम्मेवार हिसाबले प्रस्तुत हुनुपर्छ।
नेतृत्वलाई जोगाउने एउटा दायित्व र आन्तरिक प्रतिस्पर्धालाई जिवित राख्नुपर्ने कर्तव्य हेर्दा गलत समयमा महाधिवेशन भइरहेको त छैन ?
महाधिवेशन गलत समयमा भएको छैन, उपयुक्त समय नै यही हो । जेनजी विद्रोह भनेर जे घटना देख्यौँ, र त्यसपछि जुन अवस्थामा पुगेका थियौँ, पार्टीलाई कसरी अगाडि लैजानुपर्छ भन्ने सन्दर्भमा हामीले स्वीकार्नुपर्ने कुरा के हो भने : त्यो परिस्थितिको निर्माण कसरी भयो ?
हामीले निकालेको निष्कर्ष हो, पार्टी यही हिसाबले जाँदा सही हिसाबले देशको नेतृत्व गर्न सक्दैनौं। सकेनौं। दुई तिहाइको सरकार थियो । शक्तिशाली प्रधानमन्त्री हुँदाहुँदै एउटा सिंगो पुस्ता सडकमा हाम्रो विरुद्धमा उत्रने जुन परिस्थिति बन्यो, त्यो सामान्य थिएन ।
त्यसैले हामी नयाँ हिसाबले छलफल र बहस गरेर आजको समयको पार्टी निर्माण गर्न चाहन्थ्यौँ । त्यसका लागि महाधिवेशन भन्दा उपयुक्त थलो अरू हुँदैन । किनभने विधान महाधिवेशन सकेको २४ घण्टा नबित्दै जस्तो घटना भयो । त्यसपछि पछाडि फर्केर हेर्न त बाध्य बनाएको छ।
जहाँसम्म आन्तरिक लोकतन्त्रको कुरा छ, एमालेले आर्जन गरेको कुरा भनेको आन्तरिक लोकतन्त्रको विषयमा समेत अरू भन्दा अगाडि छ भन्ने विगतमा स्थापित गरेका थियौँ ।
आज हामीले जनतालाई के कुरामा विश्वस्त गराउन सकिरहेका छैनौँ भन्दाखेरि आन्तरिक लोकतन्त्रको कसीमा एमाले जस्तोसुकै कसीमा पनि उत्रन सक्छ भन्ने कुरामा पुनर्विश्वास प्राप्त गर्नुपर्ने स्थिति छ। त्यसैले, महाधिवेशनलाई हामीले स्वभाविक रूपमा लिनुपर्छ।
तर सार्वजनिक सूचनाले फेरि चितवन भाग–२ बन्ने हो कि भन्ने चिन्ता देखिन्छ। त्यसलाई चिर्न सक्नुहुन्छ ?
मलाई लाग्छ, एमाले आज जुन चुनौतीको बीचमा खडा छ । आन्तरिक हिसाबले अप्ठ्यारो महशुस गरिरहेको छ । त्यस हिसाबले हेर्दा ११औं महाधिवेशनलाई चितवन भाग–२ बनाइयो भने त्यो बिडम्बना हुनेछ । पार्टीका लागि त्योभन्दा ठूलो घातक निर्णय केही हुने छैन । त्यसैले मलाई विश्वास छ, कमरेड अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिको उत्तरार्धमा त्यो गल्ती गर्नुहुने छैन।
तर दुईवटा प्रमाणले त्यही देखिन्छ– केपी ओलीले सूची बनाउँदैछु भन्ने सूचना, र अर्को भीम रावल बनाइन्छ भन्ने चेतावनी।
त्यो किन भनिरहनुभएको छ, म बुझ्दिनँ । यदि कसैले त्यसो भनिरहनुभएको छ भने सही अर्थमा उहाँहरूले पार्टीको हित चाहनुभएको छैन । किनभने हामीले एमालेभित्र आन्तरिक प्रतिस्पर्धालाई निषेध गर्ने कुरा सोच्यौँ भने आजको समयको नेतृत्व गर्न सक्दैनौँ । समय यति धेरै बदलिएको छ कि हामी समयभन्दा विपरीत हिसाबले हेर्न सक्दैनौँ।
अध्यक्ष आफैंले त्यसो गरिरहनु भएको छ कि छैन, थाहा छैन । तर कसैलाई अध्यक्षले त्यसो गरिदिँदा आफू सुरक्षित भइन्थ्यो भन्ने लागेको छ भने उहाँहरू आफू सुरक्षित हुने बाटो सोच्नुभएको होला, तर पार्टीलाई बलियो बनाउने गरी सोचिरहनुभएको छैन । र पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदाखेरि जनताको विश्वास कहाँ कति स्खलित भएको छ भन्ने कुरालाई पनि हामीले अप्ठ्यारो नमानीकन समीक्षा गर्नुपर्छ ।
केपी ओलीसँग चुनाव लड्नुभएका वा असहमति जनाउनु भएकाहरू समयान्तरमा एमालेमा नरहने अवस्था बन्यो । त्यसकारण पनि उहाँहरूको चिन्ता जायज हो कि भन्ने आम मानिसलाई पर्ने भयो नि ?
म नेतृत्वसँग के पनि अनुरोध गर्न चाहन्छु भने एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मानेको छ । र जबजलाई सिद्धान्तका रुपमा अंगीकार गरेपछि हामी जनताका बीचमा निरन्तर लोकप्रिय र निर्वाचित भइरहने स्थिति बन्यो । नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटा ठूलो जडताबाट बाहिर निकालिएको महत्वपूर्ण परिघटना थियो ।
जबज संसारभरका कम्युनिष्टहरुको असफलताको पाठ सिकेर ल्याइएको दस्तावेज हो । जबजको सारभूत कुरा के हो भने, सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्यौँ भने हामीले जस्तासुकै चुनौती पनि सामना गर्न सक्छौँ ।
अहिले एमालेको आवश्यकता के हो भने एक्लै बलियो हुने नेतृत्व होइन । आज एमालेमा एउटा यस्तो सामान्य नेतृत्व चाहिएको छ, जसले अरूको महत्व पनि बुझोस्, अरूको योगदानको पनि कदर गरोस्, आफूलाई पनि अरू सरह ठानोस् । र, कसैको हातमा शीर राखेपछि अन्तिम सफलता हुन्छ भन्ने भ्रमबाट निस्कियोस् । आज एमालेमा चाहिएको नेतृत्व भनेको सामूहिक हिसाबले पार्टीलाई नेतृत्व गर्न सकोस् ।
अर्कातिर बलियो नेतृत्वको कुरा गर्छौं। आज हाम्रो नेतृत्व यो भन्दा बलियो बनाउने त ठाउँ छैन । तर यतिको बलियो बनाएको नेतृत्वले पनि जुन परिस्थिति निर्माण भयो, त्यसको सामना गर्नेगरी समयमै खतराहरू टार्ने त देखिएन ।
यसमा अध्यक्षको टिप्पणी हुने गर्छन्– उहाँहरूलाई मेरो अनुहार मन पर्दैन होला, मेरो बानी मन पर्दैन होला । म कति बाँच्छु र ?’
व्यक्तिगत रूपमा अध्यक्ष कमरेड केपी शर्मा ओली हामी सबैको आदरको पात्र हो । हामी कुनै हिसाबले अनादर गर्नेगरी सोच्दै सोच्दैनौं । मात्रै आजको सन्दर्भमा के हो भने हाम्रो सिंगो कम्युनिस्ट आन्दोलनभित्र हेर्यो भने नेतृत्वलाई कहिले पनि सम्मानपूर्वक बिदा गर्नै पाएनौं । हिजो १५ वर्ष महासचिव बनेको नेता आज पार्टीमा हुनुहुन्न । हिजो महत्वपूर्ण नेतृत्व गरेको पंक्ति आज पार्टीमा छैन।
यसको कारण के हो भनेर हेर्ने हो भनेदेखि हामीले नेता बनाउन विधि बनायौँ, तर नेतृत्वलाई बिदा गर्ने विधि हामीले निर्माण गर्नै सकेनौं।
त्यसैले यो कुराको अगुवाइ केपी कमरेडले नै गर्नुभएको हो । उहाँ आफैँले नै दुई कार्यकालको व्यवस्था गरियो भने सम्मानपूर्वक नेतृत्वलाई बिदा गर्न पाइन्छ र पार्टीलाई समयअनुसार पुनर्गठित गर्न सकिन्छ भन्ने आशयका साथ एजेन्डा ल्याउनुभएको थियो । त्यसैले, आज उहाँले जति समय नेतृत्व गर्नुभयो, त्यसलाई सम्मानपूर्वक उहाँलाई पार्टीको अभिभावकको रूपमा देख्न पाउने कुरा उहाँप्रतिको अनादर हो र होइन नि।
महाधिवेशन आउँदाको सन्दर्भमा अध्यक्षमा दाबी गर्नु स्वाभाविक हो । ईश्वर पोखरेलले उठ्छु भन्नुभएको छ । अब कसैले ईश्वर पोखरेल उठ्नु हुँदैन भन्यो भने त्यसको अर्थ ईश्वर पोखरेलको मुखै हेर्न नचाहेको भन्ने हुन्छ र ? कसैलाई साथ सकिँदैन भन्यो भने त्यसलाई मुखै हेर्न नचाहेको रुपमा लिनु हुँदैन।
त्यसैले पार्टी नेतृत्वको सन्दर्भमा सदस्यहरुले गर्ने बहस र छलफललाई नेतृत्वबाटै प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मुख्यगरी केपी कमरेडले नै समाधान दिनुपर्छ । किन कसैलाई पनि सम्मानजनक ढंगले विदा गर्न सकिएन । यद्यपि यो संसारभरका कम्युनिष्टहरुको समस्या हो।
तर देश–विदेशीले खेदिरहेका बेला बिदा लिने होइन, देशको अस्तित्व जोगाउन केपी ओली तेस्रोपटक पनि अध्यक्ष आवश्यक छ भन्ने तर्क पनि सुन्दै हुनुहुन्छ होला ?
यसलाई मैले यसरी हेर्छु– आजका समस्याहरू जे छन्, त्यो समस्या समाधानमा कोही एउटा व्यक्तिले जादुको छडी जसरी प्रस्तुत हुन सक्ने विषय नै होइन । केपी ओली एक जनासँग पनि त्यो जादुको छडी छैन, अरू कसैसँग पनि छैन।
भोलि एमालेमा अध्यक्ष भएर जोसुकै आउला । तर आज हामीले जसरी पार्टी सञ्चालन गरिरहेका छौ, जसरी सोचिरहेका छौ, जस्तो कार्यशैली छ, त्यसैलाई निरन्तरता दिने हो भने अर्को व्यक्ति आउँदा पनि केही हुन्न । अहिले भएको अध्यक्ष हुँदा पनि केही हुन्न ।
त्यसैले अहिलेको समस्या के हो भन्ने सही अर्थमा बुझ्नु पर्छ । नेपालको कम्युनिस्ट आन्दोलनमाथि र नेपालको सार्वभौम सत्ताका सन्दर्भमा अनेकौँ षड्यन्त्रहरू हुन्छन्, हुने गर्छन् । विगतमा पनि भएका हुन् । सबै षड्यन्त्रलाई समाधान गर्ने भनेको पार्टीभित्रको सामूहिक एकताका माध्यमबाट हो । कोही एकजना व्यक्तिसँग जादुको छडी छैन।
हामीले हिजोकै आँखाले समाजलाई, सङ्गठनलाई, कार्यशैलीलाई, नेपालको अर्थतन्त्रलाई हेर्यौँ भने आजको नेतृत्व गर्ने पार्टीको रूपमा विकास गर्न सक्दैनौँ ।
अहिले संसारभरि शोषणका रूपहरू बदलिए, उत्पादन सम्बन्धहरू बदलिए, श्रमका क्षेत्रहरु बढ्यो, सङ्गठनको शैली बदलियो। जसले बदलिएको समयलाई बुझेर नेतृत्व गर्न सके, तिनले चुनौतीहरूको सामना गरेका छन् ।
एउटै खालको समस्याहरुमा पनि श्रीलंका समाधानको बाटोमा गयो, बंगलादेश समस्याग्रस्त छ । असफलताका पछाडि बदलिएको परिस्थिति नबुझ्नु कारण देखिन्छ । मेरो आशय के हो भने, कम्तीमा हामीले यी बदलिएका विषयप्रति सकारात्मक धारणा राखेर पार्टीलाई त्यो अनुसार व्यवस्थित गरेर जान सक्यौँ भने जो आए पनि चुनौतीहरूको सामना गर्न सक्छ ।
तर हामीले बदलिएका कुरालाई नजरअन्दाज गर्दै गयौँ, त्यसलाई सैद्धान्तीकरण गर्न सकेनौँ, सङ्गठनको संरचनामा ढाल्न सकेनौँ भने जोसुकै आए पनि समस्या समाधान हुँदैन। एउटा मान्छेले सबै कुरा थेग्ने भ्रमबाट मुक्त हुने कुरा नै आज पार्टीको समाधान हो ।
कस्तो लिडरसीप बनाउने भन्नेबारे प्रतिनिधिहरूलाई कस्तो सुझाव दिनुहुन्छ ?
नेतृत्वलाई क्रमशः परिवर्तन गर्दै जाने बाटोमा जानुपर्छ । जबजको एउटा आधारभूत कुरा के हो भने सहज नेतृत्व हस्तान्तरण पनि हो । त्यसैले नेतृत्व हस्तान्तरण गरेर महाधिवेशन सक्नुपर्छ ।
हामीसँग नेतृत्वको धेरै पुस्ता सँगै छ । पार्टीलाई सबै जनताको आस्थाको केन्द्र बनाउनुपर्छ । समावेशीका क्लस्टरहरू बुझ्नुछ । यी सबै विषयहरूका बीचबाट वैचारिक हिसाबले, जनताको बहुदलीय जनवादको मूल मर्मलाई बोक्न सक्ने गरी नेतृत्व आउनुपर्छ ।
नेतृत्व आफैँले यो कुराको अगुवाइ गरेर, पार्टीलाई आन्तरिक लोकतन्त्रका हिसाबले पनि प्रश्न नउठ्नेगरी जानुपर्छ । आम जनताको बीचमा एमाले कस्तो सुनिनु पर्छ भन्ने गरी नेतृत्व निर्माण गर्नुपर्छ ।
तपाईंको आफ्नै कुरा पनि गरौं, अगाडि के सोच्नु भएको छ ?
म एकदम सानै उमेरबाट सङ्गठित भएको हुँ, खासगरी मदन भण्डारीको दुर्घटनापछि । नवौं महाधिवेशनमा सबभन्दा कम उमेरको केन्द्रीय सदस्यको रूपमा म निर्वाचित पनि भएँ ।
आज युवा नेतृत्व, नेतृत्व परिवर्तनको एजेण्डा उठिरहेको छ । नेतृत्व हस्तान्तरणको प्रशंगमा अध्यक्ष पछिका नेताहरुसँग पनि मेरो प्रश्न छ– जसरी हामी हस्तान्तरण पुस्तान्तरणको कुरा गर्छौं, अध्यक्ष पछिको पुस्ताले किन आँट गरेन ?
७० वर्षको उमेर हद र दुई कार्यकाल पनि व्यवस्था कार्यान्वयन गरेर जान सकिन्थ्यो । तर त्यो पंक्तिले किन आँट गरेन ? भोलि इतिहासले पटकपटक प्रश्न सोध्नेछ । अब हामी समयले सुम्पिएको दायित्वबाट पर भाग्नु हुँदैन भन्ने लाग्छ ।
तपाईं स्वभाविक रूपमा जहाँ उभिनुपर्ने हो, त्यही उम्मेदवारी हुन्छ ?
म साथीहरूसँग सल्लाह गर्दैछु । मैले अहिले म सचिवको उम्मेदवारीका लागि सोच्दैछु, निर्णयमा पुगिसकेको छैन । तर साथीहरूको सल्लाह–सुझाव हेर्दाखेरि म सचिव पदको उम्मेदवार बन्ने सम्भावना छ ।
प्रतिक्रिया 4