२३ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा समेटिनुपर्ने भन्दै आफ्नो समूहको ‘अवधारणापत्र’ केन्द्रीय कार्यालयमा बुझाएपछि नेता/कार्यकर्ताहरूले बहस गर्ने विषय पाएका छन् ।
अवधारणापत्रमा पोखरेल समूहले उल्लेख गरेजस्तै जस्तै पार्टीमा आन्तरिक लोकतन्त्रको सही अभ्यास भइरहेको छैन ? फरक मत दबिनुपर्ने अवस्था हो ? यस्तो संस्कृति हुर्काउन स्वयं पोखरेल र उनको समूहका नेताहरू कति जिम्मेवार छन् ? यावत प्रश्नहरूको जवाफ एमालेका महाधिवेशन प्रतिनिधिहरू, नेता/कार्यकर्ताहरू आपसमा खोजिरहेका छन् ।
ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन् । आफू किन अध्यक्ष हुन चाहेको भनेर उनले मंगलबार महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष केपी शर्मा ओलीसमक्ष अवधारणापत्र प्रस्तुत गरे । बुधबार एमालेको मुख्यालय च्यासलमा उपस्थित नेता/कार्यकर्ताहरू पोखरेलकै पत्रको चिरफार गरिरहेका भेटिए ।
यद्यपि, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले यो महाधिवेशनमा नेतृत्व चयनको एजेन्डा मात्रै अघि बढाइने भएकोले नीति र विचारका कुनै पनि दस्तावेज महाधिवेशनमा प्रवेश नगर्ने बताइसकेका छन् ।
‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने’ अभ्यासलाई प्रश्रय दिने जनताको बहुदलीय जनवाद (जबज) मान्ने एमालेभित्र पछिल्लो समय आन्तरिक लोकतन्त्रमा क्षयीकरण भएकै हो त ? नेतृत्वमा दाबी गर्नेहरूले विचारको बहस गर्न पाउने कि नपाउने ?
अनलाइनखबरको प्रश्नमा च्यासलमा भेटिएका एमाले केन्द्रीय सदस्य रहेका बागलुङका सूर्य पाठक पार्टीले अवलम्बन गरेको लोकतान्त्रिक विधि र यसको स्थापित अभ्यास हेर्न सुझाउँछन् ।

पाठकका अनुसार, महाधिवेशनमा सकभर सर्वसम्मत नेतृत्व चयन हुने र नभए महाधिवेशन प्रतिनिधिहरूले सार्वभौम अधिकार प्रयोग गर्छन् । ‘देशभरिबाट, प्रवासबाट, विभिन्न जनवर्गीय संगठनबाट निर्वाचित भएर आउनुभएका प्रतिनिधिहरूले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै पाँच वर्षका लागि पार्टी अध्यक्षदेखि पदाधिकारी हुँदै केन्द्रीय कमिटी चयन गर्छन् । यही लोकतान्त्रिक विधि र अभ्यास एमालेमा स्थापित छ ।’
उनका अनुसार, यसपटक पनि नेतृत्व चयनमा विगतभन्दा फरक अभ्यास हुँदैछैन । ‘हाम्रो पार्टीमा सर्वसम्मत बनाउने कुरा प्रिय छ तर कठिन छ,’ उनी विगत सम्झन्छन्, ‘१०औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चुन्न अधिकतम प्रयास गर्यौं, भीम रावलले मान्नु भएन र निर्वाचनमा गयौं ।’
एमालेको १०औं महाधिवेशन २०७८ मंसिरमा चितवनमा सम्पन्न भएको थियो । अध्यक्षमा केपी शर्मा ओलीसँग रावलले प्रतिस्पर्धा गरेका थिए । तर, १ हजार ८३७ मतका विरुद्ध जम्मा २२३ मत पाएर रावल पराजित भए । हाल रावल एमालेमा छैनन् ।
एमाले छाडेर मातृभूमि राष्ट्रिय जागरण अभियान सुरु गरेका रावल केही साताअघि नेपाली कम्युनिस्ट पार्टीमा पुगेका छन् ।
७० वर्षे उमेर हद र एक व्यक्ति दुई कार्यकालको व्यवस्थालाई बदलेर अध्यक्षमा ओली नै तेहेरिन खोज्दैछन् । ओलीलाई टक्कर दिन ईश्वर पोखरेल अघि सरेका छन् ।
१०औं महाधिवेशन देखाउँदै केन्द्रीय सदस्य सूर्य पाठक ईश्वर पोखरेललाई प्रश्न गर्छन्, ‘सर्वसम्मत नेतृत्व चयन गरेर जाउँभन्दा कसैले उम्मेदवार हुने मेरो अधिकार प्रयोग गर्छु भन्छ भने छानिन पाउनुहुन्न भनिँदैन । अनि कसरी कमजोर भयो आन्तरिक लोकतन्त्र ?’
‘पोखरेलले पक्रिया पछ्याएनन्’
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वअध्यक्ष समिक बडालका अनुसार पार्टी जीवनमा आन्तरिक लोकतन्त्रको अभ्यास जबजको आधारभूत मान्यता हो र यो व्यवहारमा पनि स्थापित छ । जबजले सबैको मत सुन्ने, सम्मान गर्ने र बहुमतको निर्णय अनुमोदन गरेर अगाडि बढ्ने भन्छ । यस्तोमा अल्पमतमा रहेको मत र तर्कले पनि उत्तिकै सम्मान र स्थान पाउने बडाल बताउँछन् ।
वरिष्ठ उपाध्यक्षले पार्टी जीवनका कतिपय पक्षमा प्रश्नहरू उठाउँदै अवधारणापत्र ल्याउने प्रक्रियामा भने बडालको प्रश्न छ ।

‘अहिले एमालेभित्र पार्टी कमिटी पद्धति सञ्चालनको सन्दर्भका विषय बहसमा आएका छन् । मलाई लाग्छ– यस्ता बहसहरू केन्द्रीय कमिटीमा रहनुभएका नेताहरूले सोही कमिटीमै गर्नु र गराउनुपर्दथ्यो’ बडालको प्रश्न छ, ‘केन्द्रीय कमिटी हुँदै आउने अभ्यास नअपनाउने र मिडियामार्फत धारणा सार्वजनिक गर्ने कुरा उपयुक्त हो र ?’
बडालका नजरमा केपी शर्मा ओली र ईश्वर पोखरेल एउटै समूहका नेताहरू हुन् । उक्त समूहले नै कसले नेतृत्व गर्ने भन्ने तय गरेर अगाडि बढ्दा धेरै समस्या आउँदैन । विभाजित हुँदा त्यसले पार्टीमा ऊर्जा नभर्ने उनको चिन्ता छ ।
‘केन्द्रीय कमिटी छ । दिनानुदिन भएका समस्याहरू समाधान गर्ने पार्टीको सचिवालय छ । त्यो तहका नेताहरू त्यहीँ बसेर आफ्ना असहमति भए दर्ज गरेर बल्ल तल जानु उपयुक्त हुन्छ’ बडालले सुझाए ।
अन्यथा, पार्टीका आन्तरिक गतिविधिमा नेताहरूबाट के कस्ता व्यवहार भएका छन् भन्ने विषयले पार्टी अनुशासनको सन्दर्भ आकर्षित गर्ने र त्यस व्यवहारका आधारमा कार्यकर्ताहरूले नेतृत्वको मूल्यांकन गर्ने उनी बताउँछन् ।
नेतृत्वले पार्टीका कुनै पनि तहका नेता/कार्यकर्ताले केही असजिलो महसुस गरेका छन् भने जुनसुकै बेला निर्धक्क राख्न पाउने वातावरण दिन सक्नुपर्ने बडाल बताउँछन् । ‘यदि कसैलाई त्यस्तो (असजिलो) महसुस भएको छ भने अधिवेशनको बेला होइन, अन्य समयमा त्यस्ता विषयवस्तु उठाउनु पर्छ’ उनले भने, ‘आधारभूत तहका पार्टीका आन्तरिक कुराहरू महाधिवेशनकै बेला छरपष्ट पार्ने कुरा गर्नु हुँदैन ।’
‘नीतिको विषय अहिले असान्दर्भिक’
नेतृ बालिका गिरीका नजरमा मंसिर २७, २८ र २९ मा नेतृत्व चयनका लागि महाधिवेशन हुन लागेको हो । यसकारण यो बेला नीतिभन्दा ज्यादा नेतृत्वकै विषयमा बहस हुनु स्वभाविक छ ।
नीति बनाउने बहसले नेतृत्व र नेतृत्वको बहसले नीति प्रभावित नहोस् भनेर नै विधान महाधिवेशन र नेतृत्व चयन गर्ने महाधिवेशन फरक समयमा गर्ने अभ्यास पार्टीले अंगालेको उल्लेख गर्दै उनी भन्छिन्, ‘यसपटक नेतृत्व चयनकै विषयमा छलफल हुन्छ ।’

नेतृत्व चयन गर्दा पनि फरक मतलाई सुन्ने र त्यस्तो तर्कलाई सम्मान गर्ने कुरा स्वीकार गर्न किन अप्ठ्यारो भयो, नेताको नीति र विचार नसुनी कार्यकर्ताले कसरी चुन्ने ? शक्ति केन्द्रीकरण भयो, व्यक्ति केन्द्रित प्रणाली विकास भयो भन्ने प्रश्न महाधिवेशनमा नउठाएर कहिले उठाउने ?
अनलाइनखबरको प्रश्नमा गिरीले नीतिबारे बहस गर्ने समय अहिले नरहेको जवाफ दोहोर्याइन् ।
‘विधान महाधिवेशनले विचारको बारेमा सबै टुंगो लगाएर गइसकेपछि अहिले अन्य कुरा गरेर हुँदैन’ उनी भन्छिन्, ‘विधान महाधिवेशनले पारित गरिसकेको विषय नेतृत्व चयनका बेला उठाउनु सान्दर्भिक छैन ।’
शक्ति केन्द्रीकरण भयो, व्यक्ति केन्द्रित प्रणाली विकास भयो भन्नेमा पनि उनी सहमत देखिएनन्।
‘शक्ति केन्द्रीकरण कसरी भयो ? खुल्ला रूपमा सबै साथीहरूलाई मतदानमा जाने अधिकार छ । प्रतिनिधि छान्दा खुल्ला रूपमै भएको छ । महाधिवेशनमा पनि निर्वाचन प्रक्रिया वा सहमति दुवै विकल्पमा छलफल भइराखेको छ’ गिरीको जवाफ छ, ‘मलाई लाग्छ– एक पक्ष वा व्यक्ति केन्द्रित भएर यत्रो ठूलो पार्टी कसरी चल्न सक्छ ? सक्दैन ।’
कार्यकर्ता उत्तिकै जिम्मेवार
एमालेको भातृ संगठन नेपाल बुद्धिजीवी परिषद मुगुका पूर्वअध्यक्ष जर्मन नेपालीको बुझाइ अलिक फरक छ । उनका नजरमा पार्टीहरूमा वैचारिक बहस जरूरी छ ।
‘मार्क्सवादी-लेलिनवादी दृष्टिकोणबाट र समयसापेक्ष देशको परिस्थिति अनुसार छलफल हुनुपर्छ’ उनी भन्छन्, ‘फरक मतलाई पनि सुनेर तर्कसहित अगाडि बढ्ने कुरा नै बहुदलीय जनवाद हो ।’
नेपालीका अनुसार, जबजको मूलभूत सिद्धान्त भनेकै ‘बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष’, ‘बहुमतको निर्णय पारित र अल्पमतको सम्मान’ हो अर्थात्, हार्नेले जित्नेको कुरा स्वीकार्नु पर्छ र जित्नेले पनि हार्नेको कुरालाई सम्मान गर्नुपर्छ ।
एमालेमा यस्तो भइरहेको छ त ? जवाफमा नेपाली भन्छन्, ‘यो अलिकति हराएको हो कि ! पछि परेको हो कि ! अथवा यसले सैद्धान्तिक स्थान पाउन नसकेको हो कि जस्तो अवस्था छ ।’
अवधारणापत्रमार्फत वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्वको केन्द्रीकरणदेखि पार्टी प्रणालीमा व्यक्ति हावी लगायतका कुरा उठाएका छन् । यसबारे नेपालीको बुझाइ छ, ‘यो चाहिँ अलिकति मार्क्सवादमा बहुदलीय जनवादलाई फ्युजन गर्न नसकिएको समस्या हो ।’

नेपालीका नजरमा अर्को समस्या छ– मार्क्सवाद, मार्क्सवादी चरित्र, मार्क्सवादको विकास, मार्क्सवादी सैद्धान्तिक विश्लेषण र त्यसप्रकारको नीति बनाउने दृष्टिकोण र नेतृत्वबीच तालमेल छैन ।
फरक मत राख्नेलाई निषेध वा उसलाई बहिष्करणमा पार्ने अभ्यास पनि यसकै उपज हो त ?
जवाफमा नेतृत्व कस्तो बनाउने भन्ने विषय कार्यकर्तामा निर्भर हुने नेपालीको तर्क छ । ‘कम्युनिस्ट नेता कार्यकर्ताकै माझबाट आउने हो । कार्यकर्ताको कार्यशैली नै मार्क्सवादी हुनुपर्छ । त्यो नभए कार्यकर्ताहरूले आफ्नो नेता सहि ढंगले पहिचान गर्न सक्दैन्, नेतृत्व निर्माण गर्न पनि सक्दैनन् ।’
भने जस्तै पार्टी बनाउने हो भने नेता/कार्यकर्ताहरू अवसरको लोभबाट टाढा हुन सक्नुपर्ने उनी बताउँछन् ।
‘मूल कुरा गुटको हो । कसको समूहमा लागेर को बलियो हुने ? कसले अवसर पाउने भन्ने छ’ उनी भन्छन्, ‘कम्युनिस्ट कार्यकर्ता जसले अवसर पाएपनि वर्गले पाएको बुझाइ हुनुपर्छ, यस्तो व्यवहारमा छैन । मन्त्री, सांसद, टिकटका कुराले गुटगत अभ्यास हुन्छ । यस्तो प्रवृत्तिबाट आउने नेतृत्वले तमाम प्रश्नहरूलाई कसरी चिर्न सक्छ ? सक्दैन ।’
जर्मन नेपाली आफ्नै उदाहरण दिन्छन् । ‘म संगठित सदस्य भएको २७ वर्ष भयो । मैले कुनै पक्षमा लागेर केही मागेको छैन । किनभने, म कम्युनिस्ट पार्टीमा लागेको वर्गका लागि हो’ उनले भने, ‘यसकारण अवसरको लागि समूह बन्ने प्रवृत्ति तोडियो भने मार्क्सवाद र जबजको सही अभ्यास हुन्छ ।’
प्रतिक्रिया 4