२३ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा खटिने स्वयंसेवकहरूलाई विशेष तालिम दिइँदैछ ।
‘स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दैछौं’, एमाले नेतृ सुनिता बरालले जानकारी दिइन् ।
एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
बरालका अनुसार महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।
महाधिवेशनमा स्वयमसेवक भने १० हजार परिचालित हुँदैछन् ।
स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट तयार पारिएको छ । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको काम गर्नेछ ।
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ । उक्त समितिमा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत रहेका छन् ।
सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । उक्त चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिएका छन् ।
उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गर्ने गरी व्यवस्थापन गरिएको बरालले जानकारी दिइन् ।
उनी भन्छिन्, ‘मञ्च व्यवस्थापन र बाहिरबाट आउने सहभागीहरूका लागि सडकको ‘मेन लेन’ सुचारु राखेर ‘साइड लेन’ बाट सहज पहुँच सुनिश्चित गर्ने काममा स्वयंसेवकहरू परिचालन हुनेछन् ।’
उनका अनुसार उद्घाटन सत्रमा लाखौँको संख्यामा उपस्थिति गराउने तयारी छ । बागमती प्रदेशका अधिकांश जिल्लाहरूबाट र देशभरबाट पनि ठूलो संख्यामा एमालेका हरेक सदस्य, शुभचिन्तकलाई सहभागी गराइँदैछ । उनी भन्छिन्, ‘उद्घाटन सत्रमा सहभागीहरूलाई पचासौं हजार संख्या गन्नलाई पुग्छ भन्ने हाम्रो अनुमान छ ।’
उनका अनुसार महाधिवेशनको उद्घाटन सल्लाघारीको खुला चौरमा दिउँसो ठीक १ बजे सुरु गर्ने तयारी छ ।
मञ्च व्यवस्थापन समितिले आफ्नो काम अब सम्पन्न हुने चरणमा छ। बन्द सत्रको हल भने प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपको खाली ठाउँमा पार्टिसन गरेर बनाउने तयारी छ ।
बन्द सत्र मूलत: निर्वाचनसँग सम्बन्धित काममा केन्द्रित हुने भएकाले निर्वाचनका लागि सहज हुने खालको हल र कार्यकक्षहरू बनाइँदैछ ।
उद्घाटन सत्रमा भने स्टेज बनाउने र स्टेजसँगको एउटा निश्चित दूरी पछाडि सहभागीहरू बस्ने व्यवस्था गरिँदैछ । स्टेजको दुई तर्फबाट पार्टीका नेताहरू आवतजावत गर्नेछन् । पार्टी सचिवालयको आगामी बैठकले स्टेजमा पार्टीको को-को नेताहरू बस्ने र अरू बाहिरबाट बोलाएका अतिथिहरूलाई कसरी राख्ने भन्ने निर्णय नै गर्छ ।
पार्टीले बनाएको अतिथि सत्कार समितिले आउने अतिथिहरूलाई एउटा निश्चित ठाउँबाट ‘रिसिभ’ गर्ने र मञ्च सम्म पुर्याउने र आसन ग्रहण गराएर फर्किने तयारी गरिएको छ ।
प्रतिक्रिया 4