२३ मंसिर, काठमाडौं । लामो समयदेखि रूससँगको युद्ध सामना गरिरहेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो र जर्मनीका चान्सलर फ्रिड्रिख मर्त्जसँग भेटवार्ता गरेका छन् ।
उनले सोमबार लन्डनमा बेलायती प्रधानमन्त्री स्टार्मर, फ्रन्सेली राष्ट्रपति म्याक्रो र जर्मन चान्सलर मर्त्जसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा पछिल्लो साता युक्रेनी र अमेरिकी अधिकारीका तर्फबाट तयार गरिएको एक नयाँ शान्ति प्रस्तावमा चर्चा भएको बीबीसीले जनाएको छ ।
युरोपियन देशका नेताहरूले युद्ध समाप्तिको दिशामा कदम अगाडि बढाउनका लागि युक्रेनलाई समर्थन बढाउने र रूसमाथि दबाव बनाउने ‘अहम् समय’ भएको बताएका छन् ।
अमेरिकाले युक्रेनमाथि रूससँग सम्झौताका लागि दबाव सिर्जना गरिरहेको भन्दै उनीहरूले युक्रेनको सुरक्षा सुनिश्चितताका अझै काम गर्न आवश्यक रहेकोमा जोड दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
छलफलका क्रममा जेलेस्कीले युक्रेनले मंगलबार अमेरिकाका साथ संशोधित शान्ति प्रस्ताव साझा गर्ने बताएका थिए । जेलेन्स्की नेटो अधिकारीहरूसँग भेटवार्ता गर्न ब्रसेल्स गएका छन् ।
गता साता फ्लोरिडामा युक्रेनका अधिकारीहरू र अमेरिकी वार्ता टोलीबीच तीन दिनसम्म छलफल चलेको थियो । छलफलका दौरान युक्रेनी अधिकारीहरूले अमेरिका समर्थित शान्ति प्रस्तावमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त प्रस्तावलाई रूसको पक्षमा रहेको मानिएको छ ।
प्रतिक्रिया 4