+
+
Shares
विन्दा पाण्डेसँग वार्ता :

‘एमाले नेताहरूले कार्यकर्तालाई चिराचिरामा विभाजन गर्न रोक्नुपर्छ’

आफ्नो हित भन्दापनि पार्टीको हितको हिसाबबाट हेर्ने हो भने नेतृत्व परिवर्तन गर्न आवश्यक छ। केपी कमरेडसँग जुन खालको अनुभव छ, जुन खालको विकाससम्बन्धीको दृष्टिकोण छ, जुन राष्ट्रियतासम्बन्धीको दृष्टिकोण छ, त्यो दृष्टिकोणहरूलाई उहाँले साइडमा बसेर अभिभावकत्व लिएर नयाँ पुस्तालाई जागरुक बनाउने काम गर्नुपर्छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते ८:३५

एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच ११ औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिष्पर्धा हुँदैछ । तर नेतृत्व परिवर्तनको माग भइरहँदा पुरानै नेतृत्व दोहोरिने प्रयासका कारण एमाले पंक्ति तरंगित छ यसै सन्दर्भमा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

तपाईं पार्टीले गरेको एक चरणको कारबाही भोगेर अहिले फेरि जिम्मेवारीमा हुनुहुन्छ । अब महाधिवेशनमा आफैं के तयारी गर्दै हुनुहुन्छ ?

महाधिवेशनको तयारीमा अहिले अलि धेरै पुरानो पुस्ता र अलि नयाँ पुस्ताका साथीहरू लाग्नुभएको छ। त्यसले गर्दा त्यति धेरै बेफुर्सदी नै हुने गरी त केही छैन । तर पनि साथीहरूसँग भेटघाट गर्ने, कुराकानी गर्ने, अहिलेको स्थितिकोबारे छलफल गर्ने, गरिराखेको छु।

तपाईं बीचको पुस्ताको हुनुहुन्छ । विगतका धेरै महाधिवेशन देखिभोगी सक्नुभएको छ । अहिले हुन लागेको प्रतिस्पर्धालाई कसरी मूल्यांकन गरिरहनु भएको छ ?

म पाँचौं महाधिवेशनदेखि सहभागी हुँदै आएको हो । पाँचौं महाधिवेशनमा हामीले जनताको बहुदलीय जनवाद (जबज) पारित गरेर अगाडि बढ्यौँ। त्यसपछाडिका दिनहरूमा पार्टी भित्रको प्रतिस्पर्धा व्यक्तिगत हिसाबबाट गर्नुपर्छ भन्ने खालको कुरा हो । पाँचौंमा निर्वाचन नै हुने खालको स्थिति चाहिँ भएन । मदन भण्डारीले सबैजनाले मनोनयन नगरीकन म मनोनयन गर्दिनँ भन्नुभयो । किन भन्दाखेरि पार्टी भनेको चाहिँ जसको विचार पास भयो, उसले मात्र चलाएर चल्दैन। फरक मतलाई पनि हामीले सँगसँगै अगाडि बढाउनुपर्छ भन्ने हिसाबबाट चाहिँ त्यो भूमिका खेल्नुपर्छ।

छैठौं महाधिवेशनमा अलिकति बहस भयो । नेपालगञ्जमा भएको सातौँ महाधिवेशनदेखि चाहिँ पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबूत बनाएपछि मात्रै पार्टी जनताको बीचमा राम्रोसँग जान पनि सक्छ भन्ने भयो । फरक-फरक खालका विचारहरू आए । हामीले समयसापेक्ष हिसाबबाट बहस पनि चलाउन सक्छौं र आफूलाई परिवर्तन पनि गर्दै जान सक्छौं भन्ने बहस सुरु भयो।

आठौँ महाधिवेशनमा पुगेपछि अब त्यो चाहिँ बहुपदीय हिसाबबाट प्रतिस्पर्धामा जाने स्थिति रह्यो। । हामीले अलिकति सातौँ महाधिवेशनसम्म चाहिँ केन्द्रीय कमिटी निर्वाचन गर्ने, त्यसपछाडि महासचिव छान्ने, पदाधिकारी छान्ने भन्ने हिसाबबाट गर्थ्यौँ भने आठौँ महाधिवेशनबाट डाइरेक्ट केन्द्रीय कमिटी निर्वाचन गर्ने बाटोमा गयौँ।

व्यक्तिगत मनोनयन गर्ने खालको स्थिति त्यो बेला थियो । पछि कतिपयले चिट बाँडे । नवौँ महाधिवेशनमा कार्यकर्ताहरूलाई चिरा पार्ने काम नेतृत्वले नै गर्‍यो। त्यो कुरो चाहिँ जनताको बहुदलीय जनवादको मर्म अनुसार थिएन ।

दशौंमा हामी अलिकति विषम परिस्थितिमा थियौं। त्यतिखेर भर्खरै पार्टी अलिकति चिरा परेको खालको स्थिति थियो। पार्टी बनाउने भन्दा नि पार्टी जोगाउने खालको स्थिति हुँदाखेरिमा ठिकै छ अब यसमा धेरै प्रतिस्पर्धामा नजाऔं भन्ने हिसाबले एक खालको नेतृत्व चयन गर्ने अधिकार केपी कमरेडले आफ्नो हातमा लिनुभयो।

अहिले केपी ओली फेरि आउन खोज्दै हुनुहुन्छ । म बिना यो पार्टी चल्न सक्दैन भन्ने कुरा गर्दै हुनुहुन्छ । कुरालाई तपाईंले कसरी लिनुहुन्छ ?

आफैं पदमा पुगिसके पछि उहाँ अब अर्को व्यक्तिले यो पार्टी धान्न सक्दैन भन्नुहुन्छ । तर जनताको बहुदलीय जनवाद अनुसार लोकतान्त्रिक पद्धतिमा सफल नेतृत्वले आफूभन्दा पछाडिको नेतृत्वलाई अझै सक्षम र अझै सफल बनाएर विकास गर्नुपर्छ र स्थापित गरेर छोड्नुपर्छ। निश्चित समयपछि आफू पद छोड्ने भनेको पार्टी छोड्ने हैन। पद छोड्ने भनेको आफूभन्दा पछाडिको पुस्तालाई नेतृत्वमा राखेर आफू अलिकति साइडमा बसेर नयाँ नेतृत्वलाई स्थापित गर्ने हो । उसलाई अझै सबल बनाउने, अझै मेन्टरिङ गर्ने कुरा हो । त्यसले उहाँले नयाँ पुस्ताका साथीहरूलाई मेन्टरिङ गर्नुपर्छ भन्ने तहमा जान सक्नुभएको भए अहिले सबभन्दा सुन्दर हुन्थ्यो।

भर्खरै जेनजी आन्दोलन भयो र यो आन्दोलनलाई त एमाले कति पनि रियलाइज गरेन । तपाईंको चाहिँ के छ धारणा ?

एमालेले भन्दापनि एमालेको मूल नेतृत्वले यसलाई रियलाइजेसन गरेन भन्नुपर्छ । आम रूपमा अब नागरिक बीचमा जाँदा, भूगोलमा गएर काम गर्दा, आम नागरिक, आम जनताहरूको बीचमा कुराकानी गर्दा नागरिकमा के भइरहेको छ भन्ने कुरा नेतृत्वमा भेन्टिलेट नै हुन सकेन ।

यो महाधिवेशनबाट अहिलेकै नेतृत्व फेरि निरन्तर भयो भने चुनावमा जाने अर्थात् गाउँ पस्ने खालको अवस्था रहँदैन त्यसो भए ?

सहज छैन। गाउँ पस्न सहज छैन। त्यसले गर्दाखेरि अब नेतृत्व पार्टी मात्रैको कुरो गर्ने हो । पार्टीका सदस्यहरू समर्थक भएर बस्लान्, घोट्लान् । तर तल चाहिँ आम रूपमा हामीले मतदाताहरूको बीचमा सहज हिसाबबाट जान सकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन।

जुन दिन हामी छ लाख, साढे छ लाखभन्दा बढी सदस्य भनेर भनिरा छौँ, ती सदस्यहरूलाई मात्रै पनि परिचालन गर्न नसक्ने खालको स्थिति बन्यो भने पार्टीको माथि बस्ने नेताहरूले आफूलाई जतिसुकै अग्लो ठानेपनि मैदानमा चाहिँ हाम्रो शक्ति एकदमै सानो हुन सक्छ ।

त्यसैले आफ्नो पोजिसन, आफ्नो हित भन्दापनि पार्टीको हितको हिसाबबाट हेर्ने हो भने नेतृत्व परिवर्तन गर्न आवश्यक छ। केपी कमरेडसँग जुन खालको अनुभव छ, जुन खालको विकाससम्बन्धीको दृष्टिकोण छ, जुन राष्ट्रियतासम्बन्धीको दृष्टिकोण छ, त्यो दृष्टिकोणहरूलाई उहाँले साइडमा बसेर अभिभावकत्व लिएर नयाँ पुस्तालाई जागरुक बनाउने काम गर्नुपर्छ।

अघि तपाईंले कार्यकर्ताको मात्र रहने कुरा गर्नुभयो । तर कार्यकर्ताहरू नै प्रतिनिधि छनोटमा पनि भोट हाल्न नआएको घटनाहरू पनि सार्वजनिक भएको छ । यसलाई चाहिँ कसरी हेर्नुभएको छ ?

सदस्यता नवीकरण गरेर पनि पार्टीकै आन्तरिक निर्वाचनमा समेत मत हाल्न नआउने खालका सदस्यहरू राखेर हामीले पार्टी कति बलियो बनाउन सक्छौँ भन्ने एउटा कुरा छ।

जसले यो पार्टीको जग बसाल्नको लागि त्यसरी योगदान गर्‍यो, त्यतिखेरका मान्छेहरूमा पनि यो खालको नैराश्यता र निष्क्रियता छ । यसलाई हामीले एउटा उदाहरणको रुपमा लिनुपर्छ । यो खालको स्थिति हुनु राम्रो कुरा होइन।

जुन दिन हामी छ लाख, साढे छ लाखभन्दा बढी सदस्य भनेर भनिरा छौँ, ती सदस्यहरूलाई मात्रै पनि परिचालन गर्न नसक्ने खालको स्थिति बन्यो भने पार्टीको माथि बस्ने नेताहरूले आफूलाई जतिसुकै अग्लो ठानेपनि मैदानमा हाम्रो शक्ति एकदमै सानो हुन सक्छ । यो कुरामा नेतृत्वले यतिखेर एकदमै धेरै सोच्ने बेला हो।

तपाईंले केही समय अगाडि नेतृत्वका गतिविधिमाथि प्रश्न उठाउँदाखेरि कारबाही भोग्नुभयो । अहिले प्रतिस्पर्धामा उत्रिने व्यक्तिहरूलाई भीम रावल, माधव नेपालको जस्तो बनाउने उदाहरण दिइँदै छ नि ?

माधव कमरेड जुन बेलामा पराजित हुनुभयो, उहाँ पराजित हुनेबित्तिकै पार्टी छोडेर हिँड्नुभएको होइन । हामीले 0७४ को निर्वाचनभन्दा ठीक अगाडि त्यो गठबन्धन गर्यौं र त्यसपछि निर्वाचनपछि पार्टी एकता गर्यौं । त्यो पार्टी एकता गर्ने कुरा नीति, विचार, सिद्धान्त, विधि, पद्धति केही पनि टुंगो नगरिकन खाली निर्वाचन जित्ने नाममा गरियो । प्रक्रिया र पद्धति पनि अनुसरण नगरिकन मूलतः दुई मूल नेता र सहयोगी दुईजना, चारजना मान्छे बसेर गठबन्धन गरियो । त्यही कारणले पार्टीको भित्र समस्या आयो । त्यो समस्या आइसके पछाडि अगाडि बढ्ने क्रममा माधव कमरेडहरूले पार्टी छोडेर जानुभएको हो।

अब जहाँसम्म भीम रावल र अहिले विद्यादेवी भण्डारीको कुरा हो, पार्टी सदस्यता खोस्ने खालको काम भयो । सदस्यता कि आफैंले छोड्नुपर्‍यो कि फौजदारी अभियोग लागेको हुनुपर्‍यो । कोही पनि मान्छेले ‘म पार्टी सदस्य मात्रै भएर बस्छु’ भन्छ भने त्यसमा ‘कि मैले भनेको मान, होइन भनेदेखि पार्टी सदस्य पनि हुन पाउँदैनस्’ भन्ने खालको कुरा गलत हो।

भीम रावल, माधव कमरेडको मात्रै किन लिने उदाहरण ? केपी कमरेड आफ्नै उदाहरण चाहिँ स्थापित हुनुपर्छ भनेर गए भइहाल्यो नि ! २०६५ मा उहाँ निर्वाचन लड्नुभयो हारेपछि आफ्ना कुरा स्थापित गर्न निरन्तर लाग्नुभयो । अब उहाँले हार्नुभयो भनेदेखि उहाँले पनि स्थापित गरेको मान्यतालाई फलो गर्नुहुन्छ। पार्टी फुट्ने कुरा भएन । यसलाई नकारात्मक रुपमा मात्र लिन हुँदैन ।

तपाईंले विद्या भण्डारीको प्रसङ्ग पनि उठाउनुभयो । उहाँ चाहिँ प्रत्यक्ष रूपमा अब सदस्य हुनुहुन्न । उहाँले बाहिरै बसेर एउटा आफ्नो टिम नै खडा गर्न खोज्नु भएको छ । तपाईंले उहाँको भूमिकालाई कसरी हेर्नुहुन्छ ? उहाँको सदस्यता नवीकरण नगर्ने कुरालाई कसरी लिनुभएको छ ?

सदस्यता नदिने गलत कुरा हो। किन भन्दाखेरि आफूलाई मन लागेको बेलामा ‘सदस्य पनि हुन सक्छौँ, आएर अध्यक्ष पनि हुन सक्छौँ’ भन्ने । सार्वजनिक वक्तव्य नै दिने, अन्तर्वार्ता नै दिने गर्नुभयो । जब आफूलाई चुनौती हुन्छ कि भन्ने खालको कुरो भइसके पछाडि चाहिँ ‘मलाई चुनौती खडा गर्नेको चाहिँ पार्टी सदस्यता नि रहँदैन’ भन्ने खालको कुरा आयो । यो एउटा निरङ्कुश मनोवृत्ति हो भन्ने नै लाग्छ।

विद्या भण्डारीले नै सदस्यता लिने बेलामा नै त्यसमा छलफल गरिनुपर्‍थ्यो । सार्वजनिक हिसाबले बोलेको कुरामा आत्मालोचना गर्नुपर्‍यो नी । आफैंले दिएको अन्तर्वार्ताको आत्मालोचना पनि गर्न उहाँ तयार हुनुहुन्न ।

अनि सदस्यता दिने बेलामा नै ‘हामीले गल्ती गर्यौं’ भन्ने खालको कुरा पनि नगर्ने। एउटा कर्मचारीले आएर पैसा बुझाएर सदस्यता लिने भनेर यति फितलो कुरा गरिएको छ । नेकपा एमालेको पार्टी संगठन चलेको ठाउँमा यति फितलो हिसाबबाट कसैले पार्टी सदस्यता नवीकरण गर्‍यो भन्ने कुरा गर्नु पार्टी संगठनको अवमूल्यन हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?