+
+
Shares
रिपोर्ट :

सुत्केरी छाउ : अन्धविश्वासका सिकार आमाहरू

यस्ता उदाहरण कर्णालीका गाउँ-गाउँमा प्रशस्त छन् । अन्धविश्वास र रूढिवादी सोचका कारण सुत्केरी महिलाले आवश्यक स्याहार-सुसार, परिवार र श्रीमान्‌बाट माया पाउँदैनन् । यसको परिणाम आमा र बच्चाले जटिल स्वास्थ्य समस्या झेल्दै आएका छन् ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ भदौ १३ गते २०:०८

१३ भदौ, सुर्खेत । गाईभैंसी बाँध्ने गोठको एउटा अँध्यारो कोठा । बाक्लो सोतर (गाई बस्तुलाई बिच्छाउने घास) र पराल बिच्छाइयो । त्यही माथि एकसरो ओड्ने ओछ्याउने कपडा । खाना पकाउने, खाने एक-एक थान भाँडाकुँडा दिइयो । आवश्यक दाल चामल, मेथी, ज्वानो आदी मरमसला राखियो ।

हिमा गाउँपालिका-५, जुम्लाकी २९ वर्षीया मनसुबा शाहीलाई सुत्केरी ब्यथा लाग्नु २–३ दिन अगावै परिवारले तयार पारिदिएको बन्दोवस्त थियो त्यो । ‘सुत्केरी व्यथा लागेपछि मलाई त्यहिँ लिएर राखे । गाउँकै सुँडेनीले सालनाल काटिदिइन्,’ मनसुबाले भनिन्, ‘पहिलो दिन सुँडेनीले नै खाना पकाइदिइन्, त्यहाँबाट आफैंले खाना पकाएर खाएँ ।’

‘देउता’ लाग्ने डरले उनी सुत्केरी भएको दिनदेखि परिवार उनको नजिक परेन । सुत्केरीलाई गोठमा राख्ने र न्वारन नभएसम्म सुत्केरीलाई नछुने गाउँको प्रचलन नै हो । ‘अब आफैं खाना खान त मुश्किल परेका बेला कसरी खाना पकाएर खानु,’ मनसुबा भन्छिन्, ‘एउटी सुत्केरी खाली पेट सुती भने के जाँगर पलाउँथ्यो ।’

सुत्केरी श्रीमतीलाई घरमै राखेर स्याहारसुसार गर्ने चाहना भए पनि देवी-देउता, पारिवारिक र सामाजिक कारण पनि गोठमा राख्न बाध्य भएको उनका श्रीमान् दिनेश बहादुर शाही बताउँछन् । ‘मुख्य समस्या देउता नै हो । पहिल्यैदेखि यही मान्यता चलिआएको छ । एक्कासी तोड्न पनि नसकिने रहेछ,’ उनी भन्छन् । सुत्केरी भएको १३ दिन पछि मात्रै ब्राम्ह्मण बोलाएर न्वारन गरेपछि मात्रै परिवारले मूल चुलोमा प्रवेश गराउने प्रचलन रहेको उनले बताए ।

०००

दैलेखको गुराँस गाउँपालिका-४, लालीकाँडाकी २५ वर्षीया भूमिसरा केसी २०७८ कात्तिक २६ गते पहिलो पटक सुत्केरी भइन् । नजिकैको स्वास्थ्य संस्थामा सुत्केरी भएकी उनलाई परिवारले दुई दिन पछि घर लगे । घरको एउटा अँध्यारो कोठामा राखे ।

१३ दिनसम्म पानी–पँधेरो प्रयोग गर्न, फलफूलका बोटबिरुवा छुन र दूध-दही खानबाट वञ्चित गरियो । ‘सुत्केरी भएका बेला छोईछाइ गरे देउता रिसाउने डर छ । के गर्नु र हाम्रो पहिल्यैदेखिको चलन यस्तै छ’, भूमिसराले भनिन् । न्वारन नभएसम्म परिवारका सदस्यहरूले उनलाई पनि छोएनन् । रगताम्य कपडा धुनेदेखि खाना पकाएर खाने समेत उनी आफैंले गरिन् ।

०००

जाजरकोट नलगाड-८, हलचौरकी कविता बिक (१७) ले १५ वर्षको उमेरमै विवाह गरिन् । केही समयपछि उनको गर्भ रह्यो । पेटमा हुर्कँदै गरेको बच्चासँगै मेलापात र चुलोचौका गर्दा उनको शरीर गलिसकेको थियो । त्यहीबीच उनलाई सुत्केरी व्यथा लाग्यो । २३ साउनमा उनले घरमै शिशुलाई जन्म दिइन् ।

परिवारले कवितालाई गोठको एउटा कुनामा लगेर राखे । सुत्केरी पीडाले थलिएकी उनलाई केही भाँडाकुँडा र दाल-चामल दिए । ‘सुत्केरी भएको ११ दिनसम्म बच्चा र मलाई कसैले छुनुभएन । मैले पनि अरूलाई छोइन,’ सुत्केरी छाउको पहिलो अनुभव सुनाउँदै कविताले भनिन्, ‘मन लागेको खान नपाइने, आपत् पर्दा सहारा लिन नपाइने । यो कस्तो प्रचलन हो कुन्नि ।’

०००

असुरक्षित सुत्केरी भएका वा कतिपय स्वास्थ्य संस्थामा सुत्केरी भएका समेत घर फर्केपछि मर्नु न बाँच्नु हुन्छन् । यस्ता उदाहरण कर्णालीका गाउँ-गाउँमा प्रशस्त छन् । अन्धविश्वास र रूढिवादी सोचका कारण सुत्केरी महिलाले आवश्यक स्याहार-सुसार, परिवार र श्रीमान्‌बाट माया पाउँदैनन् । यसको परिणाम आमा र बच्चाले जटिल स्वास्थ्य समस्या झेल्दै आएका छन् ।

कर्णालीमा छाउ हुँदा ३-५ दिन गोठमा राख्ने गरे पनि सुत्केरी हुँदा भने ७–१३ दिनसम्म गोठमा राख्ने गरिएको नलगाड-८, की स्वास्थ्य स्वयंसेविका सुशीला शाही बताउँछिन् । ‘यहाँ छाउभन्दा त कठोर सुत्केरीलाई छ । १३ दिनसम्म सुत्केरीलाई छोइँदैन । दूध, दही जस्ता पोसिला खानेकुरा दिए भैंसीले दूध दिँदैन भन्ने मान्यता छ,’ उनले भनिन् ।

सुत्केरी भएपछि महिलाको प्रजनन प्रणालीहरू परिवर्तन हुने र ती प्रणाली सामान्य अवस्थामा फर्किन कम्तीमा ६ हप्ता लाग्ने वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङ बताउँछिन् । ‘६ हप्तालाई ‘सुत्केरी समय’ भनिन्छ । यो अवधिमा आमाको सबैभन्दा बढी हेरचाह गरिनुपर्छ,’ वरिष्ठ नर्सिङ अधिकृत गुरुङ भनिन्, ‘तर कर्णालीमा देउता रिसाउने भन्दै सुत्केरी भएकै बेला सबैभन्दा बढी बेवास्ता गरिन्छ । यो नै महिलाको सम्भावित मृत्युको मुख्य जड हो ।’

सुत्केरी हुँदाका बेला होस् या रजस्वलाको समयमा, महिलाहरूलाई छाउ गोठमा राखेकै कारण भएको मृत्युको विषय समाचार बन्छन् । तर त्यसको नीतिगत निकास भने केही निस्किँदैन ।

गर्भवती र सुत्केरीको विशेष स्याहार गर्न सके मातृ मृत्युदर हटाउन सकिने गुरुङ बताउँछिन् । ‘विकसित राष्ट्रहरूले त्यो प्रमाणित नै गरेका छन्’ उनले भनिन् । कर्णालीमा छाउ प्रथाको बारेमा जति बहस–अभियानहरू चलाइन्छन्, सुत्केरी छाउबारे सामान्य छलफल पनि गरिँदैन । सुत्केरी छाउबारे सडकदेखि सदनसम्म आवाज उठेको सुनिँदैन ।

प्रदेशका ३५ प्रतिशत महिला घरमै सुत्केरी

अहिले पनि कर्णाली प्रदेशका ३५ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मन्त्रालयका अनुसार प्रदेशका हरेक तीन जना महिलामध्ये कम्तीमा एक जनाले अझै पनि घरमै (असुरक्षित तरिकाले) बच्चा जन्माउने गरेका छन् ।

जसको प्रत्यक्ष असर प्रति १ लाख जीवित जन्ममा मातृ मृत्युदर १७२ रहेको छ । यो अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै हो । गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ । कर्णालीमा प्रतिहजार जीवित जन्ममा ३८ जनामा बाल मृत्युदर छ ।

स्वास्थ्यकर्मीको सहयोग बिना असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैका स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुने गरेको छ । अझ सुत्केरीलाई गोठमा राख्दा आमा र बच्चाको स्वास्थ्यमा समेत गम्भीर प्रकृतिका रोगहरू देखा गर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

सुत्केरी अवस्थामा आमाको राम्रोसँग ख्याल नगर्दा आमा, बच्चा र परिवारले नै ठूलो समस्या झेल्नुपर्ने बालरोग विशेषज्ञ डा.नवराज केसी बताउँछन् । ‘आमाहरूले शारीरिक, मानसिक र सामाजिक तीन प्रकारका समस्या झेल्ने गरेको पाइन्छ । पाठेघर खस्ने, शरीर कमजोर हुने र मुटु सम्बन्धी रोग देखा पर्ने गरेको छ’ डा. केसी भन्छन् ।

अझ पछिल्लो समय कर्णालीका अधिकांश महिलामा डेलिभरीपछि ‘पोस्टपार्टम साइकोसिस’ नामक मानसिक रोग समेत देखा पर्ने गरेको उनको भनाइ छ । ‘सुत्केरी अवस्थामा आमाको राम्रोसँग ख्याल नगर्दा विभिन्न रोग देखा पर्छन् । ती रोगको उपचारका लागि पनि परिवारले ठूलो नोक्सानी खेप्नुपर्छ । लाखौँ रुपैयाँ उपचारमा खर्चिनुपर्छ ।’

‘घरमा सुत्केरी शून्य’ अभियान चलाइँदै

कर्णाली प्रदेश सरकारले असुरक्षित सुत्केरी हुने सङ्ख्यामा कमी ल्याउन भन्दै ‘घरमा सुत्केरी शून्य’ अभियान नै सञ्चालन गर्ने भएको छ । उक्त अभियान सञ्चालनका लागि सरकारले चालु आर्थिक वर्ष देखि जिल्लास्तरमा बजेट छुटाइएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि पूर्ण संस्थागत सुत्केरी सम्बन्धी निर्देशिकाको मस्यौदा नै तयारी गरिएको मन्त्री भण्डारीले जानकारी दिए । ‘प्रदेश अहिले पनि ठूलो सङ्ख्यामा महिलाहरू सुत्केरी अवस्थामा अस्पतालको पहुँचबाहिर रहेको देखिन्छ,’ मन्त्री भण्डारीले भने, ‘यसलाई हामीले नीति रूपमै समेटेर शून्यमा झार्ने अभियान थाल्दै छौँ ।’

केही सामाजिक बन्धन, भौगोलिक कठिनाइ, सुविधा सम्पन्न अस्पतालको कमी तथा सुत्केरीसम्बन्धी चेतना अभावका कारण कर्णालीका ग्रामीण भेगका महिलाहरू अस्पताल नजाने गरेको पाइन्छ ।

कर्णालीको अर्को ठूलो चुनौती बालविवाह हो । यहाँका ३७.९ प्रतिशत महिलाको विवाह १८ देखि २० वर्षको उमेरमै हुने गरेको छ । जबकी नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्नुलाई गैर कानुनी मानेको छ । कम उमेरमा हुने विवाह र गर्भधारणले मातृ मृत्यु, गर्भपतन र नवजात शिशु मृत्युको जोखिम बढाएको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्री भण्डारीका अनुसार यो समस्यालाई सम्बोधन गर्न मन्त्रालयले ‘बालविवाह अन्त्यका लागि रणनीतिक योजना’ तयार पारेको छ । उमेरले परिपक्व नभई विवाह गर्दा व्यक्ति, परिवार र समाजमा विभिन्न किसिमका शारीरिक, मानसिक, सामाजिक र आर्थिक समस्या झेल्ने गरेका छन् ।

कर्णालीको बालविवाह, छाउ, सुत्केरी छाउ, मातृ मृत्यु दर, शिशु मृत्यु दर, कुपोषण लगाएका कुराहरू आमा र बच्चाको स्वास्थ्यसँग एक आपसमा जोडिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । एउटी महिलालाई सबैभन्दा धेरै हेरचाह र पोसिलो खानपान सुत्केरी भएका बेला चाहिने गर्दछ । तर कर्णालीमा भने सुत्केरी आमालाई नै बेवास्ता गरिँदा हरेक सूचकाङ्कमा प्रदेश नै पछाडि गरेको वरिष्ठ नर्सिङ अधिकृत गुरुङ बताउँछिन् ।

छाउ प्रथा उन्मूलन भनेर राष्ट्रिय अभियानहरू समेत चलाइएका छन् । तर विडम्बना ‘सुत्केरी छाउ’ले सयौंको ज्यान लिइरहेको छ तर त्यो सामान्य छलफलको विषय समेत बन्न सकेको छैन ।

सुत्केरी हुँदाका बेला होस् या रजस्वलाको समयमा, महिलाहरूलाई छाउ गोठमा राखेकै कारण भएको मृत्युको विषय समाचार बन्छन् । तर त्यसको नीतिगत निकास भने केही निस्किँदैन । जसले गर्दा कर्णालीमा आजपर्यन्त अकालमै महिलाको ज्यान जाने यस्तो कुसंस्कारको अन्त्य हुन सकेको छैन ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?