७ पुस,काठमाडौं । सरकारले पाठेघर मुखको क्यान्सर रोकथामका लागि ‘एचपीभी’ (ह्युमन प्यापिलोमा भाइरस) खोपलाई राष्ट्रिय खोप कार्यक्रम भित्र समावेश गरेको छ ।
माघको अन्तिम साताबाट देशभर खोप कार्यक्रम सञ्चालन गर्ने तयारी सरकारको छ । कक्षा ६ मा पढ्ने बालिकालाई लक्षित गरी खोप कार्यक्रम अघि बढाइएको हो ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले एचपीभी खोप अब नियमित कार्यक्रममा समावेश भएको बताए ।
‘यसअघि अभियानका रूपमा सञ्चालन गरेका थियौं । अहिले नियमित कार्यक्रममा समावेश भएको छ,’ डा. गौतमले भने, ‘१० वर्ष पूरा भएका र ६ कक्षामा अध्ययनरत बालिकालाई एचपीभी खोप दिन्छौं ।’
१० वर्षका बालिकालाई लक्षित गरी करिब साढे तीन लाख बालिकालाई खोप दिने सरकारको तयारी छ ।
गत वर्ष सरकारले अभियानको रूपमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी १६ लाख जनालाई खोप दिएको थियो । जसमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए ।
खोप कार्यक्रम भने विद्यालय र स्वास्थ्य संस्था केन्द्रित हुनेछ । ‘हामी विद्यालयहरूमा नै खोप केन्द्र स्थापना गर्नेछौं । यसले गर्दा खोप वितरण प्रक्रिया सहज र प्रभावकारी हुनेछ,’ डा. गौतमले भने ।
यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।

हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु
चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ ।
एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।
ह्युमन प्यापिलोमा भाइरस २०० भन्दा धेरै प्रजातिका हुन्छन् । तर मानव शरीरमा क्यान्सर गराउने प्रजाति १२ प्रकारका हुन्छन् । तीमध्ये ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने गरेको छ ।
हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ । जसमध्ये १ हजार ३१३ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ ।
नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ ।
नेपालमा औसत चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने संख्या न्यून र मध्यम आय भएका देशमा देखिने गरेको चिकित्सक बताउँछन् ।
एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने, खोपले संक्रमण हुनबाट बचाउँछ । तर शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।
चिकित्सकका अनुसार १४ वर्षमुनि भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि, यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।
‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन । भाइरस प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ,’ बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भन्छन् ।
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, पेट दुख्ने, महिनावारी सुकिसकेका महिलालाई समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षण देखिन्छन् ।
तर, धेरै महिला अन्तिम स्टेजमा मात्रै अस्पताल पुग्छन्, जतिबेला पाठेघरको मुखको क्यान्सर फैलिसकेको हुन्छ । र, अन्तिम विकल्प रेडियोथेरापी हुन पुग्छ ।
नेपालमा क्यान्सरसम्बन्धी जनचेतनाको निकै कमी छ । कुनै पनि क्यान्सर समयमै पहिचान भएको खण्डमा र समयमै उपचार गर्न सके निको हुनसक्छ । तर कतिपय मानिस अज्ञानताका कारण क्यान्सर लागेको अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।
यौन क्रियाकलापमा सक्रिय अधिकांश महिला जीवनकालमा एचपीभी संक्रमण भएका हुन्छन् । तर संक्रमण सुरुको अवस्थामा कुनै लक्षण, चिह्नहरू देखिँदैनन् ।
‘पाठेघरको मुखको क्यान्सर भएका महिला अन्तिम समयमा मात्रै अस्पताल आइपुग्छन्,’ डा. गौतम भन्छन्, ‘एचपीभी संक्रमण पटकपटक भएर २० वर्षसम्म संक्रमण रहिरह्यो भने मात्रै क्यान्सर हुनसक्छ ।’
मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीका अनुसार, नेपालमा क्यान्सरबाट हुने मृत्युमा पाठेघरको क्यान्सर प्रमुख कारण बन्दै गएको छ ।
‘यो एक भयावह स्थिति हो । हामीले २५-३० वर्षका युवा महिलालाई यस रोगका कारण गुमाइरहेका छौं,’ डा. शाही भन्छन् ।
ग्रामीण क्षेत्रका महिलाहरू यस रोगबाट बढी प्रभावित छन् । परिवार नियोजनका साधनको कम प्रयोग र नियमित स्वास्थ्य जाँचको अभावले गर्दा दुर्गम क्षेत्रका महिलाहरू बढी जोखिममा रहेको चिकित्सक बताउँछन् ।
भाइरस संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिँदा हुन्छ ।
एचपीभी खोप केवल पाठेघरको मुखको क्यान्सर मात्र होइन, एचपीभीबाट हुनसक्ने अन्य समस्याबाट पनि बचाउँछ । एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ ।

निजीमा १० हजारसम्म, सरकारी निःशुल्क
एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउन आवश्यक पर्ने चिकित्सक बताउँछन् । सरकारले सहज रूपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरूले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् ।
त्यसैले महिलाहरू उक्त खोपका लागि महँगो शुल्क तिर्न बाध्य थिए । तर सरकारले अब नियमित खोपमा समावेश गरेर हरेक वर्ष दिने भएको छ ।
निजी अस्पतालमा एचपीभी खोपको मूल्य ६ हजारदेखि १० हजारसम्म लिने गरेका छन् । तर उही गुणस्तरको खोप भने सरकारले ४५० रुपैयाँमा खरिद गरेको छ ।
गाभी र डब्लूएचओ–युनिसेफको सहुलियत सूचीमार्फत ३ अमेरिकी डलर मा खोप खरिद गरिएको डा. गौतमले बताए ।
‘बजारमा ६ देखि १० हजार रुपैयाँमा मिल्ने यही खोप सरकारले ४५० रुपैयाँमा पाएको छ । गुणस्तर र प्रभावकारितामा कुनै फरक छैन,’ डा. गौतमले भने, ‘सरकारले नि:शुल्क दिन्छ । ढुक्क भएर खोप लगाउनुहोस् ।’
एचपीभी खोप भने एक डोज मात्रै दिइनेछ । दुई वर्ष अगाडि सातै प्रदेशका केन्द्रीय अस्पतालबाट १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका १० हजार किशोरीलाई एचपीभी खोप दिइयो । त्यसबेला उक्त खोप दुई मात्रा दिइएको थियो ।
तर, पछिल्ला वैज्ञानिक प्रमाणका आधारमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक डोज नै काफी हुने निष्कर्ष जारी गरेपछि नेपालले पनि एकल डोज नीति अपनाएको छ ।
गौतमले नयाँ अनुसन्धान, गाइडलाइन र खोप सल्लाहकार समितिको सुझावमा खोपको मात्रा घटाइएको बताए ।
‘एक डोजले पनि पूर्ण रूपमा काम गर्ने अनुसन्धानले देखाएको छ,’ डा. गौतमले भने, ‘खोप लगाएपछि जो एन्टीबडी बन्नुपर्ने हो । त्यो एक डोज लगाए फरक नपर्ने देखियो ।’
उनले अगाडि थपे, ‘पैसाको अभावले होइन, वैज्ञानिक प्रमाणले नै एक डोज पर्याप्त छ भनेपछि एकल डोज दिने निर्णय गरेका हौं ।’
काठमाडौंका स्कुलमा लगाउन मान्दैनन् एचभीपी खोप
नेपालले दक्षिण पूर्वी एसियाको रणनीतिअनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने भन्ने नीति लिएको छ ।
कम्तीमा ९० प्रतिशतलाई खोप दिने, ९० प्रतिशतलाई स्क्रिनिङ गर्ने र स्क्रिनिङमा पोजिटिभ देखिएका ९० प्रतिशतलाई सफल उपचार गर्ने लक्ष्य तोकेको छ ।
जसअनुसार नै कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाइएको डा. गौतम बताउँछन् ।
हाल नेपालमा प्रति एक लाख जनसंख्यामा १६ जनामा पाठेघरको मुखको क्यान्सर देखिन्छ । यसलाई चार गुणा घटाएर प्रति एक लाखमा चार झानुपर्ने चुनौती रहेको उनले बताए ।
यसभन्दा अगाडिको खोप अभियानमा बागमती र मधेश प्रदेशमा कतिपय किशोरी एचपीभी खोपबाट वञ्चित भएका छन् । निजी विद्यायमा एचपीभी खोप गरिबका लागि हो भन्ने गलत धारणा भएको पाइएको डा. गौतमले बताए ।
‘काठमाडौंका ठूला मानिएका निजी विद्यालयले किशोरीलाई खोप लगाउन मानेनन् । गरिबले मात्रै खोप लगाउने जस्तो गरे,’ डा. गौतम भन्छन्, ‘तर अभिभावकले त्यही खोपलाई निजीमा १० हजार तिरेर लगाइराख्नुभएको हुन्छ ।’
खोप कार्यक्रमको क्रममा भ्रम पनि फैलिएको उनले बताए ।
एचपीभी खोपले बाँझोपन गराउने भन्ने अफवाह र केही बालबालिकामा यो क्यान्सरको खोप भनेपछि आफूलाई क्यान्सर हुनेछ भनेर गलत बुझाइ रहेको उनले बताए ।
यस्ता समस्या समाधानका लागि २१ विभिन्न भाषामा सूचनामूलक सामग्री तयार गरिएको र अभिनेत्री मनिषा कोइरालालाई सद्भावना दूत नियुक्त गरिएको उनले जानकारी दिए ।
ढुक्क भएर खोप लगाउन आग्रह
विश्वभरका ९० देशले एचपीभी खोप कार्यक्रम सञ्चालन गरिसकेका छन् र नेपालको सफलता हेरेर छिमेकी मुलुक भारतले पनि कार्यक्रम सुरु गरेको डा. गौतम बताउँछन् ।
एचपीभी खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै बालिकालाई उनले आग्रह गरे ।
‘खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र औषधि व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ,’ डा. गौतम भन्छन्, ‘खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन ९५ प्रतिशतसम्म प्रभावकारी भूमिका खेल्छ ।’
प्रतिक्रिया 4