+
+
Shares
सम्झनामा कृष्णप्रसाद भट्टराई :

सन्त नेता किसुनजी : कांग्रेसले बिर्सियो, जेनजीले सम्झिउन्

किसुनजीले देशलाई योगदान दिनुभयो, तर किसुनजीलाई संरक्षण चाहिएका बेला देशले त्यो कुरा बुझेन । चारतारे झन्डा बोकेका तिनीहरुलाई किसुनजीको मतलव नभएपछि अन्य दललाई के मतलव हुन्थ्यो ? कांग्रेस पार्टीले कृष्णप्रसाद भट्टराईलाई चिनेन । चिन्न चाहेन । मूल्यांकन गरेन । गरेको छैन । चिनाएन, चिनाउन चाहेको छैन ।

डा. लोक भट्टराई डा. लोक भट्टराई
२०८२ पुष ८ गते १०:०६

आज पुस ८ गते सन्तनेता श्री कृष्णप्रसाद भट्टराईको जन्मजयन्तिको दिन । कृष्णप्रसाद भट्टराई, जो विगत एक शताब्दीको नेपालको राजनीतिक इतिहासमा एउटा विशिषट चरित्र र पहिचान बनाएका तर नेपाली समाजमा थोरैले मात्र त्यो गहिराइलाई चिन्न सकेका श्रद्धेय महापुरुष । लेखक हरि अधिकारीको शब्दमा भन्दा ‘एक्लो नायक’।

हल्ला र भ्रमका पछाडि दगुर्ने, पर्खने धैर्यता बिल्कुल शून्य भएको, कामको भन्दा मामको चासो राख्ने देखावटी एवं उश्रृङ्खल जीवनशैलीमा रमाउने व्यक्ति नै नेता बन्ने अहिलेको अवस्था छ । शक्तिमा हुँदा आफन्त/ आसेपासेको भरण पोषणबाहेक अन्य कुराको मतलव नराख्ने नेतृत्वको बोलवाला भएको समाज छ ।

तर, कृष्णप्रसाद भट्टराई त्यो सबैभन्दा बिल्कुल अलग शान्त, अध्ययनशील, अध्यात्मिक, सपाट, प्रजातान्त्रिक एवं साधारण आचार शैली र संस्कार अनि सुशाशनका प्रतिमूर्ति हुनुहुन्थ्यो ।

सर्वप्रथम उहाँको जन्म जयन्तिको अवसरमा त्यस्तो दुर्लभ गुणले सम्पन्न समादरणीय श्री कृष्णप्रसाद भट्टराईप्रति श्रद्धान्जली व्यक्त गर्न चाहन्छु र भन्न चाहन्छु – किसुनजी, आज तपाईको स्वर्गारोहण भएको १४ बर्षपछि नेपाली मनले तपाईको नाम नलिएरै सही, आजका नेताहरुमा तपाईको जस्तो आचार, संस्कार, र सदाचारको खोजी गरेको छ । त्यही कुराको माग गरेर युवा वर्गले संसार हल्लिने तहको विद्रोह र विरोधसमेत गरे ।

सम्भवत: तपाईको जस्तो जीवन शैली, चिन्तन र आदर्श तपाईपछिका नेताहरुमा हुँदो हो भने न नेपालको हालत यस्तो हुन्थ्यो, न जेनजी विद्रोह हुनुपर्थ्यो वा हुने थियो । तसर्थ, तपाईले देखाउनुभएको आदर्शको त्यो आलोकप्रति सतत नमन ।

विगत एक शताब्दीमा कसैसँग तुलना हुनै नसक्ने त्यस्तो नेता छोटै समयलाई सही, देशको नेतृत्वमा आइसकेपछि नेपाली समाजले त्यो कोहिनुरलाई किन चिन्न र संरक्षण गर्न सकेन रु यो नै आजको मिलियन डलरको प्रश्न हो ।

किसुनजीले देशलाई योगदान दिनुभयो, तर किसुनजीलाई संरक्षण चाहिएका बेला देशले त्यो कुरा बुझेन । त्योबेला फरक समय थियो । सायद आजको जस्तो डिजिटल युग हुँदो हो भने, त्यो सम्भव पनि हुँदो हो । तर, त्यतिखेरलाई त्यो भएन, हुन सकेन ।

यस लेखमा म नेपाली समाजका केही निहित विडम्बनाहरुको चर्चा गर्न चाहन्छु । जसका कारण नेपाल आजको नियतिमा गुज्रेको छ ।

नेपाली राजनीतिका प्रायस् सबै क्याम्पहरुमा सधैं जालझेल, अस्वस्थ प्रतिष्पर्धा र अप्रजातान्त्रिक तरिकाको दुरुपयोग हुँदै आएको जगजाहेर छ । नेपाली कांग्रेसमा यो रोग त कम हैन, बढी नै थियो । कृष्णप्रसाद भट्टराईले देखाएको आदर्श मार्गभन्दा कांग्रेसभित्रैका थुप्रैलाई अरु कुरा नै प्यारो थियो । त्यो प्रवृत्ति पालेकालाई ‘भाँडमा जाए कांग्रेस, भाँडमा जाए देश’ भनेजस्तै त्योभन्दा आफ्नो स्वार्थपूर्ति नै बढी प्यारो थियो । र, मौका पाउना साथ कृष्णप्रसाद र उनका आदर्शलाई त्यो प्रवृत्तिले धुलिसात पार्न बाँकी राखेन ।

उसले भावी सन्ततिलाई सन्त नेताको चरित्र र आदर्शको पाठ किन पढाउँथ्यो रु मन र ब्यवहारमा जे जस्तो भए पनि बाहिर चारतारे झन्डा बोकेका तिनीहरुलाई किसुनजीको मतलव नभएपछि अन्य दललाई के मतलव हुन्थ्यो ?

हाम्रो देश अमेरिका वा बेलायत हैन, जहाँ सम्मानयोग्यको सम्मान हुन्छ । जहाँ क्रमशस् जर्ज वासिंगटन र विन्स्टन चर्चिल आजको पुस्तालाई चिनाइरहने आवश्यकता नै पर्दैन । यहाँ त नक्कली नायक खडा गरिन्छ, सक्कली नायकलाई गुमनाम राख्ने संगठित प्रयास नै गरिन्छ ।

कृष्णप्रसाद भट्टराईको सरल जीवनशैली र भ्रष्टाचारप्रतिको शून्य सहनशीलता उहाँका चार चाँद थिए । त्यसै कारण २०४६ पछि भएका यतिका निर्वाचनमा दुई पटक कांग्रेसले प्रष्ट बहुमत ल्यायो र दुवैपटक मुख्यतस् उहाँको नाम, काम र अनुहाकै आधारमा । यो कुरा जनमानसले गहिरो गरी देख्न, बुझ्न र मनन गर्न पाएको भए किसुनजीलाई विस्थापित गर्न स्वर्गका राजा इन्द्रले पनि सक्ने थिएनन् । यस्तो स्थितिमा सबै तह र तप्काका खराब तत्वका लागि उहाँलाई पर्दा पछाडि धकेल्नु अत्यन्त आवश्यक थियो र भयो पनि त्यही ।

किसुनजीको नाम नलिए पनि, किसुनजीले देखाएको भ्रष्टाचाररहित शासनको खोजी, नेताका परिबारको खर्चिलो जीवनशैलीको विरोध अनि देशको सम्पत्तिमा आफन्तको भरणपोषण गर्ने प्रथाको विरोधका लागि संसार हल्लिने विद्रोह गर्न जेनजी पुस्ता बाध्य भए

अद्ध्यात्मप्रेरित किसुनजीलाई सत्ता कहिल्यै प्यारो भएन । उहाँले नीलकन्ठ बनेर आफ्नो नाममा आर्जित जनमतसमेत त्याग्दिनु भो । तर, पछिसम्मै पनि उहाँको नाममा फाइदा उठाउने प्रयास भने भई नै रह्यो । गर्नेले कोशिश गरिरहे, मिलेसम्म अहिले पनि गर्ने नै छन् । तर, वास्तविकता के भने स्वयम् कांग्रेस पार्टीले कृष्णप्रसाद भट्टराईलाई चिनेन । चिन्न चाहेन । मूल्यांकन गरेन । गरेको छैन । चिनाएन, चिनाउन चाहेको छैन ।

एउटा पार्टी धेरैको योगदानले बनेको हुन्छ, तर सबैको योगदान एउटै लहरमा एकमुष्ट फूलमाला चढाएर सकिने खालको हुँदैन । त्यसमा भिन्न योगदानको भिन्न परख हुनु पर्छ । नत्र त्यहाँ न्यायको प्रत्याभूति हुँदैन । जसले इतिहास लेख्नमा त न्याय गर्दैन, त्यस घरमा वर्तमानमा न्याय हुन्छ भनेर कसरी भन्न सकिन्छ ?

कांग्रेसमा योगदानको कुरामा छ्यान/पहिचान नै छैन । कसैले पार्टी नखोलेका बेला किसुनजीले आफ्नो अग्रसरतामा पार्टी खोल्ने हिम्मत र अग्रसरता लिनु भएको हो । २०१७ सालपछि स्वयम् आफ्ना सहयोद्धा पञ्चायतमा प्रवेश गरेर धमाधम फाइदा लिन थाले, अरु कोही कायलनामा लेखेरु जेलबाट मुक्त हुन थाले, तर कृष्णप्रसाद एक्लै सतिशाल बनेर उभिरहनुभयो, जसको नैतिक बलले अन्ततस् अजेय निरंकुशतालाई लतक्कै गलाइदियो ।

त्योबेला ुराजाको निगाह स्वीकार छैनु भनेर हुंकार गर्ने हिम्मतको सलाम गर्न कुनै शब्द नै छैन । र, त्यो घटना त्यस्तो घटना बन्न पुग्यो, जहाँबाट फेरि प्रजातान्त्रिक सोचको पुनर्जागरण र निरंकुशताको ओरालीको दिनगन्ती सुरु भयो ।

उहाँको त्यो बलिदान, हिम्मत र आदर्शको बिराशत बोकेको कांग्रेस त अहिले पनि छ तर बाहिरी खोलमा मात्र कांग्रेस । रोगग्रस्त कांग्रेस । सुस्ताएको/धर्मराएको कांग्रेस । इतिहास बोल्न नसक्ने कांग्रेस । मूल्यांकन गर्न नसक्ने कांग्रेस । सत्ताको स्वाद वरिपरि संगठन धानेको कांग्रेसलाई सत्ता चाहिँदा संख्या चाहिने नै भयो र संख्याका लागि मुखमा पट्टी लाउन पर्ने बाध्यता । यही त छ विडम्बना ।

गुटफुटको डर देखाएर कांग्रेसमा इतिहास छोप्ने काम भएको छ । विडम्बना ! कांग्रेसमा आदर्श र मूल्य मान्यताका कारण जनमत आउँछ भन्ने सोच कमजोर हुँदै छ र कृत्रिम एकताकै मात्र भरोशा गर्नुपर्ने स्थिति बलशाली हुँदै गएको छ ।

एउटा समय थियो, पार्टी परिवर्तन गरेर अरु पार्टीबाट कांग्रेसमा आउन चाहने कार्यकर्तालाई किसुनजी ‘प्रजातन्त्रमा प्रतिपक्ष चाहिन्छ, एकभन्दा बढी दल चाहिन्छ, तिमी आफ्नै पार्टीमा बस’ भनेर तिनलाई सम्झाई बुझाई गरेर फिर्ता पठाइदिनु हुन्थ्यो ।

तर, अहिलेको कांग्रेस चारजना अरु पार्टीका मान्छे आफ्नो पार्टीमा आउँदा शंखघोष गर्ने स्थितिमा पुगेको छ । आजको कांग्रेस चुनाव आएपछि खुट्टा कमाउँछ र सके, मिले हिजो कांग्रेसले नगनेको, नटेरेको पार्टीको भए पनि बैसाखी खोज्न थाल्छ ।

आज देशमा भड़किलोपन, आफन्तवाद, मिलेमतो र भ्रष्टाचार महारोग बनेको छ । त्यसै कारण त्यसका विरुद्ध जेनजीले अभूतपूर्व विद्रोह गरे । किसुनजीको नाम नलिए पनि, किसुनजीले देखाएको भ्रष्टाचाररहित शासनको खोजी, नेताका परिबारको खर्चिलो जीवनशैलीको विरोध अनि देशको सम्पत्तिमा आफन्तको भरणपोषण गर्ने प्रथाको विरोधका लागि संसार हल्लिने विद्रोह गर्न जेनजी पुस्ता बाध्य भए ।

के कांग्रेसले सधैं किसुनजीको आदर्शमा कांग्रेसलाई र देशलाई चलाएको भए के कांग्रेसको स्थिति आजकोजस्तै हुँदो हो ? के देशको स्थिति यस्तै नाजुक हुँदो हो ? के सिंहदरबार र सर्वोच्च अदालतले दावानलमा जल्न पर्दो हो ? के ७५ जना होनहार नौजवानले जीवन आहुति दिनु पर्दो हो ? त्यसमा सबै नेपालीले सोच्नुपर्ने भएको छ । कांग्रेसका नेता कार्यकर्तालाई त झन् त्यो आत्मसमीक्षा नगरी अगाडि जाने नैतिक अधिकार नै छैन भने हुन्छ ।

कृष्णप्रसाद भट्टराईको स्वार्थरहित आदर्शले फेरि एकपटक सबैलाई त्यो सत्मार्गमा लाग्ने प्रेरणा देओस् । आजको दिनको यही छ मनोकामना !

(राजनीतिक विश्लेषक एवं विकासविद डा. भट्टराई कृष्णप्रसाद भट्टराई मेमोरियल फाउन्डेसनका अध्यक्ष हुन् )

लेखक
डा. लोक भट्टराई

(विकासविद् डा. भट्टराई उच्च शिक्षा एव् उद्यमशीलता प्रवर्धनको क्षेत्रमा क्रियाशील छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?