+

तात्तातो खानेकुरा खानु कति उपयुक्त ? यसो भन्छन् चिकित्सक

२०८२ पुष  ८ गते १३:११ २०८२ पुष ८ गते १३:११

यदि दाँतमा कीरा लागेर प्वाल परेको वा भाँचिएको भाग भएमा तातोले दाँतबीच ग्याप आउन सक्छ, जसले दुखाइ हुनसक्छ ।

तात्तातो खानेकुरा खानु कति उपयुक्त ? यसो भन्छन् चिकित्सक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. विधाननिधि पौडेलले अत्यधिक तातो खानेकुरा मुख पोल्ने र दीर्घकालीन रूपमा ग्यास्ट्रिक अल्सरको जोखिम बढाउने बताउनुभयो।
  • विश्व स्वास्थ्य संगठनले ६५ डिग्री सेल्सियसभन्दा माथिको तातो पेयलाई सम्भावित कार्सिनोजन वर्गीकृत गरेको छ।
  • नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. अरुण केसीले ६० डिग्री सेल्सियसभन्दा माथिको तातोले जिब्रो र मुखको म्युकस मेम्ब्रेनमा थर्मल बर्न हुने बताउनुभयो।

काठमाडौं । हात कठांग्रिएको छ । सास फेर्दा बाफ उडिरहेको छ । शरीर चिसो भइरहेको छ । यस्तोमा भकभक उम्लिएको चिया पिउँदा कस्तो हुन्छ ?

पक्कै सुरुमा हातले कप समात्दा न्यानो हुन्छ । पहिलो घुट्कोले ओठ पोल्छ । त्यस पछि जिब्रो लाटो हुन्छ । तर, शरीरभर न्यानो तरङ्ग दौडिन्छ । एकछिन अघि भएको जाडो भागेको जस्तो हुन थाल्छ ।

चियामा मात्र होइन, यो मौसममा अधिकांशलाई तातो खानेकुरा प्रिय लाग्छ । थुक्पाको बाफिलो झोल, बास्ना आइरहेको झोल मःम जस्ता बाफ उडिरहेको मुख पोल्ने गरी तातो खान निकै मनपर्छ ।

तर, यसरी तातो खाँदा शरीरका अंगहरुलाई कुनै हानि त गर्दैन ?

शरीरले तातो खानेकुरालाई व्यवस्थापन गर्ने भएकाले सामान्य तातो खानेकुराले शरीरमा खासै असर नगर्ने पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेल बताउँछन् । तर धेरै तातो खाँदा भने हानि गर्न सक्ने उनको भनाइ छ।

डा. पौडेलका अनुसार हाम्रो शरीरमा होमियोस्टासिस प्रक्रिया हुन्छ । यो यस्तो प्रक्रिया हो, जसले शरीरभित्रको तापक्रमलाई नियन्त्रण गर्छ । त्यसैले, हामीले खाने जुनसुकै खानेकुरा चिसो होस् वा तातो, शरीरको यो प्रक्रियाले यसलाई सामान्य तापक्रम (३७ डिग्री सेल्सियस) मा ल्याउने हुँदा पेटमा पुग्दा खानाको तापक्रम सामान्य भइसकेको हुन्छ, त्यसैले पाचनमा खास समस्या हुँदैन।

तर, अत्यधिक तातो खानेकुरा मुख पोल्ने गरी खाँदा तत्कालीन समस्या हुन्छ । मुखमा प्रवेश गर्दा नै छाला पोल्छ, जिब्रो लाटो हुन्छ र निल्न गाह्रो हुन्छ । घाँटी, अन्ननली (इसोफेगस) र पेटको भित्री सतह संवेदनशील हुने भएकाले तातोले घाउ वा पोल्ने हुनसक्ने उनी बताउँछन् ।

बारम्बार यस्तो तातो खाने बानीले ग्यास्ट्रिक वा अल्सरको जोखिम बढ्छ । ‘हामी यी खानेकुरा शरीर तातो होस् भनेर पनि खान्छौं’ डा. पौडेल भन्छन्, ‘यसरी धेरै तात्तातो खानेकुराले शरीर तात्ने होइन, बरू बारम्बार खाँदा मुखदेखि अन्ननलीसम्म पोल्ने र दीर्घकालीन रूपमा ग्यास्ट्रिक अल्सर हुनसक्छ ।’

अन्ननली र पेटमा दीर्घकालीन जोखिम

सबैभन्दा अर्को ठूलो चिन्ता हो, अन्ननलीको क्यान्सर । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले २०१६ मा ६५ डिग्री सेल्सियसभन्दा माथिको तातो पेयलाई ‘सम्भावित कार्सिनोजन’ वर्गीकृत गरेको छ ।

इरान, चीन, दक्षिण अमेरिका र अफ्रिकामा गरिएको अध्ययनका अनुसार मुख पोल्ने गरी तातो चिया, कफी वा खाना खानेहरूमा इसोफेजियल स्क्वामस सेल कार्सिनोमाको जोखिम २ देखि ५ गुणा बढ्ने देखिएको छ ।

अध्ययन अनुसार तातोले अन्ननलीको भित्री तहमा थर्मल घाउ बनाउँछ, जसले कोषहरू छिटो विभाजन गराउँछ । यो प्रक्रियामा गल्ती हुँदा क्यान्सर कोष बन्न सक्छ । मलावी र तान्जानियाको अध्ययनले तातो खाना÷पेयको तापक्रम, छिटो खाने बानी र मुख पोल्ने फ्रिक्वेन्सीले जोखिम ४.६ गुणा बढाउने देखाएको छ ।

पेटमा मात्र होइन, अत्याधिक तातो खाँदा मुख र जिब्रोमा पनि तत्कालीन असर देखिने विज्ञ बताउँछन् ।

मुख र जिब्रोमा कस्तो असर गर्छ ?

नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. अरुण केसीका अनुसार जिब्रो र मुखभित्रको छाला (म्युकस मेम्ब्रेन) अत्यधिक संवेदनशील हुन्छ । ६० डिग्री सेल्सियसभन्दा माथिको तातोले कोषहरूमा साइटोटक्सिक प्रभाव पार्छ, जसले जिब्रो पोल्ने, उप्किने वा लाटो हुने बनाउँछ ।

उदारहण दिँदै डा.केसी भन्छन्, ‘तातो चियाको पहिलो घुट्को लिँदा सबैभन्दा पहिला जिब्रो, तालु र मुखभित्रको नरम छाला (म्युकस मेम्ब्रेन) प्रभावित हुन्छ । ६० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमले कोषहरूलाई प्रत्यक्ष जलाउँछ । यो थर्मल बर्न हो, जसले जिब्रोको स्वाद ग्रन्थीहरूमा क्षति गर्छ । तालुको छाला उप्किन्छ, जसले केही दिनसम्म दुखाइ र स्वाद हराउँछ ।

डा. केसीका अनुसार स्थिति केही दिनसम्म रहन सक्छ । बारम्बार यसरी पोल्दा मुखको कोषहरू छिटो विभाजन हुन्छन्, जसले दीर्घकालमा ओरल क्यान्सरको जोखिम बढाउने नेशनल लाइब्रेरी अफ मिडिसिनमा प्रकाशित एक अध्ययनले देखाउँछ ।

के क्यान्सर नै गराउँछ ?

डा. केसीका अनुसार सीधै ‘एक–दुई पटक तातो खाँदैमा क्यान्सर हुँदैन । तर धेरै वर्षसम्म निरन्तर अत्यधिक तातो खाने बानीले जिब्रो वा मुखमा बारम्बार घाउ र पोल्ने हुनसक्छ । यो सँगै धूम्रपान, सुर्ती, मदिरा जस्ता जोखिम तत्व भएमा मुख क्यान्सरको जोखिम बढ्न सक्छ ।तातोले बारम्बार क्षति पुर्‍याउँदा कोषिकामा दीर्घकालीन परिवर्तन हुन सक्ने भएकाले क्यान्सरको जोखिम बढ्ने मानिने उनी बताउँछन् ।

दाँतमा के असर पर्छ ?

स्वस्थ दाँत छ भने धेरै तातो खाँदा मात्रै अनुभव हुन्छ, दाँत फुट्ने वा बिग्रने सम्भावना कम हुन्छ । तर यदि भाँचिएको वा समस्या पहिल्यै छ भने यसले समस्यालाई झन् बढाइदिने इन्डोडोन्टिस प्रा. डा.ऋतु श्रेष्ठ बताउँछिन् ।

‘धेरै तातो खानेकुरा खासमा खाएकै राम्रो’ डा.श्रेष्ठ भन्छिन्, ‘किनभने तातोले दाँतमा एक्सपान्सन हुनसक्छन् ।’ डा.श्रेष्ठका अनुसार धेरै तातो खानेकुराले दाँतका कणहरू हलचल भएर अलिकति फुल्छन् (एक्सपान्सन हुन्छ), जसले दाँतमा साना टुक्रा भएको वा समस्या छ भने भित्रको नसासम्म प्रभाव पुगेर दुखाइ निम्त्याउछ ।

यदि दाँतमा कीरा लागेर प्वाल परेको वा भाँचिएको भाग भएमा तातोले दाँतबीच ग्याप आउन सक्छ, जसले दुखाइ हुनसक्छ । दाँत जस्तोसुकै भए पनि अत्याधिक तातो खाँदा दाँतमा जोडिएको नसासम्म तातो प्रभाव पुग्दा पनि नसाले दुखाइ अनुभव गरी दुख्न सक्ने उनी बताउँछिन् ।

कति तातो खाने सुरक्षित ?

शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हो । र, शरीरमा खानाबाट आएको ५० डिग्रीसम्मको तातो सहन सकिन्छ । तर ६५ डिग्रीभन्दा माथि जोखिमपूर्ण मानिन्छ । त्यसैले, सुरक्षित भनेको मुखले सहने सम्मको तातो (५०–६० डिग्री सेल्सियस सम्मको) खानेकुरा एकछिन मुखमा राखेर निल्न सकिन्छ ।

जाडोमा तातो खानेकुराका फाइदा पनि छन्

जाडोमा मनतातो झोलिलो खाना, तातो झोल आदिले शरीर न्यानो राख्छ । शरीरमा रक्तसञ्चार सक्रिय पार्ने र रोग प्रतिरोधी क्षमता बढाउँछ । अदुवा, लसुन, बेसार, मरिचजस्ता मसाला हाल्दा झनै फाइदा दिने गर्छ । तर, अत्यधिक तातो बनाउँदा फाइदा नै बेफाइदा बन्न सक्ने डा. विधान पौडेल बताउँछन् ।

तातो खानेकुरा
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय