+

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

२०८२ पुष  २१ गते १६:३२ २०८२ पुष २१ गते १६:३२

मोटोपनको सबैभन्दा मुख्य कारण असन्तुलित र अधिक मात्रामा खानपान र अपर्याप्त शारीरिक क्रियाकलाप हुन् ।

Shares
पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोटोपन स्वस्थताको संकेत होइन, बरू यो शरीर अस्वस्थ हुनुको संकेत हो र यसले मधुमेह, मुटुको रोग, क्यान्सर लगायत दीर्घकालीन रोगहरूको जोखिम बढाउँछ।
  • मोटोपनको मुख्य कारण असन्तुलित खानपान र शारीरिक निष्क्रियता हुन्, र यसको उपचारका लागि जीवनशैलीमा परिवर्तन र आहारविद्को परामर्श आवश्यक छ।
  • बालबालिका र किशोरावस्थामा मोटोपनले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ, त्यसैले उमेर अनुसार विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ।

यो अचम्मलाग्दो कुरा होकि आजको समयमा पनि मोटोपनलाई ‘खानदानी’ हुनु वा स्वस्थ रहनु भन्ने बुझाइ पढेलेखेकै व्यक्तिहरूमा समेत देखिन्छ ।  पोषण विज्ञानको विद्यार्थी भएको नाताले मलाई लाग्थ्यो- अचेल सबैजसोले मोटोपनलाई एउटा गम्भीर ‘रोग’ का रूपमा बुझिसकेका होलान् । तर, मेरो त्यो बुझाइ भ्रम मात्र रहेछ ।

मोटोपनलाई समस्या नै नठान्ने बरू उल्टै मोटो शरीरलाई व्याख्या गर्न स्वस्थ वा हृष्टपुष्ट, खाएको जिउमा लागेको जस्ता शब्दहरूको प्रयोग भइरहेको देखिन्छ ।

सत्य चाहिँ के हो भने मोटोपन स्वस्थताको पहिचान होइन, बरू यो शरीर अस्वस्थ हुनुको संकेत हो। यद्यपि, मोटोपनकै आधारमा कसैलाई हेप्नु, जिस्क्याउनु वा अपहेलित गर्नु भने सभ्य व्यवहार होइन ।

मोटोपन किन अस्वस्थताको प्रतीक हो ?

हरेक अभिभावकलाई आफ्नो बच्चा हृष्टपुष्ट होओन् भन्ने चाहना हुनु स्वाभाविक हो । बाल्यकालमा आवश्यक भन्दा कम तौल हुनु पक्कै पनि समस्या हो, तर कहिलेकाहीँ हृष्टपुष्ट बनाउने नाममा हाम्रा बच्चा ‘अधिक तौल’ को भइसकेको हामी पत्तो पाउँदैनौँ । यदि बच्चा सानै उमेरमा मोटोपनको शिकार भयो भने भविष्यमा मधुमेह, मुटुको रोग, फ्याटी लिभर, दम र श्वासप्रश्वास प्रणाली सम्बन्धी अन्य गम्भीर समस्याहरू देखापर्न सक्छन् । त्यसैगरी महिलामा पोलिसिस्टिक ओभरी सिन्ड्रोम देखिन सक्छन् ।

यति मात्र होइन, यसले विभिन्न किसिमका क्यान्सर र जीवनशैलीसँग सम्बन्धित दीर्घकालीन रोगहरूको जोखिम समेत बढाउँछ । त्यसैले, बच्चा हृष्टपुष्ट हुनु भनेको ‘उचित तौल’ मा रहनु हो, ‘अधिक तौल’ हुनु होइन भन्ने बुझ्न जरुरी छ । त्यसैगरी, खानपानको सन्तुलन नमिल्दा र शारीरिक सक्रियताको कमीले किशोर अवस्थामा हुने मोटोपनले पनि उत्तिकै जोखिम निम्त्याउछ।

बाल्यकाल वा किशोरावस्थामा मोटोपनको शिकार भएका व्यक्तिले वयस्क अवस्थामा पनि यो समस्या झेल्नुपर्ने प्रबल सम्भावना रहन्छ । कतिपय अवस्थामा भने वयस्क भइसकेपछि जीवनशैलीका कारण तौल बढ्दा मोटोपनको समस्या देखिन्छ ।

विभिन्न अध्ययनका अनुसार, मोटोपन भएका व्यक्तिमा सामान्य मानिसको तुलनामा मधुमेह हुने जोखिम ७ गुणा बढी हुन्छ । त्यसैगरी ठिक्क तौल भएकाहरूको तुलनामा मोटोपन भएका व्यक्तिहरूमा हृदयघात हुने सम्भावना ९ गुणा बढ्छ । मोटोपनले श्वासप्रश्वास प्रणालीमा पनि उत्तिकै असर गर्छ, जसका कारण श्वासप्रश्वास सम्बन्धी दीर्घरोग लाग्ने जोखिम झन्डै दोब्बरले बढ्छ । महिलाहरूमा मोटोपनले हर्मोनमा गडबडी भई पिसिओएस निम्त्याउन सक्छ । गर्भावस्थामा जटिलताको जोखिमलाई उल्लेख्य रूपमा बढाउँछ ।

पुरुषहरूको हकमा भने मोटोपनले शुक्रकीटको गुणस्तरमा ह्रास ल्याउने र हर्मोन सन्तुलन बिग्रिने गर्दछ । फलस्वरूप, श्रीमान् वा श्रीमतीमध्ये कुनै एक जना मात्र मोटो भए पनि यसले बाँझोपन वा गर्भाधानमा समस्या निम्त्याउन सक्छ । साथै, पुरुषको मोटोपनले शुक्रकीटमा परिवर्तनहरू ल्याउन सक्छ, जसका कारण गर्भपतन हुने वा भ्रुणको विकास राम्ररी नहुने जोखिम बढ्छ । यति मात्र होइन, मोटोपनकै कारण स्तन, पेट, आन्द्रा र कलेजो जस्ता संवेदनशील अङ्गहरूमा क्यान्सर हुने जोखिम समेत अत्याधिक बढेर जान्छ ।

मोटोपनको सबैभन्दा मुख्य कारण असन्तुलित र अधिक मात्रामा खानपान र अपर्याप्त शारीरिक क्रियाकलाप हुन् । यद्यपि, मोटोपन सधैँ धेरै खाएर मात्र हुँदैन, कहिलेकाहीँ यो अन्य गम्भीर स्वास्थ्य समस्या वा रोगको संकेत पनि हुन सक्छ ।

कतिपयमा यो वंशाणुगत कारणले हुन्छ भने कतिपयमा हर्मोनको गडबडीले गर्दा हुन सक्छ । जस्तै, थाइराइड हर्मोनको कमीले शरीरको उर्जाको आवश्यकता कम भएर बिस्तारै तौल बढ्छ भने कुसिङ सिन्ड्रोमका कारण हातगोडा पातला भए पनि अनुहार र पेटको वरिपरि तीव्र रूपमा बोसो जम्मा हुन्छ ।

त्यस्तै, शरीरको इन्सुलिनले राम्ररी काम गर्न नसक्ने समस्या र महिलाहरूमा हुने पिसिओएसले शरीरको ग्लुकोज अवशोषण क्षमतामा ह्रास ल्याई बारम्बार भोक लगाउने र बोसो सञ्चय गराउने गर्दछ। यसबाहेक मानसिक तनाव, डिप्रेसन वा छारे रोगको उपचारमा प्रयोग गरिने केही औषधिहरूको सेवनले पनि तौल बढाउन सक्छ ।

यसरी हेर्दा मोटोपन कि त कुनै रोगको उपज हो कि त यसले अन्य रोग निम्त्याउने कारक हो, त्यसैले जुनसुकै अवस्थामा पनि मोटो शरीरलाई स्वस्थताको प्रतीक मान्न सकिँदैन।

मोटोपनको समस्यामा के गर्ने ?

मोटोपन कसरी पत्ता लगाउने भन्ने सन्दर्भमा उमेर अनुसार फरक विधिहरू अपनाइन्छ । बालबालिका वा किशोर-किशोरीहरूको शारीरिक विकासको प्रक्रिया फरक हुने भएकाले उनीहरूमा मोटोपनको अवस्था पहिचान गर्न नजिकैको बाल विशेषज्ञ वा बालबालिकाको पोषणमा विशेषज्ञता हासिल गरेका आहारविद्सँग परामर्श लिनु उचित हुन्छ ।

वयस्कहरूको हकमा भने बीएमआईलाई मुख्य आधार मानिन्छ । तपाईँ आफैँले पनि आफ्नो उचाइ र तौल नापेर मोबाइलमा उपलब्ध विभिन्न सफ्टवेयर सहायताले सजिलै बीएमआई निकाल्न सक्नुहुन्छ । यद्यपि, आफ्नो शारीरिक अवस्थाको विस्तृत जानकारी र सही व्याख्याका लागि नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मी, चिकित्सक वा आहारविद्को सल्लाह लिनु अझ बढी भरपर्दो र सुरक्षित हुन्छ।

मोटोपन पत्ता लागेपछि सबैभन्दा पहिले यसको वास्तविक कारण खोज्नु आवश्यक हुन्छ । यदि शरीरमा अन्य कुनै रोग वा हर्मोनको गडबडीका कारण तौल बढेको हो भने सम्बन्धित चिकित्सकबाट त्यसको उपचार गराउनुपर्छ । मोटोपनको मुख्य कारण असन्तुलित खानपान र शारीरिक निष्क्रियता नै भएकाले यसको दीर्घकालीन समाधानका लागि जीवनशैलीमा परिवर्तन ल्याउनु अनिवार्य छ ।

उचित मात्रामा सन्तुलित आहार लिने र नियमित शारीरिक क्रियाकलाप गर्ने बानी नै मोटोपनको वास्तविक उपचार हो । तौल घटाउने प्रक्रियालाई वैज्ञानिक र सुरक्षित बनाउनुपर्छ । जथाभावी उपाय अपनाउनुको सट्टा नजिकैको आहारविद्सँग परामर्श लिई आफ्नो शरीरको आवश्यकता अनुसारको विशेष आहार योजना तथा जीवनशैली अपनाउनु आवश्यक छ ।

मोटोपन सामाजिक धारणा
मदन पाण्डे
लेखक
मदन पाण्डे
पोषणविद्

मदन पाण्डे ओहायो स्टेट युनिभर्सिटीका विद्यावारिधिका विद्यार्थी हुन् । यसअघि उनले नेपालका विभिन्न अस्पतालमा पोषणविद्को रूपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश