+

जाडोमा हुनसक्छ हाइपोथर्मियाको जोखिम, कसरी बच्ने ?

२०८२ पुष  २३ गते १२:४८ २०८२ पुष २३ गते १२:४८
Shares
जाडोमा हुनसक्छ हाइपोथर्मियाको जोखिम, कसरी बच्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाइपोथर्मिया तब हुन्छ जब शरीरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा तल झर्छ र यसले मस्तिष्क, मुटु र अन्य अंगलाई असर गर्छ।
  • चिसो मौसम, हावा वा पानीको सम्पर्क, मदिरा सेवन, कुपोषण, डिहाइड्रेसन र ज्येष्ठ उमेरका व्यक्तिहरू हाइपोथर्मियाको उच्च जोखिममा पर्छन्।

जाडो बढ्दो छ । जाडो बढेसँगै चिसोजन्य रोगको जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले, यसका लागि चिसोबाट जोगिनुपर्छ । चिसो मौसममा सताउन सक्ने स्वास्थ्य समस्या मध्ये एक, हाइपोथर्मिया पनि हो ।

यो अवस्था तब हुन्छ, जब शरीरको तापक्रम असामान्य रूपमा घटेर ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा तल झर्छ । यसले मस्तिष्क, मुटु र अन्य अंगहरूलाई गम्भीर असर गर्छ र समयमै ध्यान नदिए मुटु बन्द हुने वा ज्यानै जाने जोखिम हुन्छ ।

जाडोमा बाहिर काम गर्ने, यात्रा गर्ने वा घरमा तापको व्यवस्था नभएकाहरू विशेष सतर्क हुनपर्ने देखिन्छ ।

कसरी हुन्छ ?

शरीरको तापक्रम सन्तुलनमा राख्न मस्तिष्कको भाग ‘हाइपोथालामस’को भूमिका हुन्छ । तर केही विशेष अवस्थामा शरीरले तापक्रममा सन्तुलन कायम गर्न सक्दैन र तापक्रम घट्दै हाइपोथर्मियाको स्थितितिर जान्छ । शरीरको तापक्रम ९५ डिग्री फरेनहाइट अर्थात् ३५ डिग्री सेल्सियस भन्दा कम भएको अवस्थालाई हाइपोथर्मिया भएको बुझिन्छ ।

हाइपोथर्मियाका चरण

हाइपोथर्मियालाई गम्भीरताका आधारमा तीन भागमा विभाजन गरिन्छ । सामान्य हाइपोथर्मिया ३२ देखि ३५ डिग्री सेल्सियससम्म हुन्छ । यसमा शरीरले आफैं तातो उत्पादन गर्न खोज्छ र कम्पन तीव्र हुन्छ ।

मध्यम अवस्था २८ देखि ३२ डिग्री सेल्सियससम्म रहन्छ । यसमा कम्पन बन्द हुन्छ र चेतना घट्न थाल्छ । गम्भीर हाइपोथर्मिया भने २८ डिग्री सेल्सियसभन्दा कम तापक्रममा पुग्छ । यस चरणमा मुटुको धड्कन अनियमित हुन्छ र अचेत हुने सम्मको अवस्था आउँछ ।

९० देखि ९५ डिग्री फरेनहाइटसम्मको तापक्रमलाई सामान्य खालको हाइपोथर्मिया भनिन्छ भने ८२ देखि ९० डिग्री फरेनहाइटसम्मलाई मध्यम खालको र ८२ भन्दा कम तापक्रम भयो भने गम्भीर खालको हाइपोथर्मिया भएको मानिन्छ ।

किन हुन्छ ?

चिसो मौसम, हावा वा पानीको सम्पर्कमा आउँदा शरीरले आफ्नो तातोपन छिट्टै गुमाउँछ । वास्तवमा शरीरको करिब ९० प्रतिशत तातोपन छालाबाट र बाँकी सास फेर्दा बाहिर निस्किन्छ । चिसो हावा वा ओसिलोपनको सम्पर्कमा यो प्रक्रिया अझ तीव्र हुन्छ । यदि कुनै व्यक्ति चिसो पानीमा परेको छ भने, उसले हावामा भन्दा करिब २५ गुणा छिटो आफ्नो तातोपन गुमाउँछ ।

अन्य कारणहरूमा मदिरा सेवन (रक्तनली फैलाएर ताप गुम्ने), कुपोषण, डिहाइड्रेसन, हाइपोथाइरोइडिज्म जस्ता रोग आदिको कारण शरीरको तापक्रम छिटो गुम्ने हुन्छ । त्यसैगरी औषधि वा लागुपदार्थको प्रभाव, ज्येष्ठ उमेर वा नवजात शिशुमा ताप नियन्त्रण कमजोर हुनपुग्छ ।

हाइपोथर्मियाका लक्षणहरू क्रमिक रूपमा देखा पर्छन् ।

सामान्य चरण

– सुरुमा तीव्र कम्पन हुन्छ ।

– शरीरका रौं ठाडा हुन्छन् ।

– छाला चिसो र फिक्का बन्छ ।

– हातखुट्टा सुन्निन सक्छ ।

– मुटुको चाल र श्वासप्रश्वास छिटो हुन्छ ।

मध्यम चरण

– मध्यममा कम्पन बन्द हुन्छ ।

– बोल्न गाह्रो हुन्छ ।

– भ्रम बढ्छ ।

– निर्णय क्षमता घट्छ ।

– मांसपेशी कडा हुन्छन् ।

गम्भीर अवस्थामा

– अवस्था गम्भीर भएपछि व्यक्ति अचेत हुँदै जान्छ ।

– श्वास र मुटुको चाल अत्यन्त सुस्त हुन्छ ।

– नाडीको चाल कमजोर वा पत्ता नै लाग्दैन ।

– मुटुको लय बिग्रने र ‘कार्डियक अरेस्ट’ हुने खतरा बढ्छ ।

– नवजात शिशुहरूमा छाला अस्वाभाविक रातो वा चिसो हुनु र कम रोइकराई गर्नु मुख्य लक्षण हुन्छ । शरीरको तापक्रम १ डिग्री घट्दा मस्तिष्कको कार्यक्षमता ६–७ प्रतिशतसम्म घट्छ ।

जोखिममा को पर्छन् ?

केही व्यक्ति तथा समूह हाइपोथर्मियाको उच्च जोखिममा पर्छन् । नवजात शिशु र साना बालबालिकाको ताप नियन्त्रण प्रणाली पूर्णविकसित भइसकेको हुँदैन । ज्येष्ठ नागरिकहरूको शरीरको अनुकूलन क्षमता कम हुन्छ । मानसिक समस्या वा आफ्नो हेरचाह गर्न नसक्नेहरू सजिलै जोखिममा पर्छन् ।

मदिरा वा लागुपदार्थ सेवन गर्नेहरूमा रक्तनली फैलिने भएकाले ताप छिटो गुम्छ । घरबारविहीन तथा सडकमा बस्नेहरू पर्याप्त कपडा र आश्रयको अभावमा प्रभावित हुन्छन् । हिमाली क्षेत्रमा काम गर्ने वा पर्वतारोहण गर्नेहरूमा अचानक चिसोको सामना गर्नुपर्दा यो समस्या देखिन्छ ।

चिसो पानीमा डुब्दा यस्तो समस्या हुन्छ । कुपोषित, डिहाइड्रेटेड वा दीर्घरोगीहरू (जस्तै हाइपोथाइरोइडिज्म वा मधुमेह भएका) व्यक्ति पनि जोखिममा पर्छन् ।

उपचार

हाइपोथर्मिया भएको शंका लागेमा तुरुन्त पहिलो उपचार आवश्यक हुन्छ । व्यक्तिलाई चिसोबाट टाढा लैजाने, चिसो कपडा फुकालेर सुक्खा र तातो कपडाले छोप्ने, छाती, घाँटी र टाउकोलाई पहिले तताउने, चेतना गुमेको छैन भने तातो पेय पिलाउनुपर्छ । तर, हातखुट्टा रगड्ने वा मालिस गर्ने गर्नुहुँदैन किनकि चिसो रगत कोरतिर जाँदा खतरा हुन्छ ।

यदि कम्पन बन्द भयो, चेतना घट्यो वा श्वास सुस्त भयो भने तुरुन्त अस्पताल लैजानुपर्छ । अस्पतालमा तातो अक्सिजन वा विशेष रिवार्मिङ विधि प्रयोग गरिन्छ । गम्भीर अवस्थामा मुटु बन्द भए पनि सीपीआर जारी राखिन्छ । किनकि चिसोमा बाँच्ने सम्भावना बढी हुन्छ ।

बच्ने उपाय

हाइपोथर्मियाबाट बच्न सजिलो र प्रभावकारी उपायहरू अपनाउन सकिन्छ । चिसो मौसममा लेयरमा कपडा लगाउनु उत्तम हुन्छ । भित्री तहले पसिना सोस्छ । मध्य तहले ताप राख्छ । बाहिरी तहले हावा र पानी रोक्छ ।

त्यस्तै, टोपी लगाउनु अनिवार्य छ । किनकि टाउकाबाट आधा ताप गुम्छ । पन्जा, मोजा र स्कार्फ प्रयोग गर्नुपर्छ । चिसो कपडा तुरुन्त फेर्नुपर्छ । घर वा बसेको ठाउँलाई तातो राख्नुपर्छ । तातो र पौष्टिक खाना खानुपर्छ । कार्बोहाइड्रेट र बोसोयुक्त खानेकुराले शरीरलाई ऊर्जा दिन्छ ।

प्रशस्त पानी पिउनुपर्छ किनकि डिहाइड्रेसनले जोखिम बढाउँछ। मदिरा र अत्यधिक क्याफिनबाट टाढा रहनुपर्छ । बाहिर जाँदा मौसम पूर्वानुमान हेर्ने र त्यो अनुसारको तयारी गर्नुपर्छ । धेरै चिसो ठाउँमा यात्रा गर्दा सकेमम्म एक्लै जानुहुँदैन ।

जाडो हाइपोथर्मिया
डा. ओमरमान प्रधान
लेखक
डा. ओमरमान प्रधान
जनरल प्राक्टिसनर तथा इमर्जेन्सी मेडिसन, कन्सलटेन्ट

डा. प्रधान नर्भिक अस्पतालमा इमर्जेन्सी एण्ड प्रि–हस्पिटल केयर कन्सल्टेन्टको रूपमा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिलमा दर्ता नम्बर ९०५१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय