News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका सरकारी अस्पतालमा काम गर्ने ४८ प्रतिशत चिकित्सकमा उच्च रक्तचाप, २३ प्रतिशतमा मधुमेह र १४ प्रतिशतमा अन्य दीर्घरोग देखिएको छ।
- दिल्लीसहित सात राज्यका २६५ चिकित्सकलाई समावेश गरी २०२५ मा चार महिनामा गरिएको अध्ययन डा. प्रभात अग्रवालको नेतृत्वमा सम्पन्न भएको थियो।
- अध्ययनले चिकित्सकहरूको कामको चाप, तनाव र रात्रीकालीन ड्युटीले दीर्घरोग बढाएको र स्वास्थ्य सेवामा असर पर्ने देखाएको छ।
हाम्रो छिमेकी मुलुक भारतका सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरू कामको चापले गर्दा धेरै रोगी हुन थालेको अध्ययनले देखाएको छ । अघिल्लो महिना जर्नल अफ मिड–लाइफ हेल्थमा प्रकाशित उक्त शोधले चिकित्सकहरूमा दीर्घकालीन स्वास्थ्य समस्याहरू बढ्दै गएको देखाएको छ ।
अनुसन्धानको नतिजा अनुसार, अध्ययनमा सहभागी ४८ प्रतिशत चिकित्सकमा उच्च रक्तचापको समस्या रहेको देखियो । २३ प्रतशितलाई मधुमेह थियो भने करिब १४ प्रतिशतमा उच्च कोलेस्टेरोल, मुटुरोग, थाइराइड जस्ता समस्या थिए । केहीमा मोटोपनको समेत समस्या थियो ।
दिल्लीसहित सात राज्यका २६५ डाक्टरहरूलाई समावेश गरिएको यो अध्ययन २०२५ मा चार महिना लगाएर गरिएको थियो । आग्रास्थित एसएन मेडिकल कलेजको मेडिसिन विभागका प्राध्यापक डा. प्रभात अग्रवालको नेतृत्वमा यो अध्ययन भएको थियो । कोलकाता र झारखण्डका चिकित्सासम्बन्धी संस्थाहरूले सहयोग गरेका थिए ।
यसमा चिकित्सकहरूको दैनिकी, कामको चाप र स्वास्थ्य अवस्थाको बारेमा अध्ययन, विश्लेषण गरिएको थियो ।
बिरामीको रोग निको पार्न दिनरात खटिने चिकित्सक स्वयं नै धेरै रोगी बन्दै गरेको निष्कर्ष यस अध्ययनले निकालेको छ । सरकारी स्वास्थ्य संस्थामा पर्याप्त चिकित्सकको अभाव, जिम्मेवारीको बोझले उत्पन्न हुने तनाव, रात्रीकालीन ड्युटी जस्ता कारणले चिकित्सकहरू रोगी बन्दै गएको अध्ययनमा भनिएको छ ।
चिकित्सकहरू यसरी दीर्घरोगबाट पीडित हुँदा स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष असर पर्ने निष्कर्ष निकालिएको छ । चिकित्सकको काम गर्ने समय व्यवस्थापन गर्न, ड्युटीको समय घटाउन तथा मानसिक तनाव कम गर्ने गरी कार्यातालिका मिलाउन आवश्यक रहेको सुझाव दिइएको छ ।
प्रतिक्रिया 4