२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘हृदयघात भएको रहेछ ।’
इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।
४३ वर्षिय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरे । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे ।
त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।
भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् ।
उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।
उनले नेपालको चर्चित टिभी श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए । प्रशान्तको निधनको खबरलगत्तै उनलाई सामाजिक संजालमा समवेदनाको ओइरो लागिरहेको छ ।
प्रतिक्रिया 4