+

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

२०८२ माघ  ११ गते १२:१७ २०८२ माघ ११ गते १२:१७

यसरी रोक्ने प्रयास गर्दागर्दै कतिपयको बानी बनिसकेको हुन्छ, जसले कालान्तरमा कब्जियतको समस्या निम्त्याउछ ।

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिसा रोक्ने बानीले मलाशयमा दबाब बढाएर कब्जियत र पाचन प्रक्रियामा अवरोध उत्पन्न गर्छ।
  • दिसा रोक्ने बानी अफिस, यात्रा वा असहज वातावरणमा शौचालय प्रयोग नगर्ने कारणले विकसित हुन्छ।
  • एनल फिसर वा मासु च्यातिने समस्यामा शौच गर्दा तीव्र दुखाइ र रगत देखिन सक्छ, उपचारले निको पार्न सकिन्छ।

कतिलाई कामको हत्तारो,  कतिलाई बाध्यता,  कतिलाई अल्छि लागेर ।

कतिको त बानी नै हुन्छ, समयमा दिसा नगरी रोकेर बस्नु ।

अहिले त झन्, मौसम चिसो छ । यस्तोमा धेरैको बानी हुन्छ,  ‘अहिले चिसोमा जान्न, मनलागे पछि जान्छु ।’

यही सानोतिनो बानीबाट सुरु हुन्छ, कब्जियत, मलद्धारमा घाउ, त्यस वरपर मासु च्यातिने र पायल्स जस्तो समस्या ।

चिसोमा शरीर सुस्त हुन्छ, र चिसोसँगै, हामी हाम्रो शौचालयको संकेत पनि सुस्त बनाउँछौं, यस्ता साधारण बानी नै पछि गएर मलद्धारसम्बन्धी समस्याको कारण बन्ने  चिकित्सकहरु  बताउँछन् ।

सामान्य बानी किन यति गम्भीर बन्छ, यो कुर बुझ्न नर्भिक अस्पतालका जनरल सर्जन डा. सचिन गिरीलाई सोधिएको ६ सजिला प्रश्न र उनको विस्तृत जवाफ यस्तो छ :

१. दिसा रोक्ने बानीले कसरी असर गरिरहेको हुन्छ ?

यो बानीलाई मानिसहरूले हल्का रूपमा लिने गर्छन् । तर यसले दीर्घकालीन रूपमा स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । उदाहरणका लागि जब व्यक्ति कुनै कारण दिसा आउने संकेतलाई बेवास्ता गरेर रोक्ने प्रयास गर्छ, त्यो अवस्थामा मलाशयमा दबाब बढ्छ र पाचन प्रक्रियामा अवरोध उत्पन्न हुन्छ ।

जब व्यक्ति कुनै कारण दिसा आउने संकेतलाई बेवास्ता गरेर रोक्ने प्रयास गर्छ, त्यो अवस्थामा मलाशयमा दबाब बढ्छ र पाचन प्रक्रियामा अवरोध उत्पन्न हुन्छ ।

यसरी रोक्ने प्रयास गर्दागर्दै कतिपयको बानी बनिसकेको हुन्छ, जसले कालान्तरमा कब्जियतको समस्या निम्त्याउछ । कहिलेकाहीँ यो हुँदाहुँदै थप जटिलताहरू जन्मिन्छन्  । जस्तो कि, एनल फिसर । यसलाई नेपालीमा मासु च्यातिने समस्या भनेर चिनिन्छ । यो समस्या हुँदा मलद्वारको छालामा चिरा पर्ने वा फाट्ने अवस्था आउँछ, जुन अत्यधिक पीडादायी बन्न सक्छ ।

२. यो बानीको विकास कसरी हुन्छ ?

दिसा रोक्ने बानी प्रायः यस्तो अवस्थामा बढी विकसित हुन्छ जब दिसा आउने प्राकृतिक संकेतलाई बेवास्ता गरिन्छ । व्यस्त जीवनशैली र कामको दबाब हुँदा पनि दिसा रोक्नुपर्ने अवस्था आउन सक्छ ।  जस्तै: अफिसमा बैठक, महत्वपूर्ण काम, यात्रा वा ड्राइभिङ गर्दा दिसा लागे पनि रोकेर राख्ने प्रयासले विस्तारै धेरैमा दिसा रोकेर बस्ने बानी लाग्न सक्छ ।

सार्वजनिक स्थान वा असहज वातावरणमा शौचालय प्रयोग गर्न लज्जा वा असुविधा महसुस हुँदा (स्कूल, कलेज, कार्यालय, बस/ट्रेन/हवाइजहाजमा सफा शौचालय नभएको ठाउँमा) दिसा रोक्ने गरिन्छ ।

बाल्यकालदेखि नै गलत बानी बसेको अवस्थामा, जस्तै सानोमा शौचालयबारे राम्रो ज्ञान नहुँदा, स्कूलमा शौचालय सुविधा नभएमा पनि यस खालको बानी लागेको हुन्छ । पहिले नै कब्जियतको समस्या छ भने दिसा गर्दा पीडा हुन्छ ।

त्यो पीडा हुने डरले पनि कसैकसैले दिसा लाग्दा सकेसम्म रोकेर राख्ने गर्छन् । यसले झन् बानी बस्दै जान्छ र थप समस्या निम्त्याउछ ।

यी अवस्थामा बारम्बार दिसा रोक्दा मलाशयमा दिसा लामो समय रहन्छ, त्यसबाट पानी सोसिन्छ र मल कडा बन्छ । पछि दिसा गर्दा बढी जोर लगाउनुपर्छ जसले मलद्वारको नाजुक छालामा चिरा पार्छ ।

यो समस्या एक पटक भएपछि दिसा गर्दा पीडा हुने भएकाले फेरि रोक्ने चक्र चलिरहन्छ ।

३. दिसा रोक्ने बानीले कसरी मासु च्यातिन सक्छ ?

यो जान्नलाई वैज्ञानिक रूपमा बुझ्नु आवश्यक छ, जब हामी दिसा रोक्छौ त्यो पाचन प्रणालीको एक प्रमुख विकार । यसरी रोकिने क्रम बढ्दा मलाशयमा पानी सोस्ने प्रक्रिया बढ्छ, जसले मललाई कडा र सुख्खा बनाउँछ । यस्तो कडा मललाई बाहिर निकाल्नका लागि शौच गर्दा बढी दबाब दिनुपर्ने हुन्छ ।

जसले, गर्दा मलाशयको भित्री भागकाे सतहमा रहेको कमला म्यूकोसा लेयर चिरा परी मासु च्यातिने हुन्छ । यसो हुँदा अत्यधिक पोल्ने र दुखाइ बढ्छ । यस्तो समस्या विशेषगरी ती व्यक्तिहरूमा बढी देखिन्छ जो नियमित रूपमा दिसा रोक्ने गर्छन् ।

फाइबरयुक्त खानपानको कमी वा पर्याप्त पानी नपिउँदा कब्जियतको समस्या बारम्बार दोहोरिन्छ ।

यसले एनल फिसरलाई थप जटिल बनाउँछ जसमा संक्रमणको जोखिम बढ्छ र उपचार नगरेमा यो दीर्घकालीन रूपमा परिवर्तन हुन सक्छ जसले गर्दा व्यक्ति बारम्बार अस्पताल धाउनुपर्ने अवस्था आउँछ ।

जस्तो कि, जसरी एक सुख्खा कागजलाई बारम्बार जोरले तान्दा यो च्यातिन्छ त्यसैगरी गुदाद्वारको छाला पनि कडा मलको कारणले च्यातिन सक्छ, र यसले गर्दा रक्तस्राव हुन सक्छ जसमा दिसा गर्दा रगत देखिन्छ वा दुखाइ यति बढी हुन्छ ।

व्यक्ति शौच गर्न नै डराउँछ जसले समस्यालाई अझ बढाउँछ, यसैले यो बानीलाई स्वास्थ्यको दृष्टिकोणबाट एक खतरनाक अभ्यासको रूपमा लिनुपर्छ जसले गर्दा समयमै सचेतना अपनाउन सकियो भने यसबाट बच्न सकिन्छ ।

तर यदि यो बानी दीर्घकालीन रूपमा रह्यो भने यसले अन्य रोगहरू जस्तै हेमोराइड्स वा पाइल्सलाई पनि निम्त्याउन सक्छ जसले गर्दा समग्र पाचन स्वास्थ्य प्रभावित हुन्छ ।

४.एनल फिसर वा मासु च्यातिने समस्याको लक्षण कस्ता हुन्छन् ?

यसको मुख्य लक्षण भनेको शौच गर्दा तीव्र दुखाइ हुनु हो, जसमा काँडाले घोचेजस्तो अनुभूति हुन्छ । यो दुखाइ शौचपछि पनि केही समयसम्म रहन सक्छ, जसले गर्दा व्यक्ति असहज महसुस गर्छ ।

साथै, दिसामा वा ट्वाइलेट पेपरमा रातो रगत देखिन्छ जुन सामान्यतया थोरै मात्रामा हुन्छ तर यो संक्रमणको संकेत हुनसक्छ । यसबाहेक मलद्वार पोल्ने, चिलाउने, मलद्वार वरपर सुन्निने हुनसक्छ, जसले गर्दा बस्दा वा हिँड्दा पनि दुखाइ र असहज महसुस हुन्छ ।

मलद्वार पोल्ने, चिलाउने, मलद्वार वरपर सुन्निने हुनसक्छ, जसले गर्दा बस्दा वा हिँड्दा पनि दुखाइ र असहज महसुस हुन्छ ।

यदि यो समस्या लामो समयसम्म भयो भने बारम्बार कब्जियत भई दिसा रोक्ने बानी अझ बढ्छ र यो एक दुष्चक्र जस्तो बन्छ जसबाट बाहिर निस्कन मुस्किल पर्छ ।

यदि बच्चाहरूमा दिसा रोक्ने बानी अपनाए भने यो बानीको विकास हुन सक्छ जसले गर्दा अभिभावकहरूले बच्चाहरूको बानीमा विशेष ध्यान दिनुपर्छ, र यसका अतिरिक्त यदि व्यक्ति मोटोपनाबाट पीडित छ वा नियमित व्यायाम गर्दैन भने यो जोखिम बढ्छ किनकि यसले पाचन प्रक्रियालाई सुस्त बनाउँछ जसले गर्दा मल कडा हुने समस्या बढ्छ र एनल फिसरको सम्भावना उच्च हुन्छ ।

५.यो समस्या भएमा उपचारले निको पार्न सकिन्छ ?

पक्कै सकिन्छ । यदि एनल फिसरको समस्या भइसकेको छ भने पहिले नै घरेलु उपायहरू अपनाउन सकिन्छ । जस्तै, नरम दिसा बनाउनका लागि फाइबर सप्लिमेन्ट्स प्रयोग गर्नु वा पानी बढी पिउन सकिन्छ । यसले शौचलाई सजिलो बनाउँछ र चिरालाई निको हुन मद्दत गर्छ ।

साथै, मलद्वारमा क्रिम वा ओइन्टमेन्ट लगाउनुपर्छ जसमा नाइट्रोग्लिसरिन वा लिडोकेन हुन्छ यसले दुखाइ कम गर्छ, रक्तप्रवाह बढाउँछ र चिरालाई छिटो निको पार्छ ।

यदि यो पर्याप्त भएन भने चिकित्सकले परामर्श र केही औषधि सिफारिस गर्न सक्छन् । तर यदि यो समस्या लामो समय जरा गाडिएर जटिल भई बसेको छ भने शल्यक्रिया आवश्यक पर्नसक्छ ।

६.यो समस्या आउन नदिन के गर्ने ?

दिसा रोक्ने बानीलाई समयमै त्याग्नु नै मुख्य उपाय हो, जसले गर्दा जब दिसा आउने संकेत सक्रिय रूपमा देखिन्छ । संकेत देखिएपछि तुरुन्तै शौचालय जाने बानी बसेमा पाचन प्रक्रिया सहज रहन्छ ।

साथै, खानपानमा परिवर्तन ल्याउनु आवश्यक छ । दिनहुँ फाइबरयुक्त खानेकुराहरू जस्तै सागपात, फलफूल, दाल र ताजा अन्नहरू खानामा समावेश गर्नुपर्छ । यसले दिसा नरम बनाउँछ र शौच सजिलो हुन्छ, पानीको सेवन बढाउनु पनि महत्वपूर्ण छ जसमा कम्तीमा २–३ लिटर पानी दिनहुँ पिउनुपर्छ ।

नियमित व्यायाम जस्तै हिँडाइ वा योगासन गर्नु पनि फाइदाजनक छ जसले आन्द्राको गतिविधि बढाउँछ र दिसा नियमित हुन्छ, यसबाहेक शौचालयको बानीलाई नियमित बनाउनु पर्छ जसमा हरेक बिहान उठेर शौच गर्नु वा खाना खाएपछि केही समयपछि प्रयास गर्नु राम्रो हुन्छ, जसले गर्दा शरीरको जैविक घडी सेट हुन्छ र दिसा रोक्ने आवश्यकता पर्दैन ।

खानपान दिसा पेट
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय