+
+
Shares

अस्पतालका डाक्टर सा’ब अब माननीय

नेपालको संघीय संसद्‍मा डा. लेखजंग थापा, डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसदका रूपमा प्रवेश गरेका छन् । रोचक कुरा, उनीहरू सबै रास्वपाबाट जित हासिल गरेका हुन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ फागुन २४ गते १२:३२

२४ फागुन, काठमाडौं । नेपालमा डाक्टर भन्नासाथ बिरामीको उपचार गर्ने, अस्पतालको आपतकालीन कक्षमा दिनरात खटिने व्यक्तिको छवि आउँछ । तर पछिल्ला वर्षहरूमा केही डाक्टर र स्वास्थ्यकर्मीले देशको नीति निमार्ण गर्ने जिम्मेवारी पनि सम्हाल्ने भएका छन् ।

सेतो कोट फुकालेर उनीहरू प्रतिनिधिसभा सदस्यका रूपमा संघीय संसद्‍मा पुगेका छन् । यसले स्वास्थ्य क्षेत्रका आवाज संसद्‍भित्रै पुग्ने अपेक्षा बढाएको छ ।

नेपालको संघीय संसद्‍को प्रतिनिधिसभामा डा. लेखजंग थापा, डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसदका रूपमा प्रवेश गरेका छन् । रोचक कुरा, उनीहरू सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जित हासिल गरेका हुन् ।

चिकित्सा पेशाबाट आएका यी व्यक्तिहरूले स्वास्थ्य प्रणालीको वास्तविक अवस्था नजिकबाट बुझेका छन् ।

अस्पतालको बेड अभाव, औषधि आपूर्ति समस्या, ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको कमी, र बिरामीले भोग्नुपरेका आर्थिक भार लगायतका समस्यासँग उनीहरू प्रत्यक्ष रूपमा परिचित छन् ।

जसमध्ये एक हुन् – वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा । थापाले रुपन्देही  क्षेत्र नम्बर-३ बाट भारी मत सहित विजय भए । उनले ५८ हजार ८१४ मत ल्याए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए ।  तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याए । ३३ जना प्रतिस्पर्धामा उत्रिएका रुपन्देही–३ मा ९४ हजार २३२ मत खसेको थियो ।

रूपन्देहीको अञ्चलपुरमा २०३४ सालमा जन्मिएका डा. लेखजंग थापाले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् ।

राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभागका निर्देशक तथा प्रमुखको रूपमा कार्यरत थापा मनमोहन मेमोरियल मेडिकल कलेजका वरिष्ठ न्युरोलोजिस्ट, नेपाल स्ट्रोक संघका संस्थापक तथा अध्यक्ष र विश्वस्तरीय न्युरोलोजी तथा स्ट्रोक नेटवर्कहरूसँग आबद्ध छन् ।

क्लिनिकल सेवासँगै अनुसन्धान, नेतृत्व र जनस्वास्थ्य उनको मुख्य चासोका क्षेत्र हुन् ।

उनले नेपालमा पहिलो पटक थ्रोम्बोलाइसिस थेरापी प्रयोग, दुर्लभ न्युरोलोजिकल रोगहरूको पहिचान र नेपाल स्ट्रोक परियोजना मार्फत अन्तर्राष्ट्रिय सहकार्यमा अनुसन्धानको नेतृत्व गरेका छन् ।

डा. थापा २०७९ को चुनावमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा जोडिएर रूपन्देही-३ बाट नै प्रदेश सभा सदस्यमा समानुपातिक उम्मेदवार बनेका थिए । तर सांसद भने बन्न सकेनन् ।

गत कात्तिकमा उपनिर्वाचन हुने भएपछि थापालाई भैरहवाका रास्वपा नेता कार्यकर्ताले पार्टीमा ल्याएका थिए ।  उनी प्रारम्भिक निर्वाचनमा ९ जनालाई पछि पार्दै उम्मेदवारका लागि छानिए ।  तर भदौमा जेनजी आन्दोलन भएपछि उपनिर्वाचन भएन ।  रास्वपाले २१ फागुनको चुनाव घोषणा लगत्तै उक्त क्षेत्रमा थापालाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

डाक्टरहरूले राजनीतिमा प्रवेश गर्नुको एउटा प्रमुख कारण स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझेको अनुभवले हो ।

उनीहरूले स्वास्थ्य नीति र सेवा प्रणाली सुधार गर्न संसद्‍मा आफ्नो भूमिका आवश्यक ठानेका छन् ।  उपचार मात्र पर्याप्त छैन, उपचार सम्भव हुने प्रणाली निर्माण गर्ने सोचले कारण नीति बनाउने ठाँउमा गएको डा. तोसिमा कार्की बताउँछिन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनिसकेकी डा. कार्की पुन सांसद बनेकी छिन् । डा. कार्कीले ललितपुर–३ बाट पुनः संसदीय यात्रा तय गरेकी छन् ।

उनले ४३ हजार ९६ मत सहित फराकिलो मतले जित हासिल गरिन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए ।

ललितपुरकै नक्खुमा हुर्के–बढेकी कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) गरेकी छिन् ।

उनले नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको जिम्मेवारी पूरा गरिसकेकी थिइन् । राजनीतिमा आउनु अघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गर्थिन् ।

सार्वजनिक जीवनमा उनी सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुन् । त्यसक्रममा उनले कानुनी लडाइँ समेत लडिन् । उनकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश पनि दिएको छ ।

त्यस्तै जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्दले पहिलोपटक संसदीय राजनीतिको बाटो तय गरेका छन् । कैलाली-५ बाट चुनावी मैदानमा होमिएका चन्दले नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० मतले पराजित गर्दै विजयी भएका छन् । चन्दले ३१ हजार ९५३ मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत ल्याए ।

१४ जेठ २०३२ मा जन्मिएका चन्दले त्रिभुवन विश्वविद्यालय पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा काम गरे ।

जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँग सहकार्यमा पीएचडी पूरा गरेका उनी शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा प्रख्यात छन् । चन्द नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता हुन् । जनस्वास्थ्यमा असर गर्ने सुर्ती तथा चुरोट खपत कम गराउने दिशामा उनले लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बाट डा. शम्भु यादव सांसद बनेका छन् । सिराहाबाट-३ बाट ३२ हजार २४९ मत ल्याएर यादव विजय भए ।

४० वर्षीय डा. शम्भु यादव  स्थानीय स्तरमा स्वास्थ्य सेवा र समाजिक उत्तरदायित्व दुवै क्षेत्रमा परिचित छन् ।

बाल्यकालदेखि नै पढाइप्रति रुचि राख्ने उनले विद्यालय तहको शिक्षा सिरहा नगरपालिका–१६ मा रहेको लालजी–शकुन्तला माध्यमिक विद्यालयबाट पूरा गरेका थिए ।

उनले २०५७ सालमा उक्त विद्यालयबाट एसएलसी (तत्कालीन प्रवेशिका) उत्तीर्ण गरे ।

विद्यालय शिक्षा पूरा गरेपछि चिकित्सा क्षेत्रमा भविष्य बनाउने लक्ष्यसहित उनी उच्च अध्ययनका लागि भारत गए ।

भारतको जयनगर हुँदै पटना पुगेका उनले २०६७ सालमा एमबीबीएस उत्तीर्ण गरे ।  चिकित्सा शिक्षाको कठिन यात्रापछि उनी नेपाल फर्किएर स्वास्थ्य सेवामा सक्रिय भए ।

नेपाल फर्किएपछि केही समय काठमाडौंका निजी अस्पतालमा काम गरे । त्यसपछि उनी सिरहा फर्किए ।

सिरहाका धेरै बिरामी उपचारका लागि टाढा–टाढासम्म धाउनुपर्ने अवस्थालाई नजिकबाट देखेका डा. यादवले अन्ततः आफ्नै जिल्ला फर्किने निर्णय गरे ।

त्यसपछि यादव सिरहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमा मार्फत सेवा दिँदै आएका थिए ।

दृष्टिरोग विशेषज्ञ दीपककुमार साह रास्वपाबाट सासंद बनेका छन् ।  शाहले महोत्तरी-२ बाट  १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे । साह ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए ।

दीपककुमार साह

२०४७ साल चैत १० गते महोत्तरीमा जन्मिएका ३३ वर्षीय साहको महोत्तरी गाउँपालिका नै स्थायी ठेगाना हो ।  उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् । यसभन्दा अगाडि उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।

१६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा गाउँ–टोलका बिरामी, गर्भवती आमा र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित समुदायसँगै काम गरेकी आशा झाले अब संसद्को यात्रा तय गरेकी छन् ।

मोरङ-५ मा रास्वपाबाट उम्मेदवारी दिएका झाले ३१ हजार ४३४ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत पाए ।

झन्डै २१ हजारको फराकिलो मतान्तरले जित निकाल्दा क्षेत्रका अन्य चर्चित उम्मेदवारहरूको प्रभाव मतपरिणाममा खासै देखिएन ।

विराटनगर–१३ की स्थायी बासिन्दा झा मध्यमवर्गीय कृषक तथा कर्मचारी परिवारमा हुर्किएकी हुन् ।

जनस्वास्थ्यमा स्नातक गरेकी उनले विराटनगर महानगरपालिकामा १६ वर्षभन्दा बढी समय स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिन् ।

घर–घर पुगेर स्वास्थ्य सचेतना फैलाउने र स्वास्थ्य सेवा नपुगेका समुदायलाई सहारा दिने उनी संसद भवन पवेश गर्ने भएकी छिन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?