२४ फागुन, बझाङ । विद्यार्थी राजनीतिबाट उदाएका ऐन महरले दोस्रो प्रयासमा बझाङबाट संसद्को यात्रा तय गरेका छन् । नेकपा एमालेका उम्मेदवार महरले नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा सुनिश्चित गरेका हुन् ।
बझाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै महरको लामो समयको विद्यार्थी आन्दोलन र पार्टी राजनीतिले नयाँ उचाइ प्राप्त गरेको छ ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई २ हजार २२९ मतान्तरले पराजित गरे । रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरेका थिए ।
बझाङ निर्वाचन क्षेत्रमा ५७ हजार ९९४ मत खसेको थियो । जसमा नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवरले ९ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेसकुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताए ।

चुनौतीपूर्ण चुनावी प्रतिस्पर्धा
निर्वाचनको सुरुवाती चरणमा महरका लागि राजनीतिक वातावरण सहज थिएन । एकातिर नेपाली कांग्रेस भित्र देखिएको एकता र अर्कोतर्फ एमालेमा टिकट वितरणलाई लिएर चुलिएको असन्तुष्टिले चुनावी समीकरण जटिल बनेको थियो । विशेषगरी टिकट नपाएको विषयमा असन्तुष्टि जनाउँदै आएका नेता अफिलाल ओखेडा लगायतका नेताहरूलाई एकताबद्ध बनाउनु महरका लागि ठूलो चुनौती बनेको थियो ।
पार्टी भित्र देखिएको आन्तरिक विवाद र असन्तुष्टिका बाबजुद निर्वाचन जित्न तथा अघिल्लो परिणाम उल्ट्याउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता–कार्यकर्ता एकजुट भएका थिए ।
मौन अवधि सुरु हुनुअघि जिल्लाका प्रमुख नेताहरू एकै ठाउँमा उभिएर पार्टी भित्र कुनै विभाजन नरहेको स्पष्ट पार्दै कार्यकर्ता तथा समर्थकलाई आफ्ना उम्मेदवार विजयी गराउन आह्वान गरे । त्यसपछि चुनावी वातावरण महरको पक्षमा मोडिएको विश्लेषण गरिएको छ ।
२०४० चैत २ गते बझाङको साविक सुवेडा गाविस (हाल जयपृथ्वी नगरपालिका–७) मा पिता रामबहादुर महर र आमा रतना महरको कोखबाट जन्मिएका महरको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । स्नातकोत्तर तहको अध्ययन पूरा गरेका महर हाल एमफिल अध्ययनमा संलग्न छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग ९९८ मतले उनी पराजित भएका थिए ।
महरले २०५५ सालमा काठमाडौँस्थित अस्कल क्याम्पसमा अध्ययनका क्रममा अनेरास्ववियुमार्फत विद्यार्थी राजनीति सुरु गरे । २०६५ सालमा पोखरामा सम्पन्न अनेरास्ववियुको १९औँ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी क्रमशः संगठन भित्र उक्लँदै २०६७ सालमा सचिवालय सदस्य, २०७० सालमा उपाध्यक्ष र २०७६ सालमा संगठनको अध्यक्ष बन्न सफल भए ।
त्यस्तै, एमालेको २०७८ र २०८२ सालमा सम्पन्न महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महर २०६२–०६३ को जनआन्दोलनमा सक्रिय सहभागी हुनुका साथै भूकम्प र कोभिड–१९ महामारीका समयमा सामाजिक कार्यमा पनि सक्रिय रहेका थिए ।

विकासको प्रतिबद्धता
निर्वाचन जितेपछि आयोजित विजय सभामा बोल्दै महरले यो जित व्यक्तिगत नभई बझाङका जनताको जित भएको बताए। जनताले गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका दुःख–सुखमा सधैँ साथमा रहने बताए ।
विकास र जनसेवामा केन्द्रित हुने उल्लेख गर्दै उनले मतदाताको घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गर्ने तथा जिल्लाका समस्या नजिकबाट बुझेर समाधानका लागि पहल गर्ने बताए । सडक, सञ्चार पूर्वाधार, जलविद्युत् उत्पादन, पर्यटन प्रबर्द्धन, कृषि तथा जडीबुटीमार्फत रोजगारी सिर्जना गर्दै बझाङलाई विकासको मार्गमा अघि बढाउने उनको योजना छ ।
‘बझाङको आवाज केन्द्रसम्म पुर्याउने र केन्द्रको स्रोत दुर्गम बस्तीहरूमा पुर्याउने गरी काम गर्नेछु,’ महरले भने, ‘जनताले गरेको विश्वासलाई निराशामा परिणत हुन दिने छैन ।’
प्रतिक्रिया 4