+
+
Shares

बन्दुकेडाँडामा फर्किएको ‘हरित क्रान्ति’

बन्दुकेडाँडाको यो कथा दिगो सोच, सामूहिक प्रयास र प्राकृतिक स्रोतको बुद्धिमत्तापूर्ण उपयोगले ल्याउन सक्ने परिवर्तनको उदाहरण हो ।

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०८३ वैशाख १८ गते ८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको चौबीसे गाउँपालिका–३, बन्दुकेडाँडामा पानी अभावले बिग्रिएको जमिनमा पानी संकलन र जैविक खेतीबाट कृषि पर्यटन विकास भएको छ।
  • तमोर पर्माकल्चर फार्मले ३४ लाख लिटर पानी संकलन गर्ने पोखरी र लिफ्टिङ प्रणालीमार्फत वर्षभर सिँचाइ गर्दै ३५ प्रजातिका फलफूल उत्पादन गरिरहेको छ।
  • स्थानीयले पनि पोखरी बनाएर पानी संकलन गरेका छन् र बसाइँसराइँ घट्दै गएपछि गाउँमा जीवन फर्किएको छ।

१८ वैशाख, विराटनगर । धनकुटाको चौबीसे गाउँपालिका–३, कुरुले तेनुपाको सिरानमा पर्ने बन्दुकेडाँडा केही वर्ष अघिसम्म जीवन्त गाउँजस्तो लाग्दैनथ्यो । पानीको अभावले चर्किएको माटो, सुक्दै गएका मुहान र विस्तारै बसाइँ सर्दै गएका घरहरूले त्यो भूभागलाई विरक्तलाग्दो बनाइसकेको थियो । स्थानीयका अनुसार  त्यहाँ बस्नु मात्र होइन, बाँच्नु नै चुनौती थियो ।

आज, त्यही बन्दुकेडाँडा हराभरा बगैँचामा रूपान्तरित भएको छ । स्याउ, आरुबखडा, ओखर, एभोकाडो जस्ता फलफूलले डाँडा ढाकिएको छ । वैशाख महिनामा पनि लटरम्म स्याउ फलेका छन् । एक दशकअघिसम्म एक गाग्रो पानीका लागि बिहान बिताउनुपर्ने ठाउँ अहिले कृषि पर्यटनको केन्द्र बनेको छ ।

पानीसँगै फर्किएको जीवन

स्थानीयका अनुसार २०४५ सालको भूकम्पपछि यहाँका प्राकृतिक मुहानहरू सुक्न थाले । पानी अभावसँगै खेतीयोग्य जमिन बाँझिन थाल्यो । त्यसपछि सुरु भयो बसाइँसराइँको सिलसिला । गाउँ बिस्तारै उजाड हुँदै गयो । तर परिवर्तनको बीउ रोपियो– पानीबाटै ।

तमोर पर्माकल्चर फार्मका अध्यक्ष लोकेन्द्रकुमार याख्खाका अनुसार पानीको समस्या समाधान नगरी यहाँ खेतिपाती गर्न र बसाइँ रोक्न सम्भव थिएन । त्यसैले बर्खाको पानी संकलन गर्ने अवधारणा अघि सारियो । अहिले फार्ममा ३४ लाख लिटर क्षमताको पोखरी निर्माण गरिएको छ, जहाँ बर्खाको पानी संकलन गरेर वर्षभर सिँचाइ गरिन्छ ।

साथै स्थानीय जरुवा खोलाबाट लिफ्टिङ प्रणालीमार्फत पनि पानी तानियो र १ लाख लिटर क्षमताको ट्यांकीमार्फत वितरण थालियो ।

२०७३ सालमा भारतीय मूलका अमेरिकी नागरिक राजिव गोयलको पहलमा ‘केटिके बेल्ट’ संस्थाको सहयोगमा यहाँ तमोर पर्माकल्चर फार्म स्थापना भएको थियो । हाल करिब ९६ रोपनी क्षेत्रफलमा फैलिएको सो फार्ममा ३५ भन्दा बढी प्रजातिका फलफूल रोपिएका छन् ।

सुरुआतमा २५० बोटबाट सुरु भएको बगैँचा अहिले ५०० भन्दा बढी बोटमा फैलिएको छ । तीमध्ये ३५० भन्दा बढी स्याउका मात्रै बोट छन् ।

महत्वपूर्ण कुरा त के छ भने यहाँ रासायनिक मल वा विषादी प्रयोग हुँदैन । पूर्ण रूपमा जैविक विधिबाट खेती गरिन्छ, जसले माटोको उर्वराशक्ति मात्र होइन, स्थानीय पर्यावरण पनि जोगाएको छ ।

फार्मका कोषाध्यक्ष दीर्घमान तामाङ भन्छन्, ‘यो केवल खेती होइन, प्रकृतिसँग सहकार्य गरेर उत्पादन गर्ने अभ्यास पनि हो ।’

स्थानीयमा फैलिएको प्रेरणा

तमोर पर्माकल्चर फार्मको सफलताले स्थानीय समुदायमा नयाँ आशा जगायो । फार्मको अभ्यास सिको गर्दै एक सयभन्दा बढी परिवारले आफ्नै लगानीमा पानी संकलनका लागि पोखरी निर्माण गरेका छन् । ती प्रत्येक पोखरीमा करिब १ लाख लिटर पानी अट्ने क्षमता छ ।

पहिले बजारबाट तरकारी किनेर खानुपर्ने अवस्था थियो । अहिले त्यही जमिनले फलफूल मात्र होइन, तरकारी पनि दिन थालेको छ । कतिपयले स्याउ, एभोकाडो, ओखर लगायतका फलफूल बेचेर आम्दानी गर्न थालेका छन् ।

कोषाध्यक्ष तामाङका अनुसार, गत वर्ष मात्र फलफूल बिक्रीबाट ३ लाख रुपैयाँ र नर्सरीबाट ९ लाख रुपैयाँ आम्दानी भएको छ ।

कृषि प्राविधिक विनोद पुरी भन्छन्, ‘यहाँ विभिन्न प्रजातिका फलफूलबीच क्रस गराएर नयाँ सम्भावना खोजिन्छ । यो प्रयोग र उत्पादन दुवैको केन्द्र हो ।’

बसाइँसराइँमा ब्रेक

पानी र उत्पादनसँगै गाउँमा मानिसहरू पनि फर्किन थालेका छन् । पहिले लगातार बढिरहेको बसाइँसराइँ अहिले घट्दो क्रममा छ ।

चौबीसे गाउँपालिका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण इकाइ एमआईएस अपरेटर स्नेहा श्रेष्ठका अनुसार २०७८ सालमा ५६ घरपरिवार बसाइँ सरी गएका थिए एक परिवारमात्र गाउँ फर्किएका थिए । २०७९ सालमा ३५ घरपरिवार र ०८० सालमा २१ घरपरिवार बसाइँ सर्दा एक/एक परिवार नै गाउँ फर्किए ।

०८१ सालमा बसाइँ सरेर गाउँ छाड्नेको संख्या झन् घट्यो । यो वर्ष १० घरपरिवार मात्र बाहिरिँदा २ घरपरिवार गाउँ फर्किएको तथ्यांक छ । ०८२ सालमा भने २५ घरपरिवार बसाइँ सरेर जाँदा २ घरपरिवार भित्रिएका छन् ।

यी तथ्यांकले बसाइँसराइँमा अझै चुनौती बाँकी रहे पनि सुधारको संकेत भने स्पष्ट देखाउँछ ।

सिकाइको थलो बन्दै

पोखरी बनाएर वर्षाको पानी संकलनको अवधारणा अहिले प्रभावकारी भएको चौबीसे गाउँपालिका–३ का वडाअध्यक्ष मदन तुम्सा बताउँछन् । ‘बन्दुकेडाँडामा लटरम्म स्याउ फल्छन्, स्याउसँगै आरुबखडा, ओखर, एभोकाडोलगायत ३५ प्रजातिभन्दा बढी फलफूल फल्छन्,’ उनी भन्छन्, ‘अहिले बसाइँ सरेर जाने क्रम पनि केही हदसम्म रोकिएको छ ।’

आज बन्दुकेडाँडा केवल उत्पादनको केन्द्र होइन, सिकाइको प्रयोगशाला बनेको छ । उजाड जमिनलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भन्ने प्रत्यक्ष उदाहरण हेर्न देशका विभिन्न भागबाट किसान, विद्यार्थी र अनुसन्धानकर्ता यहाँ पुग्ने गर्छन् ।

बन्दुकेडाँडाको यो कथा केवल एउटा गाउँको कथा होइन, यो दिगो सोच, सामूहिक प्रयास र प्राकृतिक स्रोतको बुद्धिमत्तापूर्ण उपयोगले ल्याउन सक्ने परिवर्तनको उदाहरण हो । जहाँ कहिल्यै केही हुन्न भन्ने ठानिएको थियो, त्यहीँ अहिले ‘सुन फल्ने’ जमिन बनेको छ । वडाध्यक्ष तुम्सा भन्छन्, ‘पानीको थोपा–थोपा संकलनले बन्दुकेडाँडाको उजाड भूगोललाई फेरि पुनर्जीवन दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?