+

आयुर्वेदिक औषधि : विश्वास गर्ने कि डराउने ?

आयुर्वेदिक औषधिलाई लिएर समाजमा दुई प्रकारका धारणा छन् । एकथरी मानिस यसलाई पूर्ण रूपमा सुरक्षित मानेर जथाभावी प्रयोग गर्छन् भने अर्काथरी यसले शरीर बिगार्छ भनेर डराउँछन् । वास्तविकता भने यी दुईको बीचमा छ ।

आयुर्वेदमा प्रयोग हुने सबै औषधि एउटै प्रकृतिका हुँदैनन् । विशेषगरी रस औषधि शक्तिशाली हुने भएकाले यसको प्रयोग चिकित्सकको निगरानीमा मात्र गर्नुपर्छ ।

Advertisement

आयुर्वेदमा 'रस'

रसशास्त्र आयुर्वेदको महत्वपूर्ण शाखा हो, जसमा धातु, खनिज, पारा, गन्धक लगायतका पदार्थलाई औषधिका रूपमा प्रयोग गरिन्छ । यी पदार्थ कच्चा रूपमा प्रयोग गरिँदैनन् । शोधन र मारणजस्ता जटिल प्रक्रियाबाट प्रशोधन गरेपछि मात्र औषधि बनाइन्छ ।

रस औषधि र काष्ठ औषधिबीच फरक

काष्ठ औषधि जडीबुटी तथा वनस्पतिबाट बनाइन्छ, जस्तै त्रिफला, अश्वगन्धा, ब्राह्मी आदि । रस औषधिमा भने पारा, गन्धक, स्वर्ण, रजत, अभ्रक, फलामजस्ता धातु तथा खनिज प्रयोग गरिन्छ । यही कारण धेरै मानिस रस औषधिबाट डराउने गर्छन् । तर आयुर्वेदमा यी पदार्थ सिधै प्रयोग हुँदैनन् । उचित शोधनपछि मात्रै औषधिको रूपमा प्रयोग गरिन्छ ।

‘अशोधित पदार्थ विष, शोधित पदार्थ औषधि’

आयुर्वेदमा एउटा सिद्धान्त छ, 'अशोधित पदार्थ विष हो, शोधित पदार्थ औषधि हो ।' पारा वा अन्य धातुलाई विभिन्न जडीबुटी, दूध, काढा तथा अन्य माध्यमबाट पटक–पटक प्रशोधन गरिन्छ । यसले विषाक्तता घटाएर औषधीय गुण बढाउने विश्वास गरिन्छ । तर गुणस्तरीय उत्पादन र सही प्रक्रिया अत्यन्त आवश्यक हुन्छ ।

औषधि मात्र होइन, शरीर पनि तयार हुनुपर्छ

आयुर्वेद अनुसार रस औषधि सुरु गर्नुअघि शरीरलाई औषधि ग्रहण गर्न योग्य बनाउने प्रक्रिया आवश्यक हुन्छ, जसलाई ‘क्षेत्रीकरण’ भनिन्छ । पञ्चकर्म, विरेचन, वमन तथा आमपाचनजस्ता विधिबाट शरीरलाई तयार पार्ने प्रयास गरिन्छ ।

आफैं औषधि खाने बानी किन खतरनाक ?

अहिले धेरै मानिस चिकित्सकको सल्लाहबिना युट्युब, सामाजिक सञ्जाल वा अरूको अनुभवका आधारमा औषधि खान थालेका छन् । तर एउटै रोग भएका सबै व्यक्तिको शरीर र प्रकृति एउटै हुँदैन । कसैलाई उपयुक्त भएको औषधि अर्कोलाई हानिकारक हुन सक्छ । विशेषगरी रस औषधि शक्तिशाली भएकाले मात्रा, अवधि र बिरामीको अवस्थाअनुसार मात्रै प्रयोग गर्नुपर्छ ।

‘१०० प्रतिशत निको’ भन्ने दाबीमा नपर्नुहोस्'

क्यान्सर, मिर्गौला रोग वा अन्य जटिल रोग पूर्ण रूपमा निको पार्ने दाबी गर्ने विज्ञापनप्रति सचेत हुनुपर्छ । कुनै पनि चिकित्सा पद्धतिले शतप्रतिशत ग्यारेन्टी दिन सक्दैन । आयुर्वेदले भोक बढाउन, थकान घटाउन, शरीर बलियो बनाउन र जीवनको गुणस्तर सुधार्न सहयोग गर्न सक्छ ।

सही रोग, सही अवस्था र विशेषज्ञ चिकित्सकको परामर्शबिना चमत्कारिक उपचारको अपेक्षा गर्नु उचित हुँदैन ।यसबारे विस्तृतमा पढ्न दिइएको लिंकमा थिच्नुहोस https://www.onlinekhabar.com/2026/06/1944264/ayurvedic-medicine-trust-or-fear