News Summary
Generated by OK AI. Editorially reviewed.- मेटा कम्पनीले अमेरिकाको ओहायोमा एआई क्षमता बढाउन 'र्यापिड डिप्लोयमेन्ट स्ट्रक्चर' अन्तर्गत ठूला टेन्टहरूभित्र आफ्ना डाटा सेन्टरहरू निर्माण गरेको छ।
- निर्माण समय आधा घटाउने उद्देश्यसहित स्थापित १ लाख २५ हजार वर्ग फिटका पाँचवटा टेन्टभित्र अर्बौँ डलरका एआई चिपहरू राखिनेछन्।
- डाटा सेन्टरमा १४५ अर्ब डलरसम्म खर्च गर्ने मेटाको ठूलो योजनाका कारण यस वर्ष कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत गिरावट आएको छ।
आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो मागलाई सम्बोधन गर्न मेटा कम्पनीले अनौठो प्रयोग गरेको छ। कम्पनीले अमेरिकाको ओहायोस्थित न्यू अल्बानीमा ठूला टेन्टहरूभित्र आफ्ना डाटा सेन्टरहरू निर्माण गरेको छ। मेटाले यसलाई ‘र्यापिड डिप्लोयमेन्ट स्ट्रक्चर’ नाम दिएको छ।
डाटा सेन्टर निर्माण क्षेत्रलाई नजिकबाट नियालिरहेका ‘क्लिनभ्यू’ का संस्थापक माइकल थोमसले यसको खुलासा गरेका हुन्। यो रणनीति टेस्ला र एक्सएआई जस्ता कम्पनीहरूको कार्यशैलीसँग मेल खान्छ।
यस परियोजनाको मुख्य उद्देश्य निर्माण समयलाई आधाले घटाउनु हो । थोमसले अध्ययन गरेका स्थानीय अनुमति पत्रहरूका अनुसार मेटाले अप्रिल र जुन महिनाको बीचमा पाँचवटा ठूला टेन्टहरू निर्माण गर्न सुरु गरेको थियो। यी प्रत्येक टेन्ट १ लाख २५ हजार वर्ग फिट क्षेत्रमा फैलिएका छन्।
स्याटेलाइटबाट लिइएका तस्बिरहरूले ती संरचनाहरूको निर्माण कार्य सम्पन्न भइसकेको देखाएका छन्। यसअघि सन् २०२५ मा मेटाका सीईओ मार्क जुकरबर्गले पनि मल्टी-गिगावाट डाटा सेन्टरहरू राख्न मौसम प्रतिरोधी टेन्टहरू प्रयोग गर्ने योजनाबारे बताएका थिए।
यस डाटा सेन्टर साइटलाई २०० मेगावाट क्षमताका मोड्युलर ग्यास टर्बाइनहरूबाट ऊर्जा दिइएको छ। यो प्रविधि मस्कको कम्पनी एक्सएआईले पनि प्रयोग गर्दै आएको छ। यी टेन्टहरूभित्र अर्बौँ डलर मूल्यका एआई चिपहरू राखिनेछन्।
मेटाले आफ्नो नयाँ एआई मोडल ‘म्युज स्पार्क’ विकास गरिसकेको भए पनि डेभलपरहरूका लागि यसको पहुँच उपलब्ध गराउन ढिलाइ भइरहेको बेला यो भौतिक पूर्वाधार निर्माण भएको हो।
मेटाले डाटा सेन्टर र अन्य पूँजीगत खर्चका लागि १४५ अर्ब डलरसम्म खर्च गर्ने लक्ष्य राखेको छ। कम्पनीको यस्तो ठूलो खर्च गर्ने योजनालाई लगानीकर्ताहरूले भने खासै रुचाएका छैनन्।
यसै कारण यस वर्ष मेटाको सेयर मूल्यमा ५ प्रतिशतको गिरावट आएको छ। पक्की भवनको सट्टा टेन्टमा एआई चिपहरू राख्नुलाई कम्पनीको खर्च कटौती गर्ने र छिटो नतिजा निकाल्ने एउटा प्रयासका रूपमा हेरिएको छ।
प्रतिक्रिया 4