+
+
Shares

अध्ययनको रिपोर्ट : अधिकांश श्रमिकले पाउँदैनन् पूरा पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते ११:२४
फाइल तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक्सनएड नेपालको अध्ययनअनुसार अनौपचारिक क्षेत्रका ६६.२ प्रतिशत श्रमिकले पूरा ज्याला नपाएको पाइएको छ।

नेपालको अनौपचारिक क्षेत्रमा काम गर्ने अधिकांश श्रमिकले पूरा ज्याला नपाउने गरेको अध्ययनले देखाएको छ । एक्सनएड नेपालले १३ जिल्लाका ३६१ श्रमिकमाथि सर्वेक्षण गरेको थियो । जसमा अधिकांश श्रमिकले पूरा ज्याला नपाएको, लिखित सम्झौताको अभाव रहेको तथा महिला श्रमिक पुरुषभन्दा बढी शोषणमा परेको तथ्य सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार ज्याला ठगी गम्भीर र संरचनागत समस्याका रूपमा रहेको देखिएको छ । अध्ययनमा सहभागी मध्ये ६६.२ प्रतिशत श्रमिकले आफूले पाउनुपर्ने ज्याला नै नपाएको बताएका छन् । ७३.४ प्रतिशतले आंशिक मात्रै भुक्तानी प्राप्त गरेको बताए ।

९३.१ प्रतिशतसँग लिखित श्रम सम्झौता नभएको पाइएको छ । त्यस्तै ८९.२ प्रतिशत श्रमिकले ज्याला सम्बन्धी समस्या भए पनि औपचारिक उजुरी गरेको पाइएन । २४.९ प्रतिशतले ढिलो भुक्तानी पाएको तथा १८ प्रतिशतले सहमत दरभन्दा कम ज्याला पाएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले श्रम बजारमा लैङ्गिक विभेद पनि गम्भीर रहेको देखाएको छ । पुरुषको तुलनामा महिला श्रमिकले औसत ३१.१ प्रतिशत कम ज्याला पाउने गरेका छन् ।

प्रतिवेदनअनुसार ठेकेदार र प्रमुख रोजगारदाता श्रमिक शोषणका मुख्य केन्द्र बनेका छन् । ५७.३ प्रतिशत श्रमिकले ठेकेदारमार्फत ज्याला प्राप्त गर्ने गरेका छन् । तर ठेकेदारमार्फत काम गर्ने श्रमिकमध्ये केवल ६.९ प्रतिशतसँग मात्र लिखित सम्झौता रहेको पाइएको छ ।

विचौलियामार्फत रोजगारीमा जोडिएका श्रमिकका हकमा लिखित सम्झौताको दर शून्य रहेको अध्ययनले देखाएको छ ।

प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपमहासचिव नारायणनाथ लुइँटेलले अनौपचारिक श्रम क्षेत्रमा ज्याला ठगी व्यापक रूपमा भइरहेको बताए ।

एक्सनएड नेपालका कार्यक्रम, नीति तथा व्यवसाय विकास प्रमुख सरोज पोखरेलले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकसँग प्रमाण संकलन गर्ने क्षमता र पहुँच सीमित भएकाले न्याय प्राप्त गर्न थप कठिनाइ हुने गरेको बताए ।

प्रतिवेदनले अनौपचारिक क्षेत्रमा श्रमिक अधिकार संरक्षण, लिखित श्रम सम्झौताको अनिवार्यता र प्रभावकारी उजुरी संयन्त्रको आवश्यकता औंल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?