News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म उद्योगमा कलाकार र प्राविधिकहरूले लाखौं रुपैयाँ पारिश्रमिक नपाएको समस्या व्यापक रूपमा देखिएको छ।
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न उठाइन्, ‘कानुनी प्रक्रियामा जानुअघि सभ्य र व्यवहारिक तरिकाले कसरी अड्किएको पारिश्रमिक उठाउन सकिन्छ ?’
उक्त पोस्टमा विभिन्न खालका प्रतिक्रिया आए । त्यसपछि अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘यो स्टाटसपछि केही संकेत देखिएको छ । केही दिनसम्म आएन भने मज्जाले उक्त व्यक्तिको बारेमा जानकारी गराउनेछु । म जस्तै पारिश्रमिक नपाएको लफडामा धेरै कलाकार परेको सुनिन्छ । यो ठीक होइन ।’
उनको भनाइले स्पष्ट देखाउँछ– यो समस्या व्यक्तिगत होइन, सामूहिक छ ।
फिल्मी उद्योगको चमकदमकभित्र एउटा यस्तो अँध्यारो पाटो छ, जहाँ कलाकर्मी र प्राविधिकहरू पारिश्रमिक नपाएर सुस्केरा हालिरहेका छन् । यस्तै पीडामा फिल्मी पत्रकार एवं मिडिया कोअर्डिनेटर दिनेश सिटौलाको निधनपछि धेरैले यो विषयमा खुलेर प्रश्न उठाउन थालेका छन् ।
टौवा क्रियसनका प्रमुख विजय वश्यालले पोस्टर, थम्बनेललगायत पब्लिसिटी डिजाइनको काम गरेबापत १० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाएका छैनन् । उनले मौखिक सहमतिमा काम गर्दा आफूजस्तै धेरै पीडित रहेको दाबी गर्छन्। उनी भन्छन्, ‘सबै सम्झौता गरेर लिइएको हुँदैन । ल्याप्चे जहाँसुकै हानेर काम हुँदैन । सहमतिमा काम गर्दा मौखिक पनि गर्नुपर्छ । तर, आफैं मूर्ख जस्तै भइयो । यस विषयमा म जस्तै कतिपय त बोल्छन्, धेरै बोल्दैनन् । अब बोल्ने समय आएको छ । पीडित धेरै छन् ।’
केही दिनअघि अभिनेता कामेश्वर चौरासियाले सामाजिक सञ्जालमार्फत सांकेतिक तर तीखो गुनासो गरे । उनले झण्डै ९ लाख रुपैयाँ पारिश्रमिक एक वर्षदेखि नपाएको भन्दै निर्देशक, एक्सन डाइरेक्टर, कोरियोग्राफरलगायतलाई सम्बोधन गर्दै लामो स्टाटस लेखेका थिए । उनले भनेका छन्, ‘हेल्लो डान्स कोरियोग्राफर साहेब, एक्सन डाइरेक्टर साहेब, राइटर साहेब, डाइरेक्टर साहेब, कता हुनुहुन्छ? मर्नु न बाँच्नु भइसकेँ म । १ वर्षदेखि फोन नउठाउने ? मानसिक यातना दिने ?’
केही हप्ताअघि मिडिया कोर्डिनेटरहरूले लाखौं रुपैयाँ पारिश्रमिक नपाएको विषयमा रिपोर्ट सार्वजनिक भएपछि चलचित्र वृत्तमा ठूलो तरंग पैदा भयो । ‘उधारोमा काम गर्छन् मिडिया कोर्डिनेटर, फिल्म रिलिजपछि फोन उठाउँदैनन् निर्माता’ शीर्षकमा अनलाइनखबरमा प्रकाशित समाचारपछि नेपाली फिल्ममा काम गर्ने कलाकार र टेक्निसियनहरूले पनि मुख खोल्न थालेका छन् ।
यसै सन्दर्भमा अभिनेत्री ऋचा शर्माले कठोर अभिव्यक्ति दिइन् । उनले भनिन्, ‘पशुपति आर्यघाटमा दिनेश सिटौला जलिरहेका बेला नजिकै धेरै रोइरहेका थिए । कतिपय प्रोड्युसर पनि थिए, जसले लाखौं रकम सिटौलालाई दिन बाँकी थियो । के हामीले पारिश्रमिक पाउन मर्नुपर्ने हो ?’
ऋचाले आफू पनि पछिल्लो समय एउटा चलचित्रबाट केही लाख रुपैयाँ पाउन बाँकी रहेको खुलासा गर्दै चेतावनी दिइन्, ‘केही समयभित्र मेरो पारिश्रमिक आएन भने म नामसहित भन्नेछु ।’
उनको तर्क स्पष्ट छ– ‘मलाई सिनेमा बनाउन इच्छा छ । तर जबसम्म मेरो पैसा हुँदैन, म किन फिल्म बनाउने? हो, त्यस्तै यदि तिर्न सकिन्छ भने फिल्मको काम सुरु गर्ने हो । पैसा कमायो भने, स्पोन्सर पाएँ भने तिर्छु भन्ने त हुँदैन ।’ उनले थपिन्, ‘अब कन्टेन्ट हिरो मानेर सिनेमा बनाउने समय आएको छ । फिल्म उद्योगमा पछिल्लो समय फेस भ्यालु भन्दा पनि कन्टेन्ट हिरो हुन थालिरहेको अवस्था छ । यो राम्रो कुरा हो । तर, फिल्म बनाउँदा जुन पारिश्रमिक र कामको विषयमा कन्ट्र्याक्ट बनाइन्छ, त्यो त पालना हुनुपर्यो ।’
केही उदाहरण हेर्दा नेपाली फिल्म उद्योगभित्र अझै पनि अधिकांश काम मौखिक सहमतिमै अघि बढ्ने गरेको देखिन्छ । अर्को गम्भीर यथार्थ के छ भने, कागजी सम्झौता भएको अवस्थामा समेत किस्ताअनुसार पारिश्रमिक दिने निर्माता– निर्देशक अत्यन्तै कम छन् । सुटिङ सम्पन्न हुन्छ, डबिङ सकिन्छ, फिल्म रिलिजसम्म पुग्छ, तर हिसाब भने अधुरै रहन्छ । आखिर कहिलेसम्म ? यो प्रश्न धमाधम उठ्न थालेको छ ।
यसै सन्दर्भमा एक चर्चित सुपरस्टारले नाम नखुलाउने शर्तमा भने, ‘अहिले मेरो नाम पनि नलेख्नुस्, उहाँको पनि नलेख्नुस् । तर, यो प्रवृत्तिले हाम्रो उद्योगको भविष्य के हुन्छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।’ उनले २० लाखभन्दा धेरै रकम पारिश्रमिक पाउन बाँकी रहेको संकेत गरे ।
उनका अनुसार, काम सकिएपछि निर्माता वा निर्देशक सम्पर्कविहीन हुने डरलाग्दो प्रवृत्ति पछिल्लो समय झन् बढ्दै गएको छ, जसले फिल्म उद्योगभित्र काम गरिरहेका धेरैका लागि भविष्यलाई नै असुरक्षित बनाइरहेको छ ।
चर्चित फाइट डाइरेक्टर प्रेम चुल्ठेले पनि नेपाली फिल्म उद्योगभित्र पारिश्रमिक नपाउने समस्याले आफूलाई गम्भीर रूपमा प्रभावित गरेको बताए । उनका अनुसार, उद्योगका विभिन्न प्रोजेक्टबाट आफूले झण्डै ९ देखि १० लाख रुपैयाँ पारिश्रमिक अझै पाउन बाँकी छ ।
त्यति मात्र होइन, हालै काम गरेको अर्को एक फिल्मबाट पनि १५ लाखभन्दा धेरै रुपैयाँ हाराहारी पारिश्रमिक अड्किएको उनको भनाइ छ । यसले प्रत्यक्ष रूपमा आफू मात्र होइन, आफूअन्तर्गत काम गरेका प्राविधिकहरूलाई समेत असर पारेको भन्दै उनले पीडा व्यक्त गरे । ‘मेरो काम गरेका टेक्निसियनहरूले मलाई पैसा नआएको भन्दै बारम्बार दबाब दिए । के गर्ने, समाधान गर्ने भन्ने तनावमा छु ।’
त्यसो त नेपाली फिल्म उद्योग आम्दानीको माध्यम मात्र होइन, मनैदेखि काम गरिने, रहर र सपनाले चल्ने उद्योग पनि हो । फिल्म, गीत–संगीतमा काम गरेर संसारभर चिनिन चाहने धेरै फिल्मकर्मीहरू ‘भोलि काम नपाइने हो कि’ भन्ने डरकै कारण उधारोमा, आश्वासनमा र विश्वासमै काम गर्न बाध्य देखिन्छन् ।
रहरले सुरु भएको यात्रा धेरैका लागि ऋण, तनाव र निराशामा टुंगिनु भनेको यो उद्योगको सबैभन्दा दुःखद यथार्थ हो । रहरको नाममा श्रमको अवमूल्यन भइरहँदा, उद्योगलाई उद्योगजस्तै बनाउन सकिँदैन । टेक्निसियनदेखि कलाकारसम्मको श्रम सुरक्षित नहुन्जेल नेपाली फिल्म उद्योगको दिगो भविष्य सम्भव छैन । के नेपाली फिल्म उद्योगले आफ्नो नैतिक जिम्मेवारी समयमै स्वीकार गर्ला ? अब यो प्रश्न सम्बन्धित निकायतर्फ मोडिएको छ ।
त्यसो त यसअघि चलचित्र प्राविधिक संघ (नेफ्टा)ले पारिश्रमिक नतिर्ने निर्माताको फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयपछि केही हदसम्म काम गरेको देखिन्छ । संघका अध्यक्ष पुष्कर लामाले पारिश्रमिक समस्या समाधान नभएसम्म त्यस्ता फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय उहिल्यै गरिसकेका थिए ।
उनले भनेका थिए, ‘यसरी प्राविधिकलाई पारिश्रमिक नदिनेहरूको प्रोजेक्टमा काम नगर्न प्राविधिक मित्रलाई आव्हान गर्दै काम गरेको पाइएमा संघले आगामी दिनमा गर्ने साथ-सहयोगमा सोच्न बाध्य हुने पनि अवगत गराउँदछौं ।’
विभिन्न टेक्निसियन र कलाकारहरूसँग गरिएको केही दिनको रिसर्चमा धेरैजसोले फिल्ममा काम गरेको पारिश्रमिक लिन बाँकी रहेको देखियो ।
यस विषयमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली भन्छन्, पछिल्लो समय पारिश्रमिक नपाएको विषयमा संघमा आउने निवेदनहरूको संख्या बढ्दो क्रममा छ । उनका अनुसार, ‘पारिश्रमिक नपाएका विषयमा धेरै निवेदन संघमा आइरहेका हुन्छन् । मिल्न सक्ने मुद्दा हामी संघकै पहलमा मिलाउने प्रयास गर्छौं । यदि त्यसरी पनि समाधान नभए चलचित्र विकास बोर्ड वा प्रहरीमा निवेदन लेख्न आवश्यक सहयोग गर्छौं ।’
उनले यस्ता विवाद सकेसम्म उद्योगभित्रै समाधान गर्ने प्रयास भइरहेको बताउँदै भने, ‘सकेसम्म यस्ता किसिमका मुद्दा इनडोर रूपमा मिलाइने गरिएको छ । तर सबै अवस्थामा सम्भव हुँदैन ।’ पराजुलीका अनुसार समस्याको दीर्घकालीन समाधान भनेको काम सुरु हुनुअघि नै स्पष्ट र कागजी सम्झौता गर्नु हो । ‘पारिश्रमिक कति लिने, कहिले–कसरी दिने भन्ने कुरा काम सुरु हुनुअघि नै लिखित रूपमा हुनुपर्छ । यदि पछि कसैले यस किसिमको व्यवहार गरेर दुःख दिएमा संघका लागि पनि सहयोग गर्न सहज हुन्छ ।’
त्यसो त यसअघि पनि परमिता राणा, प्रदीप खड्का, पल शाह, लक्ष्मी बर्देवा, आमिर गौतम, स्वस्तिमा खड्कालगायतका कलाकारहरूले पारिश्रमिक नपाएको विषयमा सार्वजनिक रूपमा आवाज उठाएका थिए । यस्ता मुद्दा बेलाबेला फुट्केर उठिरहे पनि समाधानको सट्टा समस्या झन् जटिल र गम्भीर बन्दै गएको देखिन्छ । कलाकारहरूको श्रम र सम्मानसँग जोडिएको यो विषय अझै पनि व्यवस्थित र दिगो समाधानको प्रतीक्षामा छ ।
चलचित्र विकास बोर्ड नेपाली फिल्म उद्योगको सर्वोच्च संस्था हो । तर, यही सर्वोच्च संस्थासँगै पनि फिल्म उद्योगभित्र पारिश्रमिक नपाउने मुद्दामा कारबाही गर्न सक्ने स्पष्ट नियमावली छैन । नियमावलीको अभावका कारण यस्ता मुद्दा प्रायः प्रहरीसम्म पुग्नुपर्ने बाध्यता छ।
बोर्डका अध्यक्ष दिनेश डिसीले ऐनअन्तर्गतको नियमावली परिमार्जनका लागि मन्त्रालयमा गुहारिसकेका छन् । उनले भने, ‘माथिबाट अधिकार दिएपछि मात्र बोर्डले के कस्तो कारबाही गर्न सक्छ भन्ने स्पष्ट हुन्छ । अहिलेसम्म पारिश्रमिक नपाउने विषयमा हामीले कुनै ठोस कदम चाल्न सक्ने अवस्था छैन । तर, फिल्म प्रदर्शनअघि यदि कसैले पारिश्रमिक नपाएको विषयमा निवेदन पेश गरेमा आवश्यक सल्लाह दिने, मिलाउन सहयोग गर्ने र आवश्यक परे फिल्म रोक्नसम्म पहल गर्न सकिन्छ ।’
उनले फिल्म उद्योगभित्र किचनदेखि अभिनेता–अभिनेत्रीसम्म सबैको पारिश्रमिक नपाएको कुरा आफूले पनि सुनिरहेको बताए । ‘सबैले पारिश्रमिक पाउनुपर्छ । हामीकहाँ अझै पुरानो किसिमको सम्झौतापत्र प्रयोग हुने गरेको देखिन्छ, जुन दुःखद कुरा हो ।’
प्रतिक्रिया 4