News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म क्षेत्रका मिडिया कोअर्डिनेटरहरूले फिल्म प्रचार र सञ्चारको रणनीति बनाउने काम गर्छन् र दिनेश सिटौला यस क्षेत्रमा लामो समय सक्रिय थिए।
- नेपाली फिल्म निर्माताहरूले मिडिया कोअर्डिनेटर र अन्य सहयोगीहरूलाई काम गरेको पैसा नदिँदा उद्योगमा अव्यवसायिकता र आर्थिक समस्या बढ्दै गएको छ।
तपाईंहरूले देख्दै आउनुभएका नेपाली फिल्म क्षेत्रका अधिकांश गतिविधिहरू वास्तवमा योजनाबद्ध सिर्जना गरिन्छन् । यसको पछाडि एउटा ठूलो संगठित टिम सक्रिय हुन्छ । र, त्यो टिमको नेतृत्व गर्ने मुख्य व्यक्ति हुन्छ– मिडिया संयोजक । चल्तीको भाषामा यसलाई मिडिया ‘कोअर्डिनेटर’ भनिन्छ ।
फिल्म घोषणादेखि लिएर कलाकार भित्रिने–बाहिरिने खबर, रिलिज मिति सार्वजनिक गर्ने निर्णय, फिल्मसँग जोडिएका सेलिब्रेटीहरूको अन्तर्वार्ता, गफगाफ र प्रचार सामग्री–सबै कुरा मिडिया कोअर्डिनेटरको रणनीति, सरसल्लाह र योजनाअनुसार नै दर्शकमाझ पुग्छन् । क्षणभरमै फिल्म चर्चामा आउनु वा चर्चा हराउनुको पछाडि यही रणनीतिक योजनाले काम गरिरहेको हुन्छ ।
कुन फिल्म प्रतिक्षित छ, कुन सामान्य मात्र हो भन्ने धारणा दर्शक मगजभित्र घुस्ने गरी मानक तयार गर्नु सजिलो काम होइन । यो जिम्मेवारी मिडिया कोअर्डिनेटरकै काँधमा हुन्छ । त्यसैले यो पेशा अत्यन्त संवेदनशील र चुनौतीपूर्ण मानिन्छ । सोही कारण नेपाली फिल्म क्षेत्रमा यो जिम्मेवारी सम्हाल्ने कम्पनी र व्यक्तिको संख्या निकै सीमित छ ।
कतिपय कोअर्डिनेटर फिल्मकर्मीको सहजताका लागि राखेको देखिन्छ । तर, खास कोअर्डिनेटरले साच्चीकै काम गर्ने हो भने उसको भूमिका अत्यन्त प्रभावशाली र निर्णायक छ।
हो, मिडिया र फिल्मकर्मीबीच पुलको काम गर्ने नेपालका केही सीमित मिडिया कोअर्डिनेटरमध्ये दिनेश सिटौला नम्बर वान थिए ।
एक दशकभन्दा लामो समयसम्म सिटौलाको कोअर्डिनेसनमा दर्जनौँ नेपाली फिल्म हिट भए । धेरै दर्जन फिल्महरू सुरक्षित अवतरण गर्न सफल भए ।
सिटौलाले पत्रकार र फिल्मकर्मीबीच उभिएर मिडियाकर्मीहरूको कामलाई समेत सहज बनाइदिए । निरन्तर विज्ञापन व्यवस्थापन गरे । फिल्मका गतिविधिलाई देखिने र सुनिने बनाए । दर्शकहरूको मनमा कौतुहलता सिर्जना गरिदिए ।
उनी संघर्षरत युट्युबरहरूलाई सेलिब्रेटीसँग सम्पर्कको सूत्राधार बने । यही कारण, धेरैका लागि दिनेश सिटौला ‘राम्रो मान्छे’ बने ।
तर, यसको भित्री पाटो अलि निर्मम छ । मिडिया कोअडिनेटरको रूपमा काम गर्नेहरूले फिल्म निर्माता, निर्देशकबाट सर्तबमोजिम भुक्तानी नपाएको गुनासो गर्छन् ।
सिटौलाको कम्पनी ‘दिनेश सिटौला फिल्मस्’ मा कार्यरत कर्मचारी सिपी जैसीका अनुसार सिटौला फिल्मसले यो उद्योगबाट अझै करिब एक करोड रुपैयाँ हाराहारी उठाउन बाँकी छ । ‘ठ्याक्कै कति रकम बाँकी छ, सबै हिसाब गरेपछि मात्र भन्न सक्छौँ तर, मोटामोटी एक करोडभन्दा माथि उठ्न बाँकी छ’ ती कर्मचारी सुनाउँछन् । यो वर्ष मात्रै करिब ३५ लाख रुपैयाँ उठ्नुपर्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
सोमबार चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय समिति बैठक बसेर सिटौलाले लिनुपर्ने रकम उठाउने र परिवारलाई हस्तान्तरण गर्ने गरी छलफल गरेको छ
नेपाली फिल्म तथा सेलिब्रेटी क्षेत्रका चर्चित एक मिडिया म्यानेजर पनि आफ्नो १५ लाख भन्दा बढी रकम उठाउन बाँकी रहेको सुनाए । ‘मेरो आफ्नै पनि १५ लाखभन्दा बढी रकम उठाउन बाँकी छ’ नाम खुलाउन नचाहने उनले भने, ‘मसँग प्रत्यक्ष रूपमा काम गर्ने ठूलो टिम नै यसबाट प्रभावित भइरहेको छ ।’ हाम्रा फिल्म निर्माताहरू अझै पनि व्यवसायिक हुन नसकेको गुनासो उनले गरे ।
उनको यो भनाइले नेपाली फिल्म उद्योगभित्र गहिरिँदै गएको अव्यवसायिकता र गैरजिम्मेवारीपनको संरचनागत समस्यालाई उजागर गर्छ । काम गरेको पैसा उठाउन नसक्दा यसले धेरै जनालाई समस्यामा पारिरहेको हुन्छ । त्यससँग जोडिएका स्थापित मिडियाहरू, कन्टेन्ट क्रियटरको रूपमा फिल्डमा उत्रिने क्यामेराम्यान, डिजाइनर, प्राविधिक र अन्य सहयोगीहरू पनि आर्थिक तथा मानसिक दबाबमा पर्दै आएका छन् ।
फिल्म निर्माताहरूको प्रवृत्ति कस्तो छ भने– एकजना मिडिया कोअर्डिनेटर राखिन्छ । सुरुवातमा ‘एडभान्स’ भन्दै थोरै रकम दिइन्छ । त्यसपछि काम बढ्दै जान्छ तर पैसा आउन भने ठप्पै हुन्छ । फोन उठ्दैन, म्यासेजको जवाफ आउँदैन ।
सामाजिक सञ्जाल सञ्चालन, व्यक्तिगत व्यवस्थापन, गुगल कन्टेन्टदेखि कलाकारकै पछि लाग्दा चार वर्षमा २० लाख रुपैयाँ ऋण लागेको अर्का एक मिडिया एडभाइजरको गुनासो छ । ऋणमा डुबेपछि अहिले उनले यो क्षेत्रको लगभग छाडेका छन् । ‘नेपाली फिल्मकर्मीहरूको गरिमा, स्वभाव र व्यावसायिक इमानदारीमाथि गम्भीर प्रश्न उठ्नुपर्ने अवस्था आएको छ’ उनको निष्कर्ष छ ।
मिडिया कोअर्डिनेटरहरूले मात्रै होइन, फिल्म क्षेत्रमा निरन्तर लागिरहेका प्राविधिक, कलाकारहरू र उनीहरूको अघि पछि काम गर्ने थुप्रै व्यक्तिले धेरै रकम नपाएका गुनासा निरन्तर सुनिन्छ ।
फिल्म प्रदर्शन हुनुअघि सामाजिक सञ्जालमा बुस्ट गर्न, पत्रकार सम्मेलन, प्रमोशनल टुर, विज्ञापन जस्ता शीर्षकमा लाखौँ खर्च देखिन्छ । तर त्यही खर्चको बिल तिर्ने बेला नेपाली फिल्मका लगानीकर्ता गायब भइदिन्छन् ।
बाहिरबाट हेर्दा चम्किलो देखिन्छ नेपाली फिल्म उद्योग । प्रेस मिटमा दर्जनौं क्यामेरा, भीडमा जाँदा दर्शकको हुटिङ, सामाजिक सञ्जालमा लाइक, कमेन्ट, मिडियामा उनीहरूको तस्विर र हेडलाइनमा गज्जबका कन्टेन्ट ।
तर, यही चमकता पछाडिको कुरुप अनुहार धेरैले देखेका छैनन् । फिल्म उद्योगभित्रका कतिपयले त देखेका छन्, तर उनीहरू पनि त्यसलाई नदेखे जस्तै गर्छन् । यो चमकताको पछाडि रहेका कतिपय अनुहारले आजकाल धेरैलाई बिझाइरहेको छ । यही दोहोरो चरित्र आज नेपाली फिल्मकर्मी र समग्र उद्योगमाथि गम्भीर प्रश्नको रूपमा उभिएको छ ।
पत्रकार सम्मेलनमा महँगो खाजा, रक्सी अनिवार्य होइन । फिल्म हिट भएपछि साथीभाइ र शुभचिन्तकलाई बोलाएर एउटा सेलिब्रेसन गर्नु स्वाभाविक हो । तर हाम्रा निर्मातहरू फिल्म रिलिजअघि नै अनावश्यक खर्च गर्छन्, अनि पछि जहाँसुकै बिल बाँकी राखेर गायब हुन्छन् । यही व्यवहारले आज समग्र नेपाली फिल्म उद्योगप्रति वितृष्णा बढ्दै गएको जस्तो देखिन्छ ।
यदि यो रोग समयमै सुधार भएन भने, चम्किलो पर्दाभित्रको यो अँध्यारो पक्षले नेपाली फिल्म उद्योगको भविष्यमाथि प्रश्न चिन्ह खडा गर्नेछ । बेइमानहरूकै कारण इमान्दार फिल्म निर्माताहरूले समेत टाउको लुकाउनुपर्ने हुन सक्छ ।
प्रतिक्रिया 4