+
+
Shares
नेपाली फिल्मको अँध्यारो पाटो :

हिरोले ५० लाख लिँदा हिरोइनले कति पाउँछन् ?

५० लाख पारिश्रमिक लिने स्टारहरूको यो ट्रेन्डले निर्माता मात्र होइन, समग्र कलाकार र फिल्म टिमलाई पनि डुबाइरहेको विश्लेषण हुन थालेको छ ।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ माघ २१ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म उद्योगमा स्टार कलाकारले ५० लाख हाराहारी पारिश्रमिक पाएको सार्वजनिक भइसकेको छ भने हिरोइनले कम पारिश्रमिक पाउने विषयमा बहस छ।
  • सिने पत्रकार प्रकाश सुवेदीले स्टारहरूले पारिश्रमिक कम गरी फिल्मको आम्दानी अनुसार शेयरिङ्गमा सहभागी हुनुपर्ने बताएका छन्।

‘माग्ने बुढालाई ६२ लाख रुपैयाँ पारिश्रमिक ।’ फिल्म पब्लिसिटीका लागि फ्याकिएको यो भद्दा र सस्तो तुरुपले धेरै कुरा बहसमा ल्याइदियो । माग्ने बुढाले एउटै फिल्म खेलेको ६२ लाख रुपैयाँ पारिश्रमिक पाउँदा को–स्टार वर्षा सिवाकोटीले कति पाइन् ?

यो प्रश्नले र्‍याखर्‍याती पार्दा समेत हिरोइनले मुख खोलिनन् । निर्माता, निर्देशकले खोल्ने कुरै भएन । किनभने एक त फिल्मका मूख्य पात्र केदार घिमिरेलाई यत्तिको पारिश्रमिक दिएको कुरा हावा गफ थियो । अर्कोतिर फिल्म आफैंमा त्यति वजनदार थिएन, जति पारिश्रमिकको धाक लगाइएको थियो ।

तर, यसले नेपाली अभिनेताले पाउने पारिश्रमिक, त्यसको उपयोगितामाथि मात्र बहस छेडेन । हिरोको तुलनामा हिरोइनले पाउने पारिश्रमिक किन अत्य‍न्तै न्यून हुन्छ भन्ने कुरालाई पनि सतहमा ल्याइदियो ।

पछिल्लो समय नेपाली हिरोहरूको पारिश्रमिक खुलमखुला तोकिने र भनिने गरेका छन् । जस्तो अनमोल केसीको ५० लाख हाराहारी छ । त्यस्तै प्रदीप खड्का, समीर भट्ट, विपिन कार्कीदेखि दयाहाङ राइसम्मले १८ देखि ५० लाख सम्मका पारिश्रमिक लिने चर्चा छ ।

एउटै हिरोमा यति भारी खर्च गर्ने नेपाली फिल्मको कुल बजेट चाहिँ कति हो ? त्यसले स्क्रिप्ट, प्रविधि, प्राविधिकदेखि अन्य कलाकारमा कति खर्च छुट्याउँछ ? के हिरोको तुलनामा अन्य खर्चको अनुपात मिल्छ ?

प्रश्न यतिमा रोकिँदैन, एउटै हिरोलाई ५० लाखसम्म तिर्न तयार नेपाली फिल्मले दर्शकबाट चाहिँ कति मुनाफा आर्जन गर्छ ?

नेपाली फिल्मको अवस्था अहिले एकदमै चिन्ताजनक अवस्थामा आइपुगेको छ । एकातिर स्टारहरूको अत्यधिक डिमाण्ड, अर्कातिर फिल्मको वास्तविक व्यापारमा कमी । यस्तो अवस्थामा नेपाली फिल्मको भविष्य कहाँ जाला भनी उद्योगभित्रै गम्भीर चिन्ता उठ्न थालेको छ ।

यदि एउटै हिरोले ५० लाख लिन्छ भने, त्यो कुल लगानीको एक तिहाइभन्दा बढी हुन्छ । यसको असरले पटकथा कमजोर हुन्छ । छायांकन र प्रविधिमा कटौती हुन्छ ।

अनमोल केसी, केदार घिमिरे जस्ता स्टारहरूले ५० लाख हाराहारी पारिश्रमिक पाएको र त्यसको कर बुझाएको कुरा सार्वजनिक भइसकेको छ ।

यसै प्रवृत्तिलाई लिएर बजारमा ‘५० लाखे स्टारडम’ अनावश्यक रूपमा स्थापित हुन थालेको भन्दै आवाज पनि उठ्ने गरेको छ । सुरुवाती चरणमा चर्चा र पब्लिसिटी बटुल्न हिरोलाई ५० लाखको चेक थमाउने होडबाजी चल्यो । विस्तारै त्यो होडवाजी स्थापित भयो । तर यसको परिणाम फिल्ममा रचनात्मक कमजोरी, आर्थिक जोखिम र दीर्घकालीन रूपमा उद्योगको अस्तित्वमाथि प्रश्न उठाउने स्थिति सिर्जना भयो ।

वास्तवमा, बजारमा सुनिने ‘५० लाख’ को चर्चा धेरै हदसम्म पब्लिसिटी स्टन्ट र फन्डा मात्र भएको एक निर्देशक बताउँछन् । ‘मलाई लाग्छ, कथा राम्रो भयो भने र मेकर्सले फिल्म उत्कृष्ट बनाउनुभयो भने जोसुकै स्टारले काम गरे पनि पुग्छ’ उनी भन्छन्, ‘५० लाख दिएको भन्दैमा फिल्म राम्रो बन्ने होइन ।’

फिल्म ‘महँगो’ देखियोस्, हिरोको ‘स्टारडम’ देखियोस् भन्ने चाहनामा केही निर्माताले पारिश्रमिक बढाइ–चढाइ गरेर प्रचार गर्ने प्रवृत्ति पनि देखिन्छ ।

यदि बढी पारिश्रमिक दिने होडबाजी चल्यो भने, यसले हाम्रो उद्योगको भविष्य नै खतरामा पार्ने चर्चित सिने पत्रकार प्रकाश सुवेदीको तर्क छ । ‘अब बजार एकदमै सानो छ, तर हामी हलिउड र बलिउडको मार्केट हेरेर त्यही शैली सिक्दै छौं’ सुवेदी भन्छन्, ‘उताकै देखासिकी गरेर आफैँले पारिश्रमिक तोक्न थाल्यौं ।’

सुवेदीका अनुसार, नेपाली फिल्मले गर्ने आम्दानी अनुसार अब स्टारले पनि फिल्मको शेयरिङ्गमा सहभागिता जनाउनुपर्ने अवस्था आएको छ । कम बजेटमा फिल्म बनाएर, गुणस्तरीय कन्टेन्ट लिएर दर्शकसम्म पुर्‍याउन सक्नु सबैभन्दा विवेकपूर्ण कदम हो ।

नेपाली फिल्महरू जति प्रदर्शन भएपनि सफल फिल्मको संख्या औलामा गन्न सकिने मात्रै छन् । ‘अधिकांश फिल्म फ्लप छन् । वर्षौँदेखि उद्योग यही अवस्थामा डुबिरहेको छ’ उनी भन्छन्, ‘सबैले विवेकपूर्ण सोच्नुपर्छ । यदि ५० लाख, ६० लाख पारिश्रमिक लिने हो भने, त्यस स्टारले रिटर्न दिने क्षमता पनि राख्नुपर्छ ।’

त्यसो त, ५० लाख पारिश्रमिक लिने स्टारहरूको यो ट्रेन्डले निर्माता मात्र होइन, समग्र कलाकार र फिल्म टिमलाई पनि डुबाइरहेको विश्लेषण हुन थालेको छ । आजको समयमा कुनै पनि फिल्मको हिरोले हलमा यति दर्शक ल्याउने ग्यारेन्टी दिन सक्दैनन् । त्यसो भए किन फिल्मको ३०–५० प्रतिशत बजेट उनीहरूमा खर्च गरिन्छ ? यही प्रश्न अहिले उद्योगभित्र चर्चा र बहसको विषय बनिरहेको छ ।

नेपाली फिल्मको औसत बजेट आज पनि डेढ देखि दुई करोडको हाराहारीमा घुमिरहेको छ । यदि एउटै हिरोले ५० लाख लिन्छ भने, त्यो कुल लगानीको एक तिहाइभन्दा बढी हुन्छ । यसको असरले पटकथा कमजोर हुन्छ । छायांकन र प्रविधिमा कटौती हुन्छ । पोस्ट–प्रोडक्सन ‘जति मिल्यो त्यति’ मा टर्छ ।

जवसम्म कन्टेन्टमा पर्याप्त लगानी हुँदैन तबसम्म कुनैपनि फिल्म राम्रो नहुने निर्देशक तथा लेखक रामशरण पाठक बताउँछन् । ‘पर्दामा सेलिब्रेटीको अनुहार देखेर मात्रै भएन, जवकी दर्शकले फिल्मबाट गुणस्तर पाउँदैनन् भने’ पाठक भन्छन्।

आजकाल आफूले पारिश्रमिक दिने एक दायरा बनाएको उनले सुनाए । ‘नयाँलाई एउटा, स्थापित र स्टारडम भएका भनिएका सेलिब्रेटी बोकेका फिल्मलाई अर्कै’ उनी भन्छन् ।

बलिउडमा फेसभ्यालु–केन्द्रित लगानीले गरेको गल्ती प्रमाणित भइसकेको छ । नेपालले अब यसबाट सिक्नुपर्ने बेला आएको पुराना निर्माता र निर्देशकहरू बताउँछन् । यदि अहिलेका सुपरस्टारहरूले पारिश्रमिकमा अडान कायम राखे, भने बलिउडमा जसरी आयुष्मान खुराना, राजकुमार राव, विकी कौशल जस्ता नयाँ प्रतिभा ल्याएर जसरी काम गरियो त्यसैगरी नेपालमा पनि गर्नुपर्छ । ‘अन्यथा यी स्टारलाई ५०–६० लाख बुझाउँदै हिड्यौं भने हिन्दीमा एउटा उखान छ, ‘हम तो डुबेंगे सनम, तुमको भि ले डुबेंगे’ भने जस्तै हुन्छ।

मैले कहिल्यै अचाक्ली पारिश्रमिक लिएको छैन : प्रदीप खड्का 

 

तपाईं र तपाईंको पुस्ताले अचाक्ली पारिश्रमिक लिएर उद्योगमा नयाँ ट्रेन्ड सुरु गर्नुभएको भन्ने आएको छ नि ?

त्यस्तो होइन । मैले कति पारिश्रमिक लिन्छु भन्ने कुरा मलाई र निर्माता दुवैलाई थाहा छ । मैले कहिल्यै अचाक्ली पारिश्रमिक लिएको छैन ।

तर केही मिडियामा त तपाईंले ५० लाख लिएको देखियो नि ?

होइन । कुन मिडियाले यस्तो लेख्यो, मलाई सोधेर लेखेको भए गलत जानकारी जाने थिएन । उसै लेख्दा जे लेखे पनि भयो ।

तपाईं प्रोफिट–शेयरिङमा काम गर्न तयार हुनुहुन्छ ?

हो । नयाँ मेकर्सलाई सपोर्ट गर्न प्रोफिट शेयरिङमा काम गर्न तयार छु । तर, तपाईँलाई भन्नैपर्छ मैले यो किसिमले काम गरिरहेको छु । अर्को कुरा समग्र उद्योगको भविष्य सोचेर कम पारिश्रमिकमा गुणस्तरीय फिल्म बन्छ भने म सधैं तयार छु । तर मैले सुरुवाती चरणबाटै प्रोफिट–शेयरिङ र न्युन पारिश्रमिकमै काम गर्दै आएको छु ।

प्रेम गीतमा मैले थोरै रकम लिएको थिएँ, कपडा किन्न, गाडीमा तेल राख्न र केही पकेटमनीका लागि । प्रेम गीत २ मा प्रोफिट–शेयरिङमा काम गरें । अहिले एक्लोमा पनि यही मोडल अपनाएँ । यसबीचमा मैले केही फिल्महरूमा अण्डरस्ट्याण्डिङमा काम गरेको छु । हो, एउटा सेलिब्रेटीको दैनिक आवश्यकता पूरा हुने हिसाबले सामान्य मेन्टेनका लागि केहि रकम आवश्यक हुन्छ । तर आधा करोड लिने वा निर्मातालाई अप्ठ्यारो पार्ने अवस्थामा म छैन ।

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?