+
+
Shares
मनोरञ्जन :

प्राइभेट अफेयर होइन कलाकारको ६० लाख

चर्को पारिश्रमिक निर्माताको बाध्यतामाथि कलाकारको ‘ब्रेक डानस’ हो । यसले निर्माताको ढाड भाँचिरहेको छ ।

सामीप्यराज तिमल्सेना सामीप्यराज तिमल्सेना
२०८२ असार १४ गते ९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामीप्यराज तिमल्सेनाले लेखमा कलाकारको बढ्दो पारिश्रमिक र यसले चलचित्र उद्योगमा पार्ने प्रभावको चर्चा गरे।
  • लेखले बजार सिद्धान्त अनुसार कलाकारले आफ्नो मूल्य निर्धारण गर्न पाउने उल्लेख गरी, यसले उद्योगको प्रगति र चुनौतीहरू देखाइएको छ।
  • अन्त्यमा, लेखकले सबै पक्षले सन्तुलित दृष्टिकोण अपनाउनुपर्ने र कलाकारको पारिश्रमिकलाई उद्योगको समस्या मात्र नभई अवसर पनि मान्नुपर्ने सुझाव दिएका छन्।

केही दिनअघि निर्माता संघको वार्षिक साधारण सभामा मञ्चासिन निर्माताले एउटा कुरा जोडतोडका साथ उठाए । उनीहरूले उठाएको विषय थियो, कलाकारको बढ्दो पारिश्रमिक । वक्ताहरूको आशय थियो, यसैगरी कलाकारको पारिश्रमिक बढिरहने हो भने चलचित्र बनाउन सकिन्न ।

अघिल्लो हप्ताको यो चर्चा आजका दिनमा घनिभूत भएको छ । यही साता केदार घिमिरे, अनमोल केसी, दयाहाङ राई आदिले ५० लाखको सीमा काटेर आफ्नो पारिश्रमिक ६० लाख पुर्‍याएसँगै बढ्दो पारिश्रमिकका समाचारहरूले ‘धुलो’ उडाएका छन् । हामी अनुमान गर्न सक्छौँ, ‘धुलो’ स्वास्थ्यका लागि कत्ति हानिकारक छ ?

पारिश्रमिकको कुरालाई लिएर निर्माताले संगठित रुपमा आवाज उठाउनु राम्रो संकेत होइन । यसले निर्माताको गणित गडबड हुन थालेको स्पष्ट सन्देश दिन्छ र कालान्तरमा यसले दुई पक्षबीच दन्त बझानको स्थिति सिर्जना गर्छ ।

कलाकारको चर्को पारिश्रमिकले चलचित्रको बजेट बढेको छ भने आम्दानी घटेको छ । यो वर्ष रिलिज भएका दर्जन बढी चलचित्रमध्ये एउटा मात्र चलचित्रले लगानी उठाएको आँकडा छ ।

यही समयमा महंगो पारिश्रमिक लिने भनिएका कलाकारको अभिनय रहेका चलचित्रहरू भूठान, के घर के डेरा २, नरसिंहा, महाभोज, जन्ते बाख्रो आदि चलचित्रले मायालाग्दो व्यापार गरेका छन् ।

यही समयमा महंगो पारिश्रमिक लिने भनिएका कलाकारको अभिनय रहेका चलचित्रहरू भूठान, के घर के डेरा २, नरसिंहा, महाभोज, जन्ते बाख्रो आदि चलचित्रले मायालाग्दो व्यापार गरेका छन् ।

आँकडामा हेर्ने हो भने पारिश्रमिकको बजारमा चर्चामा रहेका कलाकारले निर्माताको लगानी त परको कुरा आफूले लिएको पारिश्रमिक समेत निर्मातालाई फिर्ता दिलाउन सकेनन् ।
निर्माताले तत् तत् कलाकारलाई त्यो पैसा अभिनयको शिल्प वा कौशलका लागि तिरेका हुन् कि बक्स अफिस तताउनलाई ? यसको जवाफ निर्माताले नै देलान् । यो लेखमा हामीले बढ्दो कलाकारको पारिश्रमिकको बहसका सैद्धान्तिक एवं व्यवहारिक पक्षको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ ।

 

सुरुमै भनिहालौँ कलाकारले पाउने पैसा निर्माता र कलाकारको ‘प्राइभेट अफेयर’ हो । यदि कोही निर्माता फलानो कलाकारलाई यति रुपैयाँ दिन्छु भन्छ भने त्यो उसको छनौटको विषय हो ।

अर्थशास्त्रमा एउटा ‘लेसेज फाइयर’ भन्ने सिद्धान्त छ, जसले स्वतन्त्र बजारको वकालत गर्छ । स्वतन्त्र बजार अर्थात् क्रेता र विक्रेताले माग र पूर्तिको अवस्था हेरेर मूल्य तोक्ने प्रणाली । चर्चित अर्थशास्त्री एडम स्मिथले न्वारन गरेको यो सिद्धान्तले सामूहिक प्रयत्नबाट एउटा व्यक्तिले लाभ लिन्छ भने त्यो उत्तम हो भन्ने कुराको वकालत गर्छ ।

यही सिद्धान्तको आलोकमा रहेर कलाकारको पारिश्रमिकको वृद्धिलाई हेर्ने हो भने कलाकारले आफ्नो दाम राख्न पाउँछन् । दाम राख्ने समयमा बजार र आफ्नो क्षमताको विश्लेषण गर्नु चाहिँ कलाकारको नैतिक समझदारी भित्र पर्छ ।

यही सन्दर्भमा लेनिनको एउटा भनाइ सम्झना गर्नु एकदमै सान्दर्भिक हुन्छ । लेनिन भन्छन्, ‘पूँजीपतिहरू आफ्नो मुनाफामा यति मग्न हुन्छन् कि आफूलाई झुन्ड्याउने डोरी पनि मोलमोलाई गरेर बेच्छन् ।’ कलाकारको यो मोलमोलाई झुन्डिने अवस्थामा पुग्छ कि पुग्दैन चाल पाउन एकाध वर्ष कुर्न पर्ला ।

तर अहिलेलाई एकाध अनुच्छेदमा हामी कलाकारको मूल्य वृद्धिलाई सकारात्मक भएर हेरौँ ।

कलाकारको अचाक्ली मूल्य वृद्धिलाई हदैसम्म सकारात्मक भएर हेर्दा दुई तीनवटा कुरा देखिने रैछन् । पहिलो चाहिँ चलचित्र वा मनोरञ्जन क्षेत्रले गरेको प्रगतिलाई मान्न सकिनेरैछ ।

हिजोका दिनमा नेपालमा कसैले चलचित्र खेल्छु वा गीत गाउँछु भन्यो भने मान्छेको प्रतिप्रश्न हुन्थ्यो, ‘नाचेको गाएको त ठिक छ तर काम चाहिँ के गर्छस्  ?’

यो क्षेत्रमा काम गर्ने मान्छे नाजवाफ हुन्थ्यो ।

अर्थात् हिजाको दिनमा मनोरञ्जनको क्षेत्रमा काम गर्नुलाई, काम मानिन्नथ्यो । तर अहिले कलाकारिताले सामाजिक स्वीकृति मात्र पाएको छैन यसबाट कुस्त कमाइ गर्न सकिन्छ भन्ने सन्देश पनि दिन सफल भएको छ । एक दुई महिना समय खर्चिएर ६० लाख रुपैयाँ कमाइ हुन्छ भने धेरै सोच्दा हुन्, अरु पेसाभन्दा यता पो पैसा छ कि ? कलाकारको पारिश्रमिकको चर्चाले यो क्षेत्रलाई स्वीकार योग्य बनाउन ठूलो भूमिका खेलेको छ ।

यदि कुनै कलाकारले एउटा चलचित्र खेलेवापत ५०–६० लाख पाउँछ भने, यसले नेपाली चलचित्र उद्योग कति समृद्ध रहेछ भन्ने कुरा बताउँछ । सँगसँगै के पनि देखाउँछ भने चलचित्र क्षेत्र हिजो जस्तो रहरको पेसा मात्र रहेन, यसमा तपाईँले आफ्नो क्षमता प्रमाणित गर्नुभयो भने यो पेसामा लागेर पनि ढुक्कले जीवन निर्वाह गर्न सक्नुहुन्छ । मागेजति पैसा पायो भने उसले अभिनयको शिल्पमा भयानक सुधार गर्न सक्छ ।

मेरो बुझाइमा यो चर्चाको अर्को सकारात्मक पाटो हो, चलचित्र क्षेत्रप्रति आम मानिसको चासो । कलाकारको पारिश्रमिक वृद्धिको समाचारले कालान्तरमा यो क्षेत्रमा आउन चाहाने कलाकारको संख्यामा उल्लेख्य वृद्धि हुन्छ । यसले चलचित्रकर्मीसँग कलाकार छनौटका विकल्पहरू उपलब्ध हुन्छन् । प्रतिस्पर्धा बढ्छ र वास्तविक प्रतिभाहरू सम्मानित हुने वातावरण बन्छ ।

अब कलाकारको मात्र पारिश्रमिक वृद्धिले बुँदागत रुपमा के-के असर गर्छ त्यो हेरौँ । प्रथम दृष्टिमा कलाकारको पारिश्रमिक वृद्धिले सबैभन्दा पहिले उत्पादन लागतमा वृद्धि गर्ने रैछ । यसले लगानीकर्ताको लगानी सधैँ जोखिममा रहन्छ । नेपालमा कतिपय कमाएका भनिएका फिल्म पनि घाटा छन् । अझ नेपालको सन्दर्भमा त्यो जोखिम झन् गहिरो छ । किनकि चलचित्रमा लगाएको पैसा उठाउने माध्यम हल मात्रै छ।

चलचित्रको डिजिटल अधिकार विक्रीले लगानीको आंशिक भार बहन गर्छ तर त्यो रकम त्यति ठूलो हुँदैन । बाहिरका उद्योगजस्तो नेपाली चलचित्रले ओटिटी र भिडियो अन डिमान्ड जस्ता माध्यमबाट पैसा कमाउन सक्दैनन् । न त यहाँ टेलिभिजनको प्रसारण अधिकार नै विक्री हुन्छ ।

कलाकारको पारिश्रमिक वृद्धिमा आर्थिक पाटो त अहम् हुन्छ नै यसले चलचित्रको एन्ड प्रडक्ट’लाई असर गर्छ । निर्माताको ध्यान सबैभन्दा बढी पैसा लिने कलाकारमा मात्र केन्द्रित हुँदा यसले अन्य सहकर्मी कलाकारमा हीनताबोध पैदा गर्ने खतरा रहन्छ । फिल्म निर्माणमा कलाकार एक हिस्सा हुन् । त्योबाहेक निर्देशक, छायाँकार, सम्पादक, स्पटब्वाईसम्मको चलचित्र निर्माणमा उत्तिकै भूमिका रहन्छ ।

कलाकारलाई मात्र कुस्त पैसा दिँदा निर्माता बाँकी क्रु मेम्बरलाई उही मात्रामा पैसा दिन सक्दैनन् । यसले चलचित्रप्रति सम्पूर्ण सदस्यमा अपनत्वको भावना रहँदैन ।

व्यवहारिक रुपमा पनि यसले कलाकार र बाँकी सदस्यका बीचमा असमानताको खाडल गहिरो बनाउँदै जान्छ । पुरुष कलाकारले मात्र अचाक्ली पैसा लिइरहँदा महिला कलाकारले भने सो अनुपातमा थोरै पैसामा काम गर्नु परिरहेको यथार्थ छ । चलचित्रमार्फत अनेक असमानताका कुरा उठाउने निर्माता आफैँ भने यो प्रवृत्तिलाई बढावा दिइरहेको हुन्छ।

यो बहसको अर्को संगीन पाटो हो, निर्माणमा सम्झौता । कुनै निर्माताले एउटा कलाकारलाई मागेजति रकम दिन्छ भने पनि त्यो रकम सम्झौतारहित हुने सम्भावना न्यून हुन्छ ।

मतलब बजारको आयतनसँग परिचित निर्माताले आफ्नो चलचित्र निश्चित बजेटमा सकाउने सोच राख्छ । यो सोचले बाँकी कुरामा सम्झौता गराउँदै लैजान्छ । एक जनालाई मात्र चलचित्र बजेटको धेरै हिस्सा लुटाउँदा चलचित्रलाई चाहिने बाँकी कच्चा पदार्थमा सम्झौता हुन पुग्छ र चलचित्र लुलो भएर बजारमा जान्छ । अनि लुलो चलचित्रले निर्मातालाई कदापि बलियो बनाउँदैन ।

अनि अन्त्यमा उद्योगको सारा पैसा एकाध कलाकारले कुम्ल्याएर बस्ने हो भने पैसाको प्रवाह कसरी हुन्छ ? कुनै न कुनै चक्रमा गएर त्यो बन्द हुन्छ । पारिश्रमिकको बहस हुँदा दर्शक त के चलचित्रकर्मीले पनि एकआपसमा सोधेको देखिन्छ, ‘के नेपालमा बढी पैसा पाउने कलाकारले एक्लै चलचित्रको लगानी उठाउन सक्छन् ?’

सक्दैनन् । र त्यस्तो अपेक्षा गर्नु केटौलेपन हो ।

यसमा पूरक प्रश्न मनमा आउन सक्छ, ‘त्यसो भए निर्माता किन केही कलाकारलाई भनेजति पैसा दिन मरिहत्ते गर्छन् ?

यसको ठाडो उत्तर हुन्छ –चलचित्र बनाउनै पर्ने हठले । विश्लेषण गर्ने क्षमताको अभावले र व्यवहारिकभन्दा भावनात्मक भएर सोच्नाले ।

नेपालको सन्दर्भमा निर्मातालाई सञ्चारमाध्यमले पनि दिग्भ्रमित गरिरहेको हुन्छ । आफैँ टिकट काटेर चलचित्रलाई बबाल भनाएको कुरा पत्रकारलाई थाहा हुन्छ तर पाठकलाई भनिदिँदैनन् ।

अब यसमा निर्माता र कलाकारको दायित्व के हुन्छ ?

माथि पनि भनियो कलाकारको पैसा निर्माता र कलाकारको प्राइभेट अफेयर हो । लेसेज फाइयर इकोनोमीमा कुनै क्रेताले आफूलाई मन परेको वस्तु मागेको मोल तिरेर लिन सक्छ । तर चलचित्रमा कलाकारको अचाक्ली पारिश्रमिक वृद्धि निर्माताको सन्तुष्टिसँग होइन बजारसँग जोडिन्छ ।

कलाकारलाई तिरेको पारिश्रमिक बजारबाट उठ्दासम्म कुनै समस्या हुँदैन तर जुन दिन बजारले माझी औँला देखाउँछ, त्यो दिन चम्की-चम्की बढी पैसा दिएको डिङ हाँक्ने निर्माता साथीभाइसँग लुकी-लुकी हिँड्ने अवस्था सिर्जना हुन्छ ।

त्यसैले एक जना पुरुष कलाकारलाई मात्र बढी पैसा दिने कुरा प्राइभेट अफेयर होइन । यसले समग्र चलचित्र उद्योगको वर्तमान र भविष्यलाई पनि प्रभावित गरिरहेको हुन्छ । निर्माताले कलाकारसँगै समग्र चलचित्रको लगानी र त्यसको बजारको आँकलन गरेर मात्र चलचित्र निर्माण गर्नु दायित्व हो ।

यो बहसमा कलाकारले बुझ्नुपर्ने कुरा के हो भने अहिले तपाईँहरूले पाएको पैसा कृत्रिम वृद्धि हो । तपाईँहरूले ६० पाउँदा सहकर्मी साथीले ५९ पायो भने बल्ल तपाईँहरूले ६० लिएको मज्जा आउँछ ।

यो कलाकारले निर्माताको बाध्यतामाथि ‘ब्रेक डानस’ हानेको हो । यसले निर्माताको ढाड भाँचिरहेको छ । जसरी पनि चलचित्र बनाउनु पर्ने वा फलानो कलाकारलाई राख्यो भने कमाइन्छ भन्ने भ्रमको गणितले यो अवस्था सिर्जना भएको हो ।

यसका लागि फलानो कलाकार राखिस् भने चलचित्र बनाउन यति रकम दिन्छु भनेर लोभ्याउने वितरक र टाउको हेरेर डिजिटल अधिकार किन्छु भन्ने कम्पनीको पनि अलिखित मिलेमतो छ । यो चक्रब्यूह धेरै निर्मातालाई थाहा छ तर पनि केही भइहाल्छ कि भन्ने आशमा उनीहरू कलाकार, वितरक र डिजिटल कम्पनीको तिकडीमा फसिरहेका छन् ।
निर्माताले यो चक्रब्यूह बुझ्न र यसबाट उम्कन जरुरी छ ।

यो लेख कलाकारको बढ्दो पारिश्रमिकले सिर्जित तरङ्गमा केन्द्रित रहेकाले लेखमा कलाकार ज्यादा चर्चा गरिएको छ । तर लेखको आशय यो होइन कि, अहिलेको चलचित्र क्षेत्रको सारा समस्याका जड कलाकार हुन् ।

त्यसैगरी, लेखको पहिलो अनुच्छेदमा उल्लेखित चलचित्रको असफलतालाई कलाकारको पारिश्रमिकसँग मात्र जोडियो भने त्यो पनि उनीहरूमाथि अन्याय हुन जान्छ । कलाकारको बढ्दो पारिश्रमिक नेपाली चलचित्र उद्योगका तमाम समस्यामध्ये एउटा समस्या हो ।

त्योबाहेक चलचित्र लेखनको स्तर, निर्देशनको स्तर, प्रिप्रडक्सनको प्रक्रिया र बजारको सीमितता समस्या हुन्, जसमाथि पनि प्रशस्त बहस हुन जरुरी छ । किनकि कलाकार सम्पूर्ण चलचित्र निर्माण प्रक्रियाको एउटा हिस्सा हो, स्वयं चलचित्र होइन । एक्लैले सारा बोझ बोक्ने ल्याकता कम्तीमा नेपालमा राख्दैन ।

स्टार कलाकारको उपस्थिति र आकर्षक कथा वाचनका साथ पारिश्रमिकको उचित वितरण नेपाली चलचित्र उद्योगले खोज्नुपर्ने सन्तुलन हो । यसका लागि सबै पक्षले आफूलाई मात्र केन्द्रमा नराख्ने हो भने धेरथोर निकास निस्कन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

सप्ताहान्त
लेखक
सामीप्यराज तिमल्सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?