+
+
Shares

गृहथलो फर्किए कलाकार, कसले कुन ठाउँबाट गर्दैछन् मतदान ?

अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित कन्या हाइस्कुल केन्द्रबाट मतदान गर्नेछन् । उनले लामो समयदेखि यही केन्द्रबाट भोट हाल्दै आएका छन् ।

विष्णु शर्मा विष्णु शर्मा
२०८२ फागुन २० गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा निर्वाचन बिहीबार देशभर बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुँदैछ।
  • धेरै कलाकारले आफ्नो गृहथलोबाट मतदान गर्ने जनाएका छन्, भने केही मतदानका लागि जाने क्रममा छन्।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन बिहीबार देशभर हुँदैछ । निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको छ । भोट हाल्न अधिकांश कलाकार गृहथलो पुगिसकेका छन् भने केही जाने क्रममा छन् ।

केही कलाकार भने कार्यव्यस्तता वा अन्य कारणले यसपटक मतदान गर्न नपाउने अवस्थामा छन् । तर चुनावप्रति कलाकारमा उत्साह देखिएको छ । अनलाइनखबरसँगको कुराकानीमा धेरैले चुनावप्रति आफ्नो आशा र उत्साह व्यक्त गरेका छन् ।

अभिनेता हरिवंश आचार्यले काठमाडौं-५ को बुढानीलकण्ठस्थित मतदान केन्द्रबाट भोट हाल्ने भएका छन् । २०३६ सालदेखि मतदान गर्दै आएका उनले लगभग हरेक चुनावमा भोट हालेको अनुभव सुनाए ।

यसपटकको चुनावलाई लिएर उनी उत्साहित देखिए । ‘यसपटक प्रतिस्पर्धा बढी देखिन्छ । युवाहरू पनि अघि बढेका छन् । पहिले जस्तै एउटै अनुहार मात्र देखिने अवस्था कम भएको छ’ उनले भने, ‘यो चुनावले भ्रष्टाचार नियन्त्रण होस्, देशमै रोजगारी सिर्जना होस् र दण्डहीनताको अन्त्य होस् भन्ने जनताको अपेक्षा छ ।’

गायिका आस्था राउत काठमाडौं-१ की मतदाता हुन् । यो उनको दोस्रो मतदान अनुभव हुनेछ ।

यो चुनावले बेथिति हटाउने र भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्ने आशा आफूले राखेको उनले बताइन् । ‘राजनीतिमा भइरहेको ‘म्युजिकल चेयर’ को अन्त्य हुनुपर्छ भन्ने मेरो सोच हो’ आस्थाले भनिन्, ‘त्यसो भए सम्पूर्ण नेपाली नागरिकका लागि राम्रो हुन्छ । मतको सदुपयोग होस् र परिवर्तन आउन सकोस् ।’ उनले आगामी चुनावदेखि जहाँ बसे पनि त्यहींबाट मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने धारणा पनि राखिन् ।

हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक-२ बालकोटस्थित बालविनायक स्कुल केन्द्रबाट मतदान गर्नेछन् । २०५२ सालदेखि भोट हाल्दै आएका उनले यसपटकको निर्वाचनलाई विशेष रुपमा लिएको बताए ।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले मोरङ-६ को बालिका मावि केन्द्रबाट मतदान गर्ने भएकी छन् । मतदानकै लागि उनी गृहथलो पुगेकी हुन् । अहिले विराटनगरमा गर्मी बढ्दै गएको छ । त्यसैले बुवाआमालाई लिएर बिहानै मतदान केन्द्र पुग्ने उनले बताइन् ।

‘बुवाआमालाई लिएर बिहानै भोट हाल्न जाने सोच बनाएको छु । माहोल पनि बुझ्ने र हेर्ने,’ उनले अनलाइनखबरसँग भनिन् । दीपाश्रीले यसअघि २०७९ सालको संसदीय चुनावमा पनि मतदान गरेकी थिइन् ।

‘नेपथ्य’ ब्यान्डका गायक अमृत गुरुङ पनि मतदानका लागि गृहथलो पोखरा पुगिसकेका छन् । कास्कीको पुम्दीभुम्दीस्थित ओखलेडाँडा मतदान केन्द्रबाट उनले मतदान गर्नेछन् । सिन्धुलीमा कन्सर्ट सकेर उनी सोझै पोखरा पुगेका हुन् ।

कति पटक भोट हाले भन्ने ठ्याक्कै याद नभए पनि, भोट हाल्न थालेपछि कुनै पनि चुनाव नछुटाएको अमृत बताउँछन् । चुनावपछि ‘नेपथ्य’ ब्यान्ड क्यानडा टुरको तयारीमा व्यस्त हुनेछ ।

अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र ३ अन्तर्गतको मुलपानीस्थित ग्रीन हिलसिटी हाउजिंग नजिकको केन्द्रबाट मतदान गर्दैछिन् । संसदीय निर्वाचनमा यो उनको दोस्रो अनुभव हुनेछ ।

यसपटकको चुनावलाई लिएर आफूमा उत्साह र डर दुबै रहेको केकीले बताइन् । ‘मलाई यसपटक अनौठो लागेको छ । सँगसँगै परिवर्तनको पक्षमा हामी छौं जस्तो महसुस भएको छ’ उनले भनिन्, ‘उत्साह र डर दुबै छ । यसपटकको भोट एकदमै सोचेर गर्नुपर्ने जिम्मेवारी पनि छ ।’

अभिनेता विपिन कार्की पनि मतदानका लागि गृहथलो विराटनगर पुगेका छन् । उनी मोरङ-३ का मतदाता हुन् । ‘यसपटकको चुनावलाई लिएर उत्साहित छु,’ उनले भने, ‘राम्रा उम्मेदवारले जितून् भन्ने चाहना छ ।’

अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित कन्या हाइस्कुल केन्द्रबाट मतदान गर्नेछन् । उनले लामो समयदेखि यही केन्द्रबाट भोट हाल्दै आएका छन् ।

दीपकराज गिरी काठमाडौं-९ का मतदाता हुन् । उनले आफ्नो पुर्ख्यौली थलो चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट मतदान गर्ने बताए । ‘यसपटक पार्टी र विचारभन्दा माथि उठेर भोट हाल्नेछु,’ उनले भने ।

भुवन केसी र अनमोल केसीले सिनामंगलस्थित केन्द्रबाट मतदान गर्नेछन् । अभिनेता निर्मल शर्माले सिफलस्थित हिमालय विद्यामन्दिर केन्द्रबाट भोट हाल्नेछन् भने रेखा थापाले चावहिलस्थित पशुपति क्याम्पस केन्द्रबाट मतदान गर्नेछिन् ।

मिस नेपाल लुना लुइँटेलले नयाँ बानेश्वरस्थित केन्द्रबाट मतदान गर्दैछिन् ।

अभिनेता प्रदीप खड्काले भने यसपटक मतदानको अवसर गुमाउने भएका छन् । उनी यतिबेला चितवनमा आफ्नो फिल्म ‘ऐरी’ को छायांकनमा व्यस्त छन् । उनी ललितपुर-३ का मतदाता हुन् ।

‘राम्रो व्यक्ति जितोस् भन्ने चाहना छ । पार्टीलाई पनि सचेत गराउन सक्ने उम्मेदवारले जित्नुपर्छ,’ उनले भने । प्रदीप अझै करिब ७० दिन ‘ऐरी’ को छायांकनमा व्यस्त रहनेछन् ।

अभिनेता दयाहाङ राईले पनि मतदान गर्ने बताएका छन्, तर कुन केन्द्रबाट भोट हाल्ने भन्ने खुलाएका छैनन् । ‘बिहानैदेखि कहाँबाट भोट हाल्ने भनेर फोन आइरहेका छन्,’ उनले भने, ‘अहिलेलाई मतदान केन्द्र सार्वजनिक नगर्ने सोचमा छु ।’

कतिपय कलाकार भने विदेश भ्रमणमा रहेकाले यसपटक मतदानको अवसर गुमाउने भएका छन् ।

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?