+
+
Shares

जेनजी आन्दोलनका भाइरल भिडियो, विवादमा तानिँदै इन्फ्लुएन्सरदेखि कलाकार

जेनजी आन्दोलनलाई समर्थन गरेका सोसल मिडिया इन्फ्लुएन्सरदेखि कलाकारहरू त्यो बेला पोस्ट गरेका भिडियो र स्टाटसका कारण अहिले सामाजिक सञ्जालमा भाइरल र विवादित बन्न पुगेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ कात्तिक ८ गते २१:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २४ गते संसद् भवनमा भएको आगजनी र तोडफोडमा सहभागी अमनप्रताप अधिकारीले सामाजिक सञ्जालमा त्यो घटना खुशीसाथ मनाएको भिडियो राखेका छन्।
  • अमनप्रताप अधिकारीले भदौ २३ गतेको जेनजी आन्दोलनमा राज्यपक्षबाट भएको दमन र १९ जनाको हत्या सम्बन्धमा सरकारलाई दोष लगाउँदै कडा कारबाहीको माग गरेका छन्।
  • कलाकार दिपकराज गिरी र निश्चल बस्नेतले पनि जेनजी आन्दोलनमा समर्थन जनाएका छन्, तर उनीहरूलाई तोडफोड र आगजनीमा संलग्न भएको आरोप लागेको छ।

८ कात्तिक, काठमाडौं । पृष्ठभूमिमा नयाँ बानेश्वरको संसद् भवनतर्फ ढुंगा बर्साउँदै एउटा हुलभित्र छिरिरहेको छ । नाराबाजी गर्दै भित्र छिरेको त्यस्तै हुलले भवनमा आगजनी र तोडफोड गरिरहेको छ ।

सोही भीडभित्र रहेका निर्देशक, कवि, कमेन्टेटर, पूर्वफुटबल खेलाडी अमनप्रताप अधिकारी अश्लील र अराजक शैलीमा नेताहरूलाई गाली गुर्दै जलिरहेको संसद्‌ भवन अगाडि खुशी मनाइरहेका छन् । यो दृश्य हो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो हो ।

‘दिस इज हाउ संसद् भवन वाज टेकेन डाउन’ भन्दै उनले बनाएको त्यो भिडियो सामाजिक सञ्जालमा राखेका थिए । भदौ २४ गतेको विध्वंसको साक्षी बन्दै गरेको भिडियो राख्दै उनले सञ्जालमै खुशीयाली मनाएको दृश्य देख्न सकिन्छ ।

इन्फ्लुएन्सर वा कसैले पनि आफ्नो भिडियोलाई बुस्ट गर्न विभिन्न ह्यासट्याग राखेर पोस्ट गर्छन् । सो भिडियोमा पनि अमनप्रतापले ह्यासट्याग जेनजी, जेनजी नेपालसँगै ह्यासट्याग डनडाइरेक्टर राखेका छन् । भिडियोमा उनले बोलेका छन्, ‘देखिस्, जल्यो तेरो देश…।’

‘ल हेर अब संसद् भवनभित्र पूरै सकियो…भन्दै उनले अनेकपटक अश्लील शब्द उच्चारण गर्दै गाली गरेका छन् । हालसम्म उक्त भिडियो १७ हजार पटक हेरिएको छ । यो रिपोर्ट तयार पार्दासम्म तीन सयभन्दा धेरै लाइक उक्त भिडियोले पाएको छ । तर, अमनप्रतापको त्यो भिडियो उनकै सामाजिक सञ्जालबाट भन्दा पनि अन्य ह्यान्डलबाट भाइरल बनिरहेको छ । यही कारण सञ्जालमा उनी आलोचित बनिरहेका छन् । सोही दिन उनले संसद् भवन जलिरहेको धुँवामय भिडियो पनि सञ्जालमा राखेको देखिन्छ ।

यसरी भदौ २४ मा सडकमै देखिएका अमनप्रतापले त्यसअघि पनि जेनजी आन्दोलनलाई समर्थन गरेको देखिन्छ । भदौ २३ गतेको जेनजी प्रदर्शनमा राज्यपक्षबाट दमन भएपछि पनि उनी आक्रोशित बन्दै सामाजिक सञ्जालमा पोखिएका थिए । सोही दिन १९ जनाको हत्या भएको समाचार बाहिरिएपछि ‘अवोध बालबालिकाको हत्यारा सरकार’ भन्दै भिडियो बनाएका थिए । उक्त भिडियो २४१ हजारपटक हेरिएको छ ।

‘जसले गोली हान्यो…त्यो चिफ, जसले गोली हान्ने आदेश दियो…उसले आदेश पायो गृहमन्त्रीको…त्यो गृहमन्त्रीले सल्लाह गरे प्रधानमन्त्रीसँग,’ भदौ २३ गते पोष्टाइएको उक्त भिडियोमा उनले बोलेका छन्, ‘प्रधानमन्त्रीबाट गो अ हेड भन्दै आदेश आएपछि गृहमन्त्री हुँदै क्रमश: सिपाहीसम्म त्यसले काम गर्‍यो । गोलीबाट कलिला बालबालिका र विद्यार्थीको हत्या गरियो । गोली हान्ने सिपाहीमात्र हैन, यो आदेश दिने चेन नै हत्यारा हो ।’

 

अमनप्रताप यतिमै रोकिँदैनन् । अब यो आन्दोलन जेनजीको मात्र नभएर सबै नेपालीको रहेको आशयको अभिव्यक्ति दिन्छन् । ‘यो विषय अदालतसम्म जानुपर्छ । राजीनामा–सामाले पुग्दैन । जो–जो तपाईंहरू इन्भल्ब हुनुहुन्छ, सख्त कारबाही हुनुपर्छ,’ उनी थप भन्छन्, ‘अब यो आन्दोलन जेनजीको मात्र रहेन । तपाईं हामी सबैको रह्यो । उमेरमा जेनजी नहुँला, मन मस्तिष्कमा जेनजी हुँ । अब यी हत्याराहरूलाई छाडिने छैन ।’

यसरी अघिल्लो दिन सामाजिक सञ्जालमा आक्रोश पोखेका अमनप्रताप भोलिपल्ट भदौ २४ गतेको विध्वंसमा सहभागी भए । यसपछि उनी क्रमश: राजनीतिक कुरामा टिप्पणी गर्न थाल्छन् । जेनजी बिद्रोहको त्यो उग्र क्षण केही सेलाएपछि अबको नेतृत्व को वा कसरी अघि बढ्ने भन्ने बहस सञ्जालमा छेडिन्छ । त्यसमै टेकेर अमनप्रतापले लेखेका थिए, ‘रवि र राजाको यो समय हैन है साथी हो । हामीलाई चाहिएको त्यो भन्दा धेरै माथि हो ।’

भदौ २५ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बारे चासो राख्दै अंग्रेजीमा अर्को पोस्ट गर्छन्, ‘प्रचण्ड कहाँ छन् ? कसैलाई थाहा छ ?’ र, रिल्समा लेखेका छन्– क्याच द डेभिल अर्थात् सैतानलाई समात ।

त्यसपछि सेप्टेम्बर १२ मा सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने टुंगो भएपछि उनले यसमा खुशी जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन् । ‘नाव वी बिगन… वी स्टार्ट फ्रम ग्राउन्ड जेरो,’ सुशीला कार्कीमा विश्वास गर्दै उनले थपेका छन्, ‘जेनजी अफ नेपाल, यु डिड इट… ।’

यो सबै विद्रोह सफल हुनुमा उनले ‘विवेकशील अभियन्ता’ उज्ज्वल थापालाई धन्यवाद दिए । नेपालको समृद्धिको यात्रा अब सुरु भएको भन्दै यसको लागि थापाले सुरु गरेको वैकल्पिक राजनीतिको अभियानले साथ दिएको भन्दै उनका विगतका अभियान स्मरण गरे ।

यसरी निरन्तर राजनीतिक टिप्पणी गरिरहेका र जेनजी आन्दोलनबारे लेखिरहेका अमनप्रताप सेप्टेम्बर १५ मा आइपुग्दा भदौ २३ को राज्यतर्फबाट भएको हत्या, २४ गतेको लुटपाट र तोडफोडमा संलग्न सबैलाई सजाय दिनुपर्ने लेखेका छन् । अब सरकारको प्राथमिकता नै यसलाई छुट्याएर कारबाही गर्नुपर्ने उनको तर्क छ, जबकी उनी आफैँ संसद भवन आगजनी गर्न पुगेको र त्यसलाई लिएर खुशी भएको भिडियो आइरहेको छ ।

सोही भिडियोमा टेकेर अमनप्रतापमाथि आलोचनाको ग्राफ सञ्जालमा एकाएक बढिरहेको छ । यद्यपि, यसबारे अमनप्रतापले आमजनको प्रश्नलाई सम्बोधन गर्नेगरी जवाफ दिएका छैनन् । जेनजी आन्दोलनपछि निरन्तर राजनीतिक टिप्पणी गरिरहेका उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्– न्यायको प्रतीक्षामा सहिदका परिवार छन्, घाइतेहरू अझै अस्पतालमा छट्पटाइरहेका छन् । चाकरी छोडौँ, हत्यारा समाऔँ ।

यी अमनप्रताप क्षेत्रप्रताप अधिकारीका छोरा हुन् । क्षेत्रप्रताप एक चर्चित कवि र गीतकार त हुन् । क्षेत्रप्रताप पूर्व शिक्षा सहायक मन्त्री थिए । २०४६ सालको जनआन्दोलन छानबिन सम्बन्धि मल्लिक आयोगले ठहर गरेका दोषी हुन् । तर, दरबारनिकट भएकाले नै जोगाइएको आरोप उनीमाथि लागेको छ । त्यसैले नेपो बेबी ट्रेन्डकै जगमा सुरु भएको जेनजी आन्दोलनमा सहभागी क्षेत्रप्रताप आफैं सबैभन्दा ठूलो ‘नेपो बेबी’ रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

००००

जेनजी आन्दोलनकै क्रममा कांग्रेस नेता विमलेन्द्र निधिको खरानी भइसकेको घर नजिकको फोटो सार्वजनिक भएपछि कलाकार दिपकराज गिरी पनि विवादित बन्न पुगे । भदौ २४ गतेको विध्वंसमा खरानी बनेको त्यो घर हेर्दै गरेको उनको तस्बिर राख्दै उक्त घटनाको जिम्मेवारझैं उनको समाजिक सञ्जालमा आलोचना गरिएको छ ।

यसबारे कलाकार गिरीले भने खण्डन गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सकेसम्म नबोलौं भन्ने नै थियो । तर धेरैले यो फोटो पठाएर सोध्नु भो, दीपकजी, के यो तपाईं नै हो ? अब जिम्मवार नागरिकको हिसाबले त बोल्नै पर्‍यो ।’

रास्वपा नेताले बोलाएर घरबाट निस्कँदा संयोगले त्यहाँ पुगेको बताउँदै उनी थप लेख्छन्, ‘त्यो दिन गणेश कार्की भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ बानेश्वरमा, कलाकारको रूपमा तपाईंहरू पनि आउनुस् भन्नुभयो । त्यसपछि म घर बाट हिडेँ । त्यतिबेला बाहिर सामान्य तोडफोड सुरू भईसकेको थियो । मेरो घरबाट बानेश्वर जाने बाटोमा पर्दोरहेछ त्यो घर । कसको घर हो त्यो पनि थाहा थिएन । त्यहाँ केही रमिते केटाहरूले त्यो तोडफोड भैसकेको घर हेरिरहेका थिए । मलाई हात हल्लाए । फोटो पनि खिचिरहेकै थिए । भएको त त्यति नै थियो तर अहिले त्यो बाटोमा हिँडिरहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन् ।’

यसरी आफू त्यस्ता तोडफोड र आगजनीमा सहभागी नभएको बताउँने गिरीले आन्दोलनमा भने आफ्नो समर्थन रहेको बताएका छन् । नेपालका हरेक परिवर्तनको आन्दोलनलाई समर्थन गरेझैँ यसमा पनि नैतिक समर्थन गरेको उनी बताउँछन् ।

गिरीकै अनुसार आगजनी भएको उक्त स्थानबाट उनी गणेश कार्कीले बोलाएको ठाउँमा पुग्छन् । त्यहाँ केही कलाकारसँगै वैकल्पिक राजनीति गरिरहेका अभियन्ता मिलन पाण्डे लगायतका १२ जना व्यक्ति एक ठाउँ भेला हुन्छन् ।

सोही ठाउँमा कलाकार निश्चल बस्नेत पनि देखिन्छन् । उनै बस्नेतले त्यहाँ बोलेको कुरा पनि अहिले विवादित बन्न पुगेको छ ।

‘जुन जेनजी पुस्ताले सुरु गरेको आन्दोलन थियो, यसले अहिले सार्थकता पाएको छ,’ पृष्ठभूमि देखाउँदै बस्नेतले भनेका छन्, ‘अहिले हाम्रो पछाडि जुन धुँवा देखिरहनुभएको छ, त्यो धुँवाको अर्थ के हो भने, अहिलेसम्म हामीलाई जजसले खेलाए, नचाए, आशा देखाए, भरोसा देखाए तर केही पनि गरेनन् । उनीहरू सबैको धुँवा हो त्यो ।’

त्यसअघिको निश्चल बस्नेतको अर्को भिडियो छ, जसले उनलाई थप आलोचित बनाइरहेको छ । बानेश्वरस्थित संसद् भवन अगाडि आफ्ना शुभचिन्तकलाई सेल्फी दिइरहेका उनले यो ‘नयाँ युगको सुरुवात हो’ भन्दै युवालाई जोस्याइरहेका छन् । पृष्ठभूमिमा धुँवामय चोक देखिन्छ । संरचनाहरू जलिरहेका छन् । युवाहरू लाठी बोकेर यताउता गरिरहेका छन् ।

‘जेनजीले गरेर देखाएको छ, थ्यांक यू उनीहरूलाई…,’ बस्नेतले उनका शुभचिन्तकले खिचिरहेको उक्त भिडियोमा भनेका छन् । हातमा राष्ट्रिय झन्डा बोकेका उनले युवालाई जोस्याएर अन्यत्र मोडिन्छन् । उनको सोही भिडियोले २४ गतेको विध्वंसमा प्रत्यक्ष संलग्न रहेको आरोप उनीमाथि लगाइएको छ । सामाजिक सञ्जालमा बस्नेत आलोचित छन् ।

यद्यपि, यसबारे बस्नेतले भने खण्डन गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले कतैपनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिएपनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पष्ट हुन्छ । त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु ।’

सँगसँगै बस्नेतले आफू आन्दोलनमा गएको, भ्रष्टाचारको विरोध गरेको स्वीकार गरेका छन् । र, जुन भिडियो भाइरल बनाइएको छ, त्यो भिडियो आफूले नखिचेर अन्य ‘दाजुभाइ दिदीबहिनी’ ले खिचेको दाबी गरेका छन् ।

बस्नेत आन्दोलनको दिनमात्र नभएर त्यसपछिका राजनीतिक गतिविधिमा समेत प्रत्यक्ष संलग्न भएका देखिन्छन् । जेनजी आन्दोलनपछि भएका वार्ता र छलफलमा समेत बस्नेत सक्रिय भएर लागेका थिए । त्यस्तै, वैकल्पिक शक्ति निर्माण गर्ने उपयुक्त समय रहेको भन्दै त्यसको लागि विभिन्न शक्तिसँग पहल गरिरहेको भेटिएका छन् ।

‘एउटा वैकल्पिक शक्ति आउनुपर्छ भनेर उहाँ विभिन्न समूहसँग छलफलमा हुनुहुन्छ । विशेषगरी काठमाडौंका मेयर बालेन शाहले पार्टी गठन गरिदिए हुन्थ्यो भन्ने अपेक्षा धेरै देखिन्छ । अरुसँगको संवादमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ,’ बस्नेतनिकट स्रोतले अनलाइनखबरलाई भन्यो ।

यसबाहेक अन्य कलाकार र इन्फ्लुएन्सर पनि जेनजी आन्दोलनमा सडकमा देखिन्छन् । सामाजिक सञ्जालबाटै चर्चामा आएका करिश्मा केसी, इभा गिरी, इस्टु कार्कीलगायतका इन्फ्लुएन्सर पनि प्रदर्शनमा देखिएका थिए ।

जस्तो, भदौ २३ गते राज्यपक्षबाट भएको दमनलाई लिएरै उनीहरू कति आक्रोशित बनेका थिए भन्ने उनीहरूकै अभिव्यक्तिले देखाउँछ । सोही दिनमात्र इन्फ्लुएन्सर इस्टु कार्कीले लेखेकी थिइन्, ‘यो रगतको एक–एक गरेर हिसाब निकालिन्छ ।’

सोहीअनुसारको आक्रोश भदौ २४ गतेको सडकमा पनि देखिन्छ । त्यसदिन सरकारी संरचनामा गरिएको क्षतिबाट भने निराश भएको अभिव्यक्ति कार्कीले सञ्जालमै दिएकी छिन् । यद्यपि, यो सबैको जगमा अन्तरिम सरकार बनेपछि भने यी कलाकार र इन्फ्लुएन्सरले खुशी व्यक्त गरेका पोस्ट पनि सञ्जालमा छरपस्ट छन् ।

‘यो इतिहास लेख्न सहयोग गर्ने सम्पूर्ण हातहरूलाई बधाइ छ । नेपालको पहिलो महिला प्रधानमन्त्री ‘सुशीला कार्की,’ कार्की प्रधानमन्त्री बनेपछि खुशी व्यक्त गर्दै इन्फ्लुएन्सर इस्टु कार्कीले लेखेकी छन् । सोही प्रकृतिका पोस्ट अन्य कलाकारहरूले पनि लेखेका थिए । यसरी सञ्जालमा आन्दोलनको सुरुवातदेखि उनीहरूले छाडेका डिजिटल फुटप्रिन्टकै कारण अहिले यी कलाकार र इन्फ्लुएन्सर विवादित बन्न थालेका हुन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?