+
+
Shares

टेडी बियर : शिकार खोल्न गएका राष्ट्रपतिलाई जब नाजुक भालुको माया लाग्यो

कसरी जन्मियो टेडी बियर

कार्टुनबाट प्रेरित भएर रोजले कपडाबाट एउटा सानो भालु बनाइन् । नरम, गोलो र अँगालो हाल्न मिल्ने । मोरिसले त्यो भालुलाई पसलको झ्यालमा राखे र लेखे– टेडिज बियर ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९०२ मा अमेरिकी राष्ट्रपति थियोडोर रूजवेल्टले शिकारमा बाँधिएको भालु मार्न अस्वीकार गरेपछि टेडी बियरको कथा सुरु भयो।

संसारभरका बालबालिका मात्र होइन, युवादेखि वृद्धसम्मलाई मनपर्ने खेलौना हो- टेडी बियर । माया, सुरक्षा, स्मृति र भावनाको प्रतीक बनेको यो खेलौना कुनै कल्पनाबाट मात्र जन्मिएको होइन । यसका पछाडि एउटा ऐतिहासिक, मानवीय र अत्यन्त रोचक वास्तविक कथा लुकेको छ ।

यो कथा सन् १९०२ तिरको हो । त्यतिबेला अमेरिकी राष्ट्रपति थिए थियोडोर रूजवेल्ट । उनलाई सबैले माया गरेर ‘टेडी’ भनेर बोलाउँथे । उनी साहसी, स्पष्टवादी र प्रकृतिप्रेमी नेता मानिन्थे । एक दिन मिसिसिपी राज्यमा राजनीतिक भ्रमणका क्रममा उनलाई शिकारमा सहभागी गराइयो । राष्ट्रपति शिकार गर्न मन पराउँथे, तर उनी निर्दयी थिएनन् । उनी शिकारलाई पनि एउटा जिम्मेवारी र मर्यादाको विषय ठान्थे ।

त्यो दिन शिकार राम्रो भएन । धेरै प्रयास गर्दा पनि रूजवेल्टले कुनै जनावर देखेनन् । राष्ट्रपति शिकार खेल्न आएका छन्, तर खाली हात फर्किनु पर्नेभयो । यसले आयोजकहरूलाई असजिलो बनायो । यही दबाबमा उनका सहयोगीहरूले एउटा सानो र कमजोर कालो भालु समाते । त्यो भालुलाई रुखमा बाँधेर राष्ट्रपति रूजवेल्टलाई बोलाएर भनियो, ‘अब तपाईं शिकार गर्न सक्नुहुन्छ ।’

त्यो दृश्य देखेर राष्ट्रपति स्तब्ध भए । बाँधिएको, थाकेको र प्रतिरोध गर्न नसक्ने जनावरलाई मार्नु उनको नैतिकताले स्वीकार गर्न सकेन । ‘यो कुनै शिकार होइन । यस्तो काम म गर्न सक्दिनँ’ रूजवेल्ट भने ।

उनले त्यो भालुलाई मार्न अस्वीकार गरे र बरू छोडिदिन आदेश दिए ।

यो घटना सानो थियो, तर त्यसले ठूलो प्रभाव छोड्यो । केही दिनमै अमेरिकाका प्रसिद्ध कार्टुनिस्ट क्लिफर्ड बेरीमनले यस घटनालाई लिएर एउटा कार्टुन बनाए । कार्टुनमा राष्ट्रपति रूजवेल्ट दयालु भावमा उभिएका थिए, र अगाडि एउटा सानो, प्यारा भालु देखाइएको थियो । त्यो कार्टुन राष्ट्रिय पत्रिकामा छापियो र अत्यन्त लोकप्रिय बन्यो । भालु अब क्रूर जनावर होइन, दयाको प्रतीक बनेको थियो ।

त्यही कार्टुनले एउटा दम्पतीको ध्यान खिच्यो । उनीहरू थिए– मोरिस मिक्टम र उनकी श्रीमती रोज । उनीहरू न्यूयोर्कमा सानो खेलौना पसल चलाउँथे । कार्टुनबाट प्रेरित भएर रोजले कपडाबाट एउटा सानो भालु बनाइन् । नरम, गोलो र अँगालो हाल्न मिल्ने । मोरिसले त्यो भालुलाई पसलको झ्यालमा राखे र लेखे– टेडिज बियर ।

राष्ट्रपति थियोडोर रूजवेल्टको उपनामलाई जोडेर यसको नाम राखियो । तर उनीहरूले त्यसअघि राष्ट्रपति रूजवेल्टसँग अनुमति मागेका थिए । राष्ट्रपति मुस्कुराए र भने, ‘मेरो नामले खेलौना बेच्दा मलाई आपत्ति छैन ।’

त्यसपछि टेडिज बियर असाध्यै लोकप्रिय भयो । बालबालिकाले मात्रै होइन, वयस्कहरूले पनि यसमा अपनत्व देखाए । यसले केवल खेलौना होइन, भावनात्मक साथीको भूमिका लिन थाल्यो । डर लाग्दा अँगालो हाल्ने, एक्लोपनमा साथ दिने, बाल्यकालको स्मृति जोगाइदिने वस्तु बन्यो ।

रोचक कुरा के छ भने, त्यही समयमा जर्मनीमा पनि मार्गरेट स्टाइफ नामकी महिलाले भालु जस्तै खेलौना बनाइरहेकी थिइन् । उनका भान्जाले डिजाइन गरेको उभिएर बस्न सक्ने भालु पनि लोकप्रिय हुँदै गयो । पछि अमेरिकामा ‘टेडी बियर’ नामले चिनिएको खेलौना युरोपसम्म फैलियो र विश्वव्यापी बन्यो ।

तर टेडी बियरको आत्मा भने त्यही पहिलो घटनाबाट आएको हो । यही कारणले टेडी बियर केवल नरम कपडाको पुतली होइन, करुणा, संरक्षण र मानवीय मूल्यको प्रतीक बन्यो ।

आज कसैले टेडी बियर उपहार दिन्छ भने त्यसको अर्थ प्रेम हुन्छ । अस्पतालमा बिरामी बालकलाई टेडी बियर दिइन्छ । त्यो सान्त्वनाका लागि हो । युद्ध, विपद् वा दुःखको समयमा टेडी बियर बालबालिकाको हातमा आशाको संकेतका रूपमा देखिन्छ ।

यसरी, एक राष्ट्रपतिले गरेको सानो नैतिक निर्णयले संसारलाई एउटा यस्तो उपहार दियो, जुन पुस्तौंपुस्तासम्म भावनासँग बाँधिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?