२७ माघ, डोटी । विपद् जोखिम पूर्वतयारी अभ्यासका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान स्वर्गीय सुरज साउँदका आमाबुवालाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ ।
गत जेठ २२ गते सप्तकोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारीको अभ्यासका क्रममा साउँदको ज्यान गएको थियो । सशस्त्र प्रहरीको ७ नं. वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले स्वर्गीय साउँदको डोटीको दिपायल सिलगढी नगरपालिका-३, कैलडास्थित घरमै पुगेर आमाबुवालाई नगदसहित सम्मान गरेका हुन् ।
सुवेदीले ‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’बाट स्वर्गीय साउँदका बुवा नन्नाबहादुर साउँदलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका छन् । भेटघाटका क्रममा बाहिनीपति सुवेदीले साउँदका परिवारको अवस्था, आवश्यकता र आगामी दिनमा सहकार्यका विषयमा समेत छलफल गरेका थिए ।
‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका अधिकृतद्वारा स्थापना गरिएको थियो ।
चार वर्षअघि सशस्त्र प्रहरी बलमा सेवा प्रवेश गरेका सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्सामा दरवन्दी भई सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा कार्यरत रहेका थिए । उनले प्रदेशस्तरीय मनसुनजन्य विपद् सिमुलेसन अभ्यासका सप्तकोशी नदीमा ज्यान गुमाएका थिए ।
प्रतिक्रिया 4