News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता प्रदीप खड्काले नेपाली फिल्म उद्योगमा पारिश्रमिक नपाउने समस्या र असन्तुष्टिले आफूलाई मानसिक रूपमा असहज बनाएको बताए ।
- उनले कलाकार र प्राविधिकहरूको पारिश्रमिक सुनिश्चित गर्न आर्टिस्ट म्यानेजमेन्ट प्रणाली लागू गर्नुपर्ने सुझाव दिए ।
मुलुकमा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली फिल्मी क्षेत्र फरक विषयले तातिएको छ । खासगरी प्राविधिक, कलाकारहरूले पारिश्रमिक नपाएको भन्दै धमाधम मुख खोल्दैछन् । यता केही निर्माता, निर्देशक त्यसको प्रतिरक्षामा उभिएका छन् ।
यही मेसोमा अभिनेता प्रदीप खड्काले काठमाडौंको फिल्म उधोगभित्र फैलिरहेको विवाद र असन्तुष्टिको डडेलोले आफूलाई पनि मानसिक रूपमा असहज बनाएको बताएका छन् । चितवनमा काममा केन्द्रित हुन खोज्दा–खोज्दै पनि उद्योगभित्रको अवस्था सम्झँदा आफू उकुसमुकुस महसुस गरिरहेको उनको भनाइ छ ।
पारिश्रमिक नपाएको विषयमा कलाकार र प्राविधिकहरू एकपछि अर्को गर्दै खुल्न थालेका समाचार अनलाइनखबरमा पढेपछि अभिनेता प्रदीप खड्काले गम्भीर रूपमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनका अनुसार यो एक व्यक्तिको निजी समस्या मात्र नभएर, समग्र चलचित्र उद्योगको भविष्यसँग जोडिएको संवेदनशील विषय हो ।
‘विशेषगरी अनलाइनखबरले निरन्तर रूपमा चलचित्र उद्योगका अँध्यारा पाटा सार्वजनिक गरिरहेको छ । ती समाचारहरू पढेपछि यो विषयमा बोल्नैपर्छ भन्ने महसुस भयो, ’प्रदीपले भने, ‘साँच्चै भन्नुपर्दा, एक कलाकारको हैसियतले लज्जित महसुस भइरहेको छ । हामी कस्तो उद्योगमा काम गरिरहेका छौं भन्ने प्रश्न आफैंलाई गर्नुपर्ने अवस्था आएको छ ।’
देशभित्र रोजगारीको अभाव हुँदा हजारौं युवा विदेश पलायन भइरहेका छन्। तर काम हुँदाहुँदै, चर्चा र व्यस्तता हुँदाहुँदै पनि किन नेपाली फिल्मका चर्चित सेलिब्रेटीहरू विदेश जाने निर्णय गर्छन् ?
यस विषयमा अभिनेता प्रदीप खड्काले संकेत गर्दै भनेका छन्, ‘कारण धेरै टाढा छैन । काम गरेको पारिश्रमिक समयमै पाइयो भने धेरै हदसम्म यो क्रम रोकिन सक्छ ।’
उनको प्रश्न छ– ‘यदि श्रमको मूल्य नै सुनिश्चित छैन भने उद्योगको भविष्य के हुन्छ ?’ उनले अब यस विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको बताएका छन् ।
अचानक यस मुद्दामा प्रदीप किन यति गम्भीर देखिए ? के उनी स्वयं पनि पीडित हुन् ?
यसपटक उनले खुलेरै स्वीकार गरेका छन् । पारिश्रमिक नपाउने धेरै फिल्मकर्मीझैँ आफू पनि पीडाबाट गुज्रिरहेको उनले बताए । उनले खुलासा गरेअनुसार, फिल्म उद्योगबाट उनले टन्नै पारिश्रमिक लिन बाँकी छ । तर त्योभन्दा ठूलो रकम विज्ञापनहरूबाट उठाउन बाँकी रहेको छ ।
प्रदीप भन्छन्, ‘फिल्मबाट पैसा नपाउँदा त्यति दुःख लाग्दैन । तर यहाँ ठूला भनिएका एजेन्सी र कम्पनीहरूले विज्ञापनमा काम गरेको पारिश्रमिक २–३ वर्षसम्म नदिँदा, अनावश्यक रूपमा झुलाउँदा पीडा हुन्छ ।’ उनका अनुसार केही एजेन्सीहरूले कम्पनीबाट पैसा लिएपछि पनि कलाकारलाई भुक्तानी नगर्ने, जानाजानी ढिलाइ गर्ने प्रवृत्ति छ । यो केवल आर्थिक बेइमानी मात्र नभई कलाकारप्रतिको अपमान भएको उनको बुझाइ छ ।
नेपालका नाम चलेका कलाकारको त यस्तो अवस्था छ भने नयाँ र ठिकठाक कलाकारको अवस्था कस्तो होला ?
प्रदिपको यो अभिव्यक्तिले उद्योगभित्रको असन्तुलन र असुरक्षा कतिसम्म वढिरहेको छ स्पष्ट रूपमा देखाएको छ ।
अब अवस्था नसुध्रिएमा सम्बन्धित व्यक्ति र कम्पनीहरूको नाम सार्वजनिक गरिदिने चेतावनी उनले दिए ।
उनका अनुसार नेपाली फिल्म उद्योगमा काम गर्ने धेरै कलाकारका लागि आफ्नो पारिश्रमिक उठाउनु ठूलो चुनौती बनेको छ । यस्तो अवस्था सबैलाई थाहा हुँदाहुँदै पनि मान्छेहरू किन मौन छन् ? भन्दै उनले प्रश्न उठाएका छन्।
यो समस्याको समाधानका लागि सबै सरोकारवाला पक्षले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने अवस्था उनले औंल्याए ।
फिल्म उद्योगमा करिब एक दशकदेखि सक्रिय रहेका सुपरस्टार खड्काले पेमेन्ट रिकभर गर्नु असाध्यै कठिन प्रक्रिया भएको बताउँदै भने, ‘विगतमा चर्चित कलाकारहरू किन विदेश पलायन भए ? यसको जवाफ यहीँ वरिपरि छ । सायद आफ्नो पेशागत र उद्योगको इज्जत जोगाउन कोही खुलेर बोलेनन् ।’
चिन्तासँगै प्रदीपले यस समस्याको समाधान पनि सुझाएका छन्– उद्योगलाई व्यवस्थित र व्यवसायिक बनाउन तत्काल ‘आर्टिस्ट म्यानेजमेन्ट’को अवधारणा लागू गर्नुपर्छ । हरेक निर्मातासँगको सम्झौता अब म्यानेजमेन्ट कम्पनीमार्फत हुने व्यवस्था भए पछि पारिश्रमिक पाउने-नपाउने विवाद प्रायः समाप्त हुनेछ । प्रदीपका अनुसार, वलिउड हलिउड उधोगमा
यही शैली अपनाइएको हुँदा त्यस्तो समस्या कमै देखिन्छ ।
यदि नेपालमा पनि सबै कलाकार र प्राविधिकहरू यस प्रणालीमा काम गर्न सुरु गरे भने, उद्योगमा पारिश्रमिक र व्यवस्था दुवै पक्षका लागि धेरै ठिक हुनेछ । यसो भयो भने यो उधोग थप व्यवसायिक बन्दै जानेथियो ।
उनका अनुसार एक कलाकारले ट्याक्स व्यवस्थापन, फाइनान्सियल म्यानेजमेन्टदेखि कानुनी प्रक्रिया आफैं सम्हाल्न गाह्रो हुन्छ । त्यसका लागि प्रोफेशनल आर्टिस्ट म्यानेजमेन्ट कम्पनी अनिवार्य छ ।
उनलेनेपाली फिल्म उद्योगको अर्को गम्भीर समस्या पनि औंल्याएका छन् । कलाकारको ब्रान्ड र नाम वर्षौसम्म प्रयोग गर्ने, तर पारिश्रमिक नदिने प्रवृत्ति । यसले कलाकारको आर्थिक अवस्था मात्र होइन, पेशागत सम्मानमाथि पनि प्रश्न उठाएको छ ।
चलचित्र ‘प्रेम गीत’ बाट यस उधोगमा एकाएक राज
गर्दै आएका प्रदीपले त्यसपछी प्रेम गीत २, लिलीविली, प्रकाश, पुजार सार्की, एक्लो जस्ता धेरै फिल्म खेलेका छन् । आज पनि उनी युवापुस्तामाझ उच्च लोकप्रियता राख्ने थोरै अभिनेतामध्ये एक हुन् । यति मात्रै हैन उनी यस उद्योग सुधारका लागि पटक-पटक सार्वजनिक रुपमा वोल्ने असाध्यै कम कलाकारमा पर्छन् ।
प्रतिक्रिया 4