News Summary
Generated by OK AI. Editorially reviewed.- महामन्त्री डा. धवलशमशेर राणासहित १८३ जना नेताले बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको घोषणा गरेका छन्।
- पार्टी छोड्नुको कारण खुलाउँदै राणाले “हिन्दुराष्ट्र र राजा भजाएर भोट मात्रै मागे, अब राप्रपाबाट पार लाग्दैन” भनी आरोप लगाए।
- चैत १५ को आन्दोलनपछि राणा पक्राउ पर्दा पार्टीले रिहाइको पहल नगरेको र उनलाई जिम्मेवारीबाट हटाएपछि विवाद उत्कर्षमा पुगेको थियो।
२१ जेठ, काठमाडौं । महामन्त्री डा.धवलशमशेर राणा सहित १८३ जनाले बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेको घोषणा गरे । २०४६ सालको राजनीतिक परिवर्तनपछि गठन भएको राप्रपा अहिलेसम्म पटक-पटक विभाजित भइसकेको छ ।
राजतन्त्र स्थापनालाई प्रमुख एजेण्डा बनाएको यो पार्टीमा टुटफुट र जुट नौलो विषय रहेन । तर पूर्वपञ्चहरूको यो पार्टी विभाजन हुँदा देखाउने कारण त्यही राजतन्त्र बन्दै आएको छ । अझै स्पष्ट शब्दमा भन्दा को बढी राजावादी देखिने भन्ने होडबाजीलाई प्रमुख कारण देखाएर पार्टी विभाजित गर्ने गरेको देखिन्छ ।
पार्टी फुटाउनुको कारण खुलाउँदै राणाले अनलाइनखबरसँग भने, ‘हिन्दुराष्ट्र र राजा भजाएर भोट मात्रै मागे, अब राप्रपाबाट पार लाग्दैन ।’
प्रतिनिधिसभा सदस्य तथा दुई पटक नेपालगन्ज उपमहानगरको मेयर रहिसकेका राणाले विज्ञप्तिमा मूल नेतृत्व नै राजतन्त्रको पक्षमा नदेखिएको उल्लेख गरेका छन् । ‘राजसंस्था पुनस्र्थापनाका आन्दोलनहरू पटक–पटक तुहाउन मूल अगुवा नै अग्रसर भए,’ उनले भनेका छन् ।
संसद्मा संवैधानिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता नगरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । राणाले भनेका छन्, ‘जुन मान्यता र उद्धेश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सबै नामेट पार्ने मनोवृत्ति यही कार्यकालमा देखियो । यिनै दुःखद परिदृश्यबीच जीवन समर्पण गरेको पार्टीबाट अलग हुने परिस्थिति बन्यो ।’
जबकी राप्रपाको राजनीतिक दस्तावेजमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्ने भनेको छ । दस्तावेजमा भनिएको छ, ‘अबको राजसंस्था परिवर्तनका पक्षधरहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको संस्था हुनेछ ।’

राणा पक्षले राजसंस्था पुनर्स्थापना आन्दोलन तुहाउन अग्रसर भएको भनेको ‘मूल अगुवा’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भएको बुझ्न गाह्रो छैन । तर केही वर्ष अघिसम्म लिङ्देन र राणाको ‘केमिस्ट्री’ एकदमै मिलेको थियो ।
त्यसैको परिणाम थियो, २०७८ सालमा निवर्तमान अध्यक्ष कमल थापाको पराजय । त्यतिबेला राणाको साथ पाएका लिङ्देनले थापालाई दुई सय मतले हराएका थिए ।
रोचक के छ भने त्यतिबेला आफू अध्यक्षमा पराजित हुनुमा दरबारको हात रहेको थापाको बुझाई थियो । पार्टीको आन्तरिक राजनीतिमा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको थापाको आरोप थियो ।
राप्रपा महाधिवेशन परिणामपछि थापाले नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई होइन पूर्व राजा ज्ञानेन्द्रलाई बधाइ दिए ।
उनले भनेका थिए, ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्दछु । बधाई जीबीबी शाह धन्यवाद ।’
२०७८ मंसिरमा चुनाव हारेका थापाले त्यही वर्षको माघ २५ मा राप्रपा छाडे । उनले पार्टी छाड्नु अघि नै राजसंस्था पुनर्स्थापना एजेण्डा नबोक्ने घोषणा गरिसकेका थिए । उनी अहिले राप्रपामा फर्किसकेका छन् ।
जेठ १६ गते पूर्वअध्यक्षहरू कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति निकालेर धवलशमशेर लगायतलाई राजसंस्था स्थापनाकै नाममा पार्टी नछाड्न आग्रह गरे । ‘पार्टी एकतालाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढ्न सक्यौं भने छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्छौं । हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्नसक्छौं ।’
राजसंस्था पुनर्स्थापनाकै आन्दोलन बन्यो, लिङ्देन र राणा बीचको सम्बन्धमा दरार आउनुको प्रमुख कारण । घटना २०८१ चैत १५ गतेको हो । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति लगायत विरोध प्रदर्शनको आयोजक थिए ।
आफैं आयोजक नभए पनि राप्रपाले विज्ञप्ति निकालेर आन्दोलनको समर्थन जनायो । चैत १४ गते जारी राप्रपाको विज्ञप्तिमा भनिएको छ, ‘भोलि चैत १५ गते काठमाडौंको तिनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंक्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आव्हान गर्दछ ।’

अध्यक्ष लिङ्देनले विभिन्न सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा चैत १५ गतेको आन्दोलनलाई आफ्नो पार्टीको साथ र सहयोग रहेको बताएका थिए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भने आन्दोलन सफल बनाउन सक्रियतापूर्वक लागेका थिए ।
प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गयो । हिंसात्मक गतिविधि गरेको आरोप राणा, मिश्र पक्राउ परे ।
त्यसपछि राजेन्द्र लिङ्देन लगायतका नेताहरूले ‘युटर्न’ लिए । आफूहरूलाई रिहा गराउन पार्टीले पहल नगरेको भन्दै राणा असन्तुष्ट बने । ‘पछि पो थाहा भयो हामीलाई पक्राउ गर्न लबिङ गरेर हिंड्ने राप्रपाकै नेताहरू रहेछन्,’ राणा पक्षका एक नेताले अनलाइनखबरसँग भने ।
मुखमा क्यान्सर भएको ठाउँमा मासु पलाएको र परीक्षण गर्दा राम्रो उपचारको आवश्यक देखिएपछि जिल्ला अदालत काठमाडौंले राणालाई हाजिरी जमानी रिहा गर्ने आदेश दियो । असार २ गते उनी ३ लाख धरौटीमा रिहा भए ।
अध्यक्ष लिङ्देनले राणालाई संगठन विभाग प्रमुखबाट बर्खास्त गरे । ‘जुन व्यवस्था विरुद्ध लडेको थियो, त्यही व्यवस्थाले क्यान्सर उपचारका लागि रिहा गर्दा आफ्नै पार्टीले कारवाही गरेपछि महामन्त्रीज्यू मर्माहत हुनु भएको थियो,’ राणा निकट एक नेताले भने, ‘आधारभूत मानवीय संवेदना पनि पार्टी नेतृत्वले देखाएन ।’
राणा भने पार्टी छोड्ने निर्णयमा आफूले केहि महिना अघि मात्र पुगेको बताउँछन् । उनी भन्छन्, ‘अब यहाँ बसिरहेर खाली समय बर्बाद गर्ने होइन। एउटा नयाँ जोस र जाँगरका साथ बाहिर निस्किनुपर्छ, नयाँ प्रयास गर्नुपर्छ भनेर निस्किएका हौँ।’

राप्रपाका अर्का महामन्त्री भुवनकुमार पाठक भने पार्टीमा सैद्धान्तिक विवाद नभएको बताउँछन् । पाठक भन्छन्, ‘पार्टीमा सैद्धान्तिक विवाद भएको मलाई थाहा छैन । जेठ अन्तिम साता बस्ने बैठकले महाधिवेशनको मिति तय गर्ने भन्दाभन्दै पार्टी छोड्नुको तुक छैन ।’
पार्टी छोडेर हिंड्नु भन्दा असन्तुष्टि महाधिवेशनमै राखेको भए राम्रो हुने पाठक बताउँछन् । ‘राजसंस्था र हिन्दुराष्ट्रप्रति त्यत्राे प्रतिबद्धता हुन्थ्याे भने चित्त नबुझेका कुरा महाधिवेशनमा राख्नु पर्थ्यो,’ पाठक भन्छन् ।
राणा भने पार्टीको महाधिवेशन पनि नगर्ने र नेतृत्व परिवर्तन पनि हुन नसक्ने अवस्था देखियो बताउँछन् । ‘सबैभन्दा पहिले त महाधिवेशन जेठमा गर्ने निर्णय हाम्रो सबैभन्दा उच्च कमिटी केन्द्रीय समितिले गरिसकेको छ। फेरि किन निर्णय गर्नुपर्यो ? निर्णय त भइसक्यो तर त्यसलाई लत्याइयो’, राणा भन्छन् ।
राजनीति विश्लेषक डा. चन्द्रदेव भट्ट भने कार्यशैलीगत भिन्नता हुँदा पनि एजेण्डाले कारण देखाउने गरिएको बताउँछन् । उनी भन्छन्, ‘राप्रपा मात्र होइन सबै दलमा आन्तरिक विवाद हुँदा सैद्धान्तिक लेपन लगाउने गरिन्छ । रास्वपा लगायतका दलहरूले एजेण्डा हाईज्याक गरिसके, राप्रपाका नेताहरू राजतन्त्र–हिन्दुराष्ट्र भन्दै टुटफुटकै राजनीतिमा छन् ।’
प्रतिक्रिया 4