News Summary
Generated by OK AI. Editorially reviewed.- पाब्लो पिकासोको लेस डेमोजेल्स डि एभिनन चित्रलाई क्युबिजम शैलीको सुरुवात र आधुनिक कलाको प्रस्थानविन्दु मानिन्छ ।
- अमेरिकी चित्रकार हेनरी टेलरले सोही चित्रलाई अश्वेत महिलाका रूपमा पुनः सिर्जना गरी पेरिसमा प्रदर्शन गरेका छन् ।
सन् १९०७ मा पाब्लो पिकासोले पेरिसको आफ्नो स्टुडियोमा केही कलाकार र साथीहरूलाई बोलाए । ६ महिनादेखि बनाइरहेको एउटा चित्र उनीहरूलाई देखाउने पिकासोको चाह थियो । तर त्यो चित्र देखेर लगभग सबैजना अचम्ममा परे । उनीहरूलाई त्यो फिटक्कै मन परेन ।
फ्रान्सेली चित्रकार जोर्जेस ब्राकलाई त त्यो चित्र हेर्दा पेट्रोल पिएजस्तै अप्ठ्यारो महसुस भयो । अर्का चित्रकार हेनरी माटिसले चित्रमा भएका महिलाहरूलाई कुरुप भनेर प्रतिक्रिया । त्यसपछि करिब १० वर्ष (सन् १९१६ ) सम्म त्यो चित्र फेरि कसैलाई देखाइएन ।
आज त्यो चित्र बनाएको १०० वर्षभन्दा बढी समय बितिसकेको छ । ‘लेस डेमोजेल्स डि एभिनन’ नाम दिइएको यो चित्रलाई लिएर हेर्ने मान्छेमा मतभेद पाइन्छ । चित्रलाई कसैले राम्रो त कसैले नराम्रो भन्छन् । तर, त्यही मतभेदले यो चित्रलाई पिकासोको सबैभन्दा चर्चित तर विवादित चित्रमध्ये एक बनाएको छ ।
अहिले यो चित्रलाई अमेरिकी चित्रकार हेनरी टेलरले आफ्नै तरिकाले फेरि बनाएका छन् । टेलरको नयाँ चित्र पेरिसको ‘म्युजियो नेसनल पिकासो’ मा प्रदर्शन भइरहेको छ । टेलरको दावी अनुसार पिकासोको यो पुरानो चित्र अफ्रिकी कलाबाट धेरै प्रभावित थियो । तर, पिकासो आफैंले भने यो कुरा कहिल्यै स्वीकार गरेनन् ।
पिकासोको उक्त तेल चित्रमा बार्सिलोनाको एउटा वेश्यालयमा रहेका पाँचजना नग्न महिलाहरू देखाइएका छन् । तीमध्ये दुईजनाको अनुहार मुकुट जस्तो छ । तीनजनाले सिधै दर्शकलाई हेरिरहेका छन् । उनीहरूको शरीरका अंगहरू अनौठो र टुक्राटुक्रा परे जस्तो देखिन्छन् । जुन सामान्यत: पिकासोको शैली होइन । यो चित्रबाट पिकासोले आफ्नो शैलीमा एउटा ठूलो परिवर्तन ल्याएका थिए । विज्ञहरूले पनि सो कुरा बताउने गर्छन् ।
म्युजियमकी क्युरेटर जोआन स्नेरेकका अनुसार यस चित्र पछि पिकासोले पहिलेको जस्तो सिधा देखिने र भावनात्मक चित्र कोर्न छाडेका थिए । उनले शरीर र खाली ठाउँलाई टुक्रा-टुक्रा पारेर नयाँ तरिकाले कोर्न थालेका थिए । यही कुरा नै क्युबिजम र आधुनिक कलाको विकासका लागि महत्त्वपूर्ण बनेको उनको भनाइ छ ।
त्यस्तै यो चित्रको नामको कथा पनि रोचक छ ।
पहिले ‘लेस डेमोजेल्स डि एभिनन’ (एभिननका युवतीहरू) को पहिलो नाम ‘ले बोर्डेल डि एभिनन’ (एभिननको वेश्यालय) थियो । नामलाई लिएर विवाद भएपछि सन् १९१६ मा यसको नाम फेरिएको थियो ।
यद्यपि यो चित्रलाई क्युबिजम शैलीको सुरुवात मानिन्छ । क्युबिजम भनेको बीसौं शताब्दीमा आविष्कार भएको कला शैली हो । यसमा वस्तुहरूलाई वास्तविक देखाउनुको सट्टा ज्यामितीय आकार (त्रिभुजाकार, वर्गकार आदि) र टुक्रा-टुक्रा पारेर देखाइन्छ ।
यस शैलीमा कुनै पनि मान्छे वा वस्तुलाई विभिन्न कोणबाट हेरेर एउटै चित्रमा मिलाइन्छ । स्नेरेकका अनुसार यो चित्र बनाउँदाको बखत पिकासोले चित्र कोर्ने सबै तरिकाहरू एकैचोटि बदलिदिएका कारण धेरै जना अचम्ममा परेका थिए । र, यो शैली तत्कालीन समयका कलाकारहरूलाई मन परेको थिएन ।
तर, धेरै जना यो शैली पिकासोको आफ्नो नभएको मत राख्छन् । पिकासोले यो तरिका सिधै अफ्रिकाबाट सिकेको भन्ने धेरैको मत छ । यो चित्र बनाउनु केही महिनाअघि पिकासोलाई अफ्रिकी मुकुट र मूर्तिहरूमा निकै रुचि जागेको थियो । उनका साथी माटिसले सन् १९०६ मा कंगोको एउटा सानो मूर्ति किनेका थिए । त्यो देखेका पिकासो त्यसपछि पेरिसको एउटा संग्रहालयमा रहेको अफ्रिकी खण्डमा लगातार जान थालेका थिए । त्यहाँ बसेर सयौं स्केचहरू बनाएका थिए ।
स्नेरेकका अनुसार ती मूर्तिहरूको रूप र भाव पिकासोलाई असाध्यै मन परेको थियो । ती अनुहारहरू साधारण तर अनौठा र मनमा डर पैदा गर्ने खालका थिए । यही कारण पिकासो वास्तविक चित्र कोर्न छाडेर अमूर्त र फरक प्रकारको चित्र कोर्न मोडिएका थिए ।
आफ्नो कलामा अफ्रिकी कलाको यति ठूलो हात भए पनि पिकासोले यसलाई लुकाउन खोजे । सन् १९२० मा उनले एउटा अन्तर्वार्तामा ‘मैले त अफ्रिकी कलाबारे कहिल्यै सुनेकै छैन’ सम्म भ्याए । यही कारण पिकासोमाथि ‘सांस्कृतिक चोरी’को आरोप समेत लाग्यो । आलोचकहरूले पिकासोको उक्त व्यवहारले गर्दा अफ्रिकी कलालाई ‘पिछडिएको’ सम्झने चलनलाई झन् बल मिलेको समेत भन्ने गर्छन् ।
‘लेस डेमोजेल्स’ लाई नयाँ रूपमा
हेनरी टेलरले सन् २००७ मा पेरिस घुम्न जाँदा पिकासोको यो चित्र फेरि हेरे । यो पिकासोले चित्र बनाएको ठीक १०० वर्ष पछिको कुरा थियो । टेलरको नयाँ चित्रको नाम ‘कङ्गोदेखि राजधानीसम्म र फेरि अश्वेत’ (२००७) हो ।
यो अहिले पेरिसको म्युजियममा उनको कलाको प्रदर्शनीमा राखिएको छ । उनले चित्रमा रहेका पाँच महिलाको उठ्ने-बस्ने तरिका र दुईवटा मुकुट जस्ता अनुहारलाई पहिलेकै जस्तो राखेका छन् । तर पिकासोको चित्रमा गोरा छाला भएका ती महिलाहरूलाई टेलरले कालो छाला (अश्वेत) बनाएका छन्, जसले गर्दा यो चित्र अफ्रिकी कलासँग जोडिएको प्रष्ट देखिन्छ ।
अमेरिकामा अश्वेत (काला) मान्छेहरूको जीवनका चित्र बनाउन टेलरले यसलाई आफ्नै सामाजिक र सांस्कृतिक नजरबाट हेरेका छन् । स्नेरेकका अनुसार टेलरले प्रायः समाजमा पछाडि परेका वा ठाउँ नपाएकाहरूलाई आफ्नो चित्रमा स्थान दिन्छन् ।
त्यस्तै यी दुई चित्रले महिलाहरूलाई हेर्ने दृष्टिकोण पनि फरक देखाउने स्नेरेकको भनाइ छ ।
पिकासोको महिलाहरूसँगको सम्बन्ध राम्रो थिएन भन्ने कुरा उनका चित्रहरूमा पनि देखिन्छ । उनले आफ्नी एक प्रेमिका फ्रान्स्वा जिलोटलाई महिलाहरू ‘या त देवी हुन् या खुट्टा पुस्ने म्याट’ भनेर भनेका थिए । उनको यो अभिव्यक्ति पिकासोको चित्रमा देखिएको आचोलकहरू बताउँछन् । उनले महिलाहरूको शरीरलाई काट्नु उनको रिस र व्यक्तिगत जीवनको प्रभाव भएको आलोचकरूको भनाइ छ ।
सुरुमा ब्राकले पिकासोको उक्त चित्र मन पराएका थिएनन् । तर, पछि उनले मन पराए । पछि त उनले आफैंले यस्तै कोणीय शैलीमा चित्र कोर्न थाले । सन् १९२० को दशकसम्म आइपुग्दा त उनले यसलाई उत्कृष्ट कला मान्न थाले । लेखक आन्द्रे ब्रेटनले यसलाई क्रान्तिकारी कला भन्दै एक धनी संकलकलाई किन्न लगाए । पछि सन् १९३९ मा न्युयोर्कको प्रख्यात म्युजियम मोमाले यसलाई आफ्नो संग्रहमा राख्यो । त्यसले पनि चित्रको चर्चा चुलियो । आज पनि यहीँ म्युजिममा यो चित्र राखिएको छ ।
यसरी १०० वर्ष बितिसक्दा पनि यो चित्र विवादित छ । आजका कलाकारहरू पनि चित्रको विषयलाई लिएर विभाजित छन् ।
प्रतिक्रिया 4