+
+
Shares

‘पोस्टमार्टम गर्न दिएको भए दरबार हत्याकाण्डका धेरै रहस्य खुल्थे’

युवराज दीपेन्द्रले ‘कालो पदार्थ’ अथवा ह्विस्की जस्ता कुराहरू सेवन गरेको भन्ने प्रतिवेदनमा छ। हामीले त्यो कुरा देख्न पायौं। रगत सङ्कलन गरेर नेपालमा नभए विदेशकै राम्रो फरेन्सिक साइन्स ल्याबहरूमा लगेर परीक्षण गर्न सकिन्थ्यो। त्यो ‘कालो पदार्थ’ भनेको के हो? कति मात्रामा थियो? अल्कोहल कति मात्रामा लिएको देखिन्छ? जस्ता कुराहरू त अटोप्सी नगरे पनि फरेन्सिक साइन्सको ल्याबले झन् सहजै पत्ता लगाइदिन सक्थ्यो नि !

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते ८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०५८ सालको दरबार हत्याकाण्डपछि तत्कालीन मुमाबडामहारानीको निर्देशनका कारण फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीको टोलीलाई पोस्टमार्टम गर्न दिइएन ।
  • पर्याप्त स्वास्थ्य विवरण नभएकाले गलत विश्लेषण हुने भन्दै डा. वस्तीले छानबिन समितिलाई दरबार हत्याकाण्डको मेडिको–लिगल रिपोर्ट दिन मान्नुभएन ।
  • पोस्टमार्टम र प्रयोगशाला परीक्षण गर्न पाएको भए दीपेन्द्रको मृत्युको समय, आत्महत्या वा हत्या र नशालु पदार्थको मात्रा सजिलै पत्ता लाग्ने थियो ।

२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्ड नेपाली इतिहासकै सबैभन्दा दर्दनाक र रहस्यमय घटना हो। घटनाको सत्यतथ्य बाहिर ल्याउन वैज्ञानिक अनुसन्धान (फरेन्सिक जाँच) को भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्थ्यो। तर, तत्कालीन समयमा फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती सहितको टोलीलाई छाउनी अस्पताल पुर्‍याएर पनि अन्तिम समयमा अटोप्सी (पोस्टमार्टम) गर्न दिइएन।

प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको दुई सदस्यीय छानबिन समितिले सात दिन लगाएर तयार पारेको प्रतिवेदनको निष्कर्षलाई धेरै विश्वास गरेनन्। जसमा युवराज दीपेन्द्रले सबैको हत्या गरेको र आफैं आत्महत्या गरेको भनिएको थियो।

झन्डै साढे दुई दशकपछि फर्केर हेर्दा, यदि त्यतिबेला पोस्टमार्टम गर्न दिइएको भए के हुन्थ्यो ? युवराज दीपेन्द्रले आत्महत्या नै गरेका हुन् वा होइनन्, उनले कुन नशा लिएका थिए, र राजा वीरेन्द्रको मृत्यु कहिले भएको थियो भन्ने वैज्ञानिक तथ्य कसरी बाहिर आउँथ्यो ?  पोस्टमार्टम गर्न पाएको भए ? यो घटनाका कुन कुन पक्ष उजागर हुन्थे होलान् ? यिनै प्रश्नको सेरोफेरोमा रहेर फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीसँग अनलाइनखबरका लागि सन्त गाहा मगर र पुष्प चौलागाईंले गरेको संवादको सम्पादित अंश :

हामीले झन्डै साढे दुई दशक पुरानो घटना सम्झाउन खोज्दैछौं। २०५८ जेठ १९ गते दरबारमा त्यस्तो घटना भएको बेलामा डाक्टर सा‘ब कहाँ हुनुहुन्थ्यो ? त्यो घटना यहाँले कसरी थाहा पाउनुभयो ?

दरबार हत्याकाण्डको त्यो रात : फरेन्सिक विज्ञ डा. वस्तीलाई किन रातारात लुकाएर घर पुर्‍याइयो ?

घटना थाहा पाउने सन्दर्भ र त्यो दिनको मेरो संयोग अलि फरक किसिमको छ। हामी तीन जना फरेन्सिक मेडिसिनका विशेषज्ञ, काठमाडौं प्रहरी कार्यालयका डीएसपी र इन्स्पेक्टर, काठमाडौंका सरकारी वकिल तथा सिडिओ सा’बबीच साँझ ठमेलको एउटा होटलमा सानो मीटिङको आयोजना गरिएको थियो।

मीटिङ अलि ढिलो, करिब ७ बजेतिर शुरु भयो। मीटिङ सिध्याएर खाना खाने क्रम चल्यो। कार्यक्रम सकिन लाग्दा एक किसिमको अनौठो आभास भयो, जसको कारण पछि मात्रै थाहा पायौं।

प्रहरी साथीहरू अचानक हराउनुभयो। खाना खाँदाखाँदैको बीचबाट हतार–हतार गरेर उहाँहरू निस्किनुभयो। सिडिओसा’ब पनि हराउनुभयो। त्यसपछि सरकारी वकिल र हामी मात्रै त्यहाँ रहन पुग्यौं।

हामीले ‘के भयो यस्तो?’ भन्दा एकछिनपछि एक जना जुनियर प्रहरी अधिकृतले आएर ‘सा’बहरू कतै जानुभयो, सरहरूलाई घर पुर्‍याइदिनु भन्नुभएको छ’ भनेर खबर गरे। हामीले पनि केही काम पर्‍यो होला भन्यौं। अनि उनीहरूले गाडीमा हामीलाई आ–आफ्नो घर पुर्‍याइदिए।

त्यतिखेर हामी तीन जना विशेषज्ञ थियौं— डा. प्रमोद श्रेष्ठ, डा. तुलसी कँडेल र म।  प्रहरीहरूसँग जटिल (कम्प्लिकेटेड) केसहरूमा अनुसन्धानलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न नै त्यो दिन खाना सहितको मीटिङ आयोजना गरिएको थियो। तर, त्यस दिन हामीलाई घर पुर्‍याइयो, हामीलाई केही पनि थाहा भएन।

राति करिब ३ बजेतिर मेरो साढुदाइले क्यानडाबाट फोन गर्नुभयो। म सुतिरहेको बेला उहाँको धेरै पटक कल आएछ। फोन उठाएपछि उहाँले ‘बीबीसी हेर्नुहोस् डाक्टर’ भन्नुभयो। बीबीसी हेर्दा राजदरबार र छाउनी अस्पताल क्षेत्रका दृश्य तथा खबरहरू आइरहेका थिए। त्यो देखेपछि बल्ल थाहा भयो— हिजो बेलुका प्रहरी र सिडिओसा’ब किन हामीलाई खबरै नगरी हतार–हतार निस्किनुभएको रहेछ।

यहाँहरूलाई पटक पटक वीरेन्द्र सैनिक अस्पताल पुर्‍यायाएर पनि पोस्टमार्टम गर्न दिइएन होइन ?

त्योभन्दा अलि अगाडितिर जाऔं। किनभने यो कहिल्यै बिर्सन नसकिने र मेरो व्यावसायिक कार्यसँग सम्बन्धित केस हो।

पहिलो सद्गतको दिन (जुन दिन राजा–रानी र युवराज दीपेन्द्र बाहेकका अन्य मृतकहरूको सद्गत गरियो) बिहानै प्रहरीले हामी तीनै जना डाक्टरलाई फोन गर्‍यो। अनि हामीलाई करिब ९–१० बजेतिर छाउनी अस्पताल लिएर गयो।

हामी तीनै जनालाई छाउनी लगेर एउटा कोठामा बस्न दिइयो। हामीलाई ‘त्यहाँ पोस्टमार्टम गर्नुपर्ने’ भनियो। ‘शवहरूलाई माथि (टिचिङ अस्पताल) लैजाने कुरा भएन, त्यहीं तपाईंहरूले गएर गरिदिनुपर्छ’ भनेर हाम्रा हेल्परहरू सहित हामीलाई तयारी अवस्थामा राखियो।

पोस्टमार्टमका उपकरण लगायत कुराहरू कसरी व्यवस्थापन गर्ने भनेर हामीले सबै तारतम्य मिलाएका थियौं। त्यहाँ हाम्रो एकदम लामो बसाइ भयो। खाना खाएरै गएका थियौं, त्यहाँ पनि चिया–खाजा खाइयो। करिब साढे तीन–चार बजेतिर जब ट्रकमा शवहरू राखेर आर्यघाट लैजाने तयारी भयो, त्यतिखेर हामीलाई त्यहाँका आर्मीका ठूला हाकिमसा’बहरूले ‘मुमाबडामहारानीले मानिबक्सेन, त्यसैले अटोप्सी नगर्ने रे’ भनेर खबर गर्नुभयो। दिनभरिको बसाइपछि यहाँहरू जानुस् भनेर प्रहरीले फेरि हामीलाई आ–आफ्नो घर पुर्‍याइदियो। त्यसपछि टिभीमा ती सबै दृश्यहरू हेरियो।

त्यसको तीन–चार दिनपछि, जेठ २२ गते बिहान पौने ४ बजेतिर राजा घोषित भइसक्नुभएका दीपेन्द्रको निधन भयो भन्ने खबर आयो। त्यो दिन बिहान फेरि ८ बजेतिर प्रहरीले हामीलाई अघिल्लो दिन जस्तै गरी छाउनी लिएर गयो। तर गाडी अस्पतालसम्म पुग्न सकेन किनभने छाउनी म्युजियमभन्दा वरैदेखि मानिसहरूको यति ठूलो भीड थियो कि कुरै छाडौं। त्यो भीडबाट प्रहरीले हामीलाई स्कर्टिङ गर्दै लिएर गयो।

त्यतिबेला भीड कराएको म अहिले पनि सम्झन्छु। ‘यी डाक्टरहरू पोस्टमार्टम गर्न आएका हुन्, शव राम्रोसँग हेर, दूधको दूध पानीको पानी छुट्याऊ’ भन्दै भीडबाट आएका आवाजहरू मेरो कानमा अहिले पनि गुन्जिराख्छन्। भीडले त्यसरी हामीलाई दबाब र हौसला दुवै दिएको थियो।

हामी फेरि उसैगरी त्यही कोठामा गएर बस्यौं। चियापानी खाने क्रम चल्यो। करिब ३ बजेको हाराहारीमा फेरि आर्मीका हाकिमसा’बहरूले त्यही खबर गर्नुभयो— ‘मुमाबडामहारानीले पोस्टमार्टम जाँच गर्न मानिबक्सेन, त्यसैले यहाँहरू फर्केर जानुहोला।’

दुवै दिन यसरी हामी त्यहाँ दिनभरि गएर पर्खेका छौं, हामीलाई लगिएको छ, तर हामीले काम गर्न, मृतकको शवछेउमा जाने, अवलोकन गर्ने अथवा जाँच गर्ने भन्ने कुनै कुरा भएन।

दरबार हत्याकाण्डका ती अनुत्तरित प्रश्न : जसको वैज्ञानिक जवाफ फरेन्सिक ल्याबमै रोकियो

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा बनेको छानबिन समितिले यहाँको राय किन लिएको थियो ?

तपाईंले सोध्न खोज्नुभएको आयोगको कुरा छ। त्यतिखेर तत्कालीन प्रधानन्यायाधीश र सभामुख सहितको दुई सदस्यीय आयोग थियो। मलाई एउटा चिठी आयो— हामी तीन जनामध्ये मलाई मात्रै आयो। किन मलाई मात्रै आयो, थाहा छैन। म काम गर्ने टिचिङ अस्पतालमै यसरी ‘आयोगमा उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ’ भन्ने व्यहोरा बाहेक अरू केही पनि खुलाइएको थिएन।

म गएँ। आयोगमा मलाई रिसिभ गर्न डाक्टर खगेन्द्र श्रेष्ठ आउनुभयो, जो भर्खरै बित्नुभयो। उहाँ शाही चिकित्सक हुनुहुन्थ्यो, कार्डियोलोजिस्ट। उहाँ छाउनी अस्पतालको प्रमुख पनि हुनुहुन्थ्यो। विगतमा विभिन्न विपद्‍का बेला, विशेषगरी प्लेन क्र्यासहरूमा इन्भेस्टिगेसन गर्दाखेरि हामी सँगसँगै काम गर्थ्यौं। उहाँ एभिएसन (हवाई उड्डयन) पट्टिको एक्सपर्ट पनि हुनुहुन्थ्यो। पोस्टमार्टमहरू गर्नुपर्दा हामी सँगसँगै काम गर्थ्यौं। त्यसैले हामी निकै ‘फ्रेन्डली’ थियौं। उहाँ धेरै सिनियर डाक्टरसा’ब हुनुहुन्थ्यो।

उहाँले मलाई सिंहदरबारभित्रको आयोग अफिसमा रिसिभ गर्नुभयो। अनि तुरुन्तै भन्नुभयो, ‘डाक्टरसा’ब, तपाईंलाई बोलाएको कारण के हो तपाईंलाई थाहा छैन होला, आउनुस् म भन्छु।’ उहाँले एउटा कोठामा लगेर भन्नुभयो, ‘राजदरबारको घटनामा मारिएका व्यक्तिहरूका मेडिकल रेकर्डहरू छन्। त्यहाँ इमर्जेन्सीमा र उपचारको क्रममा मृत्यु भएकाहरूको सबै चरणका रेकर्डहरू छन्। ती रेकर्डहरू हेरेर तपाईंले मेडिको–लिगल राय दिनुपर्नेछ।’

मेडिको–लिगल राय भनेको के कस्तो देखिन्छ, कसरी भएको हुन सक्छ जस्ता कुराहरू फ्याक्ट (तथ्य) र फाइन्डिङ (निष्कर्ष) हरूलाई एनालाइसिस गरेर भन्नुपर्ने हुन्छ। हाम्रो विषयमा दैनिक रूपमा गर्ने काम नै त्यही हो। शव जाँच गर्ने, के–के डाटा भेटिन्छ त्यसको एनालाइसिस गर्ने अनि त्यहाँबाट के भएर मृत्यु भएको हो, चोटपटक कस्तो हो, कति समय अगाडि मृत्यु भएको हो जस्ता विविध कुराहरू यसमा पर्छन्।

‘गलत राय दिनुभन्दा नदिनु राम्रो’ भनेर मैले दरबार हत्याकाण्डको मेडिको–लिगल रिपोर्ट लेख्न मानिन

मैले उहाँलाई भनें, ‘डाक्टरसा’ब, यो त सकिन्न। किनभने यो मेडिकल प्रोस्पेक्टिभबाट रिपोर्ट गरिएको छ, डकुमेन्ट गरिएको छ। त्यहाँ कुनै रिपोर्टमा टाउकोमा यस्तो गोलो घाउ अथवा छातीमा गोलो घाउ भनेर लेखिएको होला। तर त्यो घाउको चरित्र (जुन १०–१२ वटा हुन सक्छन्), त्यो डिटेलमा उल्लेख गर्नुपर्छ। मलाई थाहा छ, उपचार गर्ने चिकित्सकहरूले त्यति डिटेलमा गर्दैनन्। उनीहरू त्यसमा व्यस्त हुँदैनन्। अर्को कुरा, उपचारका क्रममा त्यसको आवश्यकता पनि पर्दैन, फुर्सद पनि हुँदैन। उहाँहरूको विधा नै अर्कै हो— उपचार गर्ने। उपचार गर्नुपर्ने भए तुरुन्तै उपचार गरिहाल्ने।’

मैले उदाहरण दिएँ, अमेरिकाका राष्ट्रपति जोन एफ. केनेडीलाई गोली हानिएको थियो। इमर्जेन्सीमा लगेर उपचार गर्दा हतार–हतार बचाउनतिर लाग्दा रेकर्डहरू नराखिएका कारण पछि कतिपय कुराहरूको जवाफ दिन सकिएन भनेर उपचार गर्ने डाक्टरलाई नै कारबाही भएको छ। लक्षणहरूको समानान्तर रूपमा रेकर्ड नराखिएको भनेर त्यतिखेर ठूलो इस्यु उठेको भेटिन्छ।’

मैले उहाँलाई स्पष्ट पारें, ‘उपचारको आँखाले हेरेर रेकर्ड गरिएको चिज मेडिको–लिगल राय दिनका लागि काफी हुँदैन। र यस्तो प्रकृतिको घटनाले जस्तो राय माग्छ, त्यो निकाल्न सकिंदैन किनभने सूचना अपर्याप्त हुन्छ। त्यसैले ‘सरी’, यो मबाट हुन सक्दैन।’

मलाई लाग्छ, अरू कोही साथीहरूबाट वा कुनै टिम नै बनाउनुभयो भने पनि यो सम्भव छैन। किनभने सबैभन्दा मुख्य कुरा डकुमेन्टेसन हो, प्रोपर वेमा डकुमेन्ट नभएको चिजको गलत ओपिनियन (राय) हुन सक्छ। गलत ओपिनियन दिनुभन्दा ओपिनियन नदिनु नै राम्रो हो।’

उहाँले डाक्टर भएको नाताले ‘त्यहींबाट केही सकिन्छ कि’ भन्दै कोसिस गर्नुभयो, तर मैले थप स्पष्ट पारें। मलाई लाग्छ, उहाँ कन्भिन्स हुनुभयो। तर त्यो कुराकानी उहाँ र मेरो बीच मात्रै थियो। मलाई त आयोगले बोलाएको थियो। अनि उहाँले मलाई अफिसियल्ली आयोगसामु लिएर जानुभयो।

त्यहाँ मलाई विधिवत् रूपमा प्रश्नहरू सोधियो। पहिले परिचय भयो। त्यहाँ दुवै जना पदाधिकारीज्यू (प्रधानन्यायाधीश र सभामुख) हुनुहुन्थ्यो, अरू कर्मचारीहरू पनि थिए।

उहाँहरूले सोध्नुभयो, ‘तपाईंहरूले मृत शरीरहरू जाँच गर्नुभयो कि भएन? के–कसो हो?’ मैले जे भएको थियो त्यही साँचो कुराको जवाफ दिएँ— ‘जाँच गर्न भनेर हामीलाई तयारी अवस्थामा राखियो तर हामीले अवलोकन गर्न पाएनौं।’

मैले यो पनि भनें, ‘हामी यसरी दिनभरि बस्यौं, हाम्रो विभागमा जनताका कामहरू भएनन्, भोलिपल्टसम्म कुर्नुपर्‍यो। अन्त्यमा हामी कामै नगरिकन फर्किनुपर्‍यो।’

यो कुरा सुनेपछि उहाँहरूले सोध्नुभयो, ‘यस्तो केसमा पोस्टमार्टम गर्नुपर्थ्यो कि पर्दैनथ्यो?’ मैले विश्वका चर्चित केसहरूको उदाहरण दिएँ। इन्दिरा गान्धीलाई आफ्नै अङ्गरक्षकले गोली हानेको केसमा किन भिडियोग्राफी सहितको डिटेल अटोप्सी गर्नुपर्थ्यो, राजीव गान्धीको विस्फोटनबाट उडेको शरीरका टुक्रा–टुक्रा जोडेर किन महिनौं लगाएर सयौं पेजको प्रतिवेदन बनाउनुपर्थ्यो, र जोन एफ. केनेडीको पनि उदाहरण दिएँ।

विश्वमा जहाँ पनि यस्ता प्रकृतिका मृत्युहरू हुन्छन्, त्यहाँ एकदम डिटेल र विश्वस्त रूपले सबै सूचना सङ्कलन गरेर विशेषज्ञहरूद्वारा एनालाइसिस गरी निष्कर्षमा पुग्ने गरिन्छ।

‘अनुसन्धानको एउटा पाटो नै हो यो मेडिको–लिगल। प्रहरी अनुसन्धानको फरेन्सिक साइन्सको सेक्टर अर्कै छ, अलग्गै छ। त्यसले घटनास्थलदेखि लिएर अरू कुराहरू सबै डिटेलमा हेर्नुपर्छ। त्यो सँगसँगै मृतकको शरीरमा पनि के कस्तो बितेको छ, के–कस्ता लक्षणहरू छन् र ती कसरी भएका हुन् भनी हेर्नुपर्छ।

घटनास्थलमा भएको सूचनासँग त्यो तालमेल खान्छ कि खाँदैन जस्ता कुराहरू हेरिन्छ। कोही प्रत्यक्षदर्शीले भनेका कुराहरू हुन सक्छन्। कसैले देखेको साक्षीले भनेको कुरा हुन सक्छ, अथवा पीडितले भनेको कुरा हुन सक्छ। कसैमाथि आरोप लगाइएको छ भने पीडक भन्ने मान्छेले भनेकै कुराहरू पनि हुन सक्छन्। यी सबै जाँचपड्ताल गरिसकेपछि उनीहरूले साँचो भने कि झुटो भने भन्ने समेत भेरिफिकेसन (प्रमाणीकरण) हुन्छ। यो तथ्य हो र यी तथ्यहरूको सङ्कलन गर्नै पर्थ्यो भनेर मैले आयोगलाई भनें। मेरो जवाफ त्यही हो।

कतिवटा गोली थिए ? कति डिस्टेन्स (दूरी) बाट हानिएको थियो ? एक जनालाई कति वटा गोली लागेका थिए ? कस्तो किसिमको हतियार प्रयोग भएको थियो ? यदि त्यहाँ गोलीहरू पाइन्थे भने ब्यालेस्टिक एक्सपर्टले ती गोलीहरू लगेर कुन प्रकृतिको हतियारबाट हानेको हो भनेर छुट्याउन सक्थ्यो। पेस्तोलको हो कि रिभल्भरको ? कुन कम्पनी र कुन देशमा बनेको हो ? त्यहाँ आर्मीको सुरक्षाभित्र खालखालका हतियारहरू हुनसक्छन्। त्यसैले कुन किसिमको हतियारले गोली पड्केका हुन् भन्ने समेत पत्ता लाग्थ्यो

त्यतिखेर सँगसँगै जोडिएको अर्को एउटा कुरा पनि थियो। जुन अन्तिममा निष्कर्ष निकालियो— युवराज दीपेन्द्रले ‘कालो पदार्थ’ अथवा ह्विस्की जस्ता कुराहरू सेवन गरेको भन्ने प्रतिवेदनमा छ। हामीले त्यो कुरा देख्न पायौं। रगत सङ्कलन गरेर नेपालमा नभए विदेशकै राम्रो फरेन्सिक साइन्स ल्याबहरूमा लगेर परीक्षण गर्न सकिन्थ्यो। त्यो ‘कालो पदार्थ’ भनेको के हो? कति मात्रामा थियो? अल्कोहल कति मात्रामा लिएको देखिन्छ? जस्ता कुराहरू त अटोप्सी नगरे पनि फरेन्सिक साइन्सको ल्याबले झन् सहजै पत्ता लगाइदिन सक्थ्यो नि! त्यो समेत गर्नुपर्ने थियो भनेर मैले त्यहाँ भनाइ राखेको थिएँ।’

म त्यसमा फेरि आउँछु। १९ गते राति घटना भयो। अनि त्यसकै बेलुका १० बजेको आसपासमा त युवराज दीपेन्द्र र धीरेन्द्र बाहेकको निधन भइसक्यो।  त्यतिखेर चाहिं मुमाबडामहारानी रत्नले शुरुको दिनमा राजा वीरेन्द्रको मात्रै अटोप्सी नगर्ने भन्नुभएको थियो रे! अनि पछि फेरि अरूको पनि नगर्ने भएछ ! त्यो बेलामा यो सन्दर्भ केही थाहा पाउनुभयो?

शुरुको दिनमा राजाको मात्रै नगर्ने भन्ने कुरा आज तपाईंको मुखबाट पहिलो पटक सुन्दै छु। मैले त्यतिखेरका सबै डिटेल रिपोर्टहरू पढिनँ होला। त्यसैले हामीलाई भनिएको कुरा मात्र मेरो कानमा झल्झली छ। एक जनाको गर्ने, अरूको नगर्ने भन्ने कुरा समेत भएको मलाई थाहा थिएन।

कालो पदार्थ, चरेस वा गाँजा भनेको ‘हाइड्रोक्सी–क्यानाबिनोल’ हो, जसको रगतमा केमिकल टेस्ट गरिन्छ। अहिले पनि त्यस्तो शङ्का लागेको केस हामीले अटोप्सी गर्नुपर्‍यो भने, हामी रगत सङ्कलन गरेर ल्याबलाई सूचना दिन्छौं र ‘यो हेर्देऊ’ भनेर नै भन्छौं।

अर्को कुरा, अल्कोहल लेभलको परीक्षण। कति मिलिग्राम अल्कोहल थियो भनेर पोजेटिभ वा नेगेटिभले मात्रै केही भन्दैन। किनभने एक पेग खाए पनि पोजेटिभ हुन्छ, १० पेग खाए पनि पोजेटिभ नै हुन्छ। त्यस्तो रिपोर्टको त केही अर्थ भएन। एक पेगले केही पनि नहुन सक्छ तर धेरै पेगले मान्छेले होस गुमाउन सक्छ, इन्टोक्सिकेसन (विषाक्तता) ले मृत्यु नै हुन सक्छ।

त्यसैले अल्कोहलको मात्रात्मक परीक्षण गर्नुपर्थ्यो। जुन कुरा भनिएको छ, यदि जाँचेको भए र त्यो साँच्चै हो भने (साँच्चै हो भनेर हामी भन्न बाध्य छौं किनभने प्रमाणित छैन नि त, हाइपोथेटिकल्ली मात्रै भन्न सक्ने अवस्थामा छौं), यदि त्यो साँच्चै थियो भने ‘हाइड्रोक्सी–क्यानाबिनोल’ पनि पाइन्थ्यो। त्यसको पनि रगतबाट मात्रा परीक्षण गर्न सकिन्थ्यो। अनि ‘ब्लड अल्कोहल लेभल’ ३००–४०० मिलिग्राम पर्सेन्ट थियो कि थिएन, त्यो पनि थाहा हुन्थ्यो। यदि थिएन अथवा मिनिमम पर्सेन्टेज थियो भने फेरि अर्कै किसिमले एनालाइसिस गर्नुपर्ने हुन्छ।

परिवारका सबै जना १९ गते बेलुका राति नै बित्नुभयोदीपेन्द्र र धीरेन्द्रको चाहिं २२ गते मृत्यु भयो भनिन्छ। त्यो बीचमा ठ्याक्कै अटोप्सी गर्न पाएको भए निधनको मिति र समय पनि लगभग थाहा हुन्थ्यो ?

थाहा हुन्थ्यो। यदि त्यहाँ पहिले नै जुन एउटा षड्यन्त्रको सिद्धान्त छ, यो इन्भेस्टिगेसन नगराएको हुनाले जुन अविश्वास छ नि! पहिले नै मरेको मान्छेलाई ‘यो बाँचिरा’छ’ भनेर राजा बनाइदिए, तीन–चार दिन कति भन्ने छ नि! त्यो कुरा अटोप्सी गर्न पाएको भए थाहा हुन्थ्यो। किनभने चार दिनमा त शरीरमा धेरै परिवर्तन आइसक्छन्। एक–दुई घण्टा थाहा नहोला तर आठ–दश घण्टाभन्दा बेसी भइसक्यो भन्ने पनि थाहा हुन्छ, किनभने जीउ कक्रिन्छ।

जस्तोसुकै ठाउँमा किन नराख्नुस्— बेडमा राख्नुस् कि भुइँमा, बाहिरै होस् कि भित्र– फ्रिज बाहेक अन्यत्र शव राखिएको छ भने ५–६ घण्टासम्म जीउ लल्याकलुलुक नै हुन्छ। विस्तारै १२–१४ घण्टामा पूरै लठ्ठी जस्तै उभिने भइसक्छ। एउटै यो इन्फर्मेसनबाटै मृत्यु भएको १०–१२ घण्टा बितिसक्यो भन्ने कुरा थाहा भइहाल्छ।

त्यस्तै, रगत थिग्रिन्छ। शरीरमा बाँकी रहेको रगत सबै जम्दैन। जुन भाग जमिनतिर वा ओछ्यानतिर पर्छ, त्यहाँ रगत थिग्रिन्छ। सबै शरीरले जमिन छुँदैन, नछोएको भागको छालामा रगत टल्किन्छ। त्यसलाई ‘हाइपोस्ट्यासिस’ भनिन्छ। त्यो रगतको दागले १०–१२ घण्टा अगाडि भएको मृत्यु र १०–१२ घण्टा बितिसकेपछिको मृत्यु पत्ता लगाउन एकदम भरपर्दो प्रमाण दिन्छ। यो कुनै गाह्रो कुरा होइन।

यसको लागि कुनै ठूलो अटोप्सी शरीर चिरफार केही पनि गर्नुपर्दैन। बाहिर शरीरमै सामान्य अवलोकन र छालामा हल्का दबाब दिएर यो कुरा पत्ता लाग्छ। यदि रङ फेरियो भने ८–१० घण्टा बितेको छैन भन्ने बुझिन्छ। यदि रङ फेरिएन, रातोको रातै अथवा पर्पल कलर जस्तो छ त्यस्तै बसिराख्यो भने १० घण्टाभन्दा बढी समय भइसक्यो भनेर भन्न सकिन्छ। यी दुईवटा लक्षणले नै शुरुको १०–१२ घण्टाको फरकलाई राम्रोसँग खुलाइदिन्छ। यसका लागि भित्री अङ्गहरू हेर्नुपर्दैन।

यदि चिरफार गरेरै हेर्ने हो भने, मृतकले के खाएको थियो र कतिखेर खाएको थियो भन्ने थाहा छ भने भुँडी वा आन्द्रामा त्यो खाएको चिज कहाँ पुग्यो भनी हेरेर पनि मृत्युको समय पत्ता लगाउन थप मद्दत पुग्छ। यदि पूरै खाना खाएको छ भने त्यो अझ ‘एक्युरेट’ हुन्छ।

षड्यन्त्र थियो कि थिएन भन्ने छुट्टै पाटो हो। साइन्सले चाहिं उहाँको स्वर्गे १९ गते जेठमै भएको थियो कि २२ गते बिहानसम्म उहाँ जीवित हुनुहुन्थ्यो भनेर मज्जाले पत्ता लगाउँथ्यो ?

बाहिर शरीर हेरेर मात्रै, छामछुम गरेरै पत्ता लाग्थ्यो। बडी चिर्नुपर्दैनथ्यो। त्यति पत्ता लगाउन अटोप्सीको पनि आवश्यकता पर्दैनथ्यो।

‘कारण थाहा छँदैछसबैले उसैले (दीपेन्द्रले) गर्‍यो भनेकै छन्अब किन (पोस्टमार्टम) गरिराख्नुपर्‍यो र?’ त्यो कुरा पनि चर्चा भएको रहेछ। अनि अर्को कुराघटनापछि दीपेन्द्रले आफैं सुसाइड गर्नुभयो कि वा कसैले हानेको हो भन्ने कुराहरू पनि अटोप्सीबाट खुल्न सक्थ्यो ?

एकदम मज्जाले खुल्थ्यो। किनभने सुसाइड गर्ने (दीपेन्द्र) को बडीमा यदि एक ठाउँभन्दा बढी गोली रहेछ भने तपाईं के भन्नुहुन्छ ? यसमा कुनै ठूलो डाक्टरी त चाहिंदैन। यदि दीपेन्द्रको बडीमा दुई ठाउँबाट गोली पसेको रहेछ भने के भन्नुहुन्छ ? आफूले हानेको होइन। किनभने एकपटक गोली परिसकेपछि मान्छे ढलिसक्छ। अर्को पटक फेरि आफैंले कसरी हान्छ? यो सिम्पल कुरा हो, यसलाई ‘कमन सेन्स’ भनिन्छ। एउटा सामान्य तर्कले नै भन्न सकिन्छ।

अर्को कुरा, सुसाइड गर्नेका आफ्नै साइट हुन्छन्। मान्छेले जहाँ पायो त्यहीं गोली हानेर सुसाइड गर्दैन। कहाँ हान्छ त ? धेरैजसो टाउकोमा। टाउकोमा पनि कता ? कुन हात चल्छ, त्यतैपट्टिको कन्चटमा धेरैजसो गोली हानेको हुन्छ। कसै–कसैले यहाँ तलबाट पनि हानेको भेटिन्छ। यदाकदा मुखभित्र लगेर पड्काएको पनि भेट्न सकिन्छ। तर, दाहिने हात चल्ने मान्छेले यसरी हात लगेर देब्रेपट्टिको कन्चटमा गोली हान्दैन, दाहिनेपट्टि नै हान्छ।

अनि यसमा दूरी पनि महत्त्वपूर्ण हुन्छ। आफैंले हानेको छ भने गोली टाढाबाट चलेको हुँदैन। चार किसिमका दूरीहरू पत्ता लगाउन सकिन्छ। पेस्तोल, रिभल्भर आदिमा सटाएर हानेको छ भने घाउको वरिपरि त्यसका लक्षण देखिन्छन्। पड्किंदा मजलको त्यो तातो मेटलले डाम्छ। रौं (हेयर) कम भएको एरिया छ भने छालामै डामेको देखिन्छ। यसलाई टच गरेको भनिन्छ। प्राय:जसो त्यस्तो हुन्छ।

कसै–कसैको अलिकति नजिक हुन्छ। नजिकमा चाहिं ‘ट्याटुइङ’ भन्छौं। हामीले ट्याटु गरे जस्तै गोलीसँगै गएर छालामा बस्छन्। ती धेरै टाढा जाँदैनन्। यदि ती छरिएका भेटिए भने एक मिटरसम्मको दूरी बुझिन्छ। तर एक मिटर परबाट त आफूले आफैंलाई गोली हान्ने कुरा हुँदैन। यदि अलि परबाट गोली हानिएको छ र त्यहाँ ‘ट्याटुइङ’ केही पनि छैन भने त्यो आफूले हानेको हुँदै होइन, अर्कैले हानेको हो।

भनेपछि यो आफैंले हानेको र अरूले हानेकोमा ‘रेन्ज’ हेरिन्छ। सुटिङमा चार किसिमका रेन्ज हुन्छन्— टँसाएर हान्ने, नजिकबाट हान्ने, अलि टाढाबाट हान्ने र धेरै टाढाबाट हान्ने। यीमध्ये शुरुका दुई किसिमका रेन्ज मात्र सेल्फ–सुटिङमा भेटिन्छन्।

‘दीपेन्द्रको दायाँ हात नै चल्थ्यो भनिन्छ। गोली चाहिं वारपार (थ्रु–एन्ड–थ्रु) भए पनि सम्भवतः बायाँतिरको घाउ सानो र दायाँतिरको ठूलो भएको हुनाले गोली बायाँ साइडबाट आएर दायाँ गयो‘ भनिएको छ। रिपोर्टले नि त्यही भन्छ। त्यो भनिसकेपछाडि यो कुरा पोस्टमार्टम गर्न पाएको भए त अन्योल नरहने रहेछ नि ?

यो पक्षसम्म, यस! नम्बर अफ फायरिङ, साइट अफ फायरिङ अनि त्यहाँबाट त्यसको दूरी— यी तीन–चार वटा क्यारेक्टर चाहिन्छन्। मैले अघि भनें नि, आफैंले हान्नेले कि टँसाएर हान्छ, कि नजिकैबाट हान्छ, टाढाबाट हान्दैन। त्यो हेर्न मात्रै पाएको भए त्यहाँ लक्षण के छ भन्ने थाहा हुन्थ्यो। अनि कुन हात प्रयोग गर्छ भन्ने आधारमा कतापट्टिबाट लाग्यो र कतापट्टि निस्कियो भन्ने कुराको चरित्र नै फरक हुन्छ। एक्जिट बाहिर निस्केको हुन्छ, इन्ट्री भित्र पसेको हुन्छ। जहाँबाट गोली पस्छ, त्यसले छाला समेत भित्र पसाएर पस्छ, जसले गर्दा त्यो घाउ सानो हुन्छ।

गोली निस्केको घाउ भाँडो फुटे जस्तै गरेर भ्वाङ परेर निस्किन्छ। खास गरेर टाउकोमा यस्तो हुन्छ, तर एक–दुई वटा अपवादका अवस्था पनि हुन्छन्। यदि धेरै टँसाएर हानेको छ भने कहिलेकाहीं प्रवेश पनि निकास जस्तै ठूलो देखिन सक्छ, तर हड्डीमा देखिने लक्षण फेरि फरक हुन्छ। हड्डीमा गोली लागेको तिर गोलो प्वाल, सरक्क परेको सफा प्वाल हुनुपर्छ। गोली निस्कनेतिर चर्किएर फुटेको भाँडोको टुक्रा जस्तै गरी हड्डी बाहिर निस्केको हुनुपर्छ।

त्यो बेलामा राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायतको पनि हेर्न पाएको भए धेरै कुरा आउन सक्थ्यो। यस्ता केसहरूमा अटोप्सी गरेर विस्तृत विश्लेषण हुन्छ। एउटा त बडीमा देखिएका लक्षणहरू, फायरिङ भनेपछि गोलीका चोटहरू नै भए। अनि गोली लागेर ढल्दा टाउको कडा ठाउँमा ठोकिएको छ भने अरू सम्बन्धित चोटका कुरा पनि हुन सक्छन्। तर ती माइनर हुन्छन्। मृत्युको मुख्य कारण त गोली लागिसकेपछि त्यही नै हुन्छ।

कतिवटा गोली थिए ? कति डिस्टेन्स (दूरी) बाट हानिएको थियो ? एक जनालाई कति वटा गोली लागेका थिए ? कस्तो किसिमको हतियार प्रयोग भएको थियो ? यदि त्यहाँ गोलीहरू पाइन्थे भने ब्यालेस्टिक एक्सपर्टले ती गोलीहरू लगेर कुन प्रकृतिको हतियारबाट हानेको हो भनेर छुट्याउन सक्थ्यो। पेस्तोलको हो कि रिभल्भरको ? कुन कम्पनी र कुन देशमा बनेको हो ? त्यहाँ आर्मीको सुरक्षाभित्र खालखालका हतियारहरू हुनसक्छन्। त्यसैले कुन किसिमको हतियारले गोली पड्केका हुन् भन्ने समेत पत्ता लाग्थ्यो।

अनि यस्तो अनुसन्धानमा घाइते हुनेहरू वा भोजमा सहभागी व्यक्तिहरूले अल्कोहल वा अरू नशालु पदार्थ खाए/नखाएको हेर्ने गरिन्छ कि गरिंदैन ?

यस्ता केसहरूमा अनिवार्य हेर्नुपर्छ भन्छौं हामी। सिद्धान्ततः अनिवार्य हेर्नुपर्छ, जहाँ सुविधाहरू छन् र रुटिन टेस्ट हुन्छ। कुनै पनि अप्राकृतिक मृत्युमा, त्यसमा पनि हत्या छ भने अल्कोहलको सम्बन्ध वा विषाक्तता छ कि छैन भनेर ‘रुल आउट’ गर्नुपर्छ। कहिलेकाहीं अल्कोहलले उत्तेजना गरेको पनि हुन सक्छ। त्यही भएर मात्रा नै हेर्नुपर्छ।

रगतमा अल्कोहलको मात्रा जो–जो पीडित छन्, ती सबैको हेर्नुपर्थ्यो। अनि निष्कर्षमा युवराज दीपेन्द्रको त झन् त्यो ‘हाइड्रोक्सी–क्यानाबिनोल’ (कालो पदार्थ) समेत हेर्नुपर्थ्यो। प्रयोगशालामा रगत पठाउनेबित्तिकै स्क्रिनिङ टेस्ट गरेर अन्य नशालु कुराहरू  पनि हेरिन्छ। खासगरी दिमागलाई असर पर्ने खालका ड्रगहरू, एन्टी–डिप्रेसन ड्रगहरू।

कहिलेकाहीं सुसाइड गर्ने मान्छेले औषधि खाइराखेको हुन सक्छ। औषधि खायो, त्यसले मरेन अनि अर्को मेथड युज गर्‍यो। मल्टिपल मेथड युज गर्नेबित्तिकै झन् पक्का हुन्छ कि यो सुसाइड हो। त्यसैले भित्री अङ्गहरू (भिसेरा) र रगत परीक्षण गर्नैपर्ने कुरा हो।

यो घटनालाई झन्डै साढे दुई दशकपछाडि फर्केर हेर्दा, यहाँको विशेषज्ञताको हिसाबले यो यो पाटोमा काम गर्न पाएको भए अझै स्पष्ट हुन्थ्यो‘ भनेर के–के सम्झिनुहुन्छ ?

हामी तीनै जना यो विषयमा विशेषज्ञ भइसकेका थियौं। सामान्य हत्याको घटनामा प्रहरीले क्राइम सिनमा गएर जसरी अनुसन्धान गर्छ, त्यसैगरी सिम्पल इन्भेस्टिगेसन मात्र गरेको भए पनि धेरै कुराहरू खुल्थे। उदाहरणका लागि, घटनास्थलबाट संकलन— त्यहाँको डिस्टर्बेन्स कस्तो छ, मान्छे कता–कता लडेका छन्, रगतका दाग कता–कता छन्, कुन रगतको दाग कसको हो? यो सबै उठाएर हेर्दा पोजिसन क्लियर हुन्छ। किनभने हामीसँग शव छँदैछ, सिनमा पनि रगतको दाग लिन्छौं, भिडाउन मिलिहाल्यो।

अल्कोहल वा कालो पदार्थको मात्रा हेरेर मान्छे उत्तेजित  हुने वा फायरिङ गर्न सक्ने/नसक्ने अवस्था पनि थाहा हुन्छ ?

हुन्छ। खास गरेर गाँजामा राम्रोसँग नशा लागिसकेपछि दिमागी हालत खराब हुन्छ। आवाजहरू सुन्ने, कमान्ड गरेको जस्तो लाग्ने वा नभएको कुरा देख्ने हुन सक्छ। इमोसनल डिस्टर्बेन्स हुन्छ— रुन थाल्यो भने रोएको रोयै गर्ने, हाँस्न थाल्यो भने हाँसेको हास्यै गर्ने। जङ् चलेर कसैलाई अट्याक गर्नु पर्‍यो भने अट्याक गरेको गर्‍यै गर्ने। यो अवस्था सिर्जना हुन्छ भन्ने साइन्सले बताएको छ।

तर सबैलाई गाँजा खाएर लाग्नेबित्तिकै त्यस्तो हुँदैन। केहीमा त्यस्तो हुन सक्छ, त्यसलाई ‘रनिङ एमोक’ भनिन्छ। त्यस्ता व्यक्तिले अगाडि जे–जे छ, सबै डिस्ट्रक्सन (नष्ट) गर्छन् अनि अन्त्यमा कि सरेन्डर कि सुसाइड गर्छन्। त्यसै कारण पनि यो ‘थ्योरी’ दरबार हत्याकाण्डमा जोडियो भन्ने गरिन्छ।

तर जसले यो पत्याउँदैनन्, उनीहरूको तर्क के छ भने— धेरै अल्कोहल लिएर फिट्टु हुँदा ड्राइभ गर्न नसक्ने, उभिन नसक्ने, आफ्नो घर पुग्न नसक्ने हुन्छ। त्यस्तो बेलामा आफूले कसैलाई हान्नुपर्नेछ भने ठिक निशाना साध्न सकिन्छ त ? सन्तुलन धेरै बिग्रिन्छ। हो, यसो गर्दा पड्किन्छ भन्ने होस चाहिं अल्कोहलले मात्दैमा जाँदैन, त्यो सुरक्षित नै हुन्छ। तर शरीरको कोर्डिनेसन व्यापक रूपमा बिग्रिन्छ। जीउ धान्न नसक्ने, लरबरिने, धरमराउने, हात कडासँग समाउन नसक्ने र सोझो ताक्दा सोझो नजाने हुन्छ। किनभने, विषाक्तता भइसकेपछि एउटालाई दुइटा देख्ने समेत हुन्छ, भिजन क्लियर हुँदैन।

साँच्चै विषाक्तता  भइसकेपछि  सामान्य अवस्थामा जे काम गर्न सकिन्छ, त्यो रक्सी लागेपछि त्यही रूपमा गर्न सकिंदैन। फरकपन आइहाल्छ। अहिले मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्ण निषेध छ नि ! अलिकतिले पनि कोर्डिनेसन बिग्रिन्छ भन्ने कुरा पुष्टि भइसकेको छ।

त्यतिखेर पोस्टमार्टम भएन। अहिले आएर त्यस्तो कुनै प्रविधिको विकास भएको छ ? जसले पुराना घटनाहरूको अनुसन्धान गर्न सक्ने सम्भावना होस् !

मलाई थाहा भएसम्म ‘साइकोलोजिकल अटोप्सी’ भनिन्छ, त्यसमा विभिन्न साइकोलोजिकल मेथडहरू डेभलप त भएका छन्। तर ती त्यति सजिला, भरपर्दा र व्यावहारिक हुन्छन् जस्तो मलाई लाग्दैन। यति लामो समय बितिसकेपछि घटनास्थल कहाँ छ, अब्जेक्ट वस्तु कहाँ छन् ? यो कारणले भनेर भन्न सक्ने डाटा आउने अवस्था नै शून्य छ। त्यसैले अहिले आएर खासै सकिन्छ जस्तो मलाई लाग्दैन।

तस्वीर/भिडिओः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?