१४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले उस्तै परिस्थितिबाट गुज्रिएका तीन दलका प्रमुख नेताहरूमध्ये आफूलाई मात्रै पक्राउ र धरपकडको प्रयासबाट भेद्भाव गरिएको आरोप लगाएका छन् ।
जिल्ला अदालत काठमाडौंबाट आफू र पत्नी डा. आरजु देउवा राणाविरुद्ध पक्राउ अनुमति पुर्जी जारी भएको थाहा पाएपछि देउवा दम्पती सर्वोच्च अदालत पुगेका थिए ।
उनीहरूले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा उस्तै प्रकृतिको घटनामा अरु दुईजनालाई केही नगरिएको तर आफू भेदभावमा परेको जिकिर गरेका हुन् ।
देउवाको दावी अनुसार, सुशीला कार्की नेतृत्वको सरकार बनेपछि ६ असोज, २०८२ मा भक्तपुरस्थित केपी ओली र ललितपुरको खुमलटारमा रहेको पुष्पकमल दाहालको घरमा खानतलासी लिई मुचुल्का समेत खडा गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पेश गरेको प्रारम्भिक प्रतिवेदनमा आफूहरू तीनजना विरुद्ध कुनै कुरा उल्लेख नभएको तर आफूलाई मात्रै पक्राउ गरिएको भन्दै देउवाले अदालतमा निवेदन दिएका हुन् ।
‘हाम्रा विरुद्ध पक्राउ पुर्जी माग गरेजस्तो अनुसन्धान अधिकृतले प्रचण्ड वा केपी ओली विरुद्ध कुनै पक्राउ पुर्जी माग वा जारी गरेको देखिएको छैन,’ देउवा परिवारले सर्वोच्चमा पेस गरेको निवेदनमा भनिएको छ, ‘यसरी अनुसन्धानको क्रममा असमान रूपमा भेद्भावपूर्ण व्यवहार गर्ने विभागको कार्य संविधानको धारा १८ को प्रतिकूल छ ।’
हाम्रोमा के नै भेटियो र ?
जेनजी आन्दोलनका दौरान आन्दोलनकारीहरूको आगजनीले बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको घर ध्वस्त भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले घरका कुरुवा रामबहादुर देउवालाई सूचना दिई घरको खानतलासी गरेको थियो ।
देउवा दम्पतीको दाबी अनुसार, त्यसरी घर खानतलासी गर्दा जलेका फलाम र आल्मुनियमको टुक्रा बाहेक अरू भेटिएन । थुपारिएका सामानहरू खोलेर हेर्दा पनि बहुमुल्य धातु, नगद र त्यसको जलेको अंश भेटिएको थिएन । घरको कम्पाउण्डमा जलेका पाँचवटा गाडी र दुईवटा मोटरसाइकलका अवशेष भेटिएका थिए ।
आफ्नो मात्रै नभई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी ओलीको घरमा समेत नगद जलेको भन्ने विषयमा अनुसन्धान गर्न समिति गठन भएको तर समितिले केही उल्लेख नगर्दा पनि आफूहरूमाथि मात्रै धरपकड गर्न खोजिएको भन्दै देउवा परिवारले त्यसलाई भेद्भावपूर्ण व्यवहार भनेको हो ।
ठूलो मात्रामा नगद सहित पक्राउ परेका विदेश र स्रोतबिनाको सम्पत्ति थुपारेका कयौंमाथि हिरासतमा नराखी अनुसन्धान भएको भन्दै देउवा दम्पतीले अनुसन्धानको प्रक्रियामा प्रश्न उठाएका थिए ।
आफूलाई आरजु राणा देउवा नभनी ‘शेरबहादुर देउवाकी पत्नी’ भनेको भरमा पक्राउ गर्न खोजिएको भन्दै आरजु राणा देउवाले पक्राउ अनुमति जारी गर्ने जिल्ला अदालतको आदेशलाई ‘आँखा चिम्लिएर पक्राउ अनुमति प्रदान गर्ने प्रवृत्तिले संविधानप्रदत्त हकमा आघात पुगेको’ दाबी गरेकी हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग एवं विभागलाई प्राविधिक रुपमा सहयोग गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका केही प्रहरी अधिकृतहरूले देउवा दम्पतीले लुकाएको सम्पत्तिको सूचना संकलन गरिरहेको दाबी गरेका छन् । तीमध्ये एक अनुसन्धान अधिकारीको दाबीमा ‘देउवा परिवारको नाममा केही अचल सम्पत्ति भेटिएपछि थप प्रक्रिया अघि बढेको हो ।’
पछिल्लो एकाध वर्षको अवधिमा शेरबहादुर र आरजुका एक्ला छोरा जयवीरले जोडेको करिब ७३ रोपनी जग्गाको सम्पत्तिको स्रोत सबैभन्दा शंकास्पद प्रकृतिको छ । उनीहरूको दाबीमा त्यो बाहेक अरू शंकास्पद कारोबारहरू भेटिएको हो ।

‘….त्यसैले फर्किन सकेनौं’
२३ र २४ भदौको घटनापछि आफूहरूलाई ठूलो शारिरीक र मनोवैज्ञानिक आघात परेको भन्दै देउवा दम्पतीले त्यसको केही समयपछि अध्यागमन विभागलाई जानकारी गराएर आफूहरू सिंगापुर पुगेको बताएका छन् ।
कतिपय व्यक्तिहरूले आफ्नो घरबाट स्वदेशी र विदेशी रकम जलेको भनी भ्रम फैलाएको भन्दै देउवा दम्पती त्यसलाई झुट भनेका छन् । उनीहरूका अनुसार, बूढानीलकण्ठस्थित घरमा पानी जम्मा गर्ने प्रयोजनका लागि बनाइएको तर प्रयोग नभएको ट्यांकी थियो ।
त्यसलाई समेत जमिनमुनि सम्पत्ति लुकाउने सेफ राखिएको भनी गलत प्रचार गरिएको भन्दै उनीहरूले त्यसैको आधारमा आफूहरूमाथि अनुसन्धान गर्न खोजिएको दाबी गरेका छन् ।
अहिले हङकङमा रहेको र उपचारपछि स्वास्थ्य र मनोबैज्ञानिक अवस्था सुधार भएर नेपाल फर्किन तयार रहेको अवस्थामा फेरि पक्राउको त्रास फैलाउन खोजिएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।
औषधि उपचारपछि आफूहरू नेपाल फर्किन तयार रहेको अवस्थामा केही हितौषीले ‘तपाईंहरूलाई एयरपोर्टबाटै गिरफ्तार गर्ने तयारी छ’ भनेर सूचित गरिएको देउवा परिवारको दाबी छ ।
राजनीतिक प्रतिशोधका लागि प्रधानमन्त्री बालेन शाहले धरपकड गर्न खोजेको भन्दै उनीहरूले सर्वोच्चमा भनेका छन्, ‘सरकारले…..अपमानजनक प्रदर्शन गरी तुष्टि लिने भएको हुनाले विचार गरेरमात्र आउनुहोस् भनी खबर गरेको हुनाले हामी आश्चर्यमा परेका थियौं ।’
२०५९ सालमा पनि आफूहरूको सम्पत्ति छानबिन भएपनि त्यतिबेला केही नभेटिएको भन्दै देउवा परिवारले अहिले पनि आफूहरूविरुद्ध कुनै प्रमाण नभेटिएको जिकिर गरेका छन् ।
आफूहरू भाग्ने सम्भावना नभएको, कुनै प्रमाण लोप गर्ने अवस्था नभएको र अनुसन्धानमा बाधा समेत नगर्ने भन्दै देउवा परिवारले त्यस्तो अवस्थामा पक्राउ गर्न आवश्यक नभएको जिकिर गरेका हुन् ।
शाही शासनकालका केही सीमित अवधिमा बाहेक प्रजातन्त्र पुनर्स्थापनापछि निरन्तर सार्वजनिक पदमा रहेका शेरबहादुर देउवा पटकपटक सत्तामा पुगेका छन् ।
२०७० सालको दशकपछि कांग्रेसको राजनीतिमा डा. आरजु देउवाको पनि बढोत्तरी भएको छ, उनी पटकपटक संसद्मा पुगेकी छन् ।
राजनीति बाहेक अरू पेसामा नभएका देउवा दम्पतीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप सहित अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जनौं उजुरी थिए । तर अहिलेसम्म उनीहरूमाथि अनुसन्धान हुन सकेको छैन ।
विभागले बूढानीलकण्ठको जग्गा र त्यहाँको घरको भग्नावशेषमाथि समेत अनुसन्धान गरिरहेको छ । त्यहाँको जग्गा भने डा. आरजुको माइतीले किनेर देउवा परिवारलाई दिएको भनी उनको सचिवालयले दाबी गर्दै आएको छ ।
उनीहरूले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनमा आफूहरूलाई पक्राउ नहुने अवस्थाको सुनिश्चित गरी नेपाल फर्किने वातावरण बनाउन, बूढानीलकण्ठस्थित घरको भग्नावशेष सफा गर्न नरोक्न आदेश जारी हुनुपर्ने माग गरेका थिए ।
निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा परिवारलाई पक्राउ नगर्नु भनी अन्तरिम आदेश दिएको थियो ।
देउवा परिवारमाथि अनुसन्धान हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको तर सरकारले जारी गरेको अध्यादेशको व्यवस्था अनुसार अब भने सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा दर्ता हुने व्यवस्था थियो ।
सर्वोच्च अदालतले त्यही अवस्था औंल्याउँदै जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा परिवारमाथि धरपकड नगर्नु भनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया 4