News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध २४ चैतमा पक्राउ पुर्जी जारी भएको छ।
- पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म उनीहरूविरुद्ध इन्टरपोल रेड नोटिस जारी भएको छैन।
- देउवा दम्पती विदेशमा छन् र नेपाल फर्कन बाँकी रहेको बताइएको छ।
८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध २४ चैतमा पक्राउ पुर्जी जारी भयो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइने बताइएको थियो ।
तर, पक्राउ पुर्जी जारी भएको दुई साता बितिसक्दा समेत उनीहरूविरुद्ध रेड नोटिस जारी भएको छैन ।
प्रहरी प्रधान कार्यालयले यसबारे औपचारिक रूपमा केही बोलेको छैन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले अनुसन्धानको विषय भन्दै यसबारे केही बोल्न चाहँदैनन् ।
तर, जानकार स्रोतका अनुसार अहिलेसम्म देउवा दम्पत्तिविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई कुनै पत्राचार गरेको छैन ।
‘एउटा पक्राउ पुर्जीकै आधारमा रेड नोटिसका लागि पत्राचार गर्न मिल्दैन । यसको कारण, आधार र कागजी पक्रियाहरू हुन्छन् । त्यो पूरा गर्न बाँकी नै रहेकाले अहिलेसम्म पत्राचार भएको छैन,’ स्रोतले भन्यो ।
देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएको भन्दै पक्राउ पूर्जी जारी भएको थियो ।
पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।
यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरू फर्केका थिए ।
अहिले भने १४ फागुनमा देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ ।
इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)ले प्रक्रिया अघि बढाउने गर्छ ।
नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने छ ।
पक्राउ पुर्जी जारी भएपछि एक वक्तव्य जारी गर्दै देउवाले आफू खुला किताब रहेको बताएका थिए । सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा रहेको र आफ्नो सम्पत्तिको विवरण सार्वजनिक पदमा रहँदा सरकारी निकायमा पेस गरेको उनले बताएका थिए ।
उपचारका लागि विदेश आएको उल्लेख गरेका देउवाले तर आफू कहाँ कुन देशमा छन् भन्नेबारे केही खुलाएका थिएनन् ।
शेरबहादुर देउवाका नातेदार प्रदीप शमशेर जबरा, भुषण राणा, जयवीर देउवा लगायतको कारोबारबारे समेत अनुसन्धान भइरहेको छ ।
यसअघि देउवा पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जोडिएको आरोप लागेको थियो । नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चार सचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारलाई पनि शंकास्पद रूपमा हेरिएको छ ।
शेरबहादुर देउवा परिवारले बुढानीलकण्ठमा एउटा कम्पाउन्डभित्र दुई वटा बंगला बनाएका थिए । जेनजी आन्दोलनका क्रममा उनीहरू त्यही घरमा थिए । त्यतिबेला देउवा दम्पतीमाथि आक्रमणसमेत भयो भने घरमा आगजनी भएको थियो ।
यसअघि गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा देउवा निवास बुढानीलकण्ठमा जलेका नोटहरू भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटको भिडियोसमेत सार्वजनिक भएको थियो ।
त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसको मुचुल्कासमेत उठाएर अनुसन्धान अघि बढाएको थियो । अहिले उक्त फाइलसहित थप अनुसन्धान गर्न भन्दै सीआईबी पठाइएको छ ।
प्रतिक्रिया 4