+
+
Shares
विचार :

सन् २०४० सम्म ६३ लाख पर्यटक : पर्यटनबाट समृद्ध नेपालको नयाँ यात्रा

नेपालले आगामी १५ वर्षमा योजनाबद्ध ढंगले पर्यटन क्षेत्र विस्तार गर्न सके ६३ लाख पर्यटक लक्ष्य असम्भव देखिँदैन । यदि आगामी वर्षहरूमा नेपालले औसत १५ प्रतिशत वार्षिक दरले पर्यटक वृद्धि गर्न सक्यो भने सन् २०३२ सम्म करिब ३० लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।

सुमन पाण्डे सुमन पाण्डे
२०८३ जेठ १९ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले सन् २०४० सम्म ६३ लाख विदेशी पर्यटक भित्र्याउने दीर्घकालीन लक्ष्य लिएको छ ।
  • यसका लागि हवाई क्षेत्रको सुरक्षा, डिजिटल ई-भिसा र सडक पूर्वाधारमा सुधार गर्नुपर्ने औंल्याइएको छ ।
  • पर्यटन क्षेत्रको विकासले नेपालमा झण्डै ५० लाख रोजगारी सिर्जना गर्ने र अर्थतन्त्र बलियो बनाउने छ ।

नेपाल संसारकै दुर्लभ प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले सम्पन्न राष्ट्र हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मिथिला सभ्यता केन्द्र जनकपुरधाम, हिमाली सौन्दर्य, जैविक विविधता, राष्ट्रिय निकुञ्ज, बहुभाषिक संस्कृति, साहसिक खेल, धार्मिक आस्था र गाउँको मौलिक जीवनशैलीले नेपाललाई विश्व पर्यटनको असाधारण गन्तव्य बनाउने क्षमता दिएका छन् ।

यति धेरै सम्भावना हुँदाहुँदै नेपालले पर्यटन क्षेत्रबाट अपेक्षित उपलब्धि भने हासिल गर्न सकेको छैन । सन् २०२५ मा नेपालमा साढे ११ लाख विदेशी पर्यटक भित्रिँदा नेपाल जस्तै भूपरिवेष्ठित राष्ट्र लाओसले ४५ लाखभन्दा बढी पर्यटक भित्र्याइसकेको छ । नेपालसँग स्रोत होइन, दृष्टिकोण, संरचना, रणनीति र प्रभावकारी कार्यान्वयन अभाव छ ।

आज विश्वका धेरै देशले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाएका छन् । कतिपय देशको विदेशी मुद्रा आम्दानी, रोजगारी, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय पहिचानको केन्द्र नै पर्यटन बनेको छ । नेपालमा पनि अब पर्यटनलाई केवल मनोरञ्जन वा घुमफिरको क्षेत्रका रूपमा होइन, राष्ट्रिय समृद्धिको प्रमुख उद्योगका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ ।

यदि नेपालले सन् २०४० सम्म ६३ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्ने हो भने अब सामान्य सुधारले मात्र पुग्दैन । देशले पर्यटन क्षेत्रमा संरचनागत परिवर्तन, दीर्घकालीन रणनीति, आधुनिक सोच र परिणाममुखी कार्यशैली अपनाउनैपर्छ ।

लक्ष्य र सम्भावना

नेपालले आगामी १५ वर्षमा योजनाबद्ध ढंगले पर्यटन क्षेत्र विस्तार गर्न सके ६३ लाख पर्यटक लक्ष्य असम्भव देखिँदैन । यदि आगामी वर्षहरूमा नेपालले औसत १५ प्रतिशत वार्षिक दरले पर्यटक वृद्धि गर्न सक्यो भने सन् २०३२ सम्म करिब ३० लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ । त्यसपछि २०३२ देखि २०४० सम्म प्रत्येक वर्ष १० प्रतिशत वृद्धिदर कायम राख्न सक्यौं भने ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न सम्भव हुनेछ ।

यो लक्ष्य केवल पर्यटक संख्या बढाउने योजनामात्र होइन, नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने राष्ट्रिय अभियान पनि हो । विश्व पर्यटन बजार अहिले तीव्र गतिमा परिवर्तन भइरहेको छ । मानिसहरू अब केवल होटल र सहर हेर्न यात्रा गर्दैनन्, उनीहरू अनुभव खोजिरहेका छन् । नेपालसँग त्यही अनुभवको अथाह सम्भावना छ ।

हिमालको रोमाञ्च, बुद्धको शान्ति, पशुपतिनाथको धार्मिक आस्था, चितवनको वन्यजन्तु, हिमाली संस्कृतिको स्पर्श, ग्रामीण जीवनशैली र प्राकृतिक विविधताले नेपाललाई विश्वकै विशिष्ट गन्तव्य बनाउन सक्छ । नेपालले यदि सही रणनीति अपनाउन सक्यो भने दक्षिण एसियामै सबैभन्दा तीव्र गतिमा बढ्ने पर्यटन बजार बन्न सक्ने सम्भावना छ ।

पूर्वाधार आवश्यकता

पर्यटन विकासको पहिलो सर्त सहज पहुँच र गुणस्तरीय पूर्वाधार हो । तर, नेपालका धेरै सम्भावनायुक्त गन्तव्यहरू अझै पनि सडक, यातायात, सञ्चार, स्वास्थ्य सेवा र आधारभूत सुविधा अभावमा पछाडि छन् । रारा ताल, तिलिचो ताल, गोसाइँकुण्ड, खप्तड राष्ट्रिय निकुञ्ज, बडिमालिका, पाथीभरा मन्दिर तथा कञ्चनजंघा आधार क्षेत्र जस्ता गन्तव्य विश्वस्तरीय पर्यटन केन्द्र बन्न सक्ने क्षमता राख्छन् ।

तर, त्यहाँ पुग्ने सडक सञ्जालको अवस्था, सार्वजनिक सुविधा, सरसफाइ, डिजिटल सूचना र सुरक्षित यातायात अभावले पर्यटकलाई असहज बनाइरहेको छ । त्यसभन्दा बढी मुलुकको जीवनरेखा मानिने महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग लगायत अधिकांश उत्तर–दक्षिण राजमार्ग खण्डित रूपमा जीर्ण रहेको अवस्थामा आमजनता लगायत पर्यटकको समेत सडक यात्रा कष्टकर बनिरहेको छ । यसैले सरकारले ‘पर्यटन पूर्वाधार दशक’ घोषणा गरेर संरचनागत विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ ।

काठमाडौं–पोखरा–लुम्बिनी–चितवन–मुग्लिङ करिडोरलाई ‘गोल्डेन टुरिज्म ट्र्यांगल’ का रूपमा विकास गर्दै विश्वस्तरीय पर्यटन राजमार्ग निर्माण गर्न सकिन्छ । यस क्षेत्रमा आधुनिक विश्रामस्थल, पर्यटक सहायता केन्द्र, आपतकालीन स्वास्थ्य सेवा, डिजिटल सूचना प्रणाली र स्मार्ट ट्राफिक व्यवस्थापन लागु गर्न सके पर्यटक बसाइ अवधि र खर्च दुवै वृद्धि हुनेछ ।

त्यस्तै महेन्द्र राजमार्गलाई दक्षिण एसियाली पर्यटन करिडोरका रूपमा विकास गर्न सकिन्छ । भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल तथा बंगलादेशसँग जोडिने यो राजमार्गलाई ८ लेनको आधुनिक सडकमा विस्तार गर्न सके भारत तथा बगलादेशबाट लाखौं पर्यटक स्थलमार्ग हुँदै नेपाल आउन सक्छन् ।

नेपालको पर्यटनको मुख्य ब्रान्ड सगरमाथा क्षेत्र पुग्न अहिले पनि मुख्य रूपमा लुक्ला विमानस्थलमा निर्भर रहनुपर्ने बाध्यता छ । मौसम बिग्रिँदा हजारौं पर्यटक अलपत्र पर्ने समस्या दोहोरिन्छ । त्यसैले लुक्लालाई आधार बनाएर ‘सगरमाथा राजमार्ग’ अवधारणा अघि बढाएर सुरक्षित सडक सञ्जाल विस्तार गर्न सकिन्छ । यसलाई विश्वकै रोमाञ्चकारी हिमाली सडक यात्राका रूपमा ब्रान्डिङ गर्न सकियो भने नेपालले नयाँ प्रकारको ‘एड्भेन्चर रोड टुरिज्म’ बजार सिर्जना गर्न सक्छ ।

हवाई यात्रा र भिसा सुधार

नेपाल आउने अधिकांश विदेशी पर्यटकले पहिलो चरणमै हवाई समस्या सामना गरिरहनुपर्ने बाध्यता छ । सीमित अन्तर्राष्ट्रिय उडान, अत्यधिक महँगो टिकट, कमजोर एयर ट्राफिक व्यवस्थापन र अव्यवस्थित विमानस्थल सेवाले पर्यटन विस्तारलाई गम्भीर रूपमा प्रभावित गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके नेपालको पर्यटन क्षेत्रले नयाँ गति लिन सक्छ । काठमाडौं केन्द्रित हवाई चाप कम हुनेछ र क्षेत्रीय पर्यटन विस्तार हुनेछ ।

२००६ सालदेखि व्यावसायिक उडान गर्न थालेको नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्थापनाकालदेखि नै निरन्तर हवाई उडान सञ्चालन गरिरहेको छ । हालको अवस्थासम्म आइपुग्दा विमानस्थल धेरै साँघुरो भइरहेको छ । जसले गर्दा अन्तर्राष्टिय र आन्तरिक उडान समेत आकाशमै होल्ड हुनुपरेको अवस्था छ । त्रिभुवन विमानस्थलले बढ्दो पर्यटक चाप परिपूर्ति गर्ने अवस्था नभएकाले यथाशीघ्र ६० किलोमिटर दुरीभित्र वैकल्पिक आन्तरिक विमानस्थल स्थापना गर्नुपर्ने हुन्छ । जसले अन्तर्राष्ट्रिय बिमानस्थलको क्षमतालाई २ सयदेखि साढे २ सय प्रतिशतसम्म बढाउन सकिने छ ।

निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रूपमा दक्षिण एसियाको ‘ट्रान्जिट हब’ का रूपमा विकास गर्न सकिन्छ । आज अस्ट्रेलिया, न्युजिल्यान्ड र एसियाका धेरै यात्रु दुबई, दोहा, सिंगापुर वा बैंककमा ट्रान्जिट हुन्छन् । नेपालले पनि त्यस मोडेलबाट सिक्दै भैरहवा र निजगढलाई ‘ट्रान्जिट–पर्यटन केन्द्र’ का रूपमा विकास गर्न सकियो भने यी विमानस्थलबाट समेत पर्यटक चाप बढाउन सकिन्छ ।

नेपालको हवाई क्षेत्र सन् २०१३ देखि युरोपेली युनियनको कालोसूचीमा रहनु अर्को ठूलो चुनौती हो । यसप्रति वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो घोषणापत्रमै उल्लेख गरेको हुँदा यो समस्या समाधान गर्ने सके नेपालको हवाई क्षेत्रप्रति अन्तर्राष्ट्रिय विश्वसनीयता बढ्छ । यदि सरकारले सुरक्षा सुधार, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयनमा विशेष पहल गर्न सके नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता उल्लेखनीय रूपमा अगाडि बढ्न सक्छ । नेपालको राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित नेपाल एयरलाइन्सलाई आधुनिक जहाज, अन्तर्राष्ट्रिय साझेदारी, चुस्त व्यवस्थापन र प्रतिस्पर्धी सेवामार्फत पुनर्जीवित गर्न सके पर्यटन विस्तारमा ठूलो टेवा पुग्ने छ ।

त्यस्तै आजको डिजिटल युगमा पर्यटकले छिटो र सहज सेवा खोज्छन् । तर, नेपालमा अझै पनि भिसा, अनुमति र प्रशासनिक प्रक्रियामा झन्झट छ । त्यसैले पूर्ण डिजिटल ई–भिसा प्रणाली लागु गर्न आवश्यक छ । अनलाइन आवेदन, डिजिटल भुक्तानी, बहुभाषिक सेवा र छिटो स्वीकृतिले नेपाललाई अझ पर्यटकमैत्री बनाउन सक्छ ।

नयाँ पर्यटन बजार

नेपालको पर्यटन लामो समयसम्म हिमाल, ट्रेकिङ र धार्मिक यात्रामा सीमित रह्यो । तर, अहिले विश्व पर्यटन बजार बदलिएको छ । पर्यटक फरक अनुभव खोजिरहेका छन् । त्यसैले नेपालले अब अनुभव–आधारित विविध पर्यटन उत्पादन विकास गर्नुपर्छ । लुम्बिनीलाई विश्व बौद्ध पर्यटन केन्द्रका रूपमा विकास गर्दै ‘बुद्धिज्म थिम पार्क’, अन्तर्राष्ट्रिय ध्यान केन्द्र र बौद्ध सम्मेलन केन्द्र स्थापना गर्न सकिन्छ ।

त्यस्तै जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ । रामसीता विवाह महोत्सवलाई विश्वस्तरमा ब्रान्डिङ गर्न सकियो भने दक्षिण एसियाली धार्मिक पर्यटनमा ठूलो आकर्षण सिर्जना गर्न सकिन्छ । यस विषयमा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले पनि विशेष चासो राख्नुभएको छ जुन नेपालको पर्यटनका लागि निकै खुसीको कुरा हो ।

 

तराई क्षेत्रमा आधुनिक मनोरञ्जन पार्क निर्माण गरेर भारतबाट आउने पारिवारिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यस्तै कृषि पर्यटन, होमस्टे, ग्रामीण पर्यटन, योग तथा ध्यान पर्यटन, मेडिकल टुरिज्म, वेलनेस टुरिज्म, फिल्म पर्यटन, डिजिटल नोमाड र माइस टुरिज्मलाई नयाँ ढंगले विस्तार गर्न सकिन्छ । नेपालको अर्गानिक कृषि, गाउँ संस्कृति, हिमाली जीवनशैली, जडीबुटी र प्राकृतिक शान्तिलाई पर्यटनसँग जोड्न सकियो भने गाउँसम्म अर्थतन्त्र चलायमान हुन सक्छ ।

प्रचार र ब्रान्डिङ

आजको पर्यटन बजार सामाजिक सञ्जाल, युट्युब, फिल्म र डिजिटल कन्टेन्टले निर्धारण गरिरहेको छ । मानिस फिल्म वा वेब सिरिजमा देखिएका स्थान प्रत्यक्ष हेर्न चाहन्छन् । नेपालले अब बलिउड, हलिउड, चिनियाँ, कोरियाली तथा अन्य अन्तर्राष्ट्रिय फिल्म उद्योगलाई नेपालमा आकर्षित गर्नुपर्छ । सहज अनुमति प्रक्रिया, कर छुट, आधुनिक छायांकन पूर्वाधार र छिटो प्रशासनिक सेवाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्य बनाउन सक्छ । हरेक वर्ष फरक–फरक देशका चलचित्र नेपालमा छायांकन गर्ने नीति ल्याउन सकिन्छ । यसले नेपाललाई करोडौं दर्शकमाझ पुर्‍याउने छ । त्यस्तै विश्व चर्चित ट्राभल इन्फ्लुएन्सर, युट्युबर र डिजिटल कन्टेन्ट निर्मातासँग सहकार्य गर्दै डेटा–आधारित, बहुभाषिक र लक्षित डिजिटल मार्केटिङ अभियान सञ्चालन गर्नुपर्छ ।

भारतका लागि धार्मिक तथा पारिवारिक पर्यटन, चीनका लागि हिमालय र लक्जरी पर्यटन, युरोपका लागि साहसिक पर्यटन तथा अमेरिकाका लागि आध्यात्मिक र अनुभव–आधारित पर्यटनलाई लक्षित गर्दै छुट्टाछुट्टै रणनीति बनाउन आवश्यक छ ।

नेपालबारे अध्ययन गर्ने, किताब लेख्ने, हिमाल आरोहण गर्ने तथा विश्व बजारमा नेपालको पर्यटनसँग काम गरिरहेका विदेशीलाई समेटेर ‘फ्रेन्ड्स अफ नेपाल’ अभियान सञ्चालन गर्न सकिन्छ । त्यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई विश्वव्यापी पर्यटन प्रचार अभियानसँग जोड्न सके नेपालको पर्यटन प्रवर्द्धन अझ प्रभावकारी बन्न सक्छ ।

अर्थतन्त्रमा प्रभाव

यदि नेपालले सन् २०४० सम्म ६३ लाख विदेशी पर्यटक भित्र्याउन सफल भयो भने त्यसले नेपालको अर्थतन्त्रमा ऐतिहासिक परिवर्तन ल्याउन सक्छ । प्रत्यक्ष र अप्रत्यक्ष झन्डै ५० लाख रोजगारी सिर्जना हुन सक्छ । होटल, यातायात, कृषि, हस्तकला, गार्मेन्ट, सूचना प्रविधि, मनोरञ्जन तथा सेवा क्षेत्रमा ठूलो आर्थिक गतिविधि बढ्ने छ । हाल नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान करिब ६–७ प्रतिशत रहेको अनुमान छ । यदि दीर्घकालीन रणनीति सहित अघि बढ्न सकियो भने आगामी वर्षहरूमा यसलाई १०–१५ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ ।

पर्यटक वृद्धि भएसँगै कृषि उत्पादनको माग बढ्ने छ । किसानको आय वृद्धि हुनेछ । हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तार हुनेछ । साना तथा मझौला उद्योग फस्टाउनेछन् । सबैभन्दा महत्त्वपूर्ण कुरा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान बाध्य युवाले स्वदेशमै अवसर पाउन सक्छन् । पर्यटन विस्तारसँगै मेडिकल टुरिज्म, एजुकेसनल टुरिज्म, वेलनेस टुरिज्म र एग्रो टुरिज्मजस्ता नयाँ सम्भावनाको ढोका पनि खुल्ने छ ।

मानव पूँजी विकासले पर्यटन क्षेत्रमा सेवा गुणस्तर सुधार, पर्यटक सन्तुष्टि वृद्धि, रोजगारी सिर्जना र नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउँछ । त्यसैले दक्ष, शिक्षित र जिम्मेवार जनशक्ति तयार गर्नु नेपालको पर्यटन विकासको मुख्य आधार हो ।

चुनौती र सुधार

पर्यटन विस्तारसँगै वातावरणीय दबाब, हिमाल प्रदूषण, फोहोर व्यवस्थापन, अव्यवस्थित सहरीकरण, ट्राफिक जाम, सांस्कृतिक व्यावसायीकरण, राजनीतिक अस्थिरता र जलवायु परिवर्तन जस्ता चुनौती पनि बढ्नेछन् । त्यसैले पर्यटन विकास दिगो, वातावरणमैत्री र व्यवस्थित हुनुपर्छ । नेपाल पर्यटन बोर्डलाई केवल औपचारिक संस्था होइन, अनुसन्धानमुखी, व्यावसायिक र परिणाममुखी संस्थाका रूपमा पुनर्संरचना गर्न आवश्यक छ । पारदर्शी नेतृत्व, योग्य व्यक्तिको चयन, निजी क्षेत्रसँग समन्वय र नतिजामुखी कार्यशैली मार्फत बोर्डलाई प्रभावकारी बनाउन सकिन्छ ।

सरकार र निजी क्षेत्रको साझेदारीविना पर्यटन विस्तार सम्भव हुँदैन । त्यसैले लगानीमैत्री वातावरण, कर छुट, एकद्वार प्रणाली र सहज कानुनी संरचना निर्माण गर्नुपर्छ । स्वदेशी तथा विदेशी दुवै लगानीलाई समान रूपमा संरक्षण नहुँदा व्पापारीहरूको लगानी असुरक्षित हुने, मनोबल कमजोर हुने र त्यसले आर्थिक विकासमा असर पार्ने भएको हुँदा त्यसतर्फ भने राज्य चनाखो हुनुपर्ने देखिएको छ ।

लगानीका लागि राज्यले जमिन उपलब्ध गराउने व्यवस्था विश्वभरि प्रचलित अभ्यास रहे तापनि नेपालमा भने त्यस्ता अवसरलाई अपराधीकरण गरेर लगानीकर्ता आतंकित पार्ने प्रवृत्ति बढ्दै गएकोमा त्यसतर्फ सरकारले ठोस कदम चाल्नुपर्दछ जसले व्यापारीलाई लगानीमा थप उत्साह छाउने छ ।

निष्कर्ष

नेपालसँग पर्यटन महाशक्ति बन्ने सबै आधार छन् । हिमाल, संस्कृति, अध्यात्म, जैविक विविधता, धार्मिक सम्पदा, साहसिक खेल र प्राकृतिक सौन्दर्य नेपालको अनुपम शक्ति हुन् । तर सम्भावना मात्र पर्याप्त हुँदैन, दूरदृष्टि चाहिन्छ, नीतिगत साहस चाहिन्छ, आधुनिक पूर्वाधार चाहिन्छ, विश्वस्तरीय प्रचार चाहिन्छ, सरकार–निजी क्षेत्र साझेदारी चाहिन्छ । र, सबैभन्दा महत्त्वपूर्ण पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको केन्द्रमा राख्ने राजनीतिक प्रतिबद्धता चाहिन्छ ।

यदि नेपालले अब सही समयमा सही निर्णय लिन सक्यो भने सन् २०४० सम्म ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य केवल आँकडा रहने छैन, नेपालको आर्थिक रूपान्तरणको आधार बन्न सक्छ । किनकि, पर्यटन केवल उद्योग होइन, नेपालको भविष्य बदल्ने सबैभन्दा ठूलो अवसर पनि हो ।

(प्यासिफिक एसिया ट्राभल एसोसिएसन-पाटाका पूर्वउपाध्यक्ष पाण्डे ३८ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?