+
+
Shares
अन्तर्वार्ता :

संसद्‌मा रिंगलाको उग्र रूप, भन्छिन्- जोशिलो छु, नियत खराब छैन

हामी प्रतिपक्ष हो । हामीले आफ्नो अधिकार माग्दा, माग उठाउँदा हान्न गयो, पिट्न गयो, कुर्सी भाँच्यो, टेबल चढ्यो भन्ने ? यो त भएन नि ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ जेठ १८ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद् बैठकमा अभद्र व्यवहार देखाएको भन्दै नेकपा एमालेकी सांसद रिंगला यादवको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।
  • सांसद यादवले आफू होचो भएकाले टेबलमा चढेको र कुर्सी भाँच्ने वा हातपात गर्ने आफ्नो नियत नभएको दाबी गरिन् ।
  • नवलपरासीकी एमाले उपसचिव यादव मधेशी महिला क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

१८ जेठ, पोखरा । सामाजिक सञ्जालमा भाइरल छिन्, सांसद रिंगला यादव (४०) । आइतबारको संसद् बैठकमा देखाएको व्यवहारका तस्वीर तथा भिडियो राखेर उनीमाथि गालीको वर्षा भइरहेको छ  ।

एउटा दृश्यमा टेबलमा उभिएर औंला ठड्याउँदै चिच्याइरहेकी छिन्, रिंगला । अर्को भाइरल दृश्यमा आक्रोसित रिंगलालाई मर्यादापालकले रोकिरहेका मात्रै छैनन्, उचालेर भुँइमा राखिदिएका छन् । त्यस्तै, अर्को दृश्यमा उनले कुर्सी उठाएको देखिन्छ भने अर्कोमा मुड्की कसेर आक्रोस पोखिरहेको देखिन्छ ।

संसद्‌मा रिंगलाले देखाएको व्यवहार र गतिविधिको आलोचना मात्रै भइरहेको छैन, आखिर उनी को हुन् भनेर खोजीसमेत भइरहेको छ । संसद्‌मा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले विपक्षीतर्फ पोखेको आक्रोस पनि चर्चामा छ भने रोस्ट्रम ताकेर गएका एमाले सांसद ऐन महरलाई मर्यादापालकले छेकेको दृश्यले पनि धेरैको ध्यान खिचेको छ ।

प्रतिनिधिसभा नियमावली पारित गर्ने सन्दर्भमा संसद्‌मा देखिएको विरोध र रस्साकस्सीमा रिंगला धेरैको नजरमा परेकी छन् भने उनी को हुन् र किन यस्तो गतिविधि देखाइन् भने चासोसमेत बढेको छ ।

को हुन् त रिंगला ? उनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निवासी हुन् । नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा छिरेकी उनी पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ की हुन् ।

रिंगला २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार थिइन् । संविधानसभामा पराजित भएपछि २०७९ को चुनावमा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनिन् । संविधानसभामा टिकट पाइसकेर पनि पालिकामा उपाध्यक्षको उम्मेदवार बनेको भन्दै उनको आलोचनासमेत भएको हो ।

संविधानसभापछि उनले गाउँपालिकामा उपाध्यक्ष पनि हारिन् । तर एमालेले फेरि प्रतिनिधिसभामा ल्याउन चाह्यो । गत फागुन १० गते भएको निर्वाचनमा उनको नाम एमालले समानुपातिकको बन्द सूचीमा मधेशी महिला क्लस्टरबाट एक नम्बरमा राखेको थियो ।

प्रतिनिधिसभा छिरे पनि उनीप्रति धेरैको नजर परेको थिएन । तर नियमावली पारित गर्ने सन्दर्भमा सत्तापक्ष–प्रतिपक्ष आमनेसामने हुँदा देखाएको व्यवहारले रिंगलालाई आलोचनाको केन्द्रमा ल्याएको हो ।

व्यवसायीसमेत रहेकी उनी नवलपरासीमा हक्की एमाले नेतृको रूपमा चिनिन्छन् । व्यावसायिक खेती हुँदै नेपाल गार्मेन्ट प्रालि चलाएर अहिले पनि ४०/५० जनालाई उनले रोजगारी दिएकी छन् । उनी नेकपा एमाले नवलपरासीको उपसचिवसमेत हुन् ।

संसद्मा उनले देखाएको व्यवहारले भने उनलाई चर्चासँगै आलोचितसमेत बनाएको छ । संसद्मा पहिले जस्तै तोडफोड, हुलदंगा मच्चाउने दृश्य दोहोरिएको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

सार्वभौम जनताको प्रतिनिधित्व हुने सम्मानित सदनमा आफ्नो असहमति दर्ज गर्ने स्वस्थ र भद्र शैली छोडेर अभद्र हिसाबले उत्रिएको भन्दै उनको विरोध भइरहेको छ । ‘यो दंगल प्रदर्शनले राजनीतिलाई झन् विकृत बनाउँछ । यसो गर्ने हुँदै होइन,’ अधिवक्ता सरिता तिवारीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

संसद्‌मा देखाएको व्यवहारप्रति धेरैले आलोचना गरिरहेका बेला अनलाइनखबरले यसै सन्दर्भमा रिंगलासँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादति अंश :

संसद् बैठकमा आइतबार तपाईंले देखाउनु भएको व्यवहार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरै ठाउँबाट आलोचना पनि भइरहेको छ । यसमा तपाईंको प्रतिक्रिया के छ ?

बुझ्ने मान्छेले पक्कै आलोचना गर्दैन । जसले जस्तो संस्कार पाएको छ, त्यस्तै बोल्ने हो । मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि सदनमा आवाज उठाएको होइन । देश र जनताकै लागि आवाज उठाएको हो । प्रधानमन्त्रीज्यूले सदनमा त्यस्तो बोल्न हुने, अनि हामी प्रतिपक्षले चाहिँ निमावलीको संशोधन गर्न नपाउने ? हामीले यति अनुरोध गर्‍यौं, एकचोटी बैठक बसौँ भन्यौं । नियमावली संशोधन गरौँ र टेबल गरौं भन्यौं । तर सभामुखज्यूले मान्नु भएन ।

सभामुखज्यू अभिभावक भएकाले सबैको कुरा सुन्नुपर्छ । सत्तापक्षको मात्र होइन, प्रतिपक्षको पनि सुन्नुपर्‍यो नि ।

बेञ्च र टेबलमा चढ्नुभएको, मर्यादापालकमाथि जाइलाग्नु भएको देखिन्छ । कतै मुक्का ताकेको पनि देखिन्छ । यो त अलि अशिष्ट भएन र ?

कुरा के हो भने, मेरो उचाइ अलि कम छ । भिडभाडमा हराइहाल्छु भनेर टेबलमा चढेको हुँ । हामीले माइक खोस्ने प्रयास गरेको हो । मर्यादापालकहरूले खोस्न नदिने प्रयास गर्नुभएको हो ।

नारा–जुलुस गर्दा, मैले हात उठाउँदा र हजुरले फोटो क्लिक गर्दा त्यस्तो देखियो । त्यो फोटोलाई कसैले अन्यथा लिन्छ, भाइरल गर्छ भने मेरो समस्याको विषय होइन । हामी बीसौँ वर्षदेखि राजनीति गर्दै आएका हौं । एक्कासि सदनमा आएको होइन ।

म २०७० सालमै सांसदको चुनाव लडेको व्यक्ति हुँ । राजनीतिक संस्कार ममा पनि छ । कहाँ के गर्नुपर्छ मलाई थाहा छ । मेरो नियत कसैलाई हातपात गर्ने, लछारपछार गर्ने होइन । त्यस्तो हर्कत गर्न पनि हुँदैन । मैले नारा लगाउन हात उठाएको हो । त्यही बेलामा ठ्याक्कै फोटो क्लिक भएको हो ।

नियमावली संशोधनमा हाम्रो चित्त बुझेको छैन । संशोधन गर्न पाउनुपर्छ भनेर हामीले आफ्नो माग राखेको हौं । हामीले सभामुखलाई किन मुक्का ताक्ने ? किन तान्ने ? उहाँलाई हामीले किन पिट्न जाने ? हामी मर्यादित छौं, हौं ।

पहिले पनि संसद्‌मा कुर्सी हानाहान गर्ने, लछारपछार गर्ने, रोस्ट्रममा नाराबाजी गर्ने जस्ता कारणले पुराना दलहरूको साख घट्दै गएको देखिन्थ्यो । तपाईंले पनि संसद्‌मा कुर्सी उठाएको देखियो । त्यो चाहिँ के थियो ?

हामीलाई ठाउँ पुगिरहेको थिएन । मर्यादापालकहरू भने उल्टै हामीलाई नै धकेलिरहेका थिए । त्यसैले एउटा उठाएर अर्को कुर्सीमाथि राख्न गएको हो । तर साथीहरूले कुर्सी उठाएर तोडफोड गर्न लागेको भन्ने सम्झिनु भयो । मैले कसैलाई हान्न वा भाँच्नलाई कुर्सी उठाएको होइन । मर्यादापालकको धककेलाधकेलका कारण कुर्सीमा लागेर उल्टै मेरो खुट्टामा चोट लागेको छ ।

संसद्‌मा हिजो तपाईँले ‘सिंघम अवतार’ देखाउनुभयो भनेर आलोचना भइरहेको छ नि ?

म फेरि पनि भन्छु– कुर्सी भाँच्ने मेरो नियत होइन । त्यो संस्कार र गुण ममा छैन । हो, अलिकति म जोशिलो छु । अलिकति आबेगमा आउँछु । मेरो स्वर अलिकति तेजिलो छ, चर्को छ । तर सभामुखलाई लछारपछार गर्न जानु र कुर्सी भाँच्नु न मेरो नियत हो न संस्कार हो ।

म माइक खोस्न भने गएको हो । त्यतिबेला उहाँहरूको बहुमत थिएन । हामी जुन बेलामा नारा जुलुस गर्दै थियौं, उहाँहरू ४०–४५ जना मात्र हुनुहुन्थ्यो । हाम्रो संख्या उहाँहरूको भन्दा बढी भएपछि हामीले के सोच्यौं भने, यो बेला हाम्रो बहुमत छ । त्यसैले सभामुखजीलाई नियमावली पारित गर्नबाट रोक्नु पर्छ । हाम्रो संशोधन हुनु पर्छ, टेबल हुनु पर्छ र बैठक बस्नु पर्छ ।

बैठक बसेर संशोधन भएर फेरि पारित होस् भन्ने हाम्रो चाहना हो । त्यसै कारण हामीले माइक खोस्न खोजेको हो ।

आफ्नो कुरा राख्ने, सभामुखको ध्यानाकर्षण गराउने फरक र सिर्जनात्मक शैली अपनाउन सकिन्थ्यो कि ?

त्यो माहौलमा फरक शैली कसरी अपनाउन सकिन्छ ? सभामुखज्यूले पनि त त्यो सिस्टम बसाल्दिनु पर्थ्यो । सभामुखज्यूले पनि हामीलाई बसालेर हाम्रो कुरा सुन्दिएको भए, मान्दिएको भए, टेबल गर्दिएको भए के बिग्रिन्थ्यो र ?

पहिलो अधिवेशनदेखि आजसम्म उहाँले कुनै पनि प्रतिपक्षको कुरा मान्दिनु भएन । अनि प्रधानमन्त्रीजी आएर के–के भन्न हुने, लिपुलेक, लिम्पिधुरा भारतले मात्रै मिचेको होइन, नेपालले पनि भारतको भूमि मिचेको छ भन्न हुने । उहाँले त्यस्तो कुरा बोल्न मिल्छ ?

प्रधानमन्त्रीले त्यस्ता कुरा बोल्न सत्तापक्षका माननीयज्यूहरूले हाइ–हाइ गर्ने । अनि, हामीले आफ्नो माग उठाउन नपाउने ? हामी प्रतिपक्ष हो । हामीले आफ्नो अधिकार माग्दा, आफ्नो माग उठाउँदा हान्न गयो, पिट्न गयो, कुर्सी भाँच्यो, टेबल चढ्यो भन्ने ? यो त भएन नि ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?