+
+
Shares

कविता : रातको अन्तिम हरफ

हेमन्त नाथ हेमन्त नाथ
२०८३ जेठ १६ गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले रातको सुनसान समयमा आफ्ना भावनाहरूलाई शब्दमा उतार्न खाली कागज अगाडि राखेर प्रयास गरेका छन् ।
  • कवितामा प्रियजनको स्पर्शको न्यानोपन, मौनताको गहिराइ, गाजलु आँखा र मन्द मुस्कानको मार्मिक चित्रण गरिएको छ ।
  • प्रेमलाई शब्दभन्दा पर मौनतामा खोज्दै लेखकले आफ्ना भावनाहरूलाई अमर बनाउने इच्छा व्यक्त गरेका छन् ।

रात फेरि विस्तारै पृथ्वीमाथि ओर्लिरहेको छ।

आकाशले आफ्नो नीलो उज्यालो समेटेर

कालो रेशमी च्यादर ओढिसकेको छ।

शहरका भीडहरू निदाइसके,

गल्लीहरू सुनसान छन्,

झ्याल बाहिर बगिरहेको हावाले पनि

आफ्नो थकानलाई मौनतामा विसर्जन गरिसकेको छ।

तर यी सबै नि:स्तब्धताभित्र पनि

मेरो मनमा एउटा आवाज जागिरहेको छ

अत्यन्त मन्द,

तर अत्यन्त गहिरो,

त्यो आवाज तिम्रो हो !

अनि त्यही क्षण,

मलाई थाहै नदिई,

मेरो कलमले फेरि तिम्रै नामतिर बग्न थाल्छ।

म धेरै बेरसम्म

खाली कागजलाई हेरिरहन्छु।

शब्दहरू आउँछन्,

तर तिमीलाई लेख्न खोज्नेबित्तिकै

ती सबै शब्दहरू

आफ्नो अर्थ गुमाएर मौन बन्छन्।

किनकि तिमीलाई वर्णन गर्नु

कुनै साधारण प्रेमकथा लेख्नुजस्तो होइन,

तिमीलाई लेख्नु भनेको

आफ्नो आत्माभित्र लुकेको

एउटा अधुरो ब्रह्माण्डलाई

धीरे–धीरे उजागर गर्नु हो।

म सोचिरहन्छु..

आज तिम्रो कुन रूपलाई शब्द दिऊँ?

तिम्रो हातको त्यो न्यानोपन लेखूँ?

जुन पहिलो पटक

मेरो चिसिएको अस्तित्वमाथि

घाम बनेर झरेको थियो।

त्यो स्पर्श केवल स्पर्श थिएन,

त्यो त थाकेको आत्माले

पहिलो पटक शरण पाएको अनुभूति थियो।

तर डर लाग्छ

यदि त्यो न्यानोपन लेखें भने,

कतै यो कागज

तिम्रो मायाको ताप सहन नसकेर

आगो झैं जल्दैन कि

अनि फेरि सोचिन्छ

तिम्रो मौनताको गहिराइ लेखूँ ?

त्यो मौनता,

जहाँ शब्दहरू कहिल्यै बोलिएनन्,

तर भावना भने

समुद्रको ज्वारभाटा जस्तै

निरन्तर उर्लिरहे

तर त्यो गहिराइ पनि

मापन गर्न सकिने कुनै दूरी होइन

त्यो त यस्तो अथाह आकाश हो,

जहाँ एकपटक हराइसकेपछि

मानिस आफूलाई फर्काएर ल्याउन सक्दैन।

म तिम्रा आँखाहरू सम्झिन्छु।

ती गाजलु आँखाहरू

जसमा मैले

आफ्नो सम्पूर्ण अस्तित्वलाई

बिस्तारै विलीन हुँदै गएको देखेको थिएँ।

त्यहाँ म कति पटक हराएँ,

त्यसको हिसाब अब मसँग छैन

तर यति अवश्य थाहा छ

एकदिन त्यसरी हराइसकेपछि

फर्किने इच्छा समेत

मेरो भित्र शान्त मृत्यु झैं मरेर गयो

अनि फेरि

तिम्रो त्यो मन्द मुस्कान सम्झिन्छु।

त्यो मुस्कान,

जुन कुनै अनुहारको सजावट मात्र थिएन,

बरु मेरो उजाडिएको मनको बगरमा

अचानक उम्रिएको वसन्त थियो।

तिम्रो लजालु हेराइ त झन्

असारको पहिलो वर्षा जस्तै थियो

अचानक आउने,

तर सम्पूर्ण भित्रलाई भिजाइदिने।

त्यसले मेरो मनमा

वर्षौंदेखि डढिरहेको पीडामाथि

शीतलता ओतिदिएको थियो।

शायद त्यसैले

आज पनि म प्रेमलाई शब्दमा होइन,

तिम्रो मौनतामा खोज्छु।

किनकि संसारका धेरै प्रेमहरू

ओठबाट शुरु भएर

समयसँगै समाप्त हुन्छन्।

तर तिमी

तिमी त मेरो आत्माभित्र

मौन भएर पनि

अनन्तसम्म बोलिरहने अनुभूति हौ।

आज फेरि

यो सादा कागजको अगाडि बसेर

म अन्तिम निर्णयको सँघारमा उभिएको छु।

के तिम्रो तस्बिरलाई

यी हरफहरूमा सजाएर अमर बनाइदिऊँ?

कि यो अधुरो कविता च्यातेर

हावासँगै उडाइदिऊँ,

जसरी मानिसहरूले

आफ्ना अधुरा सपनाहरू बिर्सिदिन्छन्।

तर सक्दिनँ।

किनकि तिमीलाई बिर्सनु भनेको

आफ्नै सासलाई बिर्सनु जस्तै हो।

त्यसैले अब

म तिम्रो स्पर्शको न्यानो घाम

र मौनताको नीलो आकाशलाई

एउटै हरफमा मिसाइदिन्छु।

अनि त्यही हरफबाट

एउटा नयाँ ऋतु जन्मिनेछ

जहाँ प्रेम शब्दभन्दा गहिरो हुनेछ,

मौनता संगीतभन्दा मधुर हुनेछ,

र भावनाहरू

कविको अन्तिम सास झैं

समयभन्दा धेरै परसम्म

बाँचिरहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?