१६ जेठ, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपश्चिममा शान्ति प्रवर्द्धनका लागि पाकिस्तानको अहम् भूमिका रहेको बताएका छन् ।
पाकिस्तानका उपप्रधान एवम् विदेशमन्त्री इसहाक डारसँग शुक्रबार भएको भेटवार्तापछि उनले शान्ति प्रवद्र्धनका लागि पाकिस्तानको भूमिका अहम् रहेको बताएका हुन् ।
अमेरिकी विदेशमन्त्री रुबियोले शान्ति प्रवद्र्धनका लागि निभाएको भूमिकाका लागि पाकिस्तानलाई धन्यवाद पनि दिएका छन् ।
उनले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मा लेखेका छन्, ‘पाकिस्तानका डिप्टी प्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारसँग भेट भयो । मध्यपश्चिममा शान्ति प्रवद्र्धनका लागि पाकिस्तानले निरन्तर भूमिका खेलिरहेकोमा धन्यवाद व्यक्त गरें ।’
साझेदारीलाई अझ सुदृढ बनाउन र दुवै देशको थप समृद्धिका लागि मिलेर काम गर्नु आवश्यक रहेको विषयमा सहमति जनाइएको पनि उनले उल्लेख गरेका छन् ।
यसैबीच पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेटका क्रममा दुवै नेताले परिवर्तनशील क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार अमेरिकी विदेशमन्त्री रुबियोले क्षेत्रीय शान्ति र स्थिरताका लागि पाकिस्तानले गरिरहेका प्रयासको प्रशंसा पनि गरेका थिए ।
पाकिस्तानका विदेशमन्त्री डार शुक्रबार नै अमेरिका पुगेका थिए । यो भ्रमण अमेरिका र इरानबीच निकट भविष्यमा कुनै समझदारी वा सम्झौता हुन सक्ने चर्चा भइरहेका बेला भएको हो ।
प्रतिक्रिया 4