+
+
Shares

परिवारमा वहिष्कार, आश्रममा यौन हिंसा, समाजमा अपमान

मलाई सबैभन्दा गाह्रो त समाजले ‘तिमी यस्तो छौ, कसरी बस्छौ, कसरी कमाउँछौ ?’ भनेर हेर्ने दृष्टिकोणले भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरका २७ वर्षीय खगेन्द्र रानाले जन्मजात मस्कुलर डिस्ट्रोफी रोग र आफ्नो समलिङ्गी पहिचानका कारण परिवार तथा समाजबाट गहिरो विभेद भोग्नुपरेको छ ।
  • रानाले हाल रेनबो डिसाबिलिटी नेपाल नामक संस्थामा आबद्ध भई अपाङ्गता भएका र क्वियर समूहका व्यक्तिहरूलाई परामर्श दिने कार्य गरिरहेका छन् ।
  • उनले समाजमा अपाङ्गता र यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले भोग्नुपर्ने दोहोरो विभेदका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आत्मनिर्भर बन्ने लक्ष्य राखेका छन् ।

कञ्चनपुरको लालझाडी गाउँमा जन्मिएका २७ वर्षीय खगेन्द्र राना सानैदेखि जीवनको कठोर यथार्थसँग जुधिरहेका छन् । उनी जन्मजात ‘मस्कुलर डिस्ट्रोफी’ नामक वंशाणुगत रोगबाट ग्रस्त छन् । यो रोगले मांसपेशीहरूलाई क्रमशः कमजोर बनाउँदै लैजान्छ, खुट्टाको नसा सुक्दै जान्छ र हिँडडुल गर्न एकदमै गाह्रो बनाउँछ ।

साधारण बच्चाले ९-१० महिनामै हिँड्न थाल्छन्, तर खगेन्द्र डेढ वर्षसम्म पनि हिँड्न सकेनन् । बल्ल परिवारले उनलाई अस्पताल पुर्‍यायो र वंशाणुगत समस्या पत्ता लाग्यो । यो रोग निको हुँदैन, जीवनभरि नियमित फिजियोथेरापी र औषधि खानुपर्छ । उनले महिनाको १५००–२००० रुपैयाँसम्मको औषधि खानुपर्छ । औषधि छोड्नेबित्तिकै मांसपेशी कडा भएर उठ्न–बस्न पनि असम्भव जस्तै बन्छ ।

गरिब परिवारका खगेन्द्र ५ दाजुभाइ मध्ये कान्छा हुन् । उनी १५ वर्षको हुँदा बुबाको निधन भयो । त्यसयता परिवारले उनलाई कहिल्यै समान सदस्य मानेन । घरको कुनै निर्णयमा उनको राय लिइँदैनथ्यो । दाइहरूको बिहे भएर भाउजूहरू भित्रिएपछि त व्यवहार झन् खराब बन्यो । अपाङ्गता भएकै कारण कक्षा ६ पछि स्कुल पठाउनै बन्द गरियो । यसले पढेर के गर्न सक्छ र भन्ने सोचाइ उनको परिवारका सदस्यहरूको थियो ।

आमा एक्लैले थेग्न नसकेपछि उनलाई धनगढीको एउटा धार्मिक आश्रममा पठाइयो । आश्रममा बस्ने–खाने सुविधा सँगै पढाइले पनि निरन्तरता पायो । तर त्यहाँ पनि उनको दैनिकी सहज भएन । उसै त अपांगताको समस्या, त्यसमाथि उनले महिलाको जस्तो व्यवहार देखाउँदा धेरैको अपमान र दुर्व्यवहार सहनुपर्‍यो । उनलाई ‘मौगा’, ‘छक्का’ जस्ता अपमानजनक शब्दले बोलाउने गरिन्थ्यो । यसले उनको मनमा गहिरो चोट पुर्‍याउँथ्यो ।

आश्रममा सबैभन्दा दु:खद् र कहिल्यै बिर्सन नसकिने घटना किशोरावस्थामा भयो । आश्रमकै एउटा सिनियर व्यक्तिले अरू कोही नभएको मौका छोपेर उनलाई यौन दुर्व्यवहार गर्‍यो । त्यतिबेला न त उनलाई आफ्नो लैंगिक पहिचानको बारेमा थाहा थियो, न त कसैसँग भन्न सक्ने हिम्मत नै ।

आश्रममा एक्लो कोठा थिएन, सबै हलमै सुत्थे । त्यो घटनाले उनलाई वर्षौंसम्म पिरोल्यो । हरेक दिन त्यही व्यक्तिलाई देख्दा उनको पीडा दोब्बर हुन्थ्यो । यस्तै शारीरिक, मानसिक र यौन हिंसा सहेर पनि उनले आश्रममै बसेर प्लस टु पूरा गरे । उनीसँग अर्को विकल्प पनि त थिएन ।

कोरोना महामारीको समयमा दिदीले दिएको सेकेन्ड ह्यान्ड मोबाइलले उनको जीवनमा नयाँ ढोका खोल्यो । फेसबुक चलाउन थालेपछि उनले पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका साथीहरू भेट्टाए । तिनै साथीहरूको सहयोगले धनगढीमै रहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि काम गर्ने संस्थामा पुगे । त्यसपछि उनले आफू को हुँ भन्ने चिने । ‘त्यहाँ सरहरूले दिएको ओरिएन्टेसनपछि मात्र मलाई थाहा भयो— ‘म गे हुँ’ उनी भन्छन्, ‘यो मेरो यौन अभिमुखीकरण हो र यो कुनै गल्ती वा रोग होइन ।’

त्यसपछि उनी चितवनको अर्को आश्रममा एक वर्ष बसे, तर त्यहाँ पनि हेपाइ र दुर्व्यवहार सहनुपर्‍यो । अन्ततः उनी फेरि धनगढी फर्किए ।

फेसबुककै माध्यमबाट अपांगता अधिकारसँग जोडिए । तीन महिने कृषि सम्बन्धी स्किल ट्रेनिङ लिए । त्यही क्रममा आदित्य राईसँग उनको भेट भयो । आदित्यले सञ्चालन गरेको ‘रेनबो डिसाबिलिटी नेपाल’ नामक संस्थाले अपांगता र यौनिक तथा लैंगिक अल्पसंख्यक दुवै क्षेत्रमा काम गर्छ ।

२०८० तिर जम्मा ३ हजार रुपैयाँ बोकेर उनी काठमाडौँ आए । सुरुमा संस्थाकै अफिसमा सुते । कोठा खोज्दा अपाङ्गता र महिलाजस्तो बोलीका कारण घरबेटीहरूले ‘कसरी भाडा तिर्छौ ? केटीजस्ती छस्, यहाँ बस्न मिल्दैन’ भन्दै कोठा दिन मानेनन् । बल्लतल्ल एउटा कोठा पाए, दुई महिना नपुग्दै ‘पानी धेरै चलाउँछस्, केटीजस्तो बोल्छस्’ भन्दै निकालियो ।

काठमाडौँ आएपछिको एउटा घटनाले उनलाई अहिले पनि भावुक बनाउँछ । फेसबुकमै बनाएको समलिंगी साथीसँग उनको नियमितजस्तो गफ हुन्थ्यो । त्यसै क्रममा एक दिन भेट्ने सल्लाह भयो । खगेन्द्रले आफ्नो अपांगताको कुरा ती साथीलाई बताएका थिएनन् । बताउने अवसर नै पाएका थिएनन् । भेट्ने दिन उनको कोठानजिक ती साथी कुरिरहेका थिए । अलि परबाट उनी लठ्ठी टेकेर बिस्तारै आउँदै थिए । टाढैबाट उनलाई देखेर त्यो साथीले हेयको दृष्टिले हेर्दै भने, ‘साले अटिजम पो रहेछ !’ त्यो शब्दले उनको मन टुक्रियो ।

आदित्यको व्यक्तिगत र संस्थागत सहयोगले उनले नियमित फिजियोथेरापी, औषधिको जोहो भयो । अङ्ग्रेजी र कम्प्युटर कक्षा लिन पाए । अहिले उनी त्यही ‘रेनबो डिसाबिलिटी नेपाल’ मा प्रि–एजुकेटरको रूपमा काम गर्छन् । अपांगता भएका र क्वियर पहिचान भएका व्यक्तिहरूलाई परामर्श दिन्छन् । उनीहरूलाई आफू जस्तै एक्लो महसुस नहोस् भन्ने प्रयास गर्छन् । तर यो प्रोजेक्ट २०८२ डिसेम्बरमा सकिँदैछ । त्यसपछि फेरि बेरोजगार हुने डरले उनी चिन्तित छन् । अपांगता परिचयपत्रबाट तीन महिनामा पाउने ६००० रुपैयाँ औषधिमै सकिन्छ ।

परिवारले अझै उनको अस्तित्व स्वीकार गरेको छैन । आमा बाहेक दाइ–भाउजूहरू कोही बोल्दैनन् । भाउजूहरू त ‘छक्काहरूसँग संगत गर्‍यो, त्यसैले यस्तो भयो’ भन्छन् रे । कलेजमा मिल्ने साथीहरू पनि टाढिए । कोठा खोज्दा, जागिर खोज्दा, कलेजमा, आश्रममा—जहाँ गए पनि अपांगता र गे पहिचानको दोहोरो मार खेपिरहनु परेको छ ।

खगेन्द्र भन्छन्, ‘मलाई सबैभन्दा गाह्रो त समाजले ‘तिमी यस्तो छौ, कसरी बस्छौ, कसरी कमाउँछौ ?’ भनेर हेर्ने दृष्टिकोणले भएको छ’ उनी भन्छन्, ‘म पनि अरू जस्तै मान्छे हुँ, माया, सम्मान र अवसर चाहन्छु ।’

आज उनी आफूजस्तै दोहोरो र तेह्रो मारमा परेका अपाङ्गता भएका क्वियर युवाहरूलाई सहयोग गरिरहेका छन् । उनीहरूको आत्मविश्वास बढाउन, अधिकारको लडाइँमा साथ दिन खटिरहेका छन् । पढाइलाई निरन्तरता दिँदै नयाँ सिप सिकेर आफ्नै खुट्टामा उभिने र परिवारलाई ‘म पनि सक्षम छु’ भनेर देखाउने सपना छ उनको ।

‘जतिसुकै हिंसा, बहिष्कार र हेपाहा व्यवहार सहनुपरे पनि आत्मसम्मान र संघर्षले मान्छेलाई कहिल्यै हार्न दिँदैन’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?