News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर र काठमाडौंका विद्यालयहरूमा सञ्चालित वी मेन क्लब ले छात्रहरूलाई लैंगिक समानता, हिंसाविरुद्धको सचेतना र सामाजिक उत्तरदायित्वबारे ज्ञान दिइरहेको छ ।
- अपेक्षित खुलापन नआएपछि छात्रहरूलाई मात्र केन्द्रित गरी शुरू गरिएको यस क्लबले उनीहरूलाई आफ्ना भावना र सामाजिक दबाब व्यक्त गर्ने सुरक्षित स्थान दिएको छ ।
ललितपुर र काठमाडौंका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा ‘वी मेन क्लब’ सञ्चालन भइरहेको छ । यो कार्यक्रम स्कुले केटाहरूलाई लैंगिक समानता, सम्मान, सहमति, हिंसाविरुद्धको सचेतना, भावनात्मक अभिव्यक्ति र सामाजिक उत्तरदायित्वबारे व्यवहारिक ज्ञान दिने गर्छ ।
किताबी ज्ञानभन्दा बाहिर गएर संवाद, खेल, समूह गतिविधि र अनुभव साटासाटमार्फत सञ्चालन हुने यो क्लबले विद्यार्थीहरूको सोच, व्यवहार र पारिवारिक सम्बन्धमा समेत परिवर्तन ल्याउन थालेको सहभागीहरू बताउँछन् ।
कक्षा ९ का छात्र रिवाज अधिकारीका लागि ‘वी मेन क्लब’ अतिरिक्त कार्यक्रम मात्र नभई आफू र समाजलाई नयाँ ढंगले बुझ्ने अवसर बन्यो । सुरुमा जिज्ञासाका कारण क्लबमा जोडिएका उनी अहिले समाज, लैंगिकता र व्यवहारबारे फरक दृष्टिकोण बनेको बताउँछन् ।
‘पहिला समाजलाई सामान्य रूपमा मात्रै हेर्थ्यो’ रिवाज भन्छन्, ‘अहिले विभेद किन हुन्छ, त्यसलाई कसरी बदल्न सकिन्छ भनेर बुझ्न थालेका छौँ ।’
उनका अनुसार क्लबले समाजले केटामाथि राख्ने अपेक्षा र दबाबबारे सोच्न सिकाएको छ । ‘केटा सधैं बलियो र कठोर हुनुपर्छ भन्ने सोचलाई प्रश्न गर्न सिक्यौँ । अरूलाई सम्मान गरेर व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि बुझ्यौँ’ उनले सुनाए ।
कक्षा ७ का रामबहादुर अधिकारीका लागि यो क्लब आत्मविश्वास बढाउने माध्यम बन्यो । उनी आफू पहिले जे कुरामा पनि संकोच मान्ने खालको रहेको उनी बताउँछन् । ‘पहिला खुलेर बोल्न आउँदैनथ्यो। अहिले आफ्नो कुरा राख्न सक्छु’ उनले भने ।
उनका अनुसार क्लबमा लैंगिक समानतासँगै व्यवहार, सम्मान र सामाजिक सम्बन्धबारे पनि छलफल हुन्छ । यसले घरभित्रको भूमिकाबारे उनको सोच बदलिएको छ । ‘पहिला घरको काम महिलाले मात्रै गर्ने भन्ने लाग्थ्यो’ रामबहादुर भन्छन्, ‘अहिले महिला–पुरुष दुवैले जिम्मेवारी बाँड्नुपर्छ भन्ने लाग्छ।’
विद्यार्थी अंशद चौधरीले भने क्लबबाट ‘समानता’ र ‘समता’ बीचको फरक बुझ्न पाएको बताए । ‘सबैलाई एउटै कुरा दिनु समानता हो भने आवश्यकता अनुसार अवसर र सहयोग दिनु समता हो’ उनले भने ।

चौधरीका अनुसार समाजमा अझै पनि ‘यो केटाको काम’ र ‘यो केटीको काम’ भन्ने सोच बलियो छ । ‘केटा–केटी दुवैले सबै काम गर्न सक्छन्’ उनले भने ।
अंशदले आफूले साथीहरूमाझ पनि विभेदपूर्ण सोच बदल्न प्रयास गर्ने गरेको बताए। ‘साथीहरूले केटा–केटी भनेर छुट्याउँदा अहिले गलत हो भनेर सम्झाउने गर्छु’ उनले सुनाए ।
किन केटाहरूलाई मात्रै केन्द्रमा राखियो ?
वी मेन क्लब जुनियरका सहजकर्ता प्रजय श्रेष्ठका अनुसार सुरुमा केही विद्यालयमा केटा–केटी दुवैलाई राखेर कार्यक्रम सञ्चालन गरिएको थियो । तर त्यसले अपेक्षित खुलापन नआएपछि केटाहरूलाई केन्द्रित गरेर कार्यक्रम चलाउन थालिएको हो ।
लैङ्गिक समानताका कुरामा हामीले पुरुषलाई जिम्मेवार बनाउने भनेकै महिलाका लागि कस्तो वातावरण निर्माण गर्ने भनेर पनि हो । तसर्थ, हामीले बालिकाहरुलाई वेवास्ता गरेका छैनौ बरु, उहाँहरुसँग र भाइहरुका अभिभावक र शिक्षकहरुसँग नियमित बैठक गरेर भाइहरुले के सिकिरहेका छन् भनेर बताउने र उनीहरुमा कस्ता परिवर्तन देखिन्छ भनेर उहाँहरुसँग सोध्ने गर्दछौ ।
‘केटाहरूले वास्तवमा के महसुस गरिरहेका छन् भन्ने बुझ्न हामीले उनीहरूलाई छुट्टै सुरक्षित स्पेस दिएका हौँ,’ उनले भने ।
उनका अनुसार क्लबमा २५ वटा सेसन सञ्चालन हुन्छन्, जसमा लैंगिक हिंसा, पितृसत्ता, विषाक्त पुरुषत्व, विविध लैंगिक तथा यौनिक पहिचान, अनलाइन हिंसा, जलवायु न्याय, लगायत विषय समेटिन्छन् । ‘हामीले थ्योरीभन्दा व्यवहारिक विधि प्रयोग गर्छौँ । खेल, भिडियो र गतिविधिमार्फत सिकाउँछौँ,’ उनले बताए ।
‘लैंगिक समानताले केटाको पीडा पनि बुझ्छ’
वी मेन क्लब जुनियरकी सहजकर्ता मन्दिरा श्रेष्ठका अनुसार यो कार्यक्रमले केटाहरूको भित्री अनुभव र समाजले उनीहरूमाथि राख्ने अपेक्षालाई उजागर गर्न ठूलो भूमिका खेलेको छ । उनका अनुसार समाजमा लैंगिक समानताको कुरा प्रायः केटीहरू केन्द्रित भएर उठाइने भए पनि केटाहरूले पनि आफ्नै प्रकारको दबाब र मानसिक तनाव भोगिरहेका हुन्छन्, जसलाई धेरैजसो अवस्थामा बेवास्ता गरिन्छ ।
मन्दिरा भन्छिन्, ‘केटा भएर रुनु हुँदैन, कमजोर देखिनु हुँदैन, परिवारको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ भन्ने जस्ता सोचले उनीहरूलाई सानैदेखि दबाबमा राखेको हुन्छ ।’ उनका अनुसार यस्ता सामाजिक अपेक्षाले केटाहरूलाई आफ्ना भावना खुलेर व्यक्त गर्न नदिने अवस्था बनाइदिन्छ ।
उनका अनुसार क्लबको मुख्य उद्देश्य नै यस्ता दबाबलाई बुझ्ने, छलफल गर्ने र केटाहरूलाई सुरक्षित वातावरणमा आफ्ना कुरा राख्न सक्ने बनाउनु हो । ‘हामीले उनीहरूलाई एउटा सेफ स्पेस दिएका छौँ, जहाँ उनीहरूले आफ्नो मनमा लागेको कुरा डर बिना भन्न सक्छन्,’ उनले भनिन् ।

मन्दिराका अनुसार धेरै विद्यार्थीहरू सुरुमा आफ्ना भावना व्यक्त गर्न हिचकिचाउँथे, तर समयसँगै उनीहरू खुलेर कुरा गर्न थालेका छन् । ‘घरमा, विद्यालयमा वा समाजमा आफ्ना कुरा गम्भीर रूपमा नलिइएको अनुभव धेरै केटाहरूले सुनाएका छन्,’ उनले बताइन् ।
उनले थपिन् क्लबले केटाहरूलाई केवल लैंगिक समानता बुझाउने मात्र होइन, उनीहरूलाई आफ्नो भावनात्मक पक्ष स्वीकार गर्न र व्यक्त गर्न पनि सिकाइरहेको छ । ‘उनीहरूलाई बलियो हुनु भनेको भावना लुकाउनु होइन, बरु सही तरिकाले व्यक्त गर्नु हो भन्ने बुझाउन खोजिरहेका छौँ,’ उनले भनिन् ।
मन्दिराका अनुसार अहिले धेरै विद्यार्थीहरूले घरमा आमाबुबा र दिदीबहिनीसँग खुलेर कुरा गर्न थालेका छन् र परिवारभित्रको बुझाइ पनि विस्तारै सकारात्मक रूपमा बदलिँदै गएको देखिएको छ ।
विद्यालय र परिवारमा देखिएको परिवर्तन
यो अभियानमा लागेपछि परिवारमा सोच र व्यवहारमा परिवर्तन देखिन थालेको एक अभिभावक नारायण प्रसाद पौडेल बताउँछन् । उनका छोरा प्रबोध पौडेल कक्षा ९ मा अध्ययनरत छन् ।
‘उसले महिलालाई सम्मान गर्ने, आफ्नो सकारात्मक–नकारात्मक पक्ष चिन्ने र समाजमा आफ्नो भूमिका बुझ्ने कुरा लेखिरहेको देखेँ’ सुनाए ।
त्रिपद्म विद्याश्रमकी शिक्षिका गोमा भुजेलका अनुसार विद्यालयमा यसअघि अधिकांश कार्यक्रम छात्राकेन्द्रित थिए । तर ‘वी मेन क्लब’ले पहिलोपटक केटाहरूलाई केन्द्रमा राखेर संवाद सुरु गर्यो ।

‘हामीले सोचेभन्दा फरक कुरा केटाहरूले भोगिरहेका रहेछन् । उनीहरूभित्र पनि दबाब र पीडा हुँदोरहेछ, ‘ भुजेलले भनिन् ।
उनका अनुसार कार्यक्रमले शिक्षकलाई समेत सिकाएको छ । ‘हामीले एकोहोरो पढाउने होइन, विद्यार्थीबाट सिक्ने अवसर पनि पायौँ’ उनले थपिन् ।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालका अनुसार क्लबले विद्यार्थीहरूमा आत्मविश्वास र सहभागिता बढाएको छ । ‘किताबमा पढ्ने कुरा एउटा भयो, तर यहाँ विद्यार्थीहरूले व्यवहारिक रूपमा सिकिरहेका छन्’ खनालले भने ।
छात्राहरूले देखेको परिवर्तन
कक्षा ८ की छात्रा कञ्चन श्रेष्ठका अनुसार क्लबमा सहभागी केटाहरूको व्यवहारमा परिवर्तन देखिन थालेको छ । ‘पहिलाजस्तो हेप्ने बानी घटेको छ। अहिले मिलेर बस्ने र सम्मानपूर्वक व्यवहार गर्ने गरेका छन्’ उनले भनिन्।
केटाहरूको बोल्ने शैलीमा परिवर्तन आइको कक्षा ९ की छात्रा सोफिया राईले पनि अनुभव गरेकी छिन् । ‘पहिला झर्केर बोल्थे । अहिले नरम र फ्रेन्डली भएर बोल्छन्’ उनले सुनाइन् ।
‘वी मेन क्लब’ले केटाहरूलाई केवल महिलाप्रति सम्मान गर्न मात्रै सिकाएको छैन, आफूलाई बुझ्न पनि सिकाएको छ । ‘केटा भएर रुनु हुँदैन’, ‘घरको काम महिलाको हो’, ‘पुरुष सधैं बलियो हुनुपर्छ’ जस्ता पुराना सोचमाथि प्रश्न उठाउन थालेका यी किशोरहरू अहिले समानता, सहानुभूति र सहकार्यको अभ्यास गरिरहेका छन्।
विद्यालय, परिवार र समुदायबीच संवादको पुल बनेको यो कार्यक्रमले किशोरावस्थामै सोच परिवर्तन गर्न सके समाज परिवर्तन सम्भव हुने संकेत दिएको छ ।
प्रतिक्रिया 4