+
+
Shares

निलो छाता दिवस : बालकमाथि हुने यौन हिंसाबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा बालकमाथि हुने यौन हिंसाविरुद्ध सचेतना फैलाउन ‘निलो छाता दिवस’ मा छलफल कार्यक्रम आयोजना गरिएको छ।

नेपालमा बालकमाथि हुने यौन हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘निलो छाता दिवस’ का अवसरमा छलफल कार्यक्रम आयोजना गरिएको छ । भ्वाइस अफ चिल्ड्रेन र फेमेली फर एभ्री चाइल्ड ग्लोबल अलाइन्सको संयुक्त आयोजनामा कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा बालकहरूमाथि हुने यौन हिंसाबारे अध्ययनबाट प्राप्त तथ्यांक तथा सुझावहरू प्रस्तुत गरिएको थियो ।

सन् २०२१ देखि प्रत्येक वर्ष अप्रिल १६ मा मनाइँदै आएको निलो छाता दिवसमार्फत बालकमाथि हुने यौन हिंसाका घटनाबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नीतिगत पैरवी गर्ने गरिन्छ ।

कार्यक्रमका प्रमुख अतिथि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बाल अधिकार संरक्षणका क्षेत्रमा भ्वाइस अफ चिल्ड्रेनले गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।

उनले बालबालिका सम्बन्धी ऐन २०७५ संशोधनको तयारी भइरहेको जानकारी दिँदै सरोकारवाला निकाय तथा व्यक्तिहरूबाट सुझाव संकलन भइरहेको बताए ।

त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रा देवी ढकालले बालकमाथि हुने हिंसाको अन्त्य सरकार र सरोकारवालाहरू सहकार्यले मात्र सम्भव हुने बताइन् ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले महिला, किशोरी तथा बालिकामाथि मात्र यौन हिंसा हुने भन्ने समाजको बुझाइ सही नभएको बताए । बालकहरू पनि यौन हिंसाको जोखिममा रहने तथ्य उजागर गर्न निलो छाता दिवस महत्वपूर्ण भएको भनाइ उनको छ ।

उनले यस दिवसलाई संयुक्त राष्ट्रसंघबाट मान्यता दिलाउनका लागि फेमिली फर एभ्री चाइल्डको नेतृत्वमा विश्वभरबाट गत वर्ष मात्र ५० हजार हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाइएको जानकारी गराए ।

कार्यक्रममा भ्याइस अफ चिल्ड्रेनकी वरिष्ठ कार्यक्रम प्रबन्धक कृति भट्टराईले बालकमाथि हुने यौन हिंसासम्बन्धी तथ्यांक प्रस्तुत गरिन् । सामाजिक मूल्य–मान्यता, पितृसत्तात्मक सोच तथा ‘छोरा मान्छे सधैं बलियो हुनुपर्छ’ भन्ने धारणा कारण बालकहरूले आफूमाथि भएको हिंसाबारे खुल्न नसक्ने अवस्था रहेको उनले बताइन् ।

नेपाल प्रहरी साइबर ब्युरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा २५३ जना बालबालिका साइबर अपराधबाट प्रभावित भएका थिए भने आर्थिक वर्ष २०८१÷८२ मा उक्त संख्या बढेर ३५१ पुगेको छ, जसले साइबर सुरक्षासम्बन्धी जोखिम बढ्दो क्रममा रहेको देखाउँछ ।

त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन २०८२ अनुसार ३५१ बालकको उजुरी साइबर ब्युरोमा परेको छ ।

हामी दाजुभाइ संस्थाबाट हसिना श्रेष्ठले विषाक्त पुरुषत्वको प्रभावले बालकमाथि हुने हिंसाको विषयमा कार्यपत्र प्रस्तुत गरिन् । कार्यक्रममा बाल्यकालमा यौन हिंसा भोगेका युवाहरूको सहभागिता समेत रहेको थियो । उनीहरूले आफ्नो अनुभव र सुझाव राख्दै बाल सुरक्षाका लागि प्रभावकारी नीति तथा व्यवहारिक पहल आवश्यक रहेको जोड दिए ।

कार्यक्रममा हिंसा विरुद्धको जनचेतनामूलक दृश्य तथा श्रव्य सामग्री प्रस्तुत गरिएको थियो जसलाई बालकका लागि युवा आवाज समूहले निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?