+
+
Shares
डा. धवल शमशेर राणासँग वार्ता :

‘दुर्गा प्रसाईं र  राप्रपाकै असन्तुष्टलाई समेटेर नयाँ पार्टी बनाउँछु’ 

यो पार्टीमा महाधिवेशन गर्ने इच्छा कसैको छैन, अब यहाँ बसिरहेर खाली समय बर्बाद गर्ने होइन। एउटा नयाँ जोस र जाँगरका साथ बाहिर निस्किनुपर्छ, नयाँ प्रयास गर्नुपर्छ भनेर निस्किएका हौँ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २१:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. धवल शमशेर राणाले आफू राप्रपामा कहिल्यै नफर्किने बताए ।
  • नेतृत्वले एजेन्डा बेचेको उनको आरोप छ ।
  • उनी भन्छन्- हिन्दु राष्ट्र र राजा भजाएर भोट मात्रै मागे, अब राप्रपाबाट पार लाग्दैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले पार्टी परित्यागको घोषणा गरेका छन्। 

राप्रपा नेतृत्वले हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डालाई सत्ता स्वार्थका लागि मात्र प्रयोग गरेको, तोकिएको समयमा महाधिवेशन गर्न नचाहेको र पार्टीभित्रको वातावरण विषाक्त भएको भन्दै उनले राप्रपा छाडेका हुन्। प्रतिनिधिसभाका पूर्वसांसद तथा नेपालगञ्जका पूर्वमेयर समेत रहेका राणा अब छिट्टै नयाँ पार्टी खोल्ने तयारीमा छन्। 

दुर्गा प्रसाईं लगायतका अभियन्ता र साना दललाई समेटेर कट्टर राष्ट्रवादी’ पार्टी बनाउने उनको योजना छ। प्रस्तुत छ, राप्रपा बहिर्गमनका कारण र आगामी राजनीतिक यात्राबारे डा. राणासँग अनलाइनखबरका सन्त गाहा मगरले गरेको विस्तृत संवाद :

अब तपाईंलाई राप्रपाको महामन्त्री भन्ने कि नभन्ने ? 

मैले राप्रपा आजबाट परित्याग गरिसकेँ। त्यसकारणले मलाई धवल शमशेर मात्रै भन्नुस्।

‘नेता’ त भन्नुपर्‍यो नि !

नेताको रूपमा चिनाउँदाखेरि मान्छेले राम्रो मान्दैनन्। नेताहरू धेरै बदनाम भएका छन्। मलाई धवल दाइ भने हुन्छ, धवल शमशेर वा जे मन लाग्छ भन्दा हुन्छ।

धेरै लगानी गरेको र समय दिएको राप्रपा किन छोड्नुभयो ?

हामी एउटा मकसद (उद्देश्य) का लागि राजनीति गरेका हौँ। हामीले मनमा बोकेको र चिताएको कुरा हासिल गर्नका लागि राजनीति गरेका हौँ। 

जब हामी एउटा निष्कर्षमा पुग्यौँ कि हामीले चिताएको कुरा, आफूले बोकेको एजेन्डा, हाम्रो मूल्यमान्यता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अब हासिल गर्न सकिन्न, अनि यो निर्णय लियौँ। 

यो पार्टीले हामीले खोजेको सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य, देशको भलाइ र भ्रष्टाचारको अन्त्य गर्न सक्दैन। यो पार्टीबाट अब पार लाग्दैन भन्ने कुरा जनताले पनि पुष्टि गरिदिए।

हामीले दुइटा उपनिर्वाचन देख्यौँ, राष्ट्रिय निर्वाचन देख्यौँ। हाम्रा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भयो। 

यी सबै हेरेर, पार्टीको महाधिवेशन पनि नगर्ने र नेतृत्व परिवर्तन पनि हुन नसक्ने अवस्था देखियो। 

यही परिस्थितिमा स्थानीय निर्वाचनमा गयौँ भने हामीले उम्मेदवार नै नपाउने स्थिति हुन्छ। नेपाली जनताले र राष्ट्रले एउटा दर्‍हो राष्ट्रियता बोकेको, सनातनी हिन्दु अधिराज्य बोकेको पार्टी खोजेको छ। त्यो कुरालाई परिपूर्ति गर्न पनि हामीहरू बाहिर निस्किएका हौँ।

राप्रपाको दस्तावेज हेर्दाखेरि त राजतन्त्रको मुद्दा, हिन्दु राष्ट्रको कुरा, संघीयता नमान्ने कुरा त छँदै छ नि ! यहाँ आफैँ महामन्त्री हुनुहुन्थ्यो, यहाँहरूले नै बनाएको दस्तावेज हुँदाहुँदै पनि कसरी यस्तो भयो ?

हो, दस्तावेज बनाएकै हामीले हो, सबै चिज छ। तर देखाउने एउटा र गर्ने एउटा परिस्थिति बन्यो। धेरै साल पहिलेबाटै राप्रपाले त्यस्तै गर्दै आएको छ। त्यसकारणले नेपाली जनताले यति मजबुत एजेन्डा हुँदाहुँदै पनि हामीलाई किन पटक–पटक तिरस्कृत गरे भन्दा— एजेन्डा एकातिर, काम अर्कोतिर भयो। यही कुरालाई परिवर्तन गर्न मैले चार वर्षदेखि संघर्ष गर्दै आएको छु। मेरो राजनीतिक जीवनमा बितेको यो चार वर्ष निकै अप्ठ्यारो समय रह्यो।

त्यसकारण फेरि पनि यही दूषित (टक्सिक) वातावरणमा किन आफ्नो बाँकी जीवन फाल्ने ? आफूले बोकेको मूल्यमान्यता र एजेन्डालाई अब एउटा छुट्टै पार्टी नै बनाएर हासिल गर्न सकिन्छ भन्ने सम्भावनाका ढोकाहरू खुलेका थिए। 

व्यक्तिगत रूपले जुन पीडा मैले भोगेँ, मैले मज्जाले सहेर र हाँसेरै आएको छु। तर जब हामीले बोकेको मूल्य र मान्यता स्थापित हुन सक्ने स्थिति देखिएन, अनि बल्ल पार्टी छोडेको हुँ। व्यक्तिगत पीडा त कति भए कति !

यो पार्टीबाट अब हुँदैन, यहाँ झगडा गरेर बसिरहनुको केही अर्थ छैन, कुरा सुन्दैनन् र एजेन्डाप्रति इमानदार देखिएनन् भनेर मैले र केही साथीहरूले निस्कने निर्णय गरेका हौँ।

राप्रपाका मित्रहरूलाई म तपाईंको मिडियाबाट के भन्न चाहन्छु भने आजबाट म राप्रपाको सदस्य छैन, महामन्त्री छैन, केही छैन। मैले परित्याग गरेँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले नै यो एजेन्डालाई स्थापित गर्न सक्छ र तपाईंहरूको मूल्यमान्यतालाई हासिल गर्न सक्छ भन्ने लाग्छ भने मेरो शुभकामना छ, त्यहीँ बसिरहनुस्। तर सक्दैन भन्ने लाग्छ भने तपाईंहरू हामीसँग आउनुस्। हामी यो मूल्य र मान्यता बोकेर सङ्घर्ष गर्छौँ, अगाडि बढ्छौँ। मलाई विश्वास छ, हामी यो मूल्य र मान्यतालाई यथार्थमा परिणत गर्न सक्छौँ। बाँकी कुरा भविष्यले बताउला।

चार वर्ष अघि २०७८ सालमा भएको महाधिवेशनमा तपाईं र राजेन्द्र लिङ्देनको टिमले नै कमल थापाले नेतृत्व गर्नुभएको संस्थापनलाई पराजित गरेको थियो। कुन बिन्दुबाट यहाँहरू दुई जनाको जोडीमा समस्या आइपुग्यो ?

कमल दाइले पार्टीलाई प्रजातान्त्रिक प्रणालीमा चलाउन सक्नुभएन र एजेन्डाबाट विमुख हुनुभयो भनेर नै मैले अध्यक्षमा उम्मेदवारी दिन लागेको थिएँ। 

तर पछि मैले नै छोडेर राजेन्द्र लिङ्देनलाई अगाडि सारेको हुँ। तर जे काम कमल दाइले गर्नुभयो, त्यही काम राजेन्द्र लिङ्देनले गरे। 

उनले पटक–पटक मेरा सुझाव, सल्लाह र अनुरोधलाई बेवास्ता गरे। विस्तारै तिक्तता बढ्दै गयो।

एउटा समयमा मैले के महसुस गरेँ भने— अब यहाँ बसेर लडाइँझगडा गरिरहने, उनले फेरि आफ्ना क्रियाकलाप लाद्ने, कार्यकर्तालाई निकालिदिने, कारबाही गरिदिने र मैले उनीहरूलाई बचाउनुपर्ने! त्यसैमा मेरो समय र ऊर्जा जाने भयो। यस्तो दूषित वातावरणमा मैले बसेर किन राजनीति गर्नुपर्छ ? सबैले साथ दिन्छन् र एजेन्डालाई स्थापित गर्न सकिन्छ भने हिम्मतका साथ अगाडि निस्कौँ भनेर निस्किएको हुँ।

कुन बिन्दुमा यहाँलाई लाग्यो कि ‘अब चाहिँ म अलग हुनुपर्छ’ ?

अलग हुनुपर्छ भनेको धेरै भएको छैन। गएको एक–डेढ महिनापहिले कार्यसम्पादन समितिको बैठक बस्यो। 

म त्यो बेलासम्म ‘यहीभित्र महाधिवेशन गराएर नेतृत्वका लागि प्रयास गर्छु’ भन्ने सोचमा थिएँ। 

हाम्रा अभिभावकहरूलाई पनि आग्रह गरेको थिएँ। त्यो कार्यसम्पादनको बैठकमा मैले धेरै प्रयास गरेँ। 

किनकि हाम्रो केन्द्रीय समिति र कार्यसम्पादन समितिले ‘चुनाव नभएको खण्डमा मंसिरमा महाधिवेशन गर्ने (किनकि कार्यकाल सिद्धिसकेको थियो) र चुनाव भयो भने जेठमा महाधिवेशन गर्ने’ भनेर निर्णय गरिसकेको थियो।

तर त्यो निर्णयलाई बेवास्ता गरेर नेतृत्व अगाडि बढिरहेको थियो। बाहिर ‘महाधिवेशन गर्ने’ भन्ने तर भित्रभित्रै महाधिवेशन गर्ने लक्ष्य नै थिएन भन्ने हामीले बुझ्यौँ। 

त्यो कार्यसम्पादन बैठकबाट मैले निर्णय गरेँ कि— यो पार्टीमा महाधिवेशन गर्ने इच्छा कसैको छैन, अब यहाँ बसिरहेर खाली समय बर्बाद गर्ने होइन। एउटा नयाँ जोस र जाँगरका साथ बाहिर निस्किनुपर्छ, नयाँ प्रयास गर्नुपर्छ भनेर निस्किएका हौँ।

पूर्वअध्यक्षहरू कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले निकाल्नुभएको विज्ञप्तिमा ‘महाधिवेशनको प्रक्रियाबाट बाहिर नजानुस्, कार्यकर्ताको भावनाअनुसार जेठको अन्तिम साता बस्ने बैठकले महाधिवेशनको निर्णय गर्दै छ’ भनिएको छ। उता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निकाल्नुभएको विज्ञप्तिमा पनि महाधिवेशनको प्रक्रियामा सहभागी हुन भनिएको छ। यहाँलाई महाधिवेशन हुन्छ भन्ने कुरामा विश्वास लागेन ?

सबैभन्दा पहिले त महाधिवेशन जेठमा गर्ने निर्णय हाम्रो सबैभन्दा उच्च कमिटी (केन्द्रीय समिति) ले गरिसकेको छ। फेरि किन निर्णय गर्नुपर्‍यो ? निर्णय त भइसक्यो तर त्यसलाई लत्याइयो। 

महाधिवेशन नगर्नका लागि डेट निकालिएको थियो। नजिकै आएपछि वर्षात आयो, चाडबाड आयो, स्थानीय चुनाव आयो भन्दै पार्टीलाई खत्तम पार्ने खेल भयो।

जहाँसम्म शीर्षस्थ नेताहरूको कुरा छ, दुई महिनापहिले मैले पाँचै जना हाम्रा वरिष्ठ नेताहरूलाई राखेर सामूहिक रूपले भनेको थिएँ ।  ‘हामी गयौँ, तपाईंहरू महाधिवेशन गराइदिनुस्। कार्यकाल सिद्धिसक्यो। तपाईंहरूले महाधिवेशन गराउन सक्नुभएन भने हामी पार्टीमा रहन सक्दैनौँ।’ उहाँहरूले सक्नुभएन। 

अब त्यो विज्ञप्ति निकालेको त पार्टी बचाउन खोजेको होला, ‘आफू एक्लै परिन्छ’ भनेर त्यसो गर्नुभएको होला। त्यो उहाँहरूको धर्म हो, त्यसमा मलाई केही भन्नु छैन।

तर हामीले उहाँहरूलाई र अध्यक्षज्यूलाई पर्याप्त मौका दिएको हो। कमिटीलाई मौका दिएको हो। धेरै चोटी महाधिवेशनका लागि प्रयास गरेको हो। तर गर्दै नगर्ने भएपछि अब किन त्यहाँ झगडा गरिरहने ? 

तपाईंको अध्यक्ष बन्ने महत्त्वाकाङ्क्षा थियो, त्यो पूरा हुने नदेखेपछि आफैँ अध्यक्ष बन्नका लागि यो गरिराख्नुभएको भएको त होइन ? 

अध्यक्ष बन्ने मेरो इच्छा थियो, म यसमा झुट बोल्दिनँ। किनकि अहिलेको अध्यक्षले पार्टी चलाउन सक्नुभइरहेको थिएन। पार्टीको के गति भयो, के दशा छ, मैले भनिराख्नुपर्दैन। तर महाधिवेशन नै नभएपछि कहाँबाट अध्यक्ष बन्ने ? यहीँ लतारिएर र झगडा गरिरहेर बस्नुभन्दा बाहिर निस्केर जाने निर्णय गरेको हुँ।

त्यति ठूलो पार्टी खुम्चिएर अहिले एक सिटमा आएको छ  । यो बेलामा फुटेर के हुन्छ र ?

त्यो एक सिट पनि झुक्किएर आयो। किन एक सिट आयो ? त्यसको विश्लेषण हुनुपर्दैन ? त्यसको जिम्मा नेतृत्वले लिनु पर्दैन ?

यहाँको विचारमा किन आयो त एक सिट ?

हामीले गरेका क्रियाकलापप्रति जनता रुष्ट भएर हामीलाई दण्डित गरेका हुन्। राजाको एजेन्डा बोक्ने, हिन्दु राष्ट्रको एजेन्डा बोक्ने तर न राजाको पक्षमा उभिने, न हिन्दु राष्ट्रको पक्षमा उभिने ! न सदनभित्र उभिने, न सडकमा उभिने !

मैले दुई–तीन चोटी आन्दोलनको अगुवाइ गरेँ, तर मेरै खुट्टा तानिदिए। हामी जेलमा हुँदाखेरि पनि (२०८१ चैत १५ को तिनकुने आन्दोलनमा म, रवीन्द्रजी लगायत ५० जना जेलमा गयौँ), त्यो बेला राष्ट्रिय प्रजातन्त्र पार्टी सडकमा आइदिएको भए अहिले संवैधानिक राजतन्त्र स्थापित भइसक्थ्यो। 

हाम्रा धरोहरहरू केही पनि जल्दैनथे। हामी हिरासतमा बस्ने, अनि पार्टी नेतृत्व रमाउने ! यस्ता कुराहरू धेरै छन्।

पूर्व राजा पोखराबाट फर्किएपछिका घटनाक्रम र मुख्यगरी १५ चैत आसपासको आन्दोलनमा पार्टीले साथ नदिएपछि यहाँको चित्त दुखाइ बढेको हो ?

म लामो समयदेखि राजनीति गर्दै आएको मान्छे हुँ। मेरो राजनीतिक यात्रामा धेरै उतारचढाव आएका छन्। म राजनीतिक परिवारको मान्छे पनि होइन। 

मेरो बुवा अमेरिकाबाट पढेर आएको किसान हो, मेरी आमा समाजसेवी हो। 

मैले धेरै संघर्ष गरेर आएको छु। राजनीति गर्ने क्रममा मैले व्यक्तिगत पीडालाई सहजै रूपले स्वीकार गरेको छु।

म क्यान्सर भएर अप्रेसन गर्न गएको छु। त्यस्तो बेला मान्छेले ढाडस दिनुपर्ने ठाउँमा, प्रोत्साहन गर्नुपर्ने ठाउँमा ‘आफ्नो महामन्त्री बाँच्ने हो कि मर्ने हो’ भन्दाभन्दै यता पद हटाइदिने काम भयो। यस्ता कामहरू धेरै भए। व्यक्तिगत रूपले जुन पीडा मैले भोगेँ, मैले मज्जाले सहेर र हाँसेरै आएको छु। तर जब हामीले बोकेको मूल्य र मान्यता स्थापित हुन सक्ने स्थिति देखिएन, अनि बल्ल पार्टी छोडेको हुँ। व्यक्तिगत पीडा त कति भए कति !

जुन गणतान्त्रिक राज्यविरुद्ध यहाँ लडिराख्नुभएको छ, त्यो राज्यले बरु ‘बिरामी राप्रपा महामन्त्री’ भनेर छोडिदियो। तर त्यही बेलामा पार्टीले चाहिँ कारबाही गर्‍यो, चित्त दुख्ने कुरा त्यो थियो होइन त ?

हो, बिरामी हुँदै जाँदाखेरि पदमुक्त गराए। मेरो विज्ञता नै स्थानीय निकायमा हो। त्यही विषयलाई लिएर मैले देशभरिका स्थानीय निकायहरूलाई चलायमान गर्ने काम सुरु गरिसकेको थिएँ।

मलाई रोग लाग्यो, म अप्रेसन गर्न जाँदाखेरि मेरो पद हटाइदियो ! ल, पद हटाएर काम अगाडि बढेको भए त मलाई केही आपत्ति थिएन। तर अढाई वर्ष भयो होला, स्थानीय निकायको बैठकै बस्न सकेको छैन। किन पदबाट हटायो भन्ने कुनै जवाफ नदिई, लाजै नपचाएर यस्ता कामहरू गरिए।

तर अब त्यसमा नजाऔँ। छोडिसकेको पार्टीमा त्यही गुनासो गरेर, रोइलो गरेर काम छैन। अब हामी अगाडि बढ्यौँ, पुरानो कुरा छोड्यौँ।

मैले यहाँसँग निर्वाचन अगाडि कुरा गर्दा, ‘दुर्गा प्रसाईं बाहेक राजतन्त्र र हिन्दु राष्ट्र बोक्ने हामी सबै एक ठाउँमा छौँ, यसपटक सिट बढ्छ’ भन्नुभएको थियो। तर सिट त घट्यो। त्यो घट्नुमा नेताहरूको क्रियाकलाप जिम्मेवार हो कि राप्रपाले बोकेको एजेन्डा नबिकेको हो ?

चुनावभन्दा पहिले बसेको अन्तिम कार्यसम्पादन समितिको बैठकमा मैले भनेको थिएँ— ‘यो चुनाव हाम्रो लागि हितकर छैन। हामी चुनावका लागि तयार छैनौँ। जनता पनि हामीसँग छैनन्। हामीसँग स्रोतसाधन पनि छैन। हामीले भोट पाउने खालका क्रियाकलाप यो चार वर्षमा गरेका छैनौँ। त्यसैले अहिलेको परिस्थितिमा हामी चुनावमा जानुहुन्न। मेरो असहमति लेख्नुस् ।’

तर, त्यहाँ धेरै साथीहरूले मलाई ‘चुनाव त लड्नुपर्छ’ भनेर आग्रह गरे। मैले ‘म त लड्दिनँ र पार्टी पनि लड्नुहुन्न’ भनेँ। साथीहरूले ‘नोट अफ डिसेन्ट नलेखौँ, लड्ने साथीहरू निरुत्साहित हुन्छन्।’ भने । मलाई पनि ठिकै लाग्यो। मैले एक्लैले भनिरहेको थिएँ, उनीहरू मान्नेवाला थिएनन्। ‘धवल शमशेरले नोट अफ डिसेन्ट लेखिदिएर मनोबल बिगारिदियो र चुनाव हार्‍यौँ’ भन्लान् भनेर म चुपचाप लागेँ।

कमल दाइलाई पनि मैले फोन गरेर ‘चुनाव छोडिदिऊँ’ भन्दा उहाँले मान्नुभएन।

उहाँहरूको विश्लेषण के थियो त ? यसपटक राप्रपाका लागि माहोल त बन्छ भनिराख्नुभएको थियो नि नेताहरूले ?

सब गलत कुरा हो, झुटो कुरा हो। मैले त बुझेको थिएँ नि, ‘चुनाव नलडौँ, हाम्रो बेहाल हुन्छ’ भनेर मैले कार्यसम्पादनमै भनेको छु। त्यसको नतिजा के आयो ? ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भयो। अनि तैपनि ठूला–ठूला कुरा गर्दै हिँडेका छन् नेताहरू। अब उनीहरूलाई मेरो शुभकामना मात्र छ।

अहिले ‘जेनजी’ को जमाना आउँदा राप्रपाले बोक्दै आएको एजेन्डा पो नबिकेको हो कि ?

होइन, एजेन्डा अहिले पनि जनतामा लोकप्रिय छ। तर ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले यो एजेन्डालाई पार लगाउँदैन, मौका पाउनेबित्तिकै यिनीहरू सरकारमा जान्छन्, पद खान्छन् र एजेन्डालाई अलपत्र पारिदिन्छन्’ भन्ने कुरा जनताले बुझे। ३५ वर्षदेखि राप्रपाले गर्दै आएको यही हो।

म आफूलाई भ्रष्टाचारभन्दा माथि ठान्छु। एउटा जुन भाष्य बनेको छ नि ‘सबै नेता चोर हुन्’ भनेर, म ‘सबै नेता चोर हुन्नन् है’ भनेर प्रमाणित गर्न लागिरहेको छु।

अहिले पनि यिनीहरू लाजै नमानी प्रदेश सरकारमा जान सक्ने सम्भावना म देखिराखेको छु। हामी गणतन्त्र विरोधी भन्ने, संघीयता विरोधी भन्ने अनि सभामुख खान जाने, उपसभामुख खान जाने! मैले कति रोक्न खोजेँ, मान्दै मान्दैनन्।

भनेपछि प्रतिपक्षमै बसिराख्नुपर्थ्यो भन्ने यहाँको बुझाइ हो ?

सभामुखको कुरा के हो भने हेर्नुस्, हामीले यो व्यवस्थालाई टेकेर यो व्यवस्था परिवर्तन गर्न आएको हो। मन्त्री हुनु ठूलो कुरा थिएन। तर ‘सभामुख’ भनेको कस्तो पोस्ट हो भने, त्यो गणतन्त्रलाई सबलीकरण र नियमन गर्ने ठाउँ हो। हामी गणतन्त्र विरोधी भन्ने, अनि गणतन्त्रलाई सबलीकरण गर्ने र टेवा दिने ठाउँमा पद खान जाने ? अनि लिखित रूपमै ‘गणतन्त्रको पक्षमा’ भनेर दिने! भनेपछि जनता कसरी तपाईंको पक्षमा हुन्छन् ? यही सब कारणले हाम्रो भोट नआएको हो, नत्र एजेन्डा मजबुत छ। राजाको ग्राफ पनि राम्रै छ।

८२ प्रतिशत हिन्दु र ९४ प्रतिशत ॐकार परिवारका बासिन्दा भएको देशमा उहाँहरू चाहिँ धर्मनिरपेक्षताको पक्षमा हुनुहुँदो रहेछ भन्नुपर्‍यो होइन ?

म त्यसो भन्न चाहन्नँ। भोलिका दिनमा जनमत सङ्ग्रह गर्न सकियो भने बल्ल तपाईंले भनेको कुरा म मान्छु। जनमत सङ्ग्रह गरियो भने ८० प्रतिशत नेपाली जनताले सनातन धर्मसापेक्ष हिन्दु अधिराज्यमा भोट हाल्छन्।

यसमा मैले नबुझेको कुरा, निर्वाचन भइरहेको बेलामा यहाँहरू ‘धर्मसापेक्ष हिन्दु राष्ट्र’ र ‘राजतन्त्र चाहिन्छ’ भन्ने घोषणापत्र लिएर जाँदै हुनुहुन्छ। त्यो पार्टीलाई कम भोट आउनु नै जनता यसको विपक्षमा छन् भन्ने होइन र ?

जनताले पार्टीको क्रियाकलापलाई पत्याएनन्। भोट त दिएकै हुन्, ३५ वर्ष भइसक्यो भोट दिएका दिएकै छन्। कहिले त राम्रै ठाउँमा पनि पुर्‍याएका हुन्। तर राम्रो ठाउँमा पुगेपछि जनताको चाहनाविपरीत उनीहरू उपप्रधानमन्त्री खान गए। जुनसुकै विचारधाराको प्रधानमन्त्री भए पनि आफू उपप्रधानमन्त्री खाइदिने ! तपाईंलाई यो गणतन्त्र स्थापित गर्न त जनताले पठाएको होइन नि !

यहाँले विज्ञप्तिमा लेख्नुभएको ‘गणतन्त्रलाई सपोर्ट गर्ने गतिविधि’ भनेको चाहिँ यिनै कुराहरू हुन् ?

यही त हो नि! प्रचण्डको सरकार बन्दा चुनावपछि अध्यक्षज्यूले मलाई फोन गर्नुभयो। ‘बुढाहरू सरकारमा जान खोज्दै छन् धवलजी, सहयोग गर्नुहोला है (रोक्नलाई) भन्नुभयो। मैले पनि मेरो पनि त्यही राय छ, जानुहुन्न भनेँ। तर १५ दिनपछि उहाँ आफैँ उपप्रधानमन्त्री र मन्त्री खाएर जानुभयो ! कसको सरकारमा ? प्रचण्डको ! हाम्रो विचारधारालाई कुल्चेर, सिध्याएर र मान्छे मारेर राजालाई विस्थापित गर्ने व्यक्तिकै उपप्रधानमन्त्री खानुभयो। जनता मूर्ख त छैनन् नि !

त्यो बेलामा नोट अफ डिसेन्ट लेख्नुभएन ?

नोट अफ डिसेन्ट त लेख्नै दिन्नन् नि! फोनमा मात्रै भन्नुभयो। जनताले यस्ता कुराहरू देखे र बुझे कि यिनीहरू खाली राजा र हिन्दु राष्ट्रलाई भजाएर भोट लिने मात्र हुन्। अनि हामीलाई तिरस्कृत गरिदिए।

यहाँले आजैदेखि छाडेको घोषणा गर्नुभएको राप्रपाभन्दा अब यहाँले बनाउने पार्टी चाहिँ सैद्धान्तिक रूपमा फरक हुन्छ कि एउटै हुन्छ ? कार्यशैलीगत भिन्नता के हुन्छ ?

हाम्रो सिद्धान्त करिब–करिब एउटै हो। हामी आफ्नो सिद्धान्तमा अडिग छौँ, तर हामी त्यही सिद्धान्तअनुसार काम गर्छौँ। सिद्धान्त एउटा, काम अर्को गर्दैनौँ। हामी जनतालाई धोका दिन्नौँ, सबैलाई खुसी राख्छौँ। कार्यकर्तालाई अनावश्यक कारबाही गर्दैनौँ। ठूलो हृदय राखेर यो विचारधारा मिल्ने व्यक्ति, अभियन्ता र पार्टीहरूलाई एक ठाउँमा ल्याउँछौँ। राप्रपाभन्दा धेरै फरक किसिमले हामी अगाडि बढ्छौँ।

यहाँले अघि संवादको सुरुमै भन्नुभयो, ‘कमल थापाले जे गर्नुहुँदैनथ्यो, राजेन्द्र लिङ्देनले त्यही गरे।’ भोलि यहाँसँग बस्ने नेता/कार्यकर्ताले ‘राजेन्द्र लिङ्देनले जे नगर्नुपर्थ्यो, धवल शमशेरले पनि त्यही गर्नुभयो’ भन्ने दिन आउँदैन ?

त्यो दिन आउनुभन्दा पहिले म छाडिदिन्छु। मलाई पदको लोभ छैन। मेरो राजनीतिक यात्रा लामो भयो, म सन्तुष्ट छु। मैले १० वर्ष नेपालगञ्ज नगरपालिका चलाएँ, मलाई एउटा भ्रष्टाचारको आरोप लाग्न सकेन। जब कि नेपालगञ्ज भनेको एउटा अप्ठ्यारो नगरपालिका हो, जहाँ मधेशी–पहाडी, हिन्दु–मुस्लिम आपसमा भिडिरहने अवस्था हुन्थ्यो, तर मैले १० वर्षसम्म झगडा हुन दिइनँ।

म कुर्सीमा टाँसिइरहने मान्छे होइन। मैले यसलाई पार लगाउने प्रयास गर्छु, सकिनँ भने अरूलाई अगाडि सारिदिन्छु।

मैले १५ वर्षदेखि आफ्नो तलबभत्ता जनतालाई बाँड्दै आएको छु। त्यसकारण चुनावमा जाँदा मलाई सहज हुन्छ। मलाई काठमाडौँमा घर बनाउनु छैन, मोटर किन्नु छैन, राजनीतिबाट आएको तलबले घर चलाउनु छैन। म आफूलाई भ्रष्टाचारभन्दा माथि ठान्छु। एउटा जुन भाष्य बनेको छ नि ‘सबै नेता चोर हुन्’ भनेर, म ‘सबै नेता चोर हुन्नन् है’ भनेर प्रमाणित गर्न लागिरहेको छु।

यहाँले आजको यो पत्रकार सम्मेलनमा पार्टीय नै बनाउने भन्नुभएको छ ।  पार्टीको नाम टुङ्गो लाग्यो त ?

अहिले केही पनि टुङ्गो लागेको छैन। सबै कुरा प्रजातान्त्रिक रूपले कमिटीले निर्णय गर्छ। म त्यसमा खासै हस्तक्षेप गर्दिनँ। विज्ञहरू र पार्टीका नेताहरूलाई विभिन्न आयाममा जिम्मेवारी दिइन्छ। पार्टीको नाम, विधान, झन्डा र व्यवस्थापनको काम उहाँहरूले गर्नुहुन्छ।

को–को आउँदै हुनुहुन्छ ? आज जति जनाले विज्ञप्ति निकाल्नुभयो (१८३ जना), उहाँहरू मात्रै हो ?

यो त हामीले अप्रत्याशित रूपमा काठमाडौँमा उपस्थित भएकाहरूलाई मात्र राखेर गराएको हो। धेरै जिल्लाहरूले खुट्टा उचालेका छन्। मान्छे उकुसमुकुस भएर बसेका छन्। राप्रपाबाहेक मधेश प्रदेशका साना पार्टीहरू र अभियन्ताहरूसँग पनि कुरा जोडिएको छ। सबैलाई ठूलो हृदय राखेर समावेश गर्ने मेरो योजना छ।

दुर्गा प्रसाईंजीहरू आउनुहुन्छ ?

दुर्गा प्रसाईंजीसँग पनि कुरा करिब–करिब टुङ्गो लागिसकेको छ।

राप्रपाबाट सांसद बन्नुभएकाहरूसँग कुरा भइरहेको छ ? उहाँहरू आउनुहुन्छ त ?

उहाँहरू त त्यहाँ अड्किनुभएको छ। सांसदहरू अहिले आउन सक्नुहुन्नँ, आउनेबित्तिकै उहाँहरूको सांसद पदै जान्छ। जनप्रतिनिधिहरू थोरै हुनुहुन्छ, औँलामा गन्न सकिने। त्यो पनि अब सिद्धिन लागेको छ। उनीहरूलाई जनताले जिम्मा दिएर पठाएको हो, त्यसैले ‘पार्टी छोडेर आऊ’ भनेर म भन्दिनँ।

यो नयाँ पार्टी चाहिँ कहिलेसम्म घोषणा हुन्छ होला ?

व्यवस्थापन गर्न अझै १५ दिन जति लाग्छ। अहिले ‘मलमास’ चलिरहेको छ, मलमासमा शुभ काम गर्नुहुन्न भन्ने हाम्रो धार्मिक परम्परा छ। साथीहरूको भनाइलाई मान्नुपर्ने भएकाले मलमासपछि घोषणा गरौँला भनेको छु। मेरो त अलि झट्टै गर्ने योजना थियो, तर म सबैको राय र सल्लाहले चल्ने मान्छे हुँ।

पार्टीलाई अगाडि बढाउने कुरामा विश्वस्त हुनुहुन्छ ?

एकदम! हामी एउटा दरो राष्ट्रियता बोकेको पार्टीलाई यो फिल्डमा उतार्छौँ।

राप्रपाको पार्टी जीवनमा धेरै नै टुटफुट भएको छ। नेताहरूले ‘गीता छोएर पार्टी फुटाउँदिनँ’ भने, फुटाए। अनि ‘म यो पार्टीमा फर्किँदै फर्किन्नँ’ भनेर गए, फेरि फर्किए। यहाँ फेरि राप्रपामै फर्किने सम्भावना चाहिँ कति देख्नुहुन्छ ?

मैले अघि पार्टी छाड्ने क्रममा पनि भनेँ— म राप्रपामा फर्किन्नँ। आजित भइसकियो, राप्रपाबाट केही हुँदैन। जनताले तिरस्कृत गरिसक्यो भन्ने कुरा नतिजाले बताइरहेको छ।

हाम्रा पूर्वज र नेताहरूले धेरै गल्ती गरेर आज राप्रपा यो दशामा पुगेको हो। म त्यो गल्ती गर्दिनँ। म झुटो बोल्ने र फट्याइँ गर्ने मान्छे पनि होइन। म राप्रपामा फर्किन्नँ। बरु सकिनँ भने चुपचाप रिटायरमेन्ट (अवकाश) मा जान्छु, आफ्नो खेतीबारी चलाउँछु, बिजनेस चलाउँछु र शान्तिसँग बस्छु। तर त्यही राप्रपामा जाने मेरो लक्ष्य होइन।

यहाँले ‘नेताहरूको औसत उमेर ४५ वर्ष हुनुपर्छ’ भन्नुभएको थियो। अहिले विश्वभर ‘जेनजी’ पुस्ता राजनीतिमा आइरहेका छन्। अब यहाँको पनि रिटायरमेन्ट लिने बेला भएको होइन र ?

मैले भनिराखेको छु नि, चार–पाँच वर्ष मैले नेतृत्व गर्छु, त्यसपछि म रिटायरमेन्टमा जान्छु। म अहिले नै रिटायर हुँदा पनि हुन्थ्यो, तर यो काम कसले गरिदिने ? एउटा मजबुत राष्ट्रियता बोकेको र सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र ल्याउन सक्ने पार्टीका लागि जनताको चाहना छ, स्पेस छ। चारैतिर हेर्दाखेरि कसैले गर्ला जस्तो मलाई लागेन। 

त्यसकारणले केही समयका लागि यो अभिभारा बोकिदिनुपर्छ भनेर म फिल्डमा उत्रिएको हुँ। म कुर्सीमा टाँसिइरहने मान्छे होइन। मैले यसलाई पार लगाउने प्रयास गर्छु, सकिनँ भने अरूलाई अगाडि सारिदिन्छु।

भिडियो/तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?