+
+
Shares

हरिया पाखामा सुनौलो सपना : अलैचीले फेरिं‌दै गाउँको मुहार

पहिले बाँझो देखिने पाखाहरू अहिले हरिया अलैचीका बोटले ढाकिएका छन् । गाउँका किसानका लागि अलैची केवल खेती मात्र होइन, आर्थिक समृद्धिको आशा र भविष्यको आधार बनेको छ ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ जेठ २३ गते ७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमका ग्रामीण क्षेत्रका किसानहरू परम्परागत अन्नबाली छाडेर बढी आम्दानी हुने भएपछि व्यावसायिक अलैँची खेतीतर्फ आकर्षित भएका छन् ।
  • अलैँची खेतीबाट वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने गरे पनि चिर्के र फुर्के जस्ता रोगहरू मुख्य चुनौतीका रूपमा देखिएका छन् ।
  • अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य अस्थिर हुनु र स्थानीय स्तरमा भण्डारण सुविधा नहुनुले कृषकहरू समस्यामा परेका छन् ।

२३ जेठ,तेह्रथुम । पहिले धान, कोदो र मकैले ढाकिने तेह्रथुमका खेत तथाबारीहरू अहिले हरियाली अलैची बगानले भरिन थालेका छन् । परम्परागत अन्नबाली खेतीबाट लागतअनुसार प्रतिफल नआउने, युवाशक्ति वैदेशिक रोजगारीमा जाने र श्रमको अभाव बढ्दै गएपछि जिल्लाका ग्रामीण भेगका किसानहरू अलैची खेतीतर्फ आकर्षित भएका हुन् ।

ओसिलो हावापानी र पर्याप्त वर्षाद वातावरण अलैचीका लागि उपयुक्त मानिन्छ । तेह्रथुमको छथर, आठराई, फेदाप, मेन्छ्यायेम, लालिगुराँस र म्याङ्लुङ आसपासका क्षेत्रमा अहिले अलैची खेती विस्तार हुने क्रम तीव्र छ । खाली रहेका पाखाबारी, वनछेउका जमिन र प्रयोगविहीन खेतहरूमा समेत किसानहरूले अलैची रोप्न थालेका छन् ।

छथर गाउँपालिका–६ सुदापका कृषक सन्तकुविर आँखेवाका अनुसार अन्नबालीबाट राम्रो आम्दानी हुन छाडेपछि उनले अलैची खेती विस्तार गरेका हुन् । ‘पहिले धान खेती लगाउँथ्यौँ । वर्षभरि गरेको मेहनतको मुय उठ्दैनथ्यो । अहिले अलैचीले परिवार चलाउन, छोराछोरी पढाउन र घरखर्च धान्न सहज भएको छ’, उनले भने ।

उनले अलैची बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको अनुभव सुनाए । कतिपय किसानले ३–५ रोपनीबाट सुरु गरेको खेती अहिले ३० देखी ५० रोपनीसम्म विस्तार गरिसकेका छन् ।

अलैचीलाई नेपालमा कालो सुन भनेर चिनिन्छ । नगदे बालीका रूपमा यसको महत्व उच्च छ । एकपटक राम्रोसँग बगान स्थापना भएपछि धेरै वर्षसम्म उत्पादन लिन सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका छन् ।

तेह्रथुमका धेरै गाउँमा अलैची अहिले मुख्य नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ । बजारसम्म पहुँच भएका किसानले वार्षिक एक लाखदेखि १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन । अलैची खेतीमा आकर्षण बढ्दै गए पनि किसानले विभिन्न समस्या भोगिरहेका छन् । रोग र कीराको प्रकोप मुख्य चुनौतीका रूपमा देखिएको छ ।

विगत केही वर्षयता चिर्के र फुर्के रोगले अलैची बगानमा ठूलो क्षति पुर्‍याएको किसानहरू बताउँछन् । रोग लागेपछि बिरुवा सुक्ने र उत्पादन घट्ने समस्या देखिन्छ । समयमै प्राविधिक परामर्श नपाउँदा किसानले क्षति बेहोर्नुपरेको छ । जलवायु परिवर्तनको असर पनि अलैची खेतीमा देखिन थालेको छ । असमयको खडेरी, अत्यधिक वर्षा तथा तापक्रममा आएको परिवर्तनले उत्पादनमा असर पुर्‍याइरहेको कृषक सुकबहादुर लिम्बुले बताए ।

किसानलाई अर्काे समस्या श्रम अभाव हो । युवा पुस्ता विदेश पलायन भएपछि खेतीपातीका लागि आवश्यक जनशक्ति पाउन कठिन भएको छ । यसले अलैची बगानको व्यवस्थापनमा चुनौती थपेको छ ।  अलैची किसानको ठूलो चिन्ता बजार मूल्य हो । उत्पादन राम्रो भए पनि मूल्य घट्दा किसान निराश हुने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा निर्भर रहने भएकाले मूल्यमा उतारचढाव आउने गरेको छ ।

किसानहरूका अनुसार कुनै वर्ष प्रतिकिलो मूल्य उच्च हुँदा उत्साह बढ्छ भने अर्काे वर्ष मूल्य घट्दा लगानी उठाउनसमेत कठिन हुने अवस्था आउँछ । स्थानीय स्तरमा भण्डारण सुविधा नहुँदा किसानले तत्काल बिक्री गर्नुपर्ने बाध्यता पनि छ । ‘मूल्य राम्रो हुँदा आम्दानी राम्रो हुन्छ, तर मूल्य घटेको बेला धेरै दु:ख हुन्छ’, छथर ६ का आमबहादुर लिम्बुले भने ।

चुनौतीहरू भए पनि तेह्रथुमका किसान अलैची खेतीको भविष्यप्रति आशावादी देखिन्छन् । सरकारी निकायबाट प्राविधिक सहयोग, रोग नियन्त्रण, गुणस्तरीय बिरुवा, सिंचाइ सुविधा र बजार व्यवस्थापनमा ध्यान दिइए अलैची खेतीले ग्रामीण अर्थतन्त्रलाई अझ मजबुत बनाउन सक्ने विश्वास उनीहरूको छ ।

पहिले बाँझो देखिने पाखाहरू अहिले हरिया अलैचीका बोटले ढाकिएका छन् । गाउँका किसानका लागि अलैची केवल खेती मात्र होइन, आर्थिक समृद्धिको आशा र भविष्यको आधार बनेको छ ।

    

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?