News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको तिनजुरे क्षेत्रमा वैशाखमा लालीगुराँस विभिन्न रङमा फुल्ने मुख्य कारण आनुवंशिक विविधता र वातावरणीय भिन्नता हो।
- लालीगुराँसको वैज्ञानिक नाम रोडोडेन्ड्रन अर्बोरियम हो र नेपालमा यसको दुई उपप्रजाति र दुई भेराइटी पाइन्छन्।
- सरकारले तिनजुरेको सडक सुधार र पर्यावरणमैत्री पदमार्ग निर्माणमा आगामी आर्थिक वर्षमा बजेट समावेश गर्ने तयारी गरेको छ।
गत वैशाख ११ गते तेह्रथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कमा ‘जलवायु परिवर्तनको गुराँसमा प्रभाव’ सन्दर्भको कुराकानीमा म पनि सहभागी भएँ। सहभागीहरू दश जोड दुई (१०+२) का विद्यार्थी तथा सामुदायिक वनका सदस्यहरू थिए। कार्यक्रम सकेपछि तिनजुरेस्थित पाँचपोखरीतर्फ लागियो।
दूरी लगभग १० किलोमिटर होला। जाने सवारी साधन थियो— १९० एमएम ग्राउन्ड क्लियरेन्स भएको चारपाङ्ग्रे गाडी। बाटो उबडखाबड; त्यति ग्राउन्ड क्लियरेन्स भएका गाडीलाई खाल्डाखुल्डी र ठूल्ठूला ढुङ्गा भएको बाटो सहज हुन्न।
त्यो बाटो खन्न शुरु गरेको अढाइ दशकभन्दा बढी भयो। सरकारी अभिलेखमा यो बाटोको नाम जे भए पनि जनताले यसको नाम ‘कहिल्यै कालोपत्र गरिनसकिने तिनजुरे–गुराँस मार्ग’ भन्नु उपयुक्त होला। त्यहाँ विद्युतीय गाडी हायलकायल भएर घस्रिए जस्तो गरेर गुडिरहेका थिए। आन्तरिक पर्यटकलाई सास्ती, गाडीको काल ! उसो त रक एन्ड रोडोडेन्ड्रन पार्कसम्म चाहिं कालोपत्र छ।
लालीगुराँस ढकमक्क विभिन्न रङमा फुलेको थियो। जीवनसँगिनी सीता राना र छोरा शुभहाङलाई ‘भिन्नभिन्न रङमा एकै प्रजातिको लालीगुराँस किन फुल्छ ?’ भन्दै गाडी पाँचपोखरी पुर्याएँ। तिनजुरेका गुराँस संरक्षण अभियन्ता उमेश बुढाथोकीको होमस्टेमा बास बसियो।
वैशाख १२ गते शनिबार तिनजुरेको चुचुरोमा पुगेर वसन्तपुरतिर फर्कियौं। बाटो वरिपरि गुराँस फुलेको वन शुरु भएपछि मानिस तथा मोटरसाइकललाई तर्काउँदै गाडी अघि बढाउन हम्मेहम्मे भएको थियो।
गुराँस फुल्न थालेपछि नेपालका विभिन्न ठाउँमा पर्यटकको भीड लाग्छ। तिनजुरेमा मात्र होइन, नेपालमै यति धेरै गुराँस हेर्न पुग्छन् भन्ने मैले परिकल्पना पनि गरेको थिइनँ। मानिसहरू भन्दैथिए, “आज तिनजुरेमा चारपाङ्ग्रे गाडीको सङ्ख्या एक हजारभन्दा बढी कट्यो।” मोटरसाइकलको सङ्ख्या त्यसको दुई–तीन गुणा बढी देखिन्थ्यो।
पर्यटकहरू ढकमक्क फुलेका गुराँसका दृश्यमा रमाइरहेका थिए। टिकटक बनाउनेहरू त अत्यधिक सङ्ख्यामा देखिन्थे। हामीले पनि केही ठाउँ गाडीबाट ओर्लिएर गुराँसका तस्बिर खिच्यौं।
पोहोर २०८० चैतमा पनि पाँचपोखरी जाने कोशिश गरेका थियौं, तर बीचैबाट फर्किनुपरेको थियो; गाडी जान नसक्ने स्थिति थियो। यसपटक बाटो केही सहज थियो। पोहोर केपी ओली प्रधानमन्त्री थिए। कहिल्यै त्यो बाटोमा कालोपत्र नलाग्ने भयो भन्ने लागेको थियो।
यो वर्ष बालेन्द्र शाहको चर्चा छ। बाटोमा चाँडै कालोपत्र हुनेछ भन्ने मनमा कुरा खेलाउँदै गाडी कुदाइयो। बाटो सहज भए तिनजुरे मात्र होइन, विविध प्रजातिका गुराँस फुलेको दृश्य अवलोकन गर्न लामपोखरी, खोरुङ्गा शिर, गुफापोखरी हुँदै मिल्केडाँडासम्म एकैदिनमा पुगेर आनन्दानुभूति गर्न सकिन्छ।
बुझाइमा गडबडी
तिनजुरेमा गुराँसका तस्बिर खिच्नेहरूले “आहा ! तिनजुरेमा कति धेरै गुराँस प्रजातिहरू फुलेका” भन्दै गरेको निकै ठाउँ सुनें। उनीहरू रातो, सेतो, गुलाबी, फिक्का रातो, फिक्का गुलाबी रङमा फुलेका गुराँसका बोटहरूलाई भिन्नभिन्न प्रजाति भनेर गन्दै गरेको देखिन्थ्यो।
तर, वास्तविकता त्यस्तो थिएन। त्यहाँ वैशाखमा एकै प्रजातिको लालीगुराँस मात्रै भिन्नभिन्न रङमा फुलेका थिए। तिनजुरे क्षेत्रमा वैशाख महिनामा लालीगुराँस बाहेक रातो चिमाल भनिने एक अर्को प्रजातिको रातो गुराँस फुल्छ। तर, त्यो पाँचपोखरीतिर एकाध बोट मात्रै छन्। वैशाखको दोस्रो साता फूल फुलेर झरिसकेको थियो।

नेपालीले आफ्नै राष्ट्रिय फूल लालीगुराँसका बारेमा हेक्का नराख्नुले गुराँसप्रतिको बुझाइ कति कम छ भन्ने बुझिन्छ। यसो हुनुमा नेपालको शिक्षा प्रणाली पनि जिम्मेवार छ। तपाईंहरूलाई अचम्म लाग्ला कि वनस्पति शास्त्रमै स्नातकोत्तर गरेका अधिकांशले पनि ती फुलेका कुन–कुन प्रजातिका गुराँस हुन् भनी ठम्याउन सक्दैनन् भन्दा अन्यथा हुन्न। त्यसो भएपछि आम मानिसले गुराँस प्रजाति नचिन्नु सामान्य हो।
तिनजुरेमा अन्य गुराँस प्रजातिहरू जेठ, असार महिनामा फुल्छन्। केही पाँचपोखरी आसपासमा छन्। धेरैजसो चाहिं गुफापोखरी, मिल्केडाँडामा छन्। यो लेखमा म लालीगुराँस भिन्नभिन्न रङमा के–के कारणले फुल्छ भनेर बुझाउँदैछु।
रोडोडेन्ड्रन अर्बोरियम (Rhododendron arboreum)
लालीगुराँस किन विविध रङमा फुल्छ भन्नुभन्दा पहिले गुराँस वंश (Rhododendron) र लालीगुराँस प्रजातिको वैज्ञानिक नामकरणबारे थोरै चर्चा गरौं। वैज्ञानिक मान्यता अनुसार, जीवको वैज्ञानिक नामकरणमा प्राचीन ग्रिक वा प्राचीन ल्याटिन भाषाका शब्दहरू प्रयोग गरिन्छ।
गुराँसको अङ्ग्रेजी तथा वैज्ञानिक वंश (Genus) नाम ‘रोडोडेन्ड्रन’ हो। स्विडेनका कार्ल लिनियसले सन् १७५३ मा प्राचीन ग्रिक भाषामा प्रचलनमा रहेका दुई शब्दहरू ‘रोडो’ (Rhodo) र ‘डेन्ड्रन’ (Dendron) प्रयोग गरी रोडोडेन्ड्रन वंश बनाए। अघिल्लोले फूल गुलाब जस्तो र पछिल्लोले बोट रूख हुने जनाउँछ।
संसारभर रोडोडेन्ड्रन वंशमा १ हजार ९६ प्रजाति सूचीकृत छन्। तीमध्ये एक प्रजाति लालीगुराँस हो। जीवविज्ञानमा प्रजातिको नाम वंश नामपछि लेखिन्छ। लालीगुराँस गुराँसको एक प्रजाति नाम हो। लालीगुराँसको वैज्ञानिक नाम ‘रोडोडेन्ड्रन अर्बोरियम’ हो। अर्बोरियमले ठूलो रूख भन्ने जनाउँछ।
ब्रिटिश वनस्पति वैज्ञानिक जेम्स एडवार्ड स्मिथले लालीगुराँसको वैज्ञानिक नामकरण रोडोडेन्ड्रन अर्बोरियम गरेका हुन्। उनले सन् १८०५ मा बेलायतबाट प्रकाशित हुने ‘इक्जोटिक बोटानी’ को भोलुममा लालीगुराँसको वैज्ञानिक नामकरण गरेका थिए।
सम्भवतः स्मिथले नेपालबाट सङ्कलन गरिएको लालीगुराँसको नमूनाको आधारमा यो नामकरण गरेका थिए। तिनले कहाँबाट नमूना पाए भन्ने जिज्ञासा उत्पन्न हुन्छ पाठक वर्गलाई।
ब्रिटिश इष्ट इन्डिया कम्पनीका एक कारिन्दा फ्रान्सिस बुकानन ह्यामिल्टन सन् १८०२ मा कूटनीतिक उद्देश्यका लागि भनिए पनि नेपालको राजनीतिक, सैनिक तथा भौगोलिक अवस्था बुझ्न आएका थिए। उनी झन्डै १ वर्ष काठमाडौं उपत्यकामा बसेका थिए।
उतिबेला तिनले काठमाडौं उपत्यकाबाट करिब १ हजार प्रजातिका वनस्पतिका २ सेट नमूना सङ्कलन गरेर भारत लगे। उनले ती नमूना सन् १८०५ मा बेलायत लगेर १ सेट उनका मित्र तिनै जेम्स एडवार्ड स्मिथलाई उपलब्ध गराएका थिए।
ह्यामिल्टनले वनस्पतिका नमूनाका अतिरिक्त ती नमूनाको स्केच र विवरण पनि उपलब्ध गराएका थिए। उनले ती सबै प्रकाशन गर्न मित्रलाई दिएका थिए। तर, स्मिथले धोका दिए। करिब एक दर्जन जति मात्र प्रकाशित गरिदिए, नमूना अन्यलाई अध्ययन गर्न पनि दिएनन्।
कुरा नेपालकै जोडौं। सुमित काफ्ले, दिव्या थापा र अरूहरूले सन् २०२३ मा लेखेको एक लेखमा नेपालमा लालीगुराँस पाइने भूभागलाई स्केचमा देखाएका छन्। जसअनुसार, यो प्रजाति मेचीदेखि महाकालीसम्म पहाडी तथा हिमाली जिल्लाहरूमा पाइन्छ ।

पूर्वी नेपालमा लालीगुराँसको घना जङ्गल तेह्रथुमस्थित तिनजुरे क्षेत्रमा पाइन्छ। सङ्खुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र मिल्केडाँडामा पनि प्रशस्त छ। त्यहाँ भने लालीगुराँसको एक उपप्रजाति (रोडोडेन्ड्रन अर्बोरियम उपप्रजाति सिन्नामोमियम) प्रशस्त छ।
रोडोडेन्ड्रन अर्बोरियम उपप्रजाति सिन्नामोमियमको फूलको भित्री पुष्पपत्रमा प्रशस्त काला तथा खैरा थोप्लाहरू हुन्छन्। यस्तै, पातका मुनि खैरो वा खरानी रङका रसायनले छपक्कै ढाकिएका हुन्छन्। यो उपप्रजाति सन् २००४ मा सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि देखेको छु ।

विविध रङमा लालीगुराँस
तिनजुरे तेह्रथुमस्थित लालीगुराँस नगरपालिकामा पर्छ। त्यहाँ जान पूर्वी नेपालको सुन्दर नगरी धरानबाट लालीगुराँस नगरपालिकाकै वसन्तपुर बजार भएर जानुपर्छ। मध्यपहाडी लोकमार्ग भएर पनि वसन्तपुर पुग्न सकिन्छ।
वसन्तपुर बजार समुद्री सतहबाट २,२९० मिटरजति उचाइमा छ। त्यहाँबाट तिनजुरे जान उत्तरतर्फ समुद्री सतहबाट करिब २,५१० मिटर उचाइमा रहेको टुटेदेउराली पुग्नुपर्छ। त्यहाँबाट सडक पश्चिमतिर जाने सङ्खुवासभा र उत्तरतिर जाने तिनजुरे जान्छ।
तिनजुरेतर्फ लाग्दा करिब २,५४० मिटर उचाइबाट गुराँसको वन शुरु हुन्छ। शुरुमा गुराँसका रूखहरू बडेमानका बाझ, खस्रुका रूखहरूसँग मिसिएको देखिन्छन्। अलि उकालो लाग्दै गएपछि गुराँसकै मात्र रूखहरूले ढाकेको जङ्गल शुरु हुन्छ।
त्यहाँका धेरैजसो गुराँसका रूखमा रातो गुराँस फुलेको भेटिन्छ। यो वर्ष रातो, गुलाबी, फिक्का गुलाबी र सेतो रङ मिश्रित फुलेको पनि देखियो।

एकाध ठाउँ गुलाबी रङमा पनि फुलेका थिए । गुलाबी रङको लालीगुराँसको भित्री भाग थोरै फिक्का वा सेतो थियो। उक्त फूलको पुष्पपत्रमा साना गाढा खैरा वा काला थोप्लाहरू थोरै सङ्ख्यामा देखें।
यो वर्ष फिक्का गुलाबी र सेतो पनि प्रशस्तै फुलेको थियो । यसको पुष्पपत्रको भित्री भागमा धेरै वटा गाढा खैरा वा काला साना थोप्लाहरू थिए। फूलको बाहिरी किनारामा थोरै गाढा गुलाबी रङको छाया देखिन्छ।

तिनजुरेमा कतैकतै हल्का गुलाबी लालीगुराँस पनि फुलेको थियो । यसका पुष्पपत्रको बाहिरी किनाराहरू अलि गाढा गुलाबी छन्। फूलको भित्री केन्द्र भाग भने अलि सेतो वा फिक्का रङको देखिन्छ। यसमा खैरा वा काला साना थोप्लाहरू तुलनात्मक रूपमा थोरै सङ्ख्यामा छन्।

गुलाबी रङमा फुलेकै बोटमा फिक्का गुलाबी र सेतो रङ मिश्रण भएको फूल पनि देखियो । यसको भित्री भाग सेतो देखिन्छ भने पुष्पपत्रको बाहिरी किनाराहरूमा फिक्का गुलाबी छाया छन्। यसमा गाढा खैरा वा काला थोप्लाहरू न्यून सङ्ख्यामा देखें।

फ्रान्सेली पर्वतारोही, अनुसन्धानकर्ता र लेखक रेने द मिल्भिले (René de Milleville) ले तिनजुरे उत्तरमा सुन्तले जस्तो पहेंलो–गुलाबी रङको लालीगुराँसको सन् १९७९ मा तस्बिर खिचेका थिए । यो तस्बिर मिल्भिलेले लेखेको ‘द रोडोडेन्ड्रन्स अफ नेपाल’ (सन् २००२, पृ. ६९) शीर्षक पुस्तकमा छ।

उनले पहेंलो रङको लालीगुराँस तिनजुरे नजिकको तिनजुरे चौकीमा र मिल्केडाँडामा अमेरिकनहरूले सन् १९९३ मा देखेको लेखेका छन्। मैले भने अहिलेसम्म यो रङमा फुलेको लालीगुराँस देखेको छैन। सन् २००२ देखि कहिलेकाहीं त्यहाँ पुग्दा कतै देखिन्छ कि भन्ने ध्याउन्नमा हुन्छु।
सगरमाथा राष्ट्रिय निकुञ्जमा रोयल बोटानिकल गार्डेन एडिनबरा (स्कटल्यान्ड) का वनस्पतिविज्ञ एन्टोनी मिलरले गाढा गुलाबी रङको लालीगुराँसको तस्बिर सन् २००४ मा खिचेका छन् । यो रङलाई रानी–गुलाबी पनि भन्न सकिएला। फूलका भित्री भागमा साना गाढा खैरा वा बैजनी रङका थोप्लाहरू न्यून सङ्ख्यामा छन्।

मैले गाढा रातो रङको लालीगुराँस ललितपुरस्थित फुल्चोकी पहाडमा सन् २००७ ताका खिचेको छु । यसका पुष्पपत्रहरू एकदमै चम्किलो र उज्यालो रातो रङका छन्। यसको फूल झलक्क हेर्दा नेपालमा सूचीकृत नभएको ‘रोडोडेन्ड्रन डेलाभायी’ (Rhododendron delavayi) जस्तो देखिन्छ।

तस्बिर ८ मा देखाइएको गुराँसको फूलको भित्री भागमा केही गाढा खैरो वा कालो छाया देखिन्छ, जसले फूललाई आकर्षक बनाएको छ। त्यो कालो भागमा गुलियो चिपचिपे पदार्थ हुन्छ; मौरी, कीरा तथा साना चराहरू त्यही गुलियो पदार्थ खान फूल चहार्छन्।
वसन्तपुरस्थित चोत्लुङ पार्कमा १०/१२ प्रजातिका गुराँस रोपिएका छन्। तिनीहरू सबै फुलेको अवस्थामा पुगेको छैन। तिनका पातमुनिको रङ वा संरचना २/३ किसिमका छन्। त्यसको अर्थ तिनीहरू लालीगुराँसका फरक–फरक उपप्रजाति तथा भेराइटी हुन्।
चोत्लुङ पार्कको भौगोलिक उचाइभन्दा कम उचाइमा त्यहाँ रोपिएका रोडोडेन्ड्रन डाहलहौसी, ग्रान्डे, लिन्डलेयी, भ्याक्सीनोइड, भिरगाटम हुर्कन सक्ने भए पनि तिनीहरू चिसो र छायादार भूगोलमा मात्र हुन्छन्।
त्यहाँ चोत्लुङ पार्कजतिको उचाइ तर चिसो र छायादार भूभागमा पाइने अत्यन्त सुन्दर सेतो फुल्ने रोडोडेन्ड्रन ग्रिफिथियनम रोपिएको छैन। चोत्लुङ पार्कमा गुराँसका एक दर्जनभन्दा बढी प्रजाति रोपिएको भए पनि यसलाई राम्रोसँग जोगाइएको छैन। मल, पानी हालिए जस्तो देखिन्न। ३ देखि ४ हजार मिटरसम्म उचाइमा पाइने केही गुराँस प्रजातिहरू चिसो अनि छायादार वासस्थान नतुल्याएसम्म त्यहाँ रोपिएका बिरुवा अब नबाच्लान्।

अब, कुरा तिनजुरेकै जोडौं। टुटेदेउराली उत्तर डुरपानीभन्दा केही माथि लालीगुराँस गाढा गुलाबी रङमा फुलेको थियो । यसको बाहिरी भागमा रङ बढी गाढा छ भने भित्री भागमा हल्का सेतो–गुलाबी छाया थियो। भित्री सतहमा साना काला ठिप्का जस्ता धब्बाहरू थिए। यी धब्बाले परागसेचन गर्ने कीराहरूलाई मधुरस भएको स्थानतर्फ आकर्षित गर्न मद्दत गर्छन्।
रासायनिक कारण
गुराँस अम्लीयपना भएको माटोमा राम्रोसँग बढ्ने वनस्पति हो। तिनजुरेको माटो पनि अम्लीय भएकाले त्यहाँ गुराँस अत्यधिक फैलिएको छ। वनस्पतिका फूलमा देखिने रङ मुख्यतः तिनमा रहेको एन्थोसाइनिन (Anthocyanin) लगायत विभिन्न रासायनिक पदार्थ, तत्त्व र माटोमा भएका खनिजहरूले प्रभाव पार्छ।
तिनजुरे क्षेत्रमा लालीगुराँस अनेक रङमा फुल्नुको मुख्य कारण त्यहाँका बिरुवामा एन्थोसाइनिनको मात्रा फरक–फरक हुनु हो। बिरुवाले माटोको अम्लीयता (pH स्तर) अनुसार एन्थोसाइनिन उत्पादन गर्ने भएकाले एउटै प्रजातिमा पनि रङको विविधता देखिन्छ।
लालीगुराँसको रातो, गुलाबी वा बैजनी रङ मुख्यतः एन्थोसाइनिन नामक रङद्रव्य (Pigment) का कारण उत्पन्न हुन्छ। लिन–जियाङ ये, माइकल माएलर, याङ–ह्वाङ लुओ लगायतका अनुसन्धानकर्ताले सन् २०२१ मा ‘बीएमसी प्लान्ट बायोलोजी’ मा प्रकाशित लेखमा गुराँसका फूलको रङ निर्धारणमा एन्थोसाइनिनको प्रमुख भूमिका रहेको उल्लेख गरेका छन्।
अनुसन्धान अनुसार माटो बढी अम्लीय भए फूल रातो वा गुलाबी देखिन्छन् भने माटोको अम्लीयता कम वा तटस्थतर्फ गए फूल बैजनी रङका देखिन सक्छन्। कहिलेकाहीं एन्थोसाइनिन उत्पादन गर्ने जिन कमजोर वा निष्क्रिय हुँदा फूल सेता पनि हुन सक्छन्। तिनजुरेमा एउटै स्थानमा रातो, गुलाबी र फिक्का सेता फूल फुल्ने गुराँस देखिनुका कारण यस्तै आनुवंशिक तथा रासायनिक भिन्नता हुन सक्छ।
लालीगुराँसको फूलको रङ निर्धारणमा एन्थोसाइनिन मात्र होइन, फ्लाभोनोइड्स (Flavonoids) नामक अन्य रासायनिक पदार्थहरूको पनि भूमिका हुन्छ। साथै, वनस्पतिको कोषिकाभित्र रहेको अम्लीयपनाले पनि रङको गाढापन वा हल्कापनमा प्रभाव पार्छ।
भौगोलिक कारण
लालीगुराँस समुद्री सतहबाट करिब १,१०० मिटरदेखि ४,४०० मिटरसम्म पाइन्छ। यति ठूलो उचाइ अन्तरमा यसको वितरण हुनु भनेको यो पूर्ण रूपमा एउटै स्वरूपको प्रजाति मात्र होइन भन्ने सङ्केत हो। यसभित्र विभिन्न उपप्रजाति (Sub-species), भेराइटी (Variety) तथा स्थानीय जनसङ्ख्या रहेका छन्, जसबीच आनुवंशिक भिन्नता पनि पर्याप्त पाइन्छ।
कम उचाइमा पाइने लालीगुराँसले तुलनात्मक रूपमा बढी ताप सहन सक्छ र बाक्लो जङ्गलमा हुर्किएको देखिन्छ। उच्च हिमाली क्षेत्रमा पाइने लालीगुराँस भने चिसो तथा पराबैजनी प्रकाश (UV Radiation) सहन सक्ने विशेषतायुक्त हुन्छन्। त्यस्ता क्षेत्रमा उम्रिने बिरुवाका पात साना, बाक्ला र अपेक्षाकृत कडा देखिन्छन्।
धरानको उत्तरतर्फ भेडेटार आसपासका क्षेत्रमा लालीगुराँस प्रायः रातो रङमा फुल्छ। धनकुटा हुँदै तेह्रथुमको सिँधुवा र चित्रेतिर पनि रातै रङका गुराँस बढी देखिन्छन्। वसन्तपुर आसपासका क्षेत्रमा भने रातो र हल्का गुलाबी दुवै प्रकारका फूल देख्न सकिन्छ।
टुटेदेउरालीबाट उत्तरतर्फ, करिब २५००–२६०० मिटर उचाइमा पुगेपछि हल्का सेता वा फिक्का गुलाबी गुराँस देखिन थाल्छन्। तिनजुरेको २७००–२८०० मिटर आसपास विविध रङका गुराँस फुल्नुको मुख्य कारण त्यहाँको भौगोलिक अवस्था हो। दक्षिण फर्किएका फराकिला मोहडा, पर्याप्त घाम, बाक्लो हुस्सु तथा चिस्यानले गर्दा त्यहाँका बिरुवामा रङ उत्पादन गर्ने रासायनिक प्रक्रियामा भिन्नता आउँछ।
यस्ता वातावरणीय अन्तरका कारण एउटै क्षेत्रमा रहेका बिरुवामा पनि एन्थोसाइनिन र अन्य रङद्रव्यहरूको मात्रा फरक हुन सक्छ। यही भिन्नताले फूलका रङमा समेत विविधता उत्पन्न गरेको देखिन्छ।
वर्णसंकर र परागसेचन

लालीगुराँसको एउटै फूलमा भाले र पोथी दुवै प्रजनन अङ्ग हुन्छन्। पोथी प्रजनन अङ्ग एउटा लामो र स्पष्ट देखिने हुन्छ भने भाले प्रजनन अङ्ग सलाईका काँटी जस्ता १० वटा हुन्छन्। ती २–३ तहको उचाइमा मिलेर बसेका हुन्छन्।
भाले प्रजनन अङ्गको टुप्पोमा रहेको थैलीमा असङ्ख्य परागकण हुन्छन्। गुराँसमा परागकण मौरी, भमरा तथा साना चराहरूको सहायताले पोथी प्रजनन अङ्गको योनि (Stigma) सम्म पुग्छ। फूलभित्रको गुलियो रस सङ्कलन गर्न आउने यस्ता जीवका खुट्टा र चुस्ने भागमा परागकण टाँसिन्छन्।
परागकण पोथी अङ्गको योनिसम्म पुग्ने प्रक्रियालाई परागसेचन भनिन्छ। एउटा गुराँसको फूलको परागकण अर्को गुराँसको फूलमा पुगेर गर्भाधान हुँदा वर्णसंकर (Hybrid) बिरुवा बन्न सक्छ। यही कारण एउटै क्षेत्रमा फरक–फरक रङका गुराँस देखिन सक्छन्।
सन् २०१६ मा ‘मोडर्न फाइटोमोर्फोलोजी’ मा प्रकाशित अध्ययनमा गुराँसका परागकणको स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप (Scanning Electron Microscope) बाट खिचिएको तस्बिर समावेश गरिएको थियो। त्यस्ता तस्बिरलाई स्क्यानिङ इलेक्ट्रोन माइक्रोग्राफ भनिन्छ। त्यसमा गुराँसका परागकण चारवटा साना दाना जस्ता संरचना जोडिएर बनेको देखिन्छ, जसलाई “टेट्राड” (Tetrad) भनिन्छ। तस्बिरमा ३ वटा दाना मात्र देखिएको छ, एउटा दाना पछाडिपट्टि छ।
परागकणको बाहिरी भागमा अति सूक्ष्म टाँसिने धागा जस्ता संरचना हुन्छन्, जसलाई “भिसिन थ्रेड्स” (Viscin threads) भनिन्छ। यी धागा निकै चिप्ला र टाँसिने भएकाले मौरी वा कीराको शरीरमा सजिलै टाँसिन्छन्। पोथी अङ्गको योनिमा पनि चिप्लो पदार्थ निस्किएको हुन्छ। त्यहाँ पुगेपछि परागकण अड्किन्छ र अङ्कुरण शुरु हुन्छ।
त्यसपछि परागकणबाट सूक्ष्म परागनली (Pollen tube) विकसित भई अण्डाशयतर्फ बढ्छ। अन्ततः भाले र पोथी प्रजनन कोषको मिलन भएपछि भ्रूण बन्छ र त्यसैबाट बीउ तथा फल विकास हुन्छ।
परागकणको बाहिरी आवरण अत्यन्त कडा हुन्छ। यसमा स्पोरोपोलिनिन (Sporopollenin) नामक टिकाउ जैविक पदार्थ हुने भएकाले परागकण लाखौं वर्षसम्म जीवाश्मका रूपमा सुरक्षित रहन सक्छ। यिनै जीवाश्मको अध्ययनबाट कुनै क्षेत्रमा गुराँस कहिलेदेखि थियो भन्ने अनुमान गर्न सकिन्छ।
एस. भण्डारी र के.एन. पौडेलले ललितपुरको लुकुन्डोल क्षेत्रमा गरिएको उत्खननमा गुराँसलगायत विभिन्न वनस्पतिका परागकणका जीवाश्म फेला पारेका थिए। ती जीवाश्म करिब २५ लाखदेखि १० लाख वर्ष पुराना मानिन्छन्। यो अध्ययन ‘जर्नल अफ नेपाल जिओलोजिकल सोसाइटी’ मा सन् २००७ मा प्रकाशित भएको थियो। यसले काठमाडौं उपत्यकामा गुराँस निकै पहिले फैलिएको सङ्केत गर्छ। तिनजुरेमा काठमाडौं उपत्यकाभन्दा पहिले दक्षिणपूर्वी चीनबाट विस्तार भएको हुनुपर्छ।
उपप्रजाति तथा भेराइटीहरू
लालीगुराँस भारत, म्यानमार, नेपाल, पाकिस्तान, श्रीलङ्का, तिब्बतमा पाइन्छ। यसका ५ उपप्रजाति र २ भेराइटी पहिचान भएका छन्। तीमध्ये नेपालमा २ उपप्रजाति र २ भेराइटी फेला परेका छन्।
ती २ उपप्रजाति ‘रोडोडेन्ड्रन अर्बोरियम उपप्रजाति सिन्नामोमियम’ र ‘रोडोडेन्ड्रन अर्बोरियम उपप्रजाति अर्बोरियम’ हुन्। दुई भेराइटी ‘रोडोडेन्ड्रन अर्बोरियम भे. अल्बम’ र ‘रोडोडेन्ड्रन अर्बोरियम भे. रोसियम’ हुन्। यस आधारमा नेपालमा रहेको रोडोडेन्ड्रन अर्बोरियमको जम्मा चार वर्गीकरण एकाइ अर्थात् ट्याक्सा (Taxa) छन्।
तालिका : लालीगुराँसका ट्याक्सा
| उपप्रजाति | भेराइटी |
| रोडोडेन्ड्रन अर्बोरियम उपप्रजाति सिन्नामोमियम | रोडोडेन्ड्रन अर्बोरियम भे. अल्बम |
| रोडोडेन्ड्रन अर्बोरियम उपप्रजाति अर्बोरियम | रोडोडेन्ड्रन अर्बोरियम भे. रोसियम |
यी उपप्रजाति र भेराइटीहरू मुख्यतः फूलको रङ, पातको बनावट, भुवा (Indumentum), उचाइ अनुसारको विवरण तथा स्थानीय वातावरणीय अनुकूलनका आधारमा छुट्याइएका हुन्। उदाहरणका लागि भे. अल्बममा प्रायः सेता वा फिक्का गुलाबी फूल देखिन्छन् भने भे. रोसियममा गुलाबी छायायुक्त फूल पाइन्छन्। त्यसैगरी, उपप्रजाति सिन्नामोमियमका पातको तल्लो भागमा दालचिनी रङ (Cinnamon-coloured) को भुवा जस्तो पदार्थ रहेको हुन्छ। उपप्रजातिको पातमुनि अक्सर सेतो भुवा हुन्छ।
उद्विकास तथा विस्तार
गुराँस वंश करिब साढे ६ करोड वर्षअघि उत्तर अमेरिकाको अलास्कामा उद्विकास भएको थियो भन्ने जीवाश्म प्रमाणहरू छन्। त्यसपछि उत्तरपूर्वी साइबेरियातर्फबाट बेरिङ समुद्र भएको भूभागबाट गुराँस अमेरिकाबाट एशियामा आइपुग्यो, २/३ करोड वर्षअघि।
अमेरिकाबाट युरोपमा गुराँस विस्तार जीवाश्म अध्ययनकै आधारमा प्रकाशित जानकारी हुन्। करिब १० हजार वर्षअघिसम्म बेरिङ समुद्रमा ‘बेरिङ ल्यान्ड ब्रिज’ थियो। हिमयुग अन्त्य भएपछि समुद्री सतह बढेपछि त्यहाँ समुद्र बनेको हो। मानिस उत्तरपूर्वी एशियाबाट अमेरिका करिब २३ हजार वर्षअघि बेरिङ ल्यान्ड ब्रिजबाटै गएका हुन्। त्यसअघि अमेरिकामा मानिसको उपस्थिति थिएन।
गुराँस एशियामा प्रवेश भएपछि एक समूह साइबेरियाबाट युरोपतर्फ विस्तार भयो। अर्को समूह दक्षिणपूर्व चीनतिर विस्तार भयो। पूर्वी हिमालयसँग जोडिएको चीनस्थित हेङदुआन पर्वत शृङ्खला (Hengduan Mountains) मा २ करोड ३८ लाखदेखि ५० लाख वर्षअघि गुराँसका प्रजातिहरू अत्यधिक रूपमा उद्विकास भई फैलिए।
विशेषगरी गुराँस प्रजाति विविधीकरण १ करोड ६० लाखदेखि ५० लाख वर्षअघि गुराँस वंशमा विविध प्रजातिहरू उद्विकास भए। यसो हुनुको कारण हिमालय–हेङदुआन क्षेत्रको उच्च उचाइ, जलवायु विविधता तथा एशियाली मनसुन प्रणालीको तीव्रता हो।
लालीगुराँस करिब ५० लाख वर्ष पहिले हेङदुआन पर्वत शृङ्खलामा उद्विकास भएको मानिन्छ। किनभने यसको परागकणको जीवाश्म ५० लाख वर्षभन्दा पुरानो फेला परेको छैन।
नेपाल हिमालय क्षेत्रमा लालीगुराँसको प्रवेश तथा विस्तार प्लाइओसिन (५३ लाख ३० हजारदेखि २५ लाख ८० हजार वर्ष पहिले) र प्लिस्टोसिन (२५ लाख ८० हजारदेखि ११ हजार ७०० वर्ष अघिसम्म) युगमा तीव्र रूपमा भयो। यसरी हेङदुआन पर्वत शृङ्खलाबाट नेपालतर्फ लालीगुराँस विस्तार हुनुको कारण हिमालय क्षेत्र जहाँ लालीगुराँस पाइन्छ, ती क्षेत्रको उचाइ उक्त कालखण्डमा तीव्र रूपमा बढ्न पुग्यो।
यस्तै, त्यसैताका हिमालय क्षेत्र अग्लिंदै जाँदा एशियाली मनसुनी वर्षाको मात्रा बढ्यो। लालीगुराँसलाई हुर्कन ओसिलो र चिसो मौसम चाहिने भएकाले मनसुनको तीव्रतासँगै यो नेपालभर फैलियो। प्लिस्टोसिन युगमा भएका जलवायु परिवर्तनका कारण यो प्रजाति पहाडका तल्लो र माथिल्लो उचाइहरूमा बसाइँसराइ गर्दै नेपालको पूर्वदेखि पश्चिम क्षेत्रसम्म पूर्ण रूपमा स्थापित भयो।
छोटकरीमा भन्नुपर्दा, लालीगुराँसको उद्विकास करिब ५० लाख वर्ष पहिले चीन र पूर्वी हिमालयको सिमानामा भयो र हिमालयको उचाइ बढ्दै जाँदा करिब २५ लाख वर्ष पहिलेदेखि यो प्रजाति नेपाल हिमालयमा विस्तार भयो ।

नेपालमा हालसम्म गुराँसका ३२ प्रजाति सूचीकृत छन्। ती सबै लालीगुराँसका नजिकका आनुवंशिक नातेदार भने होइनन्। आणविक तथा वंशवृक्षीय अध्ययनहरूले रोडोडेन्ड्रन र रोडोडेन्ड्रन डेलाभायीलाई नजिकका विकासवादी वंशरेखा (Evolutionary lineage) भित्र राखेका छन्।
रोडोडेन्ड्रन डेलाभायी अहिलेसम्म नेपालमा पाइएको अभिलेख छैन। यो भारत, चीन, म्यानमार, थाइल्यान्ड, तिब्बत तथा भियतनाममा पाइन्छ। यसको प्राकृतिक वितरण क्षेत्र पूर्वी हिमालयसँग जोडिएकाले पूर्वी नेपालको केही भागमा पनि यो प्रजाति पाइने सम्भावना छ।
अन्त्यमा, तिनजुरे र मिल्के क्षेत्रमा लालीगुराँस धेरै प्रकारका रङमा देखिनुको मुख्य कारण आनुवंशिक विविधता, सूक्ष्म वातावरणीय फरक र लामो समयदेखि विकसित हुँदै आएका छुट्टाछुट्टै स्थानीय जनसङ्ख्याहरूको संयुक्त प्रभाव हुनुपर्छ।
नेपालका अन्य भागमा यस्तो रङ–विविधता तुलनात्मक रूपमा कम देखिनुको कारण पनि यिनै तत्त्वहरूको कम विविधता र कम अनुकूल वातावरणीय भिन्नताबाटै हो। तिनजुरे क्षेत्रमा समुद्री सतहबाट २,२०० देखि ३,००० मिटरसम्म एकछत्र रूपमा लालीगुराँस प्रजाति १५/२० लाख वर्षदेखि अलग–अलग सूक्ष्म वातावरणमा विकसित भएकाले एउटै जङ्गलभित्र पनि रातो, गुलाबी, सेतो वा हल्का बैजनी फूल फुलेका हुन्।
तिनजुरे–मिल्के–जलजले गुराँस विविधताका हिसाबले अत्यन्त अनुकूल क्षेत्र हो। यो क्षेत्रमा नेपालमा पाइने गुराँसका ३२ मध्ये ३० प्रजाति हुनुपर्छ। नेपालमा पाइने ३२ प्रजातिमध्ये २ रैथाने प्रजाति (रोडोडेन्ड्रन लोन्डेसी र रोडोडेन्ड्रन कोवानियनम) मध्य तथा पश्चिम नेपालमा मात्र पाइन्छन्।
हालसम्मका प्रमाणले तिनजुरे क्षेत्र लालीगुराँसको अत्यन्त उच्च रङ–विविधता भएको केन्द्रका रूपमा देखिन्छ। तिनजुरेमा जेजति रङमा लालीगुराँस फुले पनि अहिलेसम्म त्यहाँ लालीगुराँसका २ उपप्रजाति र २ भेराइटी भेटिएका छन्। तिनजुरेमा रोडोडेन्ड्रन सिन्नाबारिनम भनिने गुराँस पनि ३/४ रङमा फुलेको पाएको छु।
तिनजुरे क्षेत्रमा पाइने लालीगुराँसका फूलहरू सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने त्यहाँ रोडोडेन्ड्रन अर्बोरियम उपप्रजाति निलगिरिकम सहित अन्य नयाँ भेराइटी पाउन सकिएला। हालसम्मका अवलोकनले तिनजुरे लालीगुराँस अत्यधिक रङमा फुल्ने उल्लेखनीय उपप्रजाति, भेराइटी तथा रङ भएको क्षेत्रहरूमध्ये विश्वमै एक प्रमुख भूभाग देखिन्छ।
तिनजुरे क्षेत्रको पर्यापर्यटन वृद्धि गर्न विभिन्न तहका सरकारले यो क्षेत्रलाई प्राथमिकता दिनुपर्छ। केन्द्र सरकारले त्यहाँको सडकलाई आउँदो आर्थिक वर्षमा बजेटमा समावेश गर्न सके यो बालेन्द्र सरकारले काम गर्न शुरु गरेको देखिन्थ्यो। यस्तै, त्यहाँ तिनजुरेभित्र हिंड्ने वातावरणमैत्री पदमार्ग बनाउनुपर्छ।
प्रतिक्रिया 4