News Summary
Generated by OK AI. Editorially reviewed.- तीनजुरे-मिल्के-जलजले क्षेत्रका डाँडापाखा गुराँस फुलेर राताम्य बनेका छन् र यो वसन्त ऋतुमा पर्यटकीय आकर्षण बढाएको छ।
- टीएमजे क्षेत्रमा गुराँस फुल्ने सिजनमा देशका विभिन्न भाग र छिमेकी देशबाट पर्यटकहरू आउने गरेका छन्।
- संघीय सरकारले पाँचपोखरीमा गुराँस पार्क निर्माण गरेको छ, जसले अध्ययन, अनुसन्धान र पर्यटक आकर्षणमा सहयोग गर्नेछ।
६ वैशाख, तेह्रथुम । गुराँसको राजधानीका रूपमा परिचित पूर्वी नेपालको तिनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रअन्तर्गत पर्ने तीनजुरे पाथीभरादेखि पाँचपोखरीसम्मका डाँडापाखा यतिबेला गुराँस फुलेर राताम्यै बनेका छन् ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको यो क्षेत्रमा वसन्त ऋतुको आगमनसँगै गुराँस फुल्न थालेपछि यहाँको प्राकृतिक दृश्य मनमोहक र आकर्षक देखिने गरेको छ । रातो, गुलाबी, सेतो तथा अन्य रङका गुराँसले ढाकिएका वनपाखाले टीएमजे क्षेत्रमा पर्ने तीनजुरे पाथीभरादेखि पाँचपोखरीसम्म राताम्यै बनेका छन्, जसले पर्यटकीय आकर्षण अझ बढाएको छ ।
यस सिजनमा टिएमजे क्षेत्र गुराँसका कारण पर्यटकहरूको विशेष आकर्षण बन्ने गरेको छ । गुराँस फुल्न सुरु भएसँगै वनजंगल रङ्गिन बन्दै गएको र पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढेको स्थानीय लिलमाया गुरुङ बताउँछिन् । ‘गुराँस फुल्ने यही समय टीएमजे क्षेत्रका लागि सबैभन्दा महत्वपूर्ण पर्यटकीय सिजन हो’, उनले भनिनन् ।
हरेक वर्ष गुराँस फुल्ने सिजनमा दृश्य अवलोकन गर्न देशका विभिन्न भागका साथै छिमेकी सिक्किम, दार्जिलिङ तथा वेस्ट बंगाल लगायतका स्थानबाट समेत पर्यटकहरू यहाँ आउने गरेका छन् ।
गुराँससँग रमाउन, तस्बिर तथा भिडियो खिच्न र शान्त प्राकृतिक वातावरणमा समय बिताउन दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुने गरेको छ । दमकबाट तीनजुरे पुगेकी आन्तरिक पर्यटक सिर्जना लिम्बुले भिनन्, ‘गुराँसे वातावरणमा रमाउनकै लागि यहाँ आएको हो ।’

विशेषगरी गुराँसले पूरै पहाड राताम्य बनाउने यो समय प्रकृतिप्रेमी, पदयात्री तथा फोटोग्राफरहरूका लागि सबैभन्दा उपयुक्त मानिन्छ । गुराँसको सुगन्ध, हरियाली वनजंगल र शीतल हावापानीले यहाँ आउने जो-कोहीलाई पनि सजिलै मोहित बनाउने गर्दछ । यही कारणले गर्दा टिएमजे क्षेत्र वसन्त ऋतुमा पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
जैविक विविधताको दृष्टिले पनि टिएमजे क्षेत्र अत्यन्त महत्वपूर्ण मानिन्छ । विश्वमा पाइने ३२ गुराँस प्रजातिमध्ये यहाँ २८ प्रजाति पाइने विभिन्न अध्ययनहरूले जनाएको छ । बढ्दो पर्यटक आगमनसँगै स्थानीय पर्यटन व्यवसायमा समेत उल्लेख्य सुधार देखिएको छ । होटल, लज, होमस्टे तथा अन्य सेवा व्यवसायहरू यतिबेला भरिभराउ हुन थालेका छन्। स्थानीयले उत्पादन गरेका अर्गानिक खाना, परम्परागत संस्कृति र आत्मीय आतिथ्यले पर्यटकहरूको अनुभवलाई अझै समृद्ध बनाइरहेको छ ।
गुराँस फुल्न सुरु भएसँगै वसन्तपुर, देउराली, पाँचपोखरी, चौकी, मंगलबारे र गुफा बजारका होटलहरू खचाखच भएका छन्। । यहाँ आउने पर्यटकहरूले दुई-चार दिन अगाडि नै होटल बुक गरेर आउनुपर्ने अवस्था रहेको गुफा बजारकी हिमा खनाल बताउँछिन् ।

खासगरी हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकहरूको चाप बढ्ने भएकाले पहिले नै होटल बुक गर्नुपर्ने अवस्था रहेको खनालले बताइन् । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै रोजगारीका अवसरसमेत सिर्जना गरिरहेको छ ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक मौलिकताले भरिपूर्ण टिएमजे क्षेत्रलाई व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकाससँग जोड्न सके अझ ठूलो पर्यटकीय सम्भावना बोकेको गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ । संघीय सरकारको लगानीमा पर्यटकलाई थप आकर्षन गराउन पाँचपोखरीमा गुराँस पार्क निमार्ण गरिएको छ ।
पार्कमा यस क्षेत्रमा पाउने गुराँसहरू एकै ठाउँमा रोपण गरी अध्यायन,अनुसन्धान र दृष्यलोकन गर्न सहज बनाउने प्रयास भइरहेको लालीगुराँस नगरपालिका-७ का वडाध्यक्ष देवेन्द्र खड्काले बताए । उनका अनुसार यस पार्कमा लेकाली क्षेत्रमा हुने गुराँसको विरुवाहरू ल्याएर रोपिएका छन् । केही वर्षपछि ती गुराँसहरू फुल्दा थप पर्यटकहरुको आकर्षण बन्नेछ ।
गुराँसले राताम्य बनाएको यो सुन्दर भू-भाग यतिबेला प्रकृतिसँग रमाउन चाहनेहरूका लागि प्रमुख रोजाइ बन्दै गएको छ ।







प्रतिक्रिया 4