+
+
Shares

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

कतै मानव हातले कलात्मक रूपमा कुँदिएझैँ, त कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारीझैँ देखिने ती चट्टानहरू वास्तवमा प्रकृतिकै अनुपम सिर्जना हुन्।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ जेठ ९ गते ७:३०

९ जेठ, सन्धिखर्क । सन्धिखर्क नगरपालिका–११, डिभर्नामा अवस्थित प्राकृतिक चट्टानहरूको अद्भुत संसार ‘रक गार्डेन’ पछिल्लो समय अर्घाखाँचीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उदाउँदै गएको छ।

सन्धिखर्क बजारबाट करिब २० मिनेटको सवारी यात्रापछि पुग्न सकिने यस स्थानमा प्रकृतिले आफैँ कुँदेजस्ता विशाल चट्टानहरू, ढुङ्गाको बगैँचाजस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले जोकोहीलाई मोहित बनाउँछ।

पहिलो पटक रक गार्डेन पुग्नेहरू चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्यचकित हुने गर्छन्। कतै मानव हातले कलात्मक रूपमा कुँदिएझैँ, त कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारीझैँ देखिने ती चट्टानहरू वास्तवमा प्रकृतिकै अनुपम सिर्जना हुन्।

सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यो ढुङ्गाको जङ्गलले आगन्तुकलाई एकैसाथ रहस्य, सौन्दर्य र शान्तिको अनुभूति गराउँछ।

बढ्दो पर्यटक आगमन

रक गार्डेन अहिले बिस्तारै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। जिल्लाका विभिन्न स्थानबाट दैनिक रूपमा मानिसहरू घुम्न आउने क्रम बढ्दो छ। स्वच्छ वातावरण, चिसो मौसम र मनोरम प्राकृतिक दृश्यले सहरको भिडभाडबाट टाढा भई मानसिक ताजगी पाउने अवसर प्रदान गरेको स्थानीयहरू बताउँछन्।

‘पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ,’ सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले भने, ‘प्रकृतिको यो अनुपम उपहारलाई अझ व्यवस्थित बनाउन हामीले पूर्वाधार विकासमा जोड दिएका छौँ।’

नगरपालिकाले यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न काम अघि बढाइसकेको छ। पर्यटकहरूको सहजताका लागि शौचालय, विश्रामस्थल र मन्दिर निर्माण गरिएको छ। साथै, दीर्घकालीन पर्यटन विकास रणनीति पनि तयार पारिँदैछ।

फोटोग्राफी र सूर्योदयको विशेष आकर्षण

रक गार्डेनको अर्को विशेषता यहाँबाट देखिने विशाल भू–दृश्य हो। यस स्थानबाट सन्धिखर्क नगरपालिकामात्र नभई भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकाका साथै पाल्पा र प्युठान जिल्लाका केही भूभागसमेत सहजै अवलोकन गर्न सकिन्छ।

विशेषगरी सूर्योदय र सूर्यास्तका बेला यहाँको दृश्य अत्यन्तै मनमोहक हुने भएकाले प्रकृतिप्रेमी तथा फोटोग्राफीमा रुचि राख्नेहरूको यो स्थान खास आकर्षण बन्दैछ।

पर्यटन सर्किटमा जोड्ने योजना

स्थानीय युवा नारायण आचार्यका अनुसार उचित प्रचारप्रसार र संरक्षण गर्न सकियो भने रक गार्डेन नगरकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना छ। ‘अहिले जिल्लाभित्रबाटै बढी पर्यटक आउँछन्, तर बाहिरी जिल्लासम्म पहिचान पुर्‍याउन सकियो भने यसको महत्त्व अझ बढ्नेछ,’ उनले भने।

स्थानीय व्यवसायी डिलाराम भुसालले लुम्बिनी र सुपा देउराली मन्दिरमा आउने पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र रक गार्डेनसम्म ल्याउन सकियो भने जिल्लाको पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुने बताए। ‘यसले होटल, यातायात र स्थानीय व्यापारमा प्रत्यक्ष लाभ पुर्‍याउनेछ,’ उनले थपे।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार खाँचीकोट भगवती मन्दिर, सिद्धेश्वर मन्दिर र अर्घा भगवती हुँदै रक गार्डेनसम्म जोड्ने पर्यटन सर्किट तयार गर्ने योजना अघि बढिरहेको छ। ‘पर्यटन विकाससँगै स्थानीयको आयआर्जन बढाउने र आर्थिक गतिविधि विस्तार गर्नु हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने।

सन्धिखर्कका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार व्यापक प्रचारप्रसार, संरक्षण र पूर्वाधार विकासमा सबै सरोकारवाला पक्षको ध्यान पुग्न सके रक गार्डेन अर्घाखाँचीको पर्यटन नक्सामा चम्किलो गन्तव्यका रूपमा स्थापित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?