News Summary
Generated by OK AI. Editorially reviewed.- भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको विशाल ‘सयवृक्ष’ को रूख वि.सं. २०८२ चैत २ गते हावाहुरीका कारण ढलेको छ ।
- वनस्पति विभागको अध्ययन अनुसार १७०.६ फिट उचाइ र १७ फिट गोलाइ भएको यो रूख नेपालमा पाइने उल्मस प्रजातिमध्येकै सबैभन्दा अग्लो मानिएको छ ।
- स्थानीय प्रकृतिपूजकहरूको आस्थाको केन्द्र रहेको यस सिन्द्राङ क्षेत्रमा हाल सरकारी बजेटमै किरातेश्वर मन्दिर निर्माण र नयाँ धार्मिक बस्तीको विस्तार भइरहेको छ ।
००००
भोजपुरको हतुवागढी गाउँपालिकाअन्तर्गत सिन्द्राङमा ‘सयवृक्ष’ को विशाल रूख सयौं वर्षदेखि अनेकौं मिथक र इतिहास बोकेर ठिङ्ग उभिएको थियो। वरपर अरू कुनै रूख वा हावा छेक्ने पहाड नभएको त्यो खुला डाँडामा यो अजङ्गको रूख एक्लै गर्वका साथ ठडिएको देखिन्थ्यो। टाढाटाढाबाट समेत स्पष्टै देखिने यो रूख त्यस क्षेत्रकै एउटा मुख्य पहिचान बनेको थियो।
तर, वि.सं. २०८२ को चैत महिनामा आएको विनाशकारी हावाहुरीले उक्त विशाल रूखलाई ढाल्दा वरपरको क्षेत्र नै थर्किने गरी ठूलो आवाज गुन्जियो। स्थानीय बासिन्दाका लागि यो रूख केवल प्रकृतिको एउटा अंश मात्र थिएन, ‘जीवित देवता’ र आस्थाको केन्द्र पनि थियो।
त्यो रूख ढल्दा सम्पूर्ण गाउँको साझा विश्वास प्रणाली, रैथाने स्मृति र सांस्कृतिक धरोहरको एउटा बलियो खम्बा भत्किएको महसुस भएको छ। हतुवागढीवासीका निम्ति त्यहाँ एउटा विशाल रूख मात्र ढलेको होइन, बरु उनीहरूको इतिहास, भावना र एउटा पुरानो युगकै अन्त्य भएको जस्तो अनुभूति भइरहेको छ। यस ऐतिहासिक वृक्षको अवसानले स्थानीय समुदायमा कहिल्यै नपुरिने एउटा ठूलो रिक्तता छाएको छ।
सिन्द्राङ यात्रा
यो पङ्क्तिकार वि.सं. २०६३–६५ मा राई (भोजपुर, सिन्द्राङ), लिम्बू (ताप्लेजुङ, फाकुम्बा) र याक्खा (सङ्खुवासभा, तामाखोक) समुदायका जैविक स्रोतहरूमा आधारित तिनका विद्यमान आदिवासी ज्ञान, सीप र अभ्यासहरूको अध्ययनमा संलग्न थियो। त्यो अध्ययनमा सर्वोच्च अदालतका कानून व्यवसायी रामजी कोङ्ग्री (धनकुटा) र म्याङलुङ क्याम्पस, तेह्रथुमकी प्राध्यापक टङ्कमाया लिम्बू पनि संलग्न थिइन्।
हामी स्थलगत अध्ययनका निम्ति कहिले सँगसँगै गयौं त कहिले छुट्टाछुट्टै। उनीहरूका अतिरिक्त रामकुमार राई (वनस्पतिविद्), अर्जुनबाबु माबुहाङ (मुन्धुमविज्ञ) र कुलप्रसाद लिम्बू (प्राणीविद्) पनि स्थलगत अध्ययनमा एकाधपटक संलग्न थिए।
यस्तै, तथ्याङ्क विश्लेषण त्रिभुवन विश्वविद्यालय, केन्द्रीय तथ्याङ्क विभाग तथा विज्ञान सङ्कायका पूर्व डीन रामप्रसाद खतिवडाबाट गरिएको थियो। यो अध्ययन रिपोर्ट युनिभर्सिटी अफ क्याम्ब्रिजको डिजिटल हिमालय आर्काइभ ( https://www.digitalhimalaya.com/collections/rarebooks/_) मा उपलब्ध छ।
पहिलो पटक रामकुमार राई र कुलप्रसाद लिम्बूसँग सिन्द्राङ गइयो। मित्र रामकुमार राईको घर नै सिन्द्राङ हो। कुल सर र म धरानबाट २०६४ साल जेठ २३ गते सुनसरीस्थित चतरा गयौं। रामजी त्यहीं आइपुगेका थिए। करिब २ घण्टा हिंडेर वराहक्षेत्र पुग्यौं।
वराहक्षेत्र अहिले जस्तो झकिझकाउ थिएन। बराहक्षेत्रको उत्तरमा पूर्वबाट बगेर आएको कोकाहा नदी सप्तकोशीमा मिसिन्छ। हिन्दु धर्मावलम्बीले केही सय वर्षदेखि सप्तकोशी र कोकाहा नदीलाई तिनका पवित्र नदी मान्दै आएका छन्।
प्रकृतिपूजकले नदी, पहाड, हिमाल, ढुङ्गा, रूख पुज्छन्। हिन्दुहरू बराहक्षेत्र पुग्नुअघि त्यो ठाउँ प्रकृतिपूजकहरूको तीर्थस्थल थियो। लिम्बूका मुन्धुममा त्यस्तो वृत्तान्त पाइन्छ। ताप्लेजुङको मेवाखोला, मैवाखोलाका मुन्धुम तथा धनकुटाका खजुम आदिका मुन्धुममा त्यस्ता वृत्तान्त छन्।
हिन्दु धर्मको विशेष चरित्र भनेको- हिन्दु धर्म प्रचारकहरू जुन ठाउँमा पुग्छन्, त्यहाँ प्रकृतिपूजकहरूले जे–जे पुज्दै आएका छन्, तिनलाई ग्रहण गर्छन्। ग्रहण गर्दा तिनले प्रकृतिपूजकले मान्ने वा पुज्ने शक्तिलाई हिन्दु देवीदेवतासँग जोड्छन्। त्यसपछि राज्यका मिसिनरी संयन्त्र हिन्दुमय भएकाले प्रकृतिपूजकको मिथक विस्तारै स्मृतिबाट हराउँदै लैजाने वातावरण बन्छ।
वराहक्षेत्रको मिथक त झन् भद्रगोल छ। हिन्दुहरू सम्भवतः सेनकालको अन्त्यमा वा शाहकालमा जब त्यहाँ पुगे, उनीहरूले त्यो ठाउँ स्कन्दपुराण, वराहपुराण, ब्रह्मपुराण आदिका मिथकसँग जोडे। ती मिथकहरू नेपाल बाहिरका हुन्। पुराण विश्लेषण गर्न नसक्ने हाम्रा अगुवाहरूले स्कन्दपुराण, वराहपुराण, ब्रह्मपुराणमा चर्चा गरिएको वराह सम्बन्धी ठाउँ त्यही हो भन्ठान्छन्।
मैले वराहक्षेत्रबाट वनस्पतिको एक वंश ‘मगरकाँचे’ को एक प्रजाति सन् १९६९ मा विश्वका निम्ति नयाँ पत्ता लागेको थियो भन्ने सन्दर्भ झन्डै डेढ दशकअघि एक अखबारमा लेखेको छु। त्यसको वैज्ञानिक नाम ‘बेगोनिया त्रिवेनेन्सिस’ (Begonia trivenensis) हो। बेगोनिया वंशको यो प्रजाति आजका दिनसम्म नेपाल बाहिर फेला परेको छैन। यो वनस्पति नेपालको रैथाने प्रजाति हो।
बेगोनिया त्रिवेनेन्सिस भारतका सि.आर. राओले कोकाहा र सप्तकोशीको दोभान नजिकबाट नमूना सङ्कलन गरेका थिए। उनले यसको नामचाहिं ‘त्रिवेनेन्सिस’ राखे, अलि माथिको भूभागको नामबाट। हामी वराहक्षेत्रबाट कोकाहा नदीको झोलुङ्गे पुल तरेर सप्तकोशी किनारैकिनार करिब साढे ४ कि.मि. को दूरी पौने २ घण्टाको हिंडाइपछि त्रिवेणी पुग्यौं।
त्यहाँ पूर्वबाट तमोर, उत्तरबाट अरुण र पश्चिमबाट सुनकोशी नदी मिसिएकाले त्रिवेणी नाम रहेको हो। तमोर नदीमाथि बनेको झोलुङ्गे पुल तरेर अरुण नदीको किनारका साना टोलबस्ती हुँदै सिम्लेतर्फ जाने बाटो नागबेली थियो। सुनकोशी नदी देखिइनँ।
तराई जस्तो गर्मी हुने धनकुटा जिल्लाअन्तर्गतको त्यो पैदलमार्ग, गोरेटो बाटो, खेतका आली जस्ता ठाउँबाट हिंडेको सम्झना छ। करिब २/३ घण्टा हिंडेर सिम्ले पुल पुगियो। खानपिन गरियो, साना छाप्रामा होटल थिए। केही बेर आराम गरी सिम्लेको झोलुङ्गे पुल तरेर भोजपुर टेक्यौं।
अरुणको भित्तामा थाकलका ५–६ वटा बोट देखिए। यसको वैज्ञानिक नाम ‘साइकस पेक्टिनाटा’ (Cycas pectinata) हो। भिरालो ठाउँमा जोगिंदै यसको तस्बिर खिचें। त्यसपछिका ठाउँका नामहरू शायद मचुवा, हसनपुर, च्युरीडाँडा, पात्लेपानी, खैराङ हुँदै सिन्द्राङ पुग्यौं।
बाटामा केही गाउँघरमा पिउनेपानीको स्रोत शायद कम थियो होला। एकठाउँ बाटोछेउमा कङ्क्रिटका दुईवटा स्ल्याबको बीचमा रहेको पानीको कुवामा ६–७ वर्षका दुई बालकहरू भित्रै पसेर पानी भर्दै थिए।

हामी पुगेको थाहा पाएर झस्किए क्यारे ! जर्याकजुरुक उठेर कुवाबाट बाहिर निस्कन खोजे। ती बालकले पुरानो हरियो जर्किन र एउटा २ लिटरको कोकाकोलाको बोतलमा पानी भर्दै रहेछन्। यो दृश्यले उसबेला त्यहाँ पानीको अवस्था कस्तो थियो भनेर यसै अनुमान लगाउन सकिन्छ।
बाटामा एक जना अधबैंसे मानिस थकाइ मारिरहेका थिए। उनले हातमा बाँसको ढुङ्ग्रो जस्तो सामग्री बोकेका थिए। मलाई अचम्म लाग्यो। ‘दाइ, किन बाँसको ढुङ्ग्रो बोक्नुभएको ?’ भनेर सोधेको थिएँ। उनले हामीतिर रिसाएजसो गरेर हेरे।
त्यो त स्थानीय बाजा पो रहेछ। त्यसलाई यलम्बर (बाजा) भनिंदो रहेछ। हेर्दा बाँसको ढुङ्ग्रो जस्तै देखिने, यस्तो बाजा भालुबाँसका दुवै आँख्ला (जोर्नीको गाँठो) नफुटेको गिंडबाट बनाइएको हुँदोरहेछ। अनुरोध गरेपछि उनले बजाए, यलम्बर। कस्तो अनौठो धुन !

यलम्बरबाट निस्केको धुन सुन्दा गिटार त यसैबाट नक्कल गरेर बनाइएको हो कि जस्तो लागेको थियो। दाहिने हातको औंलाले गिटारको तार बजाउने भाग थियो। देब्रे हातको एउटा औंलाले बाजामा राखिएको प्वाल कहिले बन्द गर्थे, कहिले छाडिदिन्थे। त्यसैबाट बडो भिन्नभिन्न किसिमका अनौठो धुन निकालेका थिए।
सिन्द्राङमा पहिलो पटक हप्ता दिन बसियो होला। त्यसपछि रामजी अरू केही दिन बसे। पुनः दोस्रोपल्ट रामजीका भाइसँग त्यहाँ पुगें। रामजीका एक जना भाइले पछि बाँकी काम पूरा गरेको सम्झना छ। त्यहाँ विशेषतः राई समुदायले विभिन्न रोग तथा समस्या उपचार वा निदानका निम्ति के–कसरी वनस्पति र जन्तु प्रयोग गर्छन् भनेर स्थलगत अध्ययन गरी टिपोट गरियो।
सिन्द्राङमा बान्तवा राई, विशेषगरी दुब्देहाङ पाछाकाहरू भोजपुरको अर्को भेगबाट केही सय वर्षअघि बसाइँ सरेर त्यहाँ पुगेका थिए भन्ने कसैले भनेको संस्मरण छ। अन्य राई थरहरू त्यहाँका आदिकालकै बासिन्दा होलान्।
ध्यान सयवृक्षप्रति
दोस्रो पटक पहिले नपुगेका गाउँघर, खोलाखाल्सी, झाडीदार भूभाग डुलियो। निकै घरपरिवारका मूलीहरूसँग कुराकानी गरियो। मित्र रामकुमारका बुबा पर्सबहादुर राई स्थानीय विद्यालयका प्रधानाध्यापक थिए। पर्स सरका सहोदर दाजु बलराम उक्त गाविसका प्रमुख भइसकेका थिए।
उहाँहरूले सिन्द्राङमा रहेको एउटा अत्यन्त अग्लो, हाँगैहाँगा भएको रूखसँग जोडिएका अनेकन् मिथक सुनाए। त्यो रूखका हाँगाहरूमा भिन्नभिन्न प्रजातिका वनस्पतिहरू पलाएका र सङ्ख्या सयजति भएकाले उक्त विशाल रूखको नाम नै ‘सयवृक्ष’ रहेको मित्र रामकुमारले बताएका थिए।
रूख कस्तो होला, कत्रो छ र कुन प्रजाति हो भन्ने मनमा कौतूहल उब्जिरहेको थियो। रामजीको भाइसँग त्यहाँ जाने भइयो। तर, कस्तो अचम्म ! मानिसहरू सयवृक्षको फेदमा जाँदा रहेनछन्। स्थानीय त्यहाँ पुगे बिरामी परिने, घरमा अशुभ हुने कहावत थियो।
रामजीका भाइ मिथकमा त्यति विश्वास नगर्ने भएकाले जान माने। त्यहाँ पुग्ने सोझो बाटो थिएन। निकै बेर हिंडेपछि भिरालो, बुट्यानैबुट्यान भएर हिंडेको सम्झना छ। टाढैबाट बडेमानको रूख देखियो। त्यहाँ सजिलै पुगिन्नथ्यो। हिंड्न निकै सावधानी अपनाइयो।

त्यो रूख भोजपुरको एक प्रसिद्ध इलाका घोडेटारबाट दक्षिण–पश्चिम आधा घण्टाको पैदल दूरीमा थियो। ठाउँचाहिं ‘सन्खाम’ भनिएको सम्झना छ। रूखको फेदमा पुग्नुअगावै टाढैबाट ‘निकोन डी ७० एस’ (Nikon D70s) मोडलको क्यामेराले तस्बिर खिच्दै गएँ। अहिले हेर्दा ती तस्बिर २३ डिसेम्बर २००७ (अर्थात् ८ पुस २०६४) मा खिचेको रहेछु।
बल्लतल्ल, फेदमा पुगेर थप तस्बिर खिचियो। त्यसपछि, नाम अनुसार, त्यो रूखका हाँगामा १०० वटा जति बिरुवाहरू पलाएका छन् कि भनेर हेरें।
थुप्रै किसिमका वनस्पतिहरू हाँगामा पलाएका देखिन्थे। तर, त्यहाँ पलाएका वनस्पति गन्नतर्फ ध्यान गएन। किनभने आँखाले तलतलका हाँगामा पलाएका बिरुवाहरू मात्र देखिन्थ्यो। त्यसभन्दा माथिका हाँगामा पलाएका बिरुवाहरू हाँगाले जेलिएर छोपिएका कारण गन्न सकिन्नथ्यो।
सयवृक्षको फेदमा पुगेर हेर्दा त्यो कुन प्रजाति हो भन्ने चिन्न सकिनँ। नचिनेको वनस्पतिको फूल वा फल भेटिएन भने यसै फसाद पर्छ। हिजोआज त फुलेको फूल गुगलमा सर्च गरेर निकै वनस्पति पहिचान गर्न सकिन्छ।
त्यसबेला अहिलेको जस्तो तस्बिर खिचेर तुरुन्तै इन्टरनेटमा सर्च गर्न सकिन्नथ्यो। पहिचानका निम्ति नमूना काठमाडौं ल्याउनैपर्ने भयो। रूखमा चढ्न नसकिने र चढ्न प्रयत्न गर्न पनि नहुने, स्थानीय मान्यता थियो। ‘कहाँ पूजा गर्नुपर्ने रूखमा खुट्टो चढाउने !’
त्यसपछि बाध्य भएर भुइँमा झरेका पात, हाँगाबिंगा छन् कि भनेर खोज्यौं। पात र झरेको सानो हाँगो भेटियो। हाँगोमा फल पनि थियो। तिनका आधारमा त्यो वनस्पति ‘उल्मेसी’ परिवारको हो कि भन्ने अनुमान लगाएँ। नमूना ललितपुरस्थित नेसनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोरेटोरीमा पुर्याएर अध्ययन गरें।
वैज्ञानिक पहिचान
सयवृक्षको वैज्ञानिक नाम ‘उल्मस ल्यान्सिफोलिया’ (Ulmus lancifolia) रहेछ। यसबारे, कान्तिपुर दैनिकको ७ भदौ २०६५ संस्करणमा यसको रङ्गीन तस्बिरसहित वृत्तान्त ‘सयवृक्ष’ शीर्षकमा एक लेख लेखें। कृष्णकुमार श्रेष्ठ र अरूहरूले लेखेको सन् २०२२ मा प्रकाशित ‘प्लान्ट्स अफ नेपाल (जिम्नोस्पर्म्स एन्ड एन्जिओस्पर्म्स)’ शीर्षक पुस्तकमा ‘उल्मस ल्यान्सिफोलिया’ को नेपाली नाम ‘चम्लायो’ लेखिएको छ।
‘उल्मस ल्यान्सिफोलिया’ भारत, बङ्गलादेश, दक्षिण–मध्य चीन, दक्षिण–पूर्व चीन, लाओस, म्यानमार, सुलावेसी, सुमात्रा, थाइल्यान्ड, भियतनाम तथा पश्चिम हिमालयमा पाइँदो रहेछ। चीनमा ‘उल्मस ल्यान्सिफोलिया’ ३० मिटर अग्लोसम्म हुने ‘फ्लोरा अफ चाइना’, भोल्युम ५ (सन् २००३) मा लेखिएको छ।
वरिष्ठ वनस्पतिविद् तथा लेखक तीर्थबहादुर श्रेष्ठले ‘उल्मस ल्यान्सिफोलिया’ को धुलिखेलबाट वि.सं. २०२२ साल जेठ ८ गते सङ्ग्रह गरेको नमूना नेशनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोरेटोरीमा सङ्ग्रहित छ। यस्तै, यसको नमूना पश्चिम नेपालबाट पनि सङ्कलन गरिएको रहेछ।
सयवृक्ष हावाहुरीका कारण २०८२ साल चैत २ गते ढलेछ। हतुवागढी गाउँपालिकाले सयवृक्षको वैज्ञानिक नाम के हो र यो कति आयुको हो, ‘थाहा पाई पाऊँ’ भनी वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा अनुरोध गरेको रहेछ।
उक्त विभागअन्तर्गतको नेशनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोरेटोरीका वनस्पतिविज्ञहरू सिन्द्राङ पुगेका थिए। तिनैमध्ये एक तीर्थ पाण्डेले बताए अनुसार, सयवृक्षको रूखको उचाइ ५२ मिटर अर्थात् १७०.६ फिट अग्लो रहेछ।
रूखको फेदमा गोलाइ १७ फिट रहेछ। रूख सम्भवतः ज्यादै उमेर छिप्पिएर धोद्रो भएकाले हावाहुरीबाट ढलेछ। रूखको मोटाइ बढी र बीचमा धोद्रो भएका कारण हामीकहाँ भएको प्रविधिबाट यसको उमेर सामान्य विधिबाट पत्ता लगाउन सकिएनछ। अन्य विधिबाट यसको उमेर पत्ता लगाउन नमूना देशबाहिर पठाउनुपर्ने भएकाले यो कति उमेरको थियो, थाहा हुन सकेन।

सयवृक्षको फल बडो विशिष्ट किसिमको हुन्छ। यसको फललाई ‘समारा’ भनिन्छ। फलको आकार पात जस्तो हुन्छ। फलको ठीक बीच भागमा एउटा मात्र सानो, चेप्टो र कडा बीउ हुन्छ। यसलाई फलको मुख्य ‘केन्द्रबिन्दु’ मानिन्छ।
बीउको चारैतिर पातलो, सुक्खा र कागज जस्तो झिल्लीदार पखेटाका कारण फल बोटबाट खस्दा त्यस्तो विचित्र आकृतिका कारण टाढा र उम्रिने बिरुवा सम्बन्धित रूखबाट टाढासम्म पुग्छ।
स्थानीय मिथक

सिन्द्राङमा सुने अनुसार उहिले धामीझाँक्री निस्कने व्यक्तिहरू हराउँथे। उनीहरू महिनौंपछि धामीझाँक्री उत्रिएर फर्कन्थे। ती धामीझाँक्रीहरूले उनीहरूलाई वनझाँक्रीले लगेको र त्यही सयवृक्षको आसपासमा राखेर विद्या सिकाएको बताउँथे अरे। ती धामीझाँक्रीहरूले सयवृक्ष भएको भूभागलाई पवित्र मान्थे।
सिन्द्राङमा कहिलेकाहीं मध्यरातमा धामी बसेको जस्तो थाल वा ढ्याङ्ग्रो बज्थ्यो। त्यो आवाज त्यही सयवृक्ष भएतिरबाट आउँथ्यो। यस्तो आवाज सुन्नेहरू गाउँमा बुढापाकाहरू थिए। यस्तै, एक कोही गाउँमा बिरामी भए। बुझ्दै जाँदा तिनले सयवृक्षको फेदमा फोहोर गरेका थिए अरे।
हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले सुने अनुसार, सयवृक्षको फेदमा एक जनाले बञ्चरोले काटेका थिए। तिनी पनि बिरामी परे। त्यसपछि तिनले गाउँ नै छाडेका थिए अरे। तर, तिनी को हुन् भन्नेचाहिं जानकारी रहेनछ।
त्यसरी राति त्यस्तो आवाज सुनिनुको कारणचाहिं वरपर बस्ती थिएन। त्यो रूख अलग्गै टावर जस्तो थियो। वरपर कतै टाढा राति धामीझाँक्रीले थाल वा ढ्याङ्ग्रो बजाए, आवाज त्यही रूखमा ठोकिएर ‘इको’ (प्रतिध्वनि) भई नजिकका गाउँतिर सुनिन्थ्यो होला।
सयवृक्षबारे अनेकन् किंवदन्ती भएका कारण यसको सम्झनाका निम्ति हतुवागढी पालिकाले हालै बनाएको एक सभाहलको नाम ‘सयवृक्ष’ राखिएको छ। यसले हतुवागढी पालिकाका अध्यक्ष सयवृक्षको पहिचान नमेटियोस् भन्ने चाहना राख्छन् भन्ने बुझिन्छ।
माङ्सेबुङको प्रभाव विस्तार
२०७० सालतिर राष्ट्रिय गान सर्जक प्रदीप राई (व्याकुल माइला) का साला र एक महिला सयवृक्ष पूजा गर्न सिन्द्राङ पुगेका थिए। स्थानीयका अनुसार त्यसपछि उक्त क्षेत्रमा बाहिरबाट मानिस आउने क्रम बढ्न थाल्यो। त्यसअघि त्यहाँ सङ्गठित पूजापाठ वा नियमित धार्मिक गतिविधि भएको जानकारी स्थानीयसँग थिएन।
हतुवागढी गाउँपालिकाका अध्यक्षका अनुसार उनीहरू किरात धर्मगुरु आत्मानन्द लिङ्देनका अनुयायी थिए। शुरुमा स्थानीयले यसलाई सामान्य धार्मिक गतिविधिका रूपमा लिए। तर विस्तारै बाहिरी मानिसहरूको आवागमन बढ्दै गयो। त्यससँगै सिन्द्राङ क्षेत्र नयाँ धार्मिक केन्द्रका रूपमा चिनिन थाल्यो।
स्थानीय बीच फैलिएको बुझाइ अनुसार धर्मगुरु आत्मानन्द लिङ्देनले अरुण नदी पश्चिमको यस क्षेत्रलाई राई समुदायको पवित्र भूमि भनेर व्याख्या गरेका छन्। त्यसपछि पाँचथरको माङ्सेबुङ झैं भोजपुरको सिन्द्राङलाई पनि धार्मिक केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिएको हो कि भन्ने देखिन्छ। यसका निम्ति सयवृक्ष रहेको स्थानलाई त्यसको मुख्य केन्द्रका रूपमा हेरिन थालेको छ।
हालै सिन्द्राङमा भव्य किरातेश्वर मन्दिर प्रदेश सरकार र हतुवागढी गाउँपालिकाको बजेटमा निर्माण भइरहेको छ। वरपर नयाँ बस्ती समेत विस्तार हुँदै गएको देखिन्छ। स्थानीयले उक्त क्षेत्रलाई “नयाँ बस्ती” भनेर चिनाउन थालेका छन्। त्यहाँ करिब ३५ घर निर्माण भइसकेका छन्।
यहाँ बसोबास गर्ने धेरैजसो मानिस किरात धर्मावलम्बी तथा भुटानी शरणार्थी पृष्ठभूमिका रहेको स्थानीय बताउँछन्। बस्तीमा एउटै शैलीका घरहरू निर्माण गरिएको देखिन्छ। त्यहाँ साम्पाङ, थुलुङलगायत विभिन्न समुदायका परिवार बसोबास गर्छन्। तीमध्ये धेरैका पुर्खा भोजपुर, खोटाङ र सङ्खुवासभा क्षेत्रबाट भुटान पुगेका थिए।
धार्मिक गतिविधिसँगै नयाँ बस्ती विस्तार हुने क्रमले स्थानीय तहमा कहिलेकाहीं बहस समेत उत्पन्न गर्ने गरेको छ। केहीले यसलाई धार्मिक पुनर्जागरणका रूपमा हेर्छन् भने केहीले यसले पुरानो स्थानीय सांस्कृतिक स्वरूप परिवर्तन गरिएको अनुभव गर्छन्। उनीहरूका कुरा सुन्दा स्थानीय बासिन्दाहरूमा यस्ता गतिविधिले सिन्द्राङको परम्परागत धार्मिक सद्भावमा कुनै खलल नपुगोस् भन्ने चिन्ता रहेको आभास पनि पाइन्छ।
प्रकृति-आस्था र सांस्कृतिक पुनर्गठन
मानव सभ्यताको प्रारम्भिक चरणमा मानिस पूर्ण रूपमा प्रकृतिमा निर्भर थियो। नदी, जङ्गल, पहाड, ढुङ्गा, रूख, आकाश र आगोलाई जीवन दिने शक्तिका रूपमा मानिन्थ्यो। त्यसैले प्रकृतिपूजालाई मानव समाजको सबैभन्दा पुरानो धार्मिक अभ्यास मानिन्छ।
समयसँगै समाज बदलिंदै गयो। राज्य बने। सङ्गठित धर्मको विकास भयो। नयाँ सांस्कृतिक संरचनाहरू निर्माण भए। पुराना प्रकृति–आधारित विश्वास हराएनन्। बरु ती नयाँ धार्मिक अवधारणासँग मिसिंदै गए।
विश्वका धेरै समाजमा पुराना स्थानीय मिथक, आस्था र परम्परालाई नयाँ धार्मिक ढाँचाभित्र समेटिए। यो क्रम पूर्वी नेपालमा तीव्र रूपमा चलिरहेको छ। कतिपय पुराना देवस्थलहरू नयाँ धार्मिक केन्द्र बने। कतै स्थानीय आस्थालाई नयाँ धार्मिक भाषामा व्याख्या गरियो, गरिंदै छ। सिन्द्राङको सयवृक्ष यसैको एक उदाहरण हो।

किनभने किरात धार्मिक चेतनाभित्र पनि पछिल्ला दशकहरूमा यस्तै परिवर्तन देखिएको छ। धर्मगुरु आत्मानन्द लिङ्देनले किरात समुदायको मुन्धुम परम्परालाई सङ्गठित धार्मिक संरचनाभित्र व्यवस्थित गर्ने प्रयास गरेका छन्। उनका व्याख्यामा प्रकृतिपूजा, पुर्खाप्रतिको आस्था र धार्मिक संस्कारलाई एउटै ढाँचामा जोड्ने प्रयास देखिन्छ।
सामाजिक विज्ञानको दृष्टिले यस्तो प्रक्रियालाई “सांस्कृतिक रूपान्तरण” वा “सांस्कृतिक पुनर्गठन” भनिन्छ। यस क्रममा पुराना विश्वास नयाँ धार्मिक संरचनाभित्र समेटिन सक्छन्। परम्परागत अभ्यासहरू बदलिन सक्छन्। नयाँ धार्मिक पहिचान पनि विकास हुन सक्छ।
लिम्बू, राई, याक्खा र सुनुवार समुदायका मुन्धुम परम्परामा समयक्रमसँगै हिन्दु, बौद्ध तथा आधुनिक धार्मिक अवधारणाका केही प्रभाव मिसिंदै गएको देखिन्छ। यस क्रममा किरात धर्मगुरु आत्मानन्द लिङ्देनका केही अनुयायीहरूले लिम्बूका मुन्धुममा वेद र पुराणका कुराहरू मिश्रण गर्दै आएका छन्।
यस्ता क्रियाकलापप्रति लिम्बूको अर्को समूह युमापन्थीहरू चिन्तित देखिन्छन्। युमापन्थीहरू पनि विभाजित छन्। युमापन्थीहरू परम्परागत लिम्बू परम्परा अपनाउँछन्। उनीहरू आफूहरूलाई किरात भन्न रुचाउँदैनन्। उनीहरूका बुझाइमा किरात भनेको राई हुन्।
प्राचीन परम्परा अनुसरण गर्ने नेपालका युमापन्थीका अगुवा वा अध्येताहरूमा वैज्ञानिक चेतनाको स्तर सयौं वर्षअघिकै छ। मानिसको उद्विकासबारे बुझाइ शून्य छ।
अफ्रिकामा मानिस कहिले के–कसरी उद्विकास भए, कहिले दक्षिण एशियामा आइपुगेका थिए र त्यहाँबाट कसरी किन आप्रवासनमा गए, भाषा र संस्कृति कहिलेदेखि सुरुआत भयो भन्ने कुरा अनुमानसम्म लगाउन नसक्ने अवस्थामा छन्।
बरु, सिक्किमबाट प्रकाशित युमा सम्बन्धी अभिलेखहरूमा विज्ञानका शाश्वत तथ्यहरू समेटिएको पाइन्छन्। यस्ता तथ्यहरू जे.आर. सुब्बा (पोन्धाक) लिखित ‘युमा साम्यो’ (सन् २०२३), ‘द नेटिभ हिमालयन्स एन्ड एथ्निक नेशनालिटिज’, भोल्युम १ (सन् २०२०) लगायतमा छन्।
अन्त्यमा, सयवृक्ष सम्बन्धित उल्मस (Ulmus) वंशअन्तर्गत संसारभर नेपालमा ३ सहित जम्मा ३७ प्रजाति छन्। ती सबै प्रजातिहरू सिन्द्राङको सयवृक्ष (उल्मस ल्यान्सिफोलिया) जत्रो अग्लो रहेको थाहा पाइएको छैन। अर्को कुरा, सिन्द्राङमा सयवृक्ष किन अन्य कुनै रूख नभएको ठाउँमा एक्लै ठिङ्ग सयौं वर्षसम्म रह्यो र किन त्यहाँ अरू रूखहरू पलाएनन् भन्ने सन्दर्भ अनुत्तरित छ।
सम्भवतः ४–५ सय वा त्योभन्दा बढी उमेरसम्म त्यो ठाउँमा एक्लै रहँदा त्यहाँ यो रूखले पाएको घामको प्रकाश, जमिनबाट खनिज तथा अन्य खाद्यपदार्थका कारण यति अग्लो र मोटाइ हुन पुगेको हुनुपर्छ। किनभने सिन्द्राङमै रहेको ‘उल्मस ल्यान्सिफोलिया’ त्यति अग्लो मोटो छैन। यसैले, यसमा अनेकन् मिथक जोडिन पुगे।
सयवृक्षको रूखमा चढ्न वा काट्न हुन्न भन्नेचाहिं प्रकृतिपूजकले प्राकृतिक स्रोतसाधनहरू जोगाउनुपर्छ भन्ने परम्परालाई मिथकमा जोडेका हुन्। त्यस्ता मिथकहरूकै आधारमा सयवृक्ष वरपर माङ्सेबुङको शाखा विस्तार गर्दा यसले सयवृक्षका मिथकहरूलाई अवश्य नजरअन्दाज गर्नेछ।
प्रकृतिपूजकले सयवृक्षलाई जसरी मान्थे, त्यसैगरी हिन्दुकृत माङ्सेबुङका धर्मावलम्बीहरूले पनि लिंदा यसको इतिहास मर्दैन। सयवृक्षलाई नयाँ आवरण दिएर व्याख्या गर्नुचाहिं स्थानीय बासिन्दाको प्रकृति सम्बन्धी आस्थामा आघात पुर्याउनु हो ।
प्रतिक्रिया 4